Monday, May 06, 2024

-->

यसपालि मनसुनमा १२ प्रतिशत कम वर्षाः तराईमा धानखेती प्रभावित, हिमालमा बाढी

यस वर्षको मनसुन सरदरभन्दा चारपाँच दिन बढी रहने भएको छ। तर मनसुनमा समयमै पर्याप्त पानी नपर्दा तराईमा कतिपय खेत बाँझै छन्। काठमाडौँ र हिमाली क्षेत्रमा भने बढी पानी परेको छ।

यसपालि मनसुनमा १२ प्रतिशत कम वर्षाः तराईमा धानखेती प्रभावित हिमालमा बाढी
फाइल तस्वीर

काठमाडौँ– यस वर्षको मनसुन अवधिमा सरदरभन्दा १२ प्रतिशत कम पानी परेको छ। यद्यपि, नेपालबाट मनसुन बाहिरिइसकेको छैन। जल तथा मौसम विज्ञान विभागले अझै चारपाँच दिनपछि मात्र मनसुन बाहिरिने जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ देखि असोज १२ गतेसम्म सरदरभन्दा १२.४ प्रतिशत कम वर्षा भएको छ। उक्त अवधिको सरदर वर्षा एक हजार ४७२ मिलिमिटर हो। तर असोज १२ गतेसम्म एक हजार ३०१ दशमलव ४ मिलिमिटर मात्र वर्षा भएको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ (प्रायः जेठ ३० गते) र बाहिरिने सरदर मिति अक्टोबर २ (प्रायः असोज १५ गते) हो। दुई वर्षअघि मात्र नेपालमा सरदर मनसुन भित्रिने मिति जुन १३ लाई निर्धारण गरिएको थियो। त्यसअघि सरदर मिति जुन १० (प्रायः जेठ २७) लाई मानिन्थ्यो।

यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला गरी जुन १४ (जेठ ३१) मा मनसुन भित्रिएको थियो। तर बाहिरिने मिति भने चारपाँच दिन ढिला हुने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका छन्।

मनसुन बाहिरिने बेलामा बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकास भएकाले त्यसको प्रभाव परेको पौडेलको भनाइ छ। बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्र बिस्तारै जमिनतिर सर्दै आएको छ। अहिले न्यूनचापीय क्षेत्र नेपालको नजिक विहार र भारतको उत्तरप्रदेश हुँदै पश्चिमतिर गइरहेको छ। 

हावाको चाप जता कम हुन्छ हावा त्यतै बहने गर्छ। यसरी हावा बहने क्षेत्रलाई न्यूनचापीय रेखा भनिन्छ। गर्मीमा समुद्रबाट आएको बाफ नै पछि बादल बन्छ। सुमद्रबाट आएको बाफ हावाको चाप जता कम हुन्छ त्यतै गएर बादल बनेर बर्सिन्छ। यसरी, मनसुनमा न्यूनचापीय क्षेत्रमा पानी पर्छ।

नेपालबाट पूर्वतर्फ नजिकै समुद्र पर्छ। मनसुन सकिनका लागि पूर्वी वायु कमजोर बनेर पश्चिमी वायु शक्तिशाली हुनुपर्छ। “हाम्रो क्षेत्रमा अहिले पनि पूर्वी वायुको प्रभाव छ। मनसुन सकिने बेलामा बंगालको खाडीमा न्यूनचापीय क्षेत्रको विकास भयो,” वरिष्ठ मौसमविद् पौडेल भन्छन्।

पौडेलका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव अझै चारपाँच दिन रहन्छ। त्यसपछि बिस्तारै पश्चिमबाट मनसुन बाहिरिन शुरू गर्ने उनले बताए। यसको अर्थ, पहिला पश्चिममा मनसुनका कारण हुने वर्षा रोकिएर त्यो क्रमशः पूर्वतर्फ सर्छ।

तराईमा कम र मुस्ताङमा बढी वर्षा
यस वर्ष मनसुनमा तराईका अधिकांश स्थानमा कम वर्षा भएको छ। जनकपुरमा ५५ प्रतिशत मात्र वर्षा भएको छ। सिमरामा पनि सरदरभन्दा २५ प्रतिशत कम पानी परेको छ। भैरहवा, नेपालगन्ज, दाङ र धनगढीमा सरदरभन्दा २० प्रतिशत कम वर्षा भएको छ। 

यता, पोखरा र लुम्लेमा पनि कम वर्षा भएको छ। विगत वर्षमा सरदरभन्दा बढी वर्षा हुने यी ठाउँमा यस वर्ष सरदरभन्दा करिब १५ प्रतिशत कम वर्षा भएको मौसम पूर्वानूमान महाशाखाको तथ्यांक छ।

कम पानी पर्ने मुस्ताङमा भने मनसुनमा धेरै वर्षा भएको छ। मुस्ताङको सरदर मनसुनी वर्षा १६० मिलिमिटर हो। तर यस वर्ष १३८ प्रतिशत बढी वर्षा भएको छ। मुस्ताङमा मनसुन शुरू भएदेखि नै सरदरभन्दा धेरै वर्षा भएको थियो। त्यहाँ सबैभन्दा धेरै वर्षा भदौ ३ देखि असोज १२ गतेसम्म भएको थियो।

वर्षाका कारण कागखोलामा आएको बाढी साउन २८ गते मुस्ताङको कागबेनी बजारमा पसेको थियो। बाढीले बजारका १० घरसहित प्रहरी चौकी र पुलमा क्षति पुर्‍याएको थियो। बाँकी अधिकांश घरमा पनि लेदो पसेको थियो। स्थानीयले एक हप्ता लगाएर सफा गरेका घरमा भदौ ४ गते फेरि बाढी पसेको थियो।

पछिल्ला वर्ष हिमाली जिल्ला मुस्ताङसहित मनाङ, सिन्धुपाल्चोक र रसुवामा वर्षा हुने दरमा वृद्धि भएको छ। यद्यपि, सबै स्थानमा वर्षा मापन केन्द्र नभएका कारण कति वृद्धि भइरहेको छ भन्ने जानकारी उपलब्ध नभएको विभागले जनाएको छ।

काठमाडौँमा भने यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी परेको छ। काठमाडौँमा सरदरभन्दा १० प्रतिशत बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

धान उत्पादन घट्न सक्ने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशन गरेको विवरणअनुसार यस वर्ष भदौ ११ गतेसम्म रोपाइँ भएको थियो। समयमा वर्षा नहुँदा रोपाइँ पनि ढिलासम्म भएको हो। मन्त्रालयका अनुसार मधेश प्रदेशमा ८९ प्रतिशत मात्र रोपाइँ भएको छ।

मधेश प्रदेशमा चार लाख एक हजार ६५० हेक्टरमा धान खेती हुन्छ। तर यो वर्ष तीन लाख ५८ हजार २९० हेक्टरमा मात्र रोपाइँ भएको छ। गत वर्षको तुलनामा यो वर्ष १६ हजार ९०० हेक्टर कम क्षेत्रफलमा रोपाइँ भएको हो। 

महोत्तरीको जलेश्वरका किसान बजरंग नेपाली जलेश्वरभन्दा पश्चिमका खेतमा पानीको अभावमा रोपाइँ हुन नसकेको बताउँछन्। “जलेश्वरभन्दा पश्चिमका खेत अहिले पनि बाँझै छन्। पानी नपरेर किसानले धान रोप्न पाएनन्,” उनी भन्छन्, “रोपाइँ भएका खेतमा धानले पर्याप्त पानी नै पाएन। सिँचाइ भएका ठाउँमा पनि खोलामा पानी छैन।”

उनका अनुसार गत वर्ष महोत्तरी भएर बग्ने रातु, विगही र मराह खोलामा पर्याप्त पानी थियो। खोलाको पानीले नै धानखेत सिँचाइ हुन्थ्यो। यस वर्ष ती खोलमा पनि पर्याप्त पानी नहुँदा आसपासका खेतमा रोपाइँ प्रभावित भएको छ।

बाराको बारागढी गाउँपालिकाका त्रिभुवन साह पनि यस वर्ष पानी नपरेको कारण धान उत्पादन कम हुने बताउँछन्। “पहिला रोपेको धान काट्ने बेला भइसक्यो, तर पानी नपरेका कारण राम्रो छैन,” साह भन्छन्, “गत वर्षको तुलनामा ३० प्रतिशतले धान घट्न सक्छ।”

मधेशमा मात्र नभई देशभरि नै रोपाइँ भएको जग्गाको क्षेत्रफल घटेको छ। गत वर्ष १५ लाख चार हजार ९९० हेक्टरमा रोपाइँ भएको थियो। यो वर्ष १४ लाख ८८ हजार ४९ हेक्टरमा मात्र रोपाइँ भएको छ। गत वर्ष साउन २५ गते नै ९५ प्रतिशत रोपाइँ सकिइसकेको थियो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भने अहिलेसम्म यो वर्ष हुने धान उत्पादनको अनुमान गरेको छैन। मन्त्रालयकी सहसचिव एवम प्रवक्ता सवनम सिवाकोटी धान उत्पादनको विषयमा मन्त्रालयले कुनै अनुमान नगरेको बताउँछिन्।


सम्बन्धित सामग्री