Tuesday, April 30, 2024

-->

सन्दर्भ : वन्यजन्तु सप्ताह
संकटमा ओतको बासस्थान, नदी प्रदूषण र दोहन प्रमुख कारण

सफा पानी र शान्त स्थानमा मात्र बस्ने हुँदा वातावरणको सूचक मानिने सानो स्तनधारी जीव ओत अहिले संकटमा छ। नदी प्रदूषण तथा दोहनका कारण यो जीवको बासस्थान विनाश हुँदै गएको छ।

संकटमा ओतको बासस्थान नदी प्रदूषण र दोहन प्रमुख कारण
तस्वीर साभार: नेचर इन फोकस

काठमाडौँ– लामो समयदेखि ओतबारे अध्ययन गरिरहेका पारसमणि आचार्य गत वर्ष बर्दियास्थित कर्णालीबाट फाटेको गेरुवा नदी पुगे। हिउँदमा गेरुवा सुकेको थियो। तीन किलोमिटर पछ्याउँदा पनि पानी भेटेनन्। यसको असर नदी आसपास बस्ने सानो स्तनधारी जनावर ओतलाई पुगेको उनी बताउँछन्।

खोला र नदीमा पानी सुक्दा ओतको संख्या घट्न थालेको छ। आचार्य भन्छन्, “तीन किलोमिटर तल (दक्षिणतर्फ) गएपछि रसाएर गएको पानी भेटेँ। ओतको राम्रो बासस्थान मानिएको क्षेत्रमै पानी सुकेको छ। त्यस कारण बासस्थान र खानामा अवरोध भएर संख्यामा ह्रास आउन सक्छ।”

संरक्षणको क्षेत्रमा बाघ, गैंडा, हात्तीलगायत वन्यजन्तुको चर्चा बढी हुन्छ। ओतलगायत साना स्तनधारी जीवहरूको चर्चा धेरै कम हुन्छ। अध्येता आचार्यका अनुसार ओत वातावरणीय सूचक पनि हो। वातावरणीय रूपमा प्रतिकूल प्रभाव नपरेको सफा नदी र खोलाको किनारमा मात्र ओत पाइन्छ। 

नेपालमा तीन प्रकारका ओत पाइने आचार्यको भनाइ छ। विश्वमा १३ प्रजातिका ओत भए पनि नेपालमा स्मुथ, यूरेसियन र स्मल क्लाउड ओत मात्र छन्। स्मल क्लाउड ओतको पञ्जा साना हुन्छन्। यूरेसियन ओत पहाड तथा नदी किनारहरूमा पाइन्छ। स्मुथ ओत बर्दियादेखि कञ्चनपुरसम्म पाइन्छ। खासगरी बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली नदी छेउ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो ओत पाइने आचार्य बताउँछन्।

नेपालमा ओतको संख्या कति छ भन्ने ठ्याक्कै तथ्यांक छैन। त्रिभुवन विश्वविद्यालयका पूर्वप्रध्यापक समेत रहेका आचार्य बर्दियादेखि पश्चिम र कोशी नदीको आसपासमा ओत पाइने बताउँछन्। “बर्दिया र शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज ओतको राम्रो बासस्थान भएको क्षेत्र हुन्,” उनी भन्छन्, “चितवन छाडेर पूर्व लागेपछि कोशी नदी नपुगेसम्म ओत पाइएको रेकर्ड छैन। कोशीमा केही संख्यामा भेटिएका छन्। त्यहाँ पनि त्यति धेरै संख्या छैन।”

चितवनको राप्ती नदीमा पनि ओत भेटिएको छ। आचार्यका अनुसार सन् १९९८ मा उनले अध्ययनका क्रममा चितवनमा ओत भेट्टाएका थिए। त्यसयता एक वर्षअघि राप्ती नदीमा पुनः ओत देखिएको थियो। त्यसकारण चितवन पनि ओतको सम्भावित बासस्थान हो।

सानो पञ्जा भएको ओत भने सन् १८३९ यता देखिएको छैन। बेलायती नागरिक ब्रायन हजसनले पूर्वी भारत हुँदै नेपाल आउने क्रममा तराईमा माछा मार्ने माझीहरूले यस्तो ओत मारेको भेट्टाएका थिए।

हिमालय ओत नेटवर्कका अनुसार नेपालसहित भारत, भुटान, अफगानिस्तान, पाकिस्तान र चीनमा ओत पाइन्छ। यी देशमा एकै सिसिमको हावापानी, पर्यावरण मात्र नभइ मानिसको जीवनशैली पनि एउटै किसिमको छ।

ओत संरक्षणका चुनौती
ठूला वन्यजन्तु संरक्षणका लागि सरकारको लगानी पनि ठूलो छ। तर ओतलगायत साना स्तनधारी जीव संरक्षण सरकारको प्राथमिकतामा छैन। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)का स्वच्छ पानी परियोजना प्रमुख राजेश सदाका अनुसार ठूला जीवजन्तुजस्तै ओतको पनि पर्यावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका छ। “जहाँ ओत र ओतलाई खाने आवश्यक आहारा पाइन्छ त्यहाँको पानी ठीक छ भनेर बुझ्नुस्,” उनी भन्छन्, “त्यसकारण पनि पर्यावरणमा ओतको प्रमुख भूमिका छ।”

तस्वीर साभार: गोरखापत्र

तर पानी प्रदूषण हुँदा र अव्यवस्थित रूपमा नदी किनारबाट गिटी बालुवा निकाल्दा ओतको बासस्थान प्रभावित भएको छ। सदाका अनुसार समुदायको सहभागितामा ओतको बासस्थान संरक्षणका लागि कर्णाली नदी आसपासका बस्तीमा काम शुरू गरिएको छ। त्यहाँ १५ वटा समूह बनाइएको छ। उनीहरूले ओतको बासस्थान रेखदेख गर्ने र समुदायमा जनचेतनाको काम गर्छन्।

धेरै व्यवधान हुने हुने ठाउँमा ओत बस्न नसक्ने अध्येता आचार्य बताउँछन्। “जहाँ उसलाई बासस्थानमा कुनै व्यवधान हुँदैन र खानेकुराको अभाव हुँदैन त्यहाँ मात्र पाइन्छ,” अध्येता आचार्य भन्छन्, “अहिले मानिसले नदी किनारमा ढुंगा, गिटी र बालुवा निकाल्ने हुनाले दिउँसो बाहिर निस्कँदैन। मान्छेको क्रियाकलाप नभएको बेला बाहिर निस्कन्छन्। रातको समयमा डोजर ट्याक्टर, एक्साभेटर चल्ने ठाउँमा पनि झाडीमा लुकेर बस्छ। आहाराको लागि कम्प्रमाइज गरेको छ।” 

लुक्न सजिलो हुने भएकाले नदी किनारमा पाइने काँसको झाडी ओतको मुख्य बासस्थान हो। तर कहीँ कतै सालको वनमा पनि ओतहरू भेटिएका छन्। 

ओतको प्रमुख आहारा माछा हो। ओतले ७५ प्रतिशतभन्दा बढी माछालाई आहारा बनाउने गरेको अध्येताहरू बताउँछन्। त्यसकारण पनि नदी नजिकको बगरमा हुने काँसको झाडीलाई ओतको लागि जोगाउनुपर्ने संरक्षणविद्हरू बताउँछन्।


सम्बन्धित सामग्री