Monday, May 06, 2024

-->

न्यूजलेटर
उकालो साप्ताहिक ब्रिफिङ: गोलभेँडा, बतास र ‘बाबा’को चर्चा

गोलभेँडाको भाउ बढेसँगै अगाडि बढेको यो सप्ताहले पछिल्लो सुन–प्रकरणमा जफत भएको सुनको तौल अनुमानितभन्दा घटेको खबर आएसँगै रफ्तार लिएको थियो।

उकालो साप्ताहिक ब्रिफिङ गोलभेँडा बतास र ‘बाबा’को चर्चा

पछिल्लो एक महिनामा नेपालमा उत्पादन भएको गोलभेँडाको मूल्य ६ गुणाले बढेको छ। गोलभेँडाको उच्च मूल्यवृद्धिसँगै सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा यो विषयबारे अधिक चर्चा भएको थियो। असार अन्तिमतिर ३० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्यमा बिक्री भएको गोलभेँडाको मूल्य साउन अन्तिम साता १८० रुपैयाँसम्म पुगेको थियो। यो बढेको मूल्यको नाफा भने कृषकले नभएर बिचौलियाले लिने गरेका छन्। साउनमा नै गोलभेँडाको भारततर्फ उच्च निकासी भएको थियो।

अर्कोतर्फ, तरकारीमा अनियन्त्रित विषादीको प्रयोगले पनि किसान नै बढी मारमा परेका छन्। विषादी प्रयोग नभएका तरकारीहरू राम्रो नहुने र बजारमा राम्रो भाउ पाउन नसकिने मान्यता अधिकांश किसानमा छ। तर यसको पहिलो असर भोग्नेमा उनीहरू स्वयं र त्यसपछि आम उपभोक्ता पर्छन्।

गोलभेँडाको भाउ निरन्तर आकासिइरहँदा सुनको भाउ नभए पनि तौल घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको 'एक सय किलो' सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबार जोखेको थियो।  तस्करले हङकङबाट अवैध रूपमा ब्रेक शुमा राखी भित्र्याएका सुन पगालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल रहेको पाइको थियो। यही प्रकरणको अनुसन्धानका क्रममा बिहीबार राति थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका थिए। यसका साथै यो प्रकरणमा पक्राउ पर्नेको संख्या हालसम्म २३ पुगेको छ।

यसै सन्दर्भको सेरोफेरोमा, हप्तौँदेखि अवरुद्ध रहेको संसद् यो साता पनि सुचारु हुन सकेन। सुन प्रकरणमा अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट पछि हटेको छैन। राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भने उकालोसँगको संवादमा प्रतिवेदन नै कार्यान्वयन नहुने संसदीय छानबिन समितिको औचित्य नहुने बताएका छन्।

संसद् सुचारु हुन नसक्दा कतिपय सार्वजनिक महत्त्वका विषय ओझेलमा परेका छन्। उदाहरणका लागि मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्रमा पर्ने कागखोलामा आएको बाढी। उक्त बाढीले त्यस गाउँपालिकाको ४ नम्बर वडास्थित कागबेनी बजारका ३१ वटा घर बगाएको थियो।

उकालो विशेष: अपारदर्शी 'कारोबार' र राजनीतिक ‘कनेक्सन’

फेवाताल सिरानतर्फको पाँच रोपनी जग्गा व्यावसायिक घराना बतास समूहले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई नामसारी गरिदिएको फेला परेको छ। उकालोमा बुधबार प्रकाशित रिपोर्टका अनुसार पर्यटकीय आकर्षणको केन्द्र मानिने पोखरानजिकै, कास्कीको ढिकुरपोखरीमा देउवापुत्र जयवीर सिंह देउवाका नाममा जग्गा पास भएको मालपोत कार्यालयको कागजातले देखाउँछन्। 

उकालोलाई प्राप्त कागजातअनुसार दुई कित्ता कायम रहेको ५ रोपनी ३ पैसा १ दाम जग्गा जयवीरको नाममा नामसारी भएको छ। साबिक ढिकुरपोखरी गाविस वडा नम्बर ९, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ मा रहेको कित्ता नम्बर १९१८ को २ रोपनी ३ पैसा १ दाम र कित्ता नम्बर १९१९ को ३ रोपनी जग्गा जयवीरको नाममा पास भएको देखिन्छ।

यसैगरी, राजधानी काठमाडौँसँगै देशभरि रहेको नेपाल बाल संगठनको जग्गा, भवनलगायतका सम्पत्ति कतै लिज त कतै समाज सेवाका नाममा कब्जा हुन थालेपछि संगठनका पदाधिकारीहरूले सार्वजनिक रूपमै संगठनको सम्पत्ति संरक्षण गरिदिन सरकारसँग याचना गरेका छन्।

उनीहरूले सोमबार संगठनको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी व्यापारिक घरानाका साथै विभिन्न सामाजिक तथा धार्मिक संघसंगठनले कब्जा गरेका सम्पत्ति फिर्ता लिन आफूहरूले संघर्ष गरे पनि सफल नभएको भन्दै यसमा सरकारको सहयोग मागेका हुन्। 

अर्कोतर्फ, प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीका छोरा वरुणको निमन्त्रणामा भारतको मध्यप्रदेशस्थित बागेश्वरधामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्री शुक्रबार नेपाल आइपुगेका छन्। ‘बागेश्वरधाम सरकार’ र ‘बागेश्वर बाबा’को नामबाट पनि चिनिने शास्त्रीले शुक्रबार नै पशुपतिनाथको दर्शन गेरेर शनिबार नवलपरासीपूर्वको दुम्कौलीस्थित शाश्वतधाम पुग्नेछन्।

धीरेन्द्रकृष्ण शास्त्री आफ्नो 'चामत्कारिक गतिविधि'का कारण भारतमा जति चर्चामा छन्, त्यसबाट जति धेरै अनुयायी बनाएका छन्, त्यति नै साम्प्रदायिक र जातीय भेदभाव जनिने क्रियाकलापका कारण विवादित पनि छन्। बागेश्वरधाममा कथा वाचन गरिरहेको बेला उनको खुट्टा ढोग्न जाने एक व्यक्तिलाई उनले ‘मलाई नछोऊ’ भन्दै जातीय विभेद हुने अभिव्यक्ति दिएर पन्छाएका थिए। तर ढोग्न जाने अर्का व्यक्तिलाई भने आफ्नो खुट्टामा दुईपटक टाउकोले छुन लगाएका थिए। 

यसै सन्दर्भमा जीवन क्षेत्रीले विचार व्यक्त गर्दै लेखेका छन् “नेपालको एउटा व्यवसायी घरानाले इन्टरनेट युगका एक बदनाम भारतीय बाबालाई नेपाल भित्र्याउनु साधारण कुरा हैन। उनी नेपाल आउने समाचार आउनासाथ उनको विरोध र चौधरी ग्रुपको आलोचना सबैतिर भइरहेका छन्।”

उकालो प्रोफाइल: संघर्षशील सरस्वती जसले सुदूरपश्चिमको माटोबाट उठेर देशकै शिर उँचो बनाइन् 

अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने संसारका ६ जनामा पर्न सफल सरस्वती नेपाली बाल्यकालदेखि नै संघर्षशील थिइन्।

उकालो बहस: सम्पदास्थलमा बस्न ललितपुर महानगरले लगाएको बन्देज कति उचित? 

पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।

र, यो पनि: फिफा महिला विश्वकपबाट उजागर विभेदको तस्वीर 

एक जना दर्शकले महिला र पुरुष विश्वकप फुटबल हेर्दा खासै फरक देख्नु नपर्ने हो। तर जति चर्चा पुरुष फुटबलको हुन्छ, महिलाको हुँदैन। फिफाले नै पुरस्कार राशिदेखि खेलाडीलाई दिने सुविधासम्ममा विभेद गरेको छ।


उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित गैर–नाफामूलक संस्था हो। स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। र, सञ्चारमाध्यम सञ्चालनका लागि निःशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फन्डिङ)मा निर्भर रहने संकल्प गरेको छ।

हाम्रो यस अभियानमा साथ दिनुहोस्    

 

  

 


सम्बन्धित सामग्री