Tuesday, April 30, 2024

-->

फिफा महिला विश्वकपबाट उजागर विभेदको तस्वीर

एक जना दर्शकले महिला र पुरुष विश्वकप फुटबल हेर्दा खासै फरक देख्नु नपर्ने हो। तर जति चर्चा पुरुष फुटबलको हुन्छ, महिलाको हुँदैन। फिफाले नै पुरस्कार राशिदेखि खेलाडीलाई दिने सुविधासम्ममा विभेद गरेको छ।

फिफा महिला विश्वकपबाट उजागर विभेदको तस्वीर

“जब मैले फुटबल खेल्न शुरू गरेँ, त्यतिबेला महिलामा कोही पनि आइडल थिएन,” जारी विश्वकपमा जमैकासँगको खेलको पूर्वसन्ध्यामा ब्राजिलकी स्टार खेलाडी मार्टाले भनेकी थिइन्, “तपाईंहरूले महिला फुटबल नहेर्नुभएको भए, मैले कसरी सोच्न सक्थेँ होला म राष्ट्रिय टिमसम्म पुग्छु भनेर। अहिले म बाहिर निस्कँदा मान्छेहरू मलाई रोक्छन्। आमा बुवाहरू भन्छन्– मेरी छोरीले तिमीलाई माया गर्छिन्, उनी पनि तिमी जस्तै बन्न चाहन्छिन्।”

सन् २००३ सम्म आफूलाई कसैले नचिन्ने गरेको भन्दै, मार्टाले अहिले महिला फुटबल पनि निकै अगाडि पुगेको बताइन्। उनी आफैँ पनि कैयौँ बाधा पार गरेर यहाँसम्म आएकी हुन्। बाल्यकालमा गरिबी र लैंगिक विभेदको सामना गरिन्। चोटले पनि उनको ‘करियर’ प्रभावित गर्‍यो। तर महिला विश्वकपको इतिहासको चर्चा गर्दा ब्राजिलकी मार्टाको नाम लिइएन भने अपूरो हुन्छ।

उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले हालसम्म १७ गोल गरेकी छन्। तर फुटबलको शक्तिराष्ट्र ब्राजिल यसपटक समूह चरणबाटै बाहरिएको छ। गत साउन ४ गतेदेखि अष्ट्रेलिया र न्यूजिल्यान्डमा जारी विश्वकपमा क्वाटरफाइनलका खेल सकिएका छन्। उपाधिको फाइनल भिडन्त भदौ ३ गते हुनेछ।

पुरुष र महिलाको विश्वकप फुटबल ‘महाकुम्भ’ प्रत्येक चार वर्षमा आउँछ। नीति नियमको हिसाबले महिला र पुरुषका अन्तर्राष्ट्रिय फुटबल खेलहरू समान छन्। त्यसैले, एक जना दर्शकले महिला र पुरुष विश्वकप फुटबल हेर्दा खासै फरक देख्नु नपर्ने हो। तर पुरुष फुटलब बढी चर्चामा हुन्छ, महिला फुटबल ओझेलमा। अहिले जारी रहेको महिलाको विश्वकप फुटबल पनि त्यस्तै भएको छ।

यतिमा मात्र पुरुष र महिला फुटबलको प्रसंग सकिँदैन। उनीहरूले खेल्ने फुटबल प्रतियोगिताहरूबीच भिन्नता छन्। यो लेखमा ती भिन्नताको चर्चा गरिन्छ।

पुरुष विश्वकपको ६१ वर्षपछि महिला विश्वकप
पुरुष विश्वकप फुटबलको इतिहास निकै लामो छ। पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा भएको थियो। उक्त विश्वकप आयोजक उरुग्वेले नै जितेको थियो।

त्यसको ६१ वर्षपछि अर्थात्, सन् १९९१ मा महिला विश्वकप शुरू भएको थियो। पहिलो विश्वकप ट्रफी अमेरिकाले जित्यो। पुरुष विश्वकपको २२औँ संस्करण सम्पन्न भइसक्दा महिला विश्वकपको नवौँ संस्करणका खेलहरू भइरहेका छन्।

सेमीफाइनलमा स्पेन र स्वीडेन तथा अष्ट्रेलिया र इंल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यीमध्ये जुनसुकै देशले उपाधि जिते पनि नयाँ विजेता हुनेछन्। महिला विश्वकपको उपाधि सबैभन्दा बढी चारपटक जित्ने अमेरिकालाई प्रिक्वार्टरफाइनलमा स्वीडेनले पराजित गरेको थियो। स्वीडेनले नै क्वार्टरफाइनलमा पूर्वविजेता जापानलाई पाखा लगाएको थियो।

महिला विश्वकप पहिलोपटक प्राकृतिक मैदानमा
महिला र पुरुष विश्वकप फुटलबको खेल मैदानको बनावट अलग–अलग हुने गरेको थियो। पुरुषको विश्वकप प्राकृतिक घाँस भएको मैदानमा खेलाइन्छ। तर महिला फुटबल कृत्रिम घाँसको मैदानमा खेलाइन्थ्यो। घाँसे मैदानमा खेलाइँदा खर्च कम लाग्ने भएको हुँदा यसो गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चर्चा गर्थे।

फिफाले सन् २०१९ मा कृत्रिम टर्फमा फुटबल खेलाउन प्रतिबन्ध लगाएको थियो। त्यसैले सन् २०२३ को विश्वकप फुटबलका खेलहरू भने प्राकृतिक मैदानमा नै भएका छन्।

प्राकृतिक मैदान र कृत्रिम मैदानको स्वभाव फरक हुने हुनाले खेलाडीले बेग्लै अनुभूति गर्छन्। सन् २०१५ मा केही खेलाडीले क्यानडामा भएको विश्वकपलाई लिएर अन्टारियोस्थित मानवअधिकार न्यायाधीकरणमा लैंगिक विभेदसम्बन्धी उजुरी दिएका थिए। उनीहरूले टर्फमा खेलाउँदा नचाहिँदो र अनावश्यक घाउ बोक्नु परेको बताएका थिए। तर पछि उनीहरूले उजुरी फिर्ता लिए। यसबाट पनि के बुझ्न सकिन्छ भने, प्राकृतिक घासँको तुलनामा टर्फमा खेल्न सहज छैन। टर्फमा खेल्दा चोट लाग्ने सम्भावनाका साथै बल नियन्त्रणमा पनि समस्या हुन्छ।

पुरस्कार राशिमा विभेद
गत वर्ष कतारमा सम्पन्न पुरुष विश्वकपका लागि फिफाले कुल पुरस्कार राशि ४४ करोड अमेरिकी डलर छुट्याएको थियो। जबकि, फ्रान्समा सन् २०१९ मा भएको महिला विश्वकपको आठौँ संस्करणमा करिब पाँच करोड अमेरिकी डलर पुरस्कार राशि थियो।

आठौँ संस्करणमा महिला विश्वकपको विजेतालाई ४० लाख अमेरिकी डलर (करिब ५२ करोड नेपाली रुपैयाँ) पुरस्कार प्रदान गरिएको थियो। महिला विश्वकपको विजेतालाई दिइने उक्त पुरस्कारको निर्णय सन् २०१८ को अक्टोबरमा गरिएको थियो। 

आठौँ संस्करणको उपविजेता हुने टोलीलाई २६ लाख अमेरिकी डलर (करिब ३४ करोड नेपाली रुपैयाँ) र तेस्रो हुने टोलीलाई २० लाख डलर (करिब २६ करोड नेपाली रुपैयाँ) दिइएको थियो। यसैगरी, चौँथो हुने टोलीलाई १६ लाख, पाँचौँदेखि आठौँ स्थानसम्म आउने टोली प्रत्येकलाई १४ लाख ५० हजार डलर दिइएको थियो। नवौँदेखि १६औँ स्थानसम्म आउने प्रत्येक टोलीले १० लाख डलर पाएका थिए। १७औँ देखि २४औँ स्थानसम्म आउने टोलीले सात लाख ५० हजार डलर पाएका थिए। 

केही समयअघि सम्पन्न फिफाको ७३औँ बोर्ड बैठकले महिला विश्वकपको पुरस्कार राशि बढाउने निर्णय गरेको थियो। यसपटक पुरस्कार राशिमा खर्चिने रकम ११ करोड डलर पुर्‍याइएको छ। यो रकम पुरुष विश्वकपभन्दा धेरै कम हो।

महिला विश्वकपको नवौँ संस्करणमा विश्वकप विजेताले १ करोड ५ लाख अमेरिकी डलर पुरस्कार जित्नेछ। त्यसमा विजेता देशको सम्बन्धित संघले ४२ लाख र प्रत्येक खेलाडीले २ लाख ७० हजार डलर पाउने छन्। एउटा टिममा तीन गोलरक्षकसहित २३ खेलाडी हुन्छन्। उपविजेता टोलीले प्रतिखेलाडी १ लाख ९५ हजार र संघले ३० लाख १५ हजार डलर पाउने छन्। तेस्रो हुनेले प्रतिखेलाडी १ लाख ८० हजार र संघले २६ लाख १० हजार तथा चौथो हुनेले प्रतिखेलाडी १ लाख ६५ हजार र संघले २४ लाख ५५ हजार डलर पाउने अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको अनलाइन संस्करणमा उल्लेख छ। 

समूह चरणबाटै बाहिरिने टिमले पनि यसपटक प्रतिखेलाडी ३० हजार र सम्बन्धित देशको संघले १५ लाख ६० हजार डलर पाउनेछन्।

सहभागी टिम र दर्शक संख्या कति?
कतारमा भएको पुरुष विश्वकपको २२औँ संस्करणमा छनौट भएर आएका ३२ राष्ट्रले सहभागिता जनाएका थिए। सन् २०२६ मा हुने २३औँ संस्करणमा ४८ टिमले सहभागिता जनाउनेछन्। जबकि, नवौँ संस्करणको महिला विश्वकपमा पहिलोपटक ३२ राष्ट्र सहभागी छन्। सन् १९९१ मा पहिलो संस्करणको महिला विश्वकपमा १२ टिम सहभागी थिए। सन् २०१५ मा आइपुग्दा यो संख्या २४ पुर्‍याइएको थियो।

महिला विश्वकप हेर्ने दर्शकको संख्या पनि निकै कम हुने गरेको छ। सन् २०२२ को पुरुष विश्वकपमा अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल रंगशाला र प्रत्यक्ष प्रसारणमार्फत एक अर्ब ५ करोड जनाले हेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जबकि, सन् २०१९ को महिला विश्वकपको फाइनल खेल २६ करोडले मात्र हेरेका थिए।

आठौँ संस्करणको उक्त महिला विश्वकपका सबै खेल गरेर १ अर्ब १२ करोडले हेरेको फिफाले जनाएको छ। यो संख्या विश्वभर उपलब्ध सबै प्लेटफर्ममा महिला विश्वकप हेर्नेहरूको हो। 

यसपटक भने महिला विश्वकले टिकट बिक्रीमा कीर्तिमान बनाइसकेको छ। विश्वकप शुरू हुनुअघि जुन महिनामै १० लाख ३२ हजारभन्दा बढी टिकट बिक्री भइसकेको थियो। यो अहिलेसम्मकै सर्वाधिक बिक्री भएको टिकट हो। 

यसपटक सबैभन्दा बढी हेरिएको म्याच
अमेरिका र नेदरल्याण्ड्सबीच समूह चरणमा भएको भिडन्त जारी महिला विश्वकपको सबैभन्दा बढी हेरिएको म्याच बन्न पुगेको छ। १–१ गोलको बराबरीमा सकिएको सो म्याच ६४ लाख दर्शकले हेरेको फोर्ब्सले लेखेको छ।

सञ्चारबारे अनुसन्धान गर्ने विश्वप्रसिद्ध कम्पनी नेल्सनका अनुसार ‘डिफेन्डिङ च्याम्पियन’ अमेरिकाले कमाएको यो दोस्रो ठूलो दर्शक संख्या हो। समूह चरणमा अमेरिकाले भियतनामलाई ३–० ले हराउँदा ६२ लाख ६० हजार दर्शकले सो खेल प्रत्यक्ष हेरेको अमेरिकी खेलकुद च्यानल फक्स स्पोर्टसले जनाएको छ। 

महिला विश्वकपमा अमेरिकी खेल हेर्ने दर्शकको संख्या ११ प्रतिशतले बढेको पनि जनाइएको छ। तर यसपटक अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्न भने सकेन। 

समूह चरणमै नेदरल्याण्ड्सले भियतनाममाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको खेललाई ५३ लाखले हेरेका थिए।

प्रत्यक्ष प्रसारणबाट हुने कमाइ
फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाले यो संस्करणको महिला विश्वकपको टेलिभिजन प्रसारण अधिकार ३० करोड डलरमा बेच्ने लक्ष्य लिएको थियो। तर त्यसमा फिफा १० करोड डलरले पछि परेको छ।

वाल स्ट्रीट जर्नलका अनुसार टेलिभिजन प्रसारण अधिकार बेचेर फिफाले यसपटक २० करोड डलर मात्र आर्जन गरेको छ। 

यअसघि फिफाले पुरुष विश्वकपको प्रसारण अधिकार किन्ने संस्थालाई नै महिला विश्वकपको पनि प्रसारण अधिकार दिने गथ्र्यो। यसपटक भने फिफाले अलग्गै बोलपत्र आह्वान गरेको थियो। 

सन् २०१९ को महिला विश्वकप एक अर्बभन्दा बढीले हेरेको तथ्य सार्वजनिक भएपछि फिफाले यो संस्करणको विश्वकपलाई व्यावसायिक दृष्टिले सञ्चालन गर्ने सोच बनाएको हो। तर युरोपका प्रतिष्ठित प्रसारण संस्थाले पुरुष विश्वकपको तुलनामा मात्रै १ प्रतिशत हाराहारीको प्रस्ताव गरेपछि फिफा अध्यक्ष जियानी इन्फ्यान्टिनोले बेलायत, जर्मनी, फ्रान्स, स्पेन र इटालीमा विश्वकप प्रसारणमा नै प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। 

यद्यपि, फिफाले युरोपेली क्षेत्रमा ६ करोड ५० लाखको प्रसारण अधिकार बेच्ने सोच बनाए पनि त्यसको आधा मात्रै रकम उठाउन सफल भएको छ। उता, अमेरिकामा भने फक्सले अघिल्लो संस्करणको विश्वकपभन्दा ५० प्रतिशत बढी रकम प्रसारण अधिकारको लागि तिरेको छ। गत जुनमै फक्सले आप्mनो विज्ञापन समयको ९० प्रतिशतभन्दा बढी बिक्री भइसकेको जनाएको थियो।

-एजेन्सीहरूको सहयोगमा


सम्बन्धित सामग्री