Friday, May 03, 2024

-->

सरकारी अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती

काठमाडौँका अधिकांश सरकारी अस्पतालमा बिरामी कुरुवालाई बस्ने व्यवस्था छैन। वीर र पाटन अस्पतालले भएका कुरुवा घर पनि मासेका छन्। अस्पतालका प्यासेज, सिँढी वा खुला ठाउँमा बिरामी कुरुवा पल्टिरहेका भेटिन्छन्।

सरकारी अस्पतालमा बिरामी कुरुवालाई सधैँ सास्ती
वीर अस्पतालमा बिरामीका कुरुवा। तस्वीर: सुस्मिता/उकालो

काठमाडौँ– “दुई दिन मात्र अस्पतालमा बस्दा कुरूवा आफैँ बिरामी हुन्छ। अस्पतालभित्रको वातावरण, पानीदेखि शौचालयसम्म सबै दूषित छ। १५ वर्षअगाडिको वीर अस्पताल र अहिलेको वीर अस्पताल उस्तै छ, केही फरक छैन।”

गएको हप्ता वीर अस्पतालमा भेटिएका नुवाकोटका मानबहादुर विक गुनासो पोख्दै थिए। अस्पताललाई सफा र सुविधाजनक बनाउन अस्पताल प्रशासनले केही नगरेको उनको गुनासो थियो। 

बिरामी कुरूवालाई अलपत्र पार्ने गरिएको मानबहादुरको सबैभन्दा ठूलो गुनासो थियो। “म बिरामी लिएर काठमाडौँका धेरै सरकारी अस्पतालमा बसेको छु। अधिकांशमा कुरुवाले सास्ती पाउने गरेका छन्,” उनले भने।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) बाहिर नै बिरामी कुर्नेको भिड देख्न सकिन्छ। कोही म्याटमा सुतिरहेका हुन्छन् भने, कोही खाली भुईंमा बालबच्चा च्यापेर बसेका हुन्छन्। त्यही भिडमा भेटिएकी नुवाकोटकी चन्द्रकला सुनुवारले गत हप्ता बिहीबार बहिनीलाई अस्पताल भर्ना गराएकी थिइन्।

प्रसूतीगृहमा बिरामीका आफन्त। तस्वीर: कृष्पा श्रेष्ठ/उकालो

कुरुवा बस्न परिवारका अन्य सदस्य काठमाडौँ नभएको कारण सानो बच्चा च्यापेर भए पनि आफैँ आउनु परेको उनले बताइन्। “अस्पतालमा कुरूवा घर छ भन्ने सुनेको छु, तर देखेको छैन। अस्पतालको बाहिर भुईंमा सुत्नसमेत पहिलेदेखि नै ठाउँ ओगटेर बस्नुपर्छ,” उनी भन्छिन्, “भुईंमा समेत राम्रोसँग सुत्न पाइँदैन। बिहान ४ बजेबाट नै सिट्टी लगाउँदै आइपुग्छन्।”

त्यति मात्र नभई, सामान हराउने समस्यासमेत भएको उनको गुनासो छ। सामानबारे सोधीखोजी गर्दा अस्पतालका कर्मचारीले उल्टै गाली गर्ने गरेको उनी बताउँछिन्।

प्रसूतिगृहमा नै चन्द्रकलाकै नजिक म्याटमा ढल्किरहेकी थिइन् सिन्धुपाल्चोकी सरिता कार्की। म्याटमा बस्दा आफूलाई चिसो लागिसकेको उनले बताइन्। कुरुवा घरमा बस्न सक्ने अवस्थै नभएको कारण बाहिरै बसेको उनी बताउँछिन्।

प्रसूतिगृहः बस्न लायक छैन कुरुवा घर
प्रसूतिगृहमा कुरुवा घर बनाइएको छ, तर प्रायः खाली हुने अस्पतालकै कर्मचारी बताउँछन्। अस्पतालका एक सफाइ कर्मचारी भन्छन्, “सफाइको कुरामा हामीले ध्यान दिएकै छौँ। कुरूवा घरमा बस्न आउने मानिसहरूमा अनुशासन भन्ने नै छैन। कुरूवा घरभित्र जुत्ता लगाएर जाने र फोहोर गर्ने भएकाले मानिसहरू बस्न रूचाउँदैनन्।”

अस्पतालका प्रमुख प्रशासक रानु थापा ठाउँ भएर पनि बिरामी कुरुवा नबस्नु आफूहरूको समस्या नभएको बताउँछिन्। त्यहाँ ४० देखि ५० जनासम्म अट्न सक्ने उनको भनाइ छ। तर धेरै जना कुरूवा घरभन्दा बाहिर नै बस्दा अस्पताल वरिपरि भिडभाड देखिने गरेको उनले बताइन्।

प्रसूतीगृहमा बिरामीका आफन्त। तस्वीर: कृष्पा/उकालो

“बिरामी कुर्नेहरूलाई म्याटमा सुत्ने र बस्ने व्यवस्था गरेका छौँ, तर सामान सुरक्षाको जिम्मा हाम्रो होइन,” प्रमुख प्रशासक थापा भन्छिन्, “आफ्नो सामानको सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ।”

बिरामी कुर्न आएकी नुवाकोटकी चन्द्रकला सुनुवार कुरुवा घर फोहोर भएकाले त्यहाँ सुत्न नसकिने बताउँछिन्। कुरुवा घरमा फोहोर, गन्ध र उडुसका कारण सुत्नै नसकिने भएपछि आफूहरू बाहिरै म्याट ओछ्याएर बस्ने गरेको उनको भनाइ छ। 

वीर अस्पतालः भएको कुरुवा घर पनि मासियो
वीर अस्पतालमा भेटिएका घनश्याम खड्का बुवाको उपचारका लागि एक महिनादेखि कुरुवा बसेका छन्। स्वासप्रश्वासमा समस्या देखिएपछि बुवालाई अस्पताल भर्ना गर्नुपरेको र निरन्तर आफू नै कुरुवा बसिरहेको उनी बताउँछन्।

“एक महिना अस्पताल बस्दा दुईपटक आफैँ बिरामी भएँ। एकपटक धपेडीले बेहोस पनि भएछु,” उनी भन्छन्, “शौचालय त्यस्तै (फोहोर), नर्सहरूले बिरामीलाई गर्ने व्यवहार राम्रो छैन, अस्पतालको व्यवस्थापन पनि नराम्रो छ। कुरूवा घरको व्यवस्था छैन। अस्तव्यस्त छ।”

वीर अस्पतालका निर्देशक सन्तोष पौडेलका अनुसार बिरामी कुरुवालाई बस्ने विशेष व्यवस्था छैन। अस्पतालमा ठाउँ अभावकै कारण कुरूवा घर बनाउन नसकेको उनले बताए। वीर अस्पतालको नयाँ भवनमा समेत कुरूवाका लागि कुनै व्यवस्था गरिएको छैन।

वीरमा पहिले कुरूवा घरको व्यवस्था भए पनि त्यसलाई अहिले वार्ड र आईसीयू बनाइएको पौडेलले जानकारी दिए। कुरूवा घरभन्दा आईसीयू र वार्डको बढी आवश्यकता भएको कारण त्यसो गरिएको उनको भनाइ छ।

“अस्पतालमा कुरूवा घरको व्यवस्था गर्नुपर्छ भनेर कुनै पनि कानूनमा छैन। तर अस्पतालमा कुरूवा घरको व्यवस्था भए बिरामी कुर्नेहरूको लागि सहज हुने थियो,” पौडेल भन्छन्, “कुरूवा घर बनाउन ठाउँ अभाव छ। हामीले केही गर्न सक्ने अवस्था छैन।”

त्रिवि शिक्षण अस्पतालः व्यवस्था छ, तर अपर्याप्त
गएको शुक्रबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको वार्डको एउटा कुनामा टोलाइरहेकी थिइन् दोलखाकी जानुका कार्की। उनी २८ दिनदेखि त्यहाँ बसिरहेकी थिइन्। उनको आमालाई फोक्सोमा समस्या छ। परिवारका अन्य सदस्य दोलखातिरै भएका कारण उनी २४ घन्टा नै अस्पतालमा हुन्छिन्।

“आमाको अवस्था सामान्य छ। तर समय–समयमा औषधि चढाउनु पर्ने भएकाले अझै कति समय लाग्छ थाहा छैन,” उनी भन्छिन्, “अस्पतालमा न सुत्ने ठाँउ छ, न मोबाइल चार्ज गर्ने। यस्तो ठाँउमा बस्नु पर्दा दिक्क भइसकेँ, आफैँ बिरामी पर्छु भन्ने लागिसक्यो।”

शिक्षण अस्पतालका अधिकांश वार्डमा भर्ना गरिएका बिरामीका कुरुवा नजिकैको प्यासेजमा वा खुला ठाउँमा म्याट राखेर बस्ने गरेका छन्। तर अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलिया कुरूवा घरको व्यवस्था भएको दाबी गर्छन्। सबै वार्डका बिरामीका कुरुवाका लागि बस्ने ठाउँ बनाएको र केही समय यता आईसीयूका बिरामीका लागि पनि छुट्टै व्यवस्था गरिएको उनको दाबी छ।

“बिरामी कुरूवा घर नभए पनि फरक पर्दैन। कुनै अस्पतालमा पनि कुरूवा घरको व्यवस्था छैन, तर हामीले व्यवस्था गरिदिएका छौँ,” थपलिया भन्छन्, “बिरामी कुर्ने एक जनालाई बिरामीसँग राखिन्छ, दिनभर उभिएर बस्नुहुन्छ। राति सुत्नको लागि बिरामी नजिकै बेन्चको व्यवस्था गरेका छौँ।”

प्रशासन प्रमुख थपलियाले अस्पतालमा कुरूवा घरको व्यवस्था गर्नैपर्छ भन्ने नभएको बताए। एक जना मात्र कुरुवा बस्दा आवश्यक पनि नभएको र एक जनाभन्दा बढी भए कुरुवा घर भएको उनको दाबी छ।

शिक्षण अस्पतालले आईसीयू, बाल सघन उपचार कक्षमा कुरुवाका लागि बेडको व्यवस्था गरेको छ। अर्थोपेडिक वार्डमा पनि केही बेड छन्। तर ती पर्याप्त नभएको बिरामीको गुनासो छ।

अस्पतालका एक कर्मचारीले शिक्षण अस्पतालमा बेग्लै कुरुवा घर भने नभएको बताए। “हाम्रो अस्पतालमा बिरामीका लागि कुरुवा घर नै छैन। यसबारे थप जानकारीका लागि प्रशासनको प्रमुखलाई नै सोध्नुहोला,” उनले भने।

कान्ति बाल अस्पतालः सिँढीतिरै बस्छन् कुरुवा
महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा साना बालबालिका लिएर आएका अभिभावकहरू कुरुवा घरको अभावमा समस्या भोगिरहेका छन्। छोराछोरी भर्ना गरेर प्रायः आमाहरू बिरामीसँगै बेडमा बस्ने गरेका छन्। तर बिरामीसँग आएका अन्य पनि सिँढी वा बाहिर खाली ठाउँमा बसिरहेका हुन्छन्।

कपनबाट आएका दिपेश तामाङका दम्पती तीन वर्षीया छोरीको उपचारको लागि दुइ सातादेखि कान्ति अस्पताालमा छन्। खाना खानेबित्तिकै बान्ता आउने समस्याका कारण चिकित्सकको सल्लाहमा उनीहरूले छोरीलाई अस्पताल भर्ना गराएका हुन्। दिपेश भन्छन्, “अस्पतालमा बच्चा मात्र होइन, कुरुवा बस्ने बुबाआमा नै बिरामी पर्ने रहेछन्। यहाँ बस्नको लागि गतिलो व्यवस्था छैन।”

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा विभिन्न संघसंस्थाले करिब ३० वर्षअगाडि बनाइदिएको कुरुवा घर छ। २०४९ सालमा नै बनाइएको उक्त भवन जीर्ण भइसकेको छ। 

उक्त कुरुवा घरको तल्लो तलामा भान्साकोठा छ। तर त्यो कुरुवाको प्रयोगमा छैन। माथिल्लो तलामा करिब ३० वटा बेड छन्। कुरुवा घरबारे त्यहाँ जाने धेरै अभिभावकलाई जानकारी नै छैन। जानकारी भएकाहरूले पनि भवन जीर्ण भएका कारण बस्न सक्ने अवस्था नभएको बताउँछन्।

अस्पतालमा बिरामी कुर्न आएकाहरू म्याट र सिरानी हालेर खुला ठाउँमा नै सुतिरहेका हुन्छन्। कान्ति र शिक्षण अस्पताल नजिक भएका कारण त्यस क्षेत्रमा कुरुवालाई म्याट बेच्ने पसल प्रशस्त भेटिन्छन्।

पाटन अस्पतालः छैन कुरुवा घर
चापागाँउकी कल्पना खड्का पाटन अस्पतालमा २१ वर्षीय छोराको कुरुवा बसेको दुई हप्ता भयो। दिउँसो आफन्तहरू पनि आउँछन्, तर राति कल्पना एक्लै हुन्छिन्। उनी भन्छिन्, “दिनभरि केही काम नगरे पनि बस्दाबस्दै थकाइ लाग्ने रहेछ। अस्पतालको गन्धले गर्दा म आफैँ बिरामी भएर औषधिको प्रयोग गरिरहेको छु।”

पाटन अस्पतालमा कुरुवा घर नभएको प्रमुख प्रशासक तीर्थ भुजेल बताउँछन्। कुरुवा घर बनाउन ठाउँ र बजेटको अभाव भएको उनको भनाइ छ। 

“पहिले  डिस्चार्जपछि तत्कालको लागि बस्ने एउटा ठाउँ तोकेका थियौँ। तर पाटन अस्पताल मात्र नभई मेडिकल कलेज पनि भएका कारण स्पेसको अभावले त्यसलाई हटाएका छौँ,” उनी भन्छन्, “अहिले कुरुवाहरू जहाँ बिरामी हुन्छन्, त्यहीँ बस्छन्। कुरुवा घरको व्यवस्था गर्न सक्ने अवस्था छैन।”

अस्पतालमा बिरामी कुर्नको लागि एक जना मात्र बस्न आग्रह गरेको भुजेलले बताए। तर बिरामी कुर्न एक जना मात्र नबसिदिँदा समस्या हुने उनी बताउँछन्। बिरामी कुर्नेहरू धेरै हुँदा अस्पतालमा अनावश्यक भिडभाड हुने उनको भनाइ छ।


सम्बन्धित सामग्री