Thursday, May 02, 2024

-->

बाँदर, बँदेल र दुम्सीले यसरी हुँदैछ किसानको उठिबास

पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्।

बाँदर बँदेल र दुम्सीले यसरी हुँदैछ किसानको उठिबास
प्रतीकात्मक तस्वीर।

काठमाडौँ– सुर्खेतको भेरीगंगा नगरपालिका–४ सानो हर्रेका शंकरकुमार खत्रीले गत वर्षको असोजमा चार क्विन्टल आलुको बीउ रोपेका थिए। भित्र्याउन ठिक्क हुँदै गरेको आलु गत पुसमा बँदेल र दुम्सीले खाएर स्वाहा बनाइदिए। “दुम्सी र बँदेलले नखाएको भए ३५ क्विन्टलसम्म फल्ने थियो,” उनी भन्छन्, “बल्लतल्ल जोगाएर १२ क्विन्टल मात्रै स्याहार्न पाएँ।”

शंकरले मौसमी र बेमौसमी गोलभेँडा, काँक्रो, काउलीलगायत तरकारी उत्पादन गरेर त्यसको आम्दानीले ६ जनाको परिवार पाल्छन्। हरेक वर्ष ३०० क्विन्टल गोलभेँडा, २०० क्विन्टल काउली तथा आलुलगायत सिजनअनुसारका तरकारी फलाउने गरेको उनी बताउँछन्। तरकारी बिक्रीबाट एक वर्षमा ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्।

तर पछिल्लो समय बाँदर र बँदेलबाट तरकारी र बाली जोगाउनै मुस्किल पर्न थालेको शंकरले बताए। “तरकारी जोगाउन धौधौ भयो, बँदेल र बाँदरले सबै नोक्सान गर्छन्,” उनी भन्छन्, “कुरेर नबस्ने हो भने जोगाउन सकिन्न। बाँदर त दिउँसो मात्र आउने भएकाले जसोतसो जोगाउन सकिन्छ। तर राति आउने बँदेल र दुम्सीले सबै बाली स्वाहा पार्छन्।”

भेरीगंगा नगरपालिका–४ सानो हर्रेका शंकरकुमार खत्री।

भेरीगंगा–४ सानो हर्रेमा ६५ घरपरिवार छन्। बाघखोर र खोर्रेको जंगलबाट आउने बाँदर, बँदेल र दुम्सीका कारण त्यहाँका सबै स्थानीय पीडित छन्। 

सोही ठाउँका वीरबहादुर खड्का बँदेलका कारण बाली उठाउन नपाउने अवस्था आएको बताउँछन्। उनका अनुसार पछिल्लो आठ वर्षयता मात्र गाउँमा बाँदर र बँदेल देखिन थालेको हो। “तीन वर्षदेखि भने बाली नै स्याहार्न हम्मे हुने अवस्था भएको छ,” उनी भन्छन्, “हामीले त धान र गहुँ पनि भित्र्याउन नपाउने भयौँ।”

बाँदरले बाख्रा नै मारिदिए 
बाँदर र बँदेलले बालीनाली खाएर नोक्सान मात्र गरेका छैनन्, पशुधनको पनि क्षति गरेका छन्। पाल्पाको तानसेन नगरपालिका-९ दमकडामा बुधबार चराउन लगिएका बाख्रालाई बाँदरले आक्रमण गरी मारिदिएका छन्। बाँदरको आक्रमणबाट तीन वटा माउ बाख्रा मरेको वडाध्यक्ष राजेश अर्यालले जानकारी दिए।

अर्यालका अनुसार गोविन्द खरालले खरबारीमा चराउन लगेका बाख्रालाई बाँदरले आक्रमण गरेका थिए। आक्रमणबाट अरू दुई वटा बाख्रा घाइते भएका छन्। एक्लै भेट्दा बाँदरले मान्छेलाई पनि आक्रमण गर्ने गरेको वडाध्यक्ष अर्याल बताउँछन्।

अन्नबाली खान खेतबारीमा आउने बँदेलले मानिसलाई पनि आक्रमण गर्ने गरेका छन्। सुर्खेतको सानो हर्रेका शंकर खत्री एक वर्षअघि बँदेलको आक्रमणबाट घाइते भए। त्यतिबेला उपचारका लागि २५ हजार रुपैयाँ खर्च भएको उनी बताउँछन्।

"साँझ नै आएका बँदेलले तरकारी नष्ट गर्न थालेपछि म धपाउन गएँ। उल्टै ममाथि आक्रमण गरे," शंकर भन्छन्, "मैले चिच्याएपछि छरछिमेक आएर बचाए। कोही नआएको भए मेरो ज्यानै लिने रहेछन्।"

मध्यपहाडमा सबैतिर समस्या
नेपालका मध्यपहाडी क्षेत्रका प्रायः सबै जिल्लामा बँदेल र बाँदरले बालीलाई क्षति पुर्‍याउने समस्या बढेको छ। मध्यपहाडको अर्को जिल्ला अर्घाखाँचीका किसानले पनि बँदेलबाट सास्ती बेहोरिरहेका छन्। अहिलेसम्म बँदेल नदेखिएको गाउँमा यसवर्ष मकै नै सखाप पारेको पाणिनि गाउँपालिका–७ का फर्सबहादुर श्रेष्ठ बताउँछन्। “हामीले अहिलेसम्म जंगली बँदेल देखेका थिएनौँ, यस वर्ष बारीमा रोपेको मकै स्याहार्न पाइएन,” उनी भन्छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवम् सहसचिव अजय कार्की मध्यपहाडका किसानलाई बँदेलले समस्या उत्पन्न गराएको बताउँछन्। उनका अनुसार तराईमा नीलगाई तथा पहाडमा बाँदर, बँदेल र दुम्सीले समस्या बनाएको छ। “बँदेल र बाँदरका कारण पहाडी क्षेत्रबाट मानिसहरू बसाइँसराइ भएका विवरण पनि प्राप्त भएका छन्,” उनी भन्छन।

पहाडका किसानलाई बाँदर, बँदेल र दुम्सीले दुःख दिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले उचित कानून बनाउन वा भएको कानून संशोधन गर्न माग गरेको छ। महासंघले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालय तथा वन विभागमा ज्ञापनपत्र बुझाएर किसानमैत्री कानून बनाउन माग गरेको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुंगाना गाउँपालिका राष्ट्रिय महासंघले बँदेल, बाँदर र दुम्सीलाई कृषि हानिकारक वन्यजन्तुका रूपमा घोषणा गर्न माग गरेर ज्ञापनपत्र बुझाएको बताउँछन्। “स्थानीय तहबाट जनताका धेरै माग र गुनासो आएका छन्। कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ,” उनी भन्छन्, “अहिले निर्णय भइसकेको छैन। नीतिगत बहस मात्र चलेको हो।”

सुर्खेतको सानो हर्रे गाउँका किसान जंगली जनावरबाट बाली जोगाउने विषयमा छलफल गर्दै।

बाँदरका कारण स्याङ्जा, कास्की, बागलुङ, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत मध्यपहाडी जिल्लामा बसाइँसराइ बढेको छ। स्याङजाको गल्याङ नगरपालिका–१० डुबिण्डामा बाँदरले दुःख दिएपछि स्थानीय धमाधम बसाइँ सरिरहेका छन्। त्यहाँ गाउँ नै खाली हुन थालेपछि खेतबारी पनि बाँझो हुन थालेको गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराई बताउँछन्।

नगरपालिका क्षेत्रमा बाँदर र बँदेलका कारण ५० प्रतिशत उत्पादन घटेको छ। “हामीकहाँ खेती गर्ने प्रशस्त जमिन छ। सबै जग्गामा खेती गर्दा नगरपालिकाभित्र खान पुगेर पनि निकासी गर्न सम्भव छ,” मेयर भट्टराई भन्छन्, “तर जंगली जनावरले बाली उठाउनै नदिएपछि मानिसहरू बसाइँ सरिरहेका छन्। खेतबारी बाँझा भए।” 

बसाइँ सर्नेमध्ये ४० प्रतिशत स्थानीय जंगली जनावरका कारण थातथलो छाडेर हिँडेको भट्टराईले बताए। 

विदेश जान बाध्य
सुर्खेतको भेरीगंगा नगरपालिका–४ सानो हर्रेका शेरबहादुर खत्री बाबु शंकरले गरिरहेको तरकारी खेतीलाई नै निरन्तरता दिने पक्षमा थिए। उनका साथीहरू भने वैदेशिक रोजगारीमा गइरहेका थिए। “विदेश गए पनि ४०/५० हजार कमाइ हुने हो। त्यति कमाइ त घरमै बसेर तरकारी खेती गर्दा पनि हुन्थ्यो। त्यसैले बुवाले गरेकै काम गर्ने भनेर विदेश नगाइ बसेँ,” उनी भन्छन्, “जंगली जनावरबाट तरकारी जोगाउन गाह्रो भएपछि विदेश जाने निर्णय गरेँ।”

दशैँअघि नै वैदेशिक रोजगारका लागि जाने तय भएको खत्री बताउँछन्। सोही ठाउँका बीरबहादुर खड्का स्वदेशमा बसेर केही गरौँ भन्ने युवाहरू बाँदर र बँदेलका कारण विदेश जान बाध्य भएको बताउँछन्। “गाउँमा बसेर गर्ने कृषि पेसा हो। अब त्यही पेसा पनि जंगली जनावरले गर्न नदिएपछि युवाहरू विदेश जान बाध्य हुन थालेका छन्,” उनी भन्छन्, “सरकारले हामीलाई बाँदर र बँदेल मार्न पाउने कानून दिनुपर्छ।”

स्याङ्जाको गल्याङका मेयर भट्टराई पनि मध्यपहाडमा बाँदर र बँदेलको समस्या सबैतिर उस्तै रहेको आफूले पाएको भन्दै विदेशबाट फर्केर कृषिमा लागेका युवा फेरि पलायन हुने अवस्थामा पुगेको बताउँछन्। “बाटोघाटो बरू पछि भए पनि हुन्छ, पहिला जंगली जनावर नियन्त्रण गर्नुस् भनेर जनताले भनिरहेका छन्। गाउँमा बसीखान भएन भनेर आउनुहुन्छ। हामीले केही गर्न सकेका छैनौँ,” भट्टराई भन्छन्।

पहाडी क्षेत्रमा बाँदर र बँदेलले अन्नबालीमा गर्ने क्षतिको कुनै लेखाजोखा छैन। हरेक वर्ष नोक्सानी बेहोरिरहेका किसानहरूले राहात पाएका छैनन्। ‘राहात निर्देशिका २०८०’ अनुसार बँदेल र बाँदरले अन्नबालीमा गरेको क्षतिको किसानले राहात पाउँदैनन्। 

सरकारले निकुञ्ज र त्यस आसपास वन्यजन्तुबाट हुने क्षतिको राहात रकम प्रदान गर्दै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार वन्यजन्तुबाट हुने क्षति र वितरण हुने राहात रकम हरेक वर्ष बढ्दै गएको छ। 

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ९१ लाख रुपैयाँ राहात वितरण गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ मा राहातबापत १७ करोड २८ लाख वितरण गरिएको थियो। आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट २०८ जनाले ज्यान गुमाए भने ५४५ जना गम्भीर घाइते भएका छन्। 

विभागका सहसचिव अजय कार्की वन्यजन्तुको संख्यामा भएको वृद्धि, जनचेतनाको अभाव, प्राकृतिक स्रोतमा आश्रित रहनुपर्नेहरूको बाध्यता नै मान्छे र वन्यजन्तुबीचको द्वन्द्वको मुख्य कारण भएको बताउँछन्।


सम्बन्धित सामग्री