काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले हात्ती उपहार दिने घोषणा गरेको थियो। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ सालमा कतार भ्रमण गर्दा जनाएको प्रतिबद्धता अनुसार अमिर आउँदा हात्ती दिएर पठाउने तयारी थियो। तर दुर्लभ वन्यजन्तु तथा वनस्पति व्यापार महासन्धि (साइटिस) को प्रक्रिया पूरा नभएका कारण अमिर हमाद अल थानी बुधबार हात्ती नलिई फर्किएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार साइटिसअनुसार प्रक्रिया पूरा भएपछि हात्ती उपहार दिइने सम्झौतामा हस्ताक्षर हुने छ। नेपालले कतारलाई चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेका दुई वटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद दिने तयारी गरेको छ। ढोई रुद्रकली पाँच वर्ष ६ महिनाको र मत्ता खगेन्द्रप्रसाद चार वर्ष सात महिनाका छन्।
यसअघि नेपालले विभिन्न देशलाई उपहारस्वरूप गैंडा, गोहीलगायत वन्यजन्तु दिने गरेको थियो। तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अहिले उपहारमा मित्र राष्ट्रहरूले अन्य जनावरभन्दा बाटे बाघ माग गरुन् भन्ने चाहन्छ। “कुनै देशले बाघ माग गर्यो भने बरु ठीक हुन्थ्यो,” विभागका महानिर्देशक सिन्धु ढुंगाना भन्छन्, “दिनदिनै मान्छेमाथि आक्रमण गर्यो भनेर तलबाट (स्थानीयबाट) फोन आएको आयै हुन्छ।”
बाघको संख्या बढेर मान्छेलाई आक्रमण गर्ने घटना बढेपछि मित्र राष्ट्रहरूले बाघ उपहार मागे व्यवस्थापनमा केही सहज हुने अधिकारीहरू बताउँछन्। विज्ञहरू यो पनि व्यवस्थापनको एउटा विकल्प हुन सक्ने बताउँछन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल विभिन्न देशहरूलाई उपहारस्वरूप गैँडा, हात्तीलगायत जनावर प्रदान गरेजस्तै बाघ दिन सकिने बताउँछन्। “देशहरूबीच आदानप्रदान गर्ने खालको नीति पनि व्यवस्थापनको एउटा मोडल हुनसक्छ,” उनी भन्छन्।
प्राकृतिक बासस्थान भएका तर लोप भइसकेका देशहरूलाई उपहार दिएर पुनः ती देशमा बाघको संख्या बढाउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेदकुमार ढकाल बताउँछन्। “पहिला बाघ भएका तर विभिन्न कारणले अहिले लोप भएका र बाघका लागि उपयुक्त प्राकृतिक बासस्थान भएका देश विकल्प हुन सक्छन्,” उनी भन्छन्।
यदि कुनै जनावरको संख्या बढी भएर व्यवस्थापनमा नै समस्या भए ‘कलिङ’ गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको ढकालको भनाइ छ। सन् २०२२ को गणनाअनुसार नेपालमा ३५५ वटा बाघ छन्। सन् २०१८ को गणनामा बाघको संख्या २३५ थियो। बाघको संख्या बढेसँगै व्यवस्थापनको चुनौती देखिएको छ।
सन् २०२२ को गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा छन्। त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका छन्।
उप महानिर्देशक ढकाल बाघले मानिस र पशु चौपायामाथि आक्रमणका घटना बढेपछि व्यवस्थापनको चुनौती थपिएको बताउँछन्। “मानिसमाथि आक्रमणका घटना बढेपछि अलि चुनौती देखियो, समस्याग्रस्त भएका बाघलाई नियन्त्रणमा लिएर विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखिएको छ,” उनी भन्छन् “हामीसँग अब थप बाघ राख्ने ठाउँ छैन।”
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार समस्याग्रस्त देखिएपछि नियन्त्रणमा लिइएका बाघ १४ वटा छन्। यसअघि १९ वटा बाघ यसरी राखिएको थियो। तर पर्सा राष्ट्रिय निकुञ्जमा रहेका तीनवटा र बर्दियामा रहेको एउटा बाघ मरेका छन्।
समस्याग्रस्त मानेर चितवनमा राखिएको एउटा बाघलाई त्यहीँको राष्ट्रिय निकुञ्जको प्राकृतिक बासस्थानमा छोडिएको छ। अब चितवन र बर्दियामा दुई–दुई वटा बाघ मात्र राख्न सक्ने क्षमता छ। पछिल्लो पाँच वर्षमा बाघको आक्रमणमा परेर ६४ जनाको मृत्यु भएको छ।
बाघ पनि जोखिममा
संख्या बढेसँगै बाघ पनि जोखिममा पर्न थालेका छन्। पछिल्लो समय बाघलाई विष राखेर वा पासोमा पारेर मार्ने क्रम वृद्धि भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार एक वर्षमा निकुञ्ज क्षेत्रमा चार वटा बाघ मारिएका छन्।
गत चैतमा बाराको कोल्वीस्थित तामागढी सामुदायिक वनमा गोली हानेर मारिएको अवस्थामा एउटा बाघ फेला परेको थियो। त्यसैगरी गत चैत ७ गते चितवनको कालिका नगरपालिकास्थित उदयपुर सामुदायिक वनमा एउटा बाघ विष खाएर मरेको अवस्थामा भेटिएको थियो। उता कैलाली तथा नवलपुरमा पनि गत फागुनमा मृत बाघ भेटिएका थिए।
कैलालीको जानकी गाउँपालिका–९ मा रहेको अमरावती सामुदायिक वनमा गत माघमा एउटा पाटे बाघ पासोमा परेर मरेको अवस्थामा भेटिएको थियो। बाघले मानिसमाथि आक्रमण गरेपछि ती बाघलाई नियन्त्रणमा लिन स्थानीयले माग गर्ने र निकुञ्जभन्दा बाहिर बाघको अस्वभाविक मृत्यु हुने घटनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग व्यवस्थापनको दोहोरो दबाबमा छ।
विभागका महादिर्नेशक सिन्धु ढुंगाना बासस्थानको तुलनामा संख्या बढेपछि बाघ निकुञ्जबाहिर आउनु स्वभाविक भएको बताउँछन्। संख्या बढेकै कारण मान्छे र बाघ दुवै बचाउन चुनौतीपूर्ण रहेको उनको भनाइ छ। “मानिस तथा पशु चौपायालाई आक्रमण गरेपछि केही ठाउँमा स्थानीयले प्रतिशोध साँधेको पनि देखिन्छ,” उनी भन्छन्, “व्यवस्थापनको विषयमा अब छलफल चलाउन ढिला गर्नुहुन्न।”
त्यसरी आक्रमण गर्ने बाघ थुनेर राख्दा ती पनि मर्ने गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जको खोरमा थुनिएको एउटा पाटे बाघ गत चैत १२ गते मरेको थियो। उक्त बाघलाई गएको वर्ष असार ३ गते चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार पटक–पटक बस्तीमा पसेर गाईबस्तु मारेपछि उक्त बाघ नियन्त्रणमा लिइएको थियो। निकुञ्ज कार्यालयका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार एक हप्तासम्म आहारा नखाएपछि बाघ मरेको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा मरेको यो बाघ नै पहिलो होइन। यसअघि कार्यालयमा थुनेर राखिएका दुई वटा बाघ मरेका थिए। एउटा बाघ गएको फागुन १४ र अर्को बाघ असोज १५ गते मरेका थिए। निकुञ्ज कार्यालयका अनुसार ती दुवै बाघको अनुहारमा लागेका चोट निको नभएपछि मरेका सूचना अधिकारी भगत बताउँछन्।
व्यवस्थापनका अन्य उपाय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अहिलेसम्म समस्याग्रस्त देखिएका बाघलाई नियन्त्रणमा लिने र खोरमा थुन्ने गरिरहेको छ। विभागका उप महानिर्देशक ढकाल बाघ नियन्त्रण गरेर पाल्न खर्चिलो भएको बताउँछन्। “बाघ नियन्त्रणमा लिएर व्यवस्थापन गर्ने काम निकै महँगो भयो, अब व्यवस्थापनको नयाँ मोडेलमा सोच्न जरुरी छ,” उनी भन्छन् “अहिलेसम्म त गरेका छौँ, यसरी कति दिन जान सकिन्छ र!”
उनका अनुसार एउटा बाघलाई हप्ताको २८ केजी मासु चाहिन्छ। त्यसबाहेक बाघको हेरालु, चिकित्सकको टीमसहित जनशक्ति आवश्यक हुन्छ। बाघ व्यवस्थापनमा चुनौती देखिए पनि विभागले अहिलेसम्म नयाँ उपायबारे छलफल चलाएको छैन। विभागका अधिकारीहरू अब व्यवस्थापनका विभिन्न विकल्पमा जानुपर्ने बताउँछन्।
राष्ट्रिय प्रकृति संरक्षण कोषका बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल घाइते वा अशक्त बाघले मात्र मानिसलाई आक्रमण गरेको देखिएको बताउँछन्। “नियन्त्रणमा लिइएका बाघ खोरमा राखेर सडाउने नियत होइन, अरू विकल्प नभएर हो,” उनी भन्छन्, “बाघ रेस्क्यु सेन्टर र बाघलाई ठूलो घेरामा राख्ने सेन्चुरी बनाउनु आवश्यक छ। त्यसो भयो भने बाघलाई प्राकृतिक बासस्थान पनि हुन्छ।”
बाघ आफ्नो क्षेत्रमा घुम्ने भएकाले सकेसम्म प्राकृतिक बासस्थान नै उत्तम हुने बाघविज्ञ पोखरेल बताउँछन्। “हामीले राम्रो खोर बनाएर राखेर पनि हुन्न, वनमा बाघको आफ्नो क्षेत्र हुन्छ। त्यहाँ उनीहरू हिंड्नुपर्छ,” पोखरेल भन्छन्, “बाघ स्वतन्त्र घुम्न नपाए उसका खुट्टा दुख्ने समस्या हुन्छ। अनि बिरामी हुन सक्छन्।”
विज्ञहरूका अनुसार खोरमा जानु भनेको बाघको ‘नेचुरल डेथ’ हो।
विभागका उप महानिर्देशक ढकाल बाघ नियन्त्रणमा राखेर पार लगाउने अवस्था नभएको बताउँछन्। प्रदेशस्तरमा ठूला चिडियाखाना बनाएर राख्नुपर्ने उनको सुझाव छ। “सरकारले सात वटा प्रदेशमा चिडियाखाना बनाउने घोषणा गरेको छ। यदि चिडियाखाना छिटो बनाइयो भने ती बाघलाई चिडियाखानामा राखेर पर्यटनलाई पनि अघि बढाउन सकिन्छ,” ढकाल भन्छन्।