Wednesday, July 24, 2024

-->

जुम्रोले झैँ बजार उपभोक्तालाई चुस्छ, सरकार घुर्दै सुत्छ

नक्कली पात्रहरू खडा गर्दै ‘मेरो त स्वाट्टै कपाल उम्रियो, फुलेको कपाल कालै भयो’ भन्दै जादूगरी तेल/सेम्पुको कपटपूर्ण प्रचार गर्दा पनि सर्वसाधारणहरू पत्याउँछन्।

जुम्रोले झैँ बजार उपभोक्तालाई चुस्छ सरकार घुर्दै सुत्छ

केही हप्तापहिले एक मित्रले दराजडटकममार्फत दुई पुस्तक अर्डर गरे। एउटा किताब केही दिनमा आइपुग्यो। एक दुई हप्ता कुर्दा पनि अर्को आइपुगेन। तिरिसकिएको पैसा पनि फिर्ता भएन। झन्डै दुई हप्तासम्म त्यसबारे कुनै जानकारी/अपडेट केही प्राप्त आएन। सहकर्मीले अनलाइनमार्फत तिरेको पैसा बीच बाटैमा अड्कियो। दराजलाई सोबारे सम्पर्क गर्न खोज्दा उनी हैरान भए। कहाँ सम्पर्क गर्नेभन्नेबारे दराजको वेबसाइटमा नेपाली भाषामै सहज र प्रस्ट विवरण छैन। भेटिएका नम्बरमा कल गर्दा पनि कहिले कसलाई फोन गर भन्छ, कहिले कसलाई। बल्लतल्ल दराजकै कुनै खास मान्छेको फोन नम्बर पत्ता लगाएर आफ्नो परिचय खुलाएपछि केही दिनमा उनको पैसा फिर्ता भयो। यसबीचमा मित्रले जुन हैरानी भोगे, त्यसको न हिसाब छ न क्षतिपूर्ति।

त्यसकै सेरोफेरोमा पत्रकार गजेन्द्र बुढाथोकीले ‘आफूले दराजमा सामान अर्डर गरेको, तर अर्डर गरिसकेपछि सामान स्टक आउट भयो, नयाँ उत्पादन भने बढेको मूल्यमा खरिद गर्न सक्नुहुन्छ भन्दै दराजले जानकारी दिएको’ र सो विषय उपभोक्ता हित विपरीत रहेको भन्दै एक्समा पोस्ट गरेका थिए। उनले उठाएको विषय जायज थियो। तर दराजको मात्र होइन, धेरैजसो स्थापित सेवा प्रदायक कम्पनीले उपभोक्ता हितबारे गर्ने व्यवहार 'हङकङ बजार'कै छ। अन्य कुरा छाडौँ, सामान्य शिष्टाचारसमेत जानेका छैनन् अधिकांश नेपाली 'बेच्नेवाला'ले। एकाध 'मल्टीनेसनल चेन' रेस्टुरेन्टहरूले आफ्ना कर्मचारीलाई शिष्टाचार सिकाएका होलान्, त्यसबाहेक कहीँकतै पनि उपभोक्ताप्रति बजारियाको व्यवहार राम्रो छैन। पासो थापेर बसेका राजमार्गका होटल/रेस्टुरेन्टबारे त धेरैले अमिलो पोखेकै छन्। तर त्यहाँ पनि सुधारको झल्को खासै छैन। 

अहिले कस्तो छ कुन्नि, दुई दशक अघितिर भृकुटीमण्डपको 'हङकङ बजार'मा सामान किन्न पुग्दा त्यहाँका कतिपय व्यापारी क्रेताको हुर्मत लिँदै पैसा धुत्थे। क्रेतालाई थर्काएर भए पनि सामान भिडाउँथेँ। ग्राहकलाई सामान मन नपर्दा ‘यस्तो सामान मन नपर्ने पनि मान्छे हुन्छ?’ भन्दै ग्राहकको सातो खान्थे। आखिरमा ‘तिमीले यो सामान किन्न सक्दैनौँ’ भन्दै ग्राहकलाई अपमानित गर्थे। अनि कतिपय ग्राहक सोही अपमानको मूल्य तिर्नकै भए पनि दिक्क मान्दै मन नपरेको सामान किनिदिन्थे। र, अहिलेका अनेक अनुभवबाट बुझिन्छ, उपभोक्तालाई शोषण/अपमान गर्ने त्यस्तो अभ्यास जारी छ। मान्छेमा चेतनाको विस्तारसँगै त्यस्तो अभ्यास अलि कम भएको होला, तर उपभोक्ता अनेक रूपमा ठगिएकै छन्। सेवा वा उत्पादनमा गुनासो गर्दा ‘नलगे भो, नआए भैगो नि त’ भन्दै टर्रो जवाफसमेत फर्काउँछन्। 'क्रेता सधैँ सत्य हुन्छन्' भन्ने आधुनिक बजारवादी मान्यता हो। त्यसको ठीक उल्टो हुन्छन् यिनीहरू। 

काठमाडौँ महानगरपालिकाअन्तर्गतको बजार अनुगमन समितिले दुई हप्ताअघि चौधरी ग्रुप प्राइभेट लिमिटेडको वाइवाइ चाउचाउको तेलमा एसिड भ्यालु तोकिएकोभन्दा बढी देखिएको भन्दै दुई लाख रुपैयाँ जरिबाना गराएको थियो। 

केही हप्ताअघि मात्र डाक्टरको सल्लाहमा बच्चालाई बान्ता रोक्न प्रयोग हुने औषधि 'ओन्डेम' (भारतमा उत्पादित, ओडीएस २३०० २ जी ब्याच नम्बर (उत्पादन मिति १०/२०२३, एक्सपायरी डेट: ०९/२०२५)) किनेर ल्याउँदा बिर्कोबाट तरल पदार्थ बाहिरिएर सुकिसकेको देखियो। पुनः फार्मेसीमा गएर अर्को माग्दा अधिकांश औषधिको हालत त्यही रहेछ। सम्भवतः सो ब्याचका सबै औषधिमै समस्या रहेछ। औषधिमै समस्या त झनै खतरनाक कुरा हो। 

यो गुनासो लेख लेख्दै गर्दा 'रियल फ्रुट पावर' नामक 'जुस'को मेंगो फ्लेबरको सानो कागजी प्याक हेर्दै छु। त्यहाँ डेट अफ् एक्सपायरी (म्याद गुज्रने समय) प्रस्ट रूपमा उल्लेख छैन। यो विषय त नेपाली र अंग्रेजीमै प्रस्ट लेख्नुपर्ने विषय होइन र? 'यति महिनाभित्र उपभोग गरिसक्नुपर्ने विवरण' सामानको प्याकेटको एक कुनामा छ, अर्कोतिर छ उत्पादित मिति। ती विवरण पनि सारै साना अक्षरमा छन्। झारा टार्न र उपभोक्तालाई झुक्क्याउनकै लागि त्यसो गरिएको हो भनेर सिधै अनुमान गर्न सकिन्छ। 'फ्रुटी' र 'मेनिया'मा समेत त्यस्तै देखिन्छ। यसो गरिनु आफैँमा उपभोक्ता र तिनको हितमाथिको मजाक हो। उपभोक्ता सचेतता नभएको हाम्रोजस्तो मुलुकमा कति प्रतिशत जनसंख्यालाई नै चासो होला र उपभोग्य मिति र उत्पादन मितिको? यस्तोमा सबै दैनिक उपभोग्य सामानमा ठूला अक्षरमा सरल नेपाली र अंग्रेजीमा समेत सामान उत्पादित र म्याद गुज्रने मिति (एक्सपायरी डेट) उल्लेख गर्दा हुँदैन?  

अहिले जतासुकै 'चुक अमिलो' पाइन्छ। गोर्खाको चुक अमिलो, पहाडको चुक अमिलोलगायत अनेक नाममा। लोभलाग्दा र साना बट्टामा पाइने त्यस्तो जिनिस चुक अमिलो नै हो भन्नेमा किन शंका उत्पन्न हुन्छ भने त्यो सस्तो मूल्यमा पाइन्छ। थोरै परिणाममा चुक अमिलो बनाउन पनि प्रशस्त कागती/निबुआ/ज्यामिर आदि चाहिन्छ, जबकि बजारमा पाइने चुक अमिलो सस्तो मूल्यमा पाइन्छन्। अघिल्लो साल चितवनमा एकैदिन झन्डै ६०० लिटर त्यस्तो नक्कली चुक बजारबाट जफत गरेर नष्ट गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीका अनुसार चुक भनिएको सो पदार्थ पिठोसँग उच्च मात्रामा मिसाइएको साइट्रिक एसिडयुक्त कालो पदार्थ थियो। चितवन पोस्टमा उद्धृत अधिकारीको भनाइ अनुसार त्यस्ता पदार्थको प्रयोगले व्यक्तिलाई एलर्जी, अपच र बान्ता हुनसक्छ। नियमित रूपमा प्रयोग गर्दा क्यान्सरजस्ता घातक रोगसमेत लाग्न सक्छ। 

अहिले बजार र सामाजिक सञ्जालमा एउटा कुनै महँगो तेलको चर्चा छ। कपाल उमार्ने दाबी छ त्यसको। ३ हजार मूल्य उल्लेख भएको सो तेलको विज्ञापन अनेकन् डिजिटल सामग्रीमा देखिने गरेको छ। तर पछिल्ला दिन सो उत्पादन भ्रमपूर्ण रहेको भन्दै कतिपय उपभोक्ता त्यसको प्रयोग नगर्न सुझाइरहेका छन्। विश्वासिलो स्वास्थ्य अनलाइन मायोक्लिनिकडटओआरजीका अनुसार वंशाणुगत, हर्मोन परिवर्तन, अन्य स्वास्थ्यजन्य कारण र उमेर बढेसँगै कपाल झर्ने गर्छ। यस्तोमा कुनै बास्नादार तेलले कपाल झर्न रोक्ने या पलाउने भन्ने दाबी आफैमा शंकापूर्ण हुन्छ। 

अन्यत्र नजाऊँ, मुलुकको 'प्रतिष्ठित' भाटभटेनी सुपरमार्केटमा अहिले पनि अनेकौँ बेनामे उत्पादन बेचिन्छन्। अन्य पसलमा पनि त्यस्ता सामान भेटिइन्छन्। ती सामान केबाट बनेका हुन्, त्यसको प्रयोग कुन अवस्थामा गर्ने भन्ने विवरण तिनमा भेटिन्नन्। लगाउने, सुत्ने, बस्ने सामानमा समेत 'लिड' समस्या हुन्छ भनेर स्वास्थ्यसम्बन्धी विज्ञहरूले भनिरहेको अवस्थामा, 'प्याकेज्ड' खाद्य पदार्थमा नै केही नबुझिने विवरण हुनु आम उपभोक्तामाथिको सिधा अपराध हो। तीमध्ये धेरै उत्पादन चिनियाँ हुन्छन्। नेपालीले चिनियाँ भाषा बुझ्ने कुरो भएन। जनस्वास्थ्यको यसरी हुर्मत लिइँदा सम्बन्धित सरकारी नेतृत्व/निकाय के गरेर समय काट्दा हुन्? 

डायबिटिज निको पार्नेदेखि क्यान्सर निको पार्ने भ्रमपूर्ण विज्ञापनसहित अनेकन् उत्पादन/बेकारका उत्पादनसमेत सामाजिक सञ्जालमार्फत बेचिइने गरेका छन्। तर हाम्रो 'मध्ययुगीन प्रशासन/सरकार'लाई पत्तो छैन। 

स्मरणीय छ, हालै मात्र पतञ्जलि आयुर्वेदका नाममा अनेकन् सामना बेच्ने त्यसका हर्ताकर्ताद्वय रामदेव र बालकृष्णविरुद्ध आफ्ना उत्पादनको भ्रमपूर्ण विज्ञापन गर्दै जनस्वास्थ्यमा क्षति पुर्‍याएको तथा सोही विषयमा अदालतको मानहानि गरेको भन्दै मुद्दा चलिरहेको छ। यससँगै भारतको उत्तराखण्ड प्रदेश सरकारले त झन्डै दर्जन तिनका उत्पादनमा प्रतिबन्ध लगाउँदै फौजदारी मुद्दा अघि बढाएको छ। अहिले पनि निर्बाध रूपमा रामदेव/बालकृष्णको पतञ्जलि आयुर्वेदमार्फत उत्पादित 'चमत्कारी उत्पादनहरू' नेपालमा बिकिरहेकै छन्। 

विकसित भनिने देशमा समेत आजका दिनमा समेत 'स्नेक वेय्ल' धन्दा चलेका छन् भने चमत्कारमा मजैसँग विश्वास गर्ने हाम्रो समाजमा यस्तो धन्दा नचल्ने कुरै भएन। त्यसमाथि अनलाइन माध्यमको आगमनसँगै यस्ता चमत्कारी धन्दा झनै फस्टाएको छ। नक्कली पात्रहरू खडा गर्दै "मेरो त स्वाट्टै कपाल उम्रियो, फुलेको कपाल कालै भयो" भन्दै जादूगरी तेल/सेम्पुको कपटपूर्ण प्रचार गर्दा पनि सर्वसाधारणहरू पत्याउँछन्। त्यसमाथि सेलिब्रिटी नै यस्ता 'क्ववाक उत्पादन'हरूको प्रवर्द्धन गरिरहेका छन्। तर यस्तोमा समेत अनुगमनकारी निकायहरू सुतेको देख्दा भने अवाक् लाग्छ। 

बजारका बेथितिको कुरा गरी साध्य छैन। 'जुस'मा लेदो भेटिन्छ, ओस परेको चिनी बेचिन्छ। चामल र पिठोमा एक्सापायरी डेटको कुरा गरे उपभोक्ता नै हाँस्दा हुन्, किनकि पुराना पुस्ताका अधिकांश मान्छे चामल जति पुरानो भयो, उति राम्रो ठान्छन्। चना, केराउ, भटमास यति पुराना बेचिन्छन् कि तिनलाई भिजाएर राख्ने हो भने बिरलै ती टुसाउँछन्।   बजारलाई जसरी हो ग्राहकका पैसा तान्नु छ। यस्तो लाग्छ, जसरी हो उपभोक्तालाई उल्लु बनाएर सामान बेच्ने र त्यसबाट अधिक लाभ गर्नु मात्रै बजार/व्यवसायको कर्म हो। जबकि व्यवसाय एक प्रकारले सेवा पनि हो। सेवा दिएर जनसाधारणलाई खुशी बनाउँदै आफू पनि सम्पन्न हुने असल कर्म हो व्यवसाय। हाम्रा विक्रेता, सेवाप्रदायक स्वयंलाई चाहिँ उपभोक्ता हितबारे चासो भएझैँ देखिँदैन। सरकारी जिम्मेवारीमा रहनुभएका सरम्याडहरू, यहाँहरूले यी सबै बेथिति देख्नुभएको छ? एउटा उपभोक्ताले यति बिघ्न बेथिति देख्दा तपाईंहरूचाहिँ के गरिरहनुभएको छ?

(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।) इमेज स्रोत: एआइ


सम्बन्धित सामग्री