भारततर्फ निकासीले एक महिनामै ६ गुणा बढ्यो गोलभेँडाको मूल्य, किसानभन्दा विचौलियालाई लाभ

असार अन्तिमतिर ३० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्यको गोलभेँडा साउन अन्तिम साता १८० रुपैयाँसम्म पुगेको छ। साउनमा नै भारततर्फ निकासी पनि उच्च भएको छ। तर बढेको मूल्यको नाफा भने विचौलियाले लिने गरेका छन्।

फाइल तस्वीर: रासस

काठमाडौँ– भारतको दैनिक पत्रिका द हिन्दूले गएको शुक्रबार एउटा समाचार छाप्यो, ‘भारतलाई गोलभेँडा आपूर्ति गर्न नेपाल तयार छ।’

यो समाचार छाप्नुको आधार थियो भारतकी वित्तमन्त्री निर्मला सीतारमणले साउन २५ गते लोकसभामा दिएको मन्तव्य। वित्तमन्त्री सीतारमणले संसद्‍मा भनेकी थिइन्, “आकासिएको मूल्यलाई नियन्त्रण गर्न नेपाल ठूलो मात्रामा दीर्घकालीन रूपमै भारतलाई गोलभेँडा निर्यात गर्न तत्पर छ, तर बजारमा सहज पहुँच र अन्य आवश्यक सुविधा खोजेको छ।”

सीतारमणले नेपालबाट गएको शुक्रबारदेखि नै भारतका बनारस, लखनउ र कानपुरमा गोलभेँडा ढुवानी हुने बताएकी थिइन्। भारतले राजधानी दिल्लीलगायत विभिन्न स्थानमा सहुलियत दरमा प्रतिकिलो ७० भारुमा गोलभेँडा बेच्नसक्ने त्यहाँको नेसनल कोअपरेटिभ कन्जुमर्स फेडेरेसनलाई उधृत गर्दै एक भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

वित्तमन्त्री सीतारमणले गएको शुक्रबारबाट मात्र नेपाली गोलभेँडा भारततर्फ जाने बताए पनि यो साउन महिनाभर नै ठूलो परिणाममा निर्यात भएको देखिन्छ। देशको सबभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट गत आर्थिक वर्षभरि निकासी भए बराबरको गोलभेँडा त्यहाँबाट साउन महिनामै उता गएको छ। 

भन्सार कार्यालय वीरगन्जका अधिकृत राजन ढुंगानाका अनुसार उक्त नाका भएर नेपालबाट भारततिर गत आर्थिक वर्ष एक हजार टन गोलभेँडा निर्यात भएको थियो। तर यो वर्ष साउनमा मात्र दैनिक ४० हजार किलोसम्म गोलभेँडा वीरगन्जबाट भारततिर निकासी भइरहेको छ। यो भनेको महिनाको १२ सय टन हो।

भारतको संसद्‍मा नेपाल गोलभेँडा निर्यात गर्न तयार रहेको सन्देश गइरहँदा, यता स्वदेशमा भने उपभोक्ता महँगो मूल्यमा किन्न बाध्य छन्। एक महिनाको अन्तरालमा काठमाडौँमा गोलभेँडाको मूल्य करिब ६ दोब्बरले बढेको छ। असार अन्तिमतिर ३० रुपैयाँ प्रतिकिलो खुद्रा मूल्यमा बिक्री भइरहेको गोलभेँडा साउन अन्तिम साता १८० रुपैयाँसम्म पुगेको छ। 

बढेको मूल्य किसानले पाएका छन्?
सर्लाहीको लालबन्दीस्थित कृषि उपज व्यवस्थापन समितिका अध्यक्ष तोरन मगरातीका अनुसार त्यहाँ २२ सयदेखि २३ सय रुपैयाँ प्रतिक्यारेट गोलभेँडा बिक्री भइरहेको छ। एक क्यारेटमा २२ देखि २३ किलोसम्म हुन्छ। यसको अर्थ, त्यहाँबाट व्यापारीले प्रतिकिलो १०० रुपैयाँमा गोलभेँडा किन्ने गरेका छन्। कृषि उपजले बिक्रीका लागि व्यवस्थापन मात्र गरिदिने हुँदा यो सिधै किसानले पाउने मूल्य हो।

लालबन्दीबाट विशेष गरी काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडा पठाइने र केही वीरगन्जतिर पनि जाने मगरातीले बताए। “अहिले एक महिना यता मात्र किसानले गोलभेँडाको मनासिब मूल्य पाउन थालेका छन्। नभए सडकमै फाल्ने अवस्था थियो,” उनले भने, “आचानक गोलभेँडाको मूल्य खस्किदिने समस्या हरेक वर्ष दोहोरिन्छ।” 

कृषि उपज व्यवस्थापन समिति लालबन्दीका अनुसार त्यहाँबाट एउटा ट्रकले एकपटकमा ४०० क्यारेटसम्म (करिब नौ हजार किलो) गोलभेँडा काठमाडौँ ल्याउँछ। त्यसबापत ४० हजार रुपैयाँ भाडा तिर्नुपर्छ। प्रतिकिलो गाडीभाडा करिब साढे ४ रुपैयाँ पर्छ। ढुवानीमा हुने अन्य खर्च पनि जोड्दा प्रतिकिलो करिब ५ रुपैयाँ पर्ने मगराती बताउँछन्।

यसरी लालबन्दीबाट किसानले १०० रुपैयाँमा बेचेको गोलभेँडा काठमाडौँ आइपुग्दा प्रतिकिलो १०५ रुपैयाँ पर्छ। “यसमा व्यापारीले केही नाफा राख्दा पनि १८० रुपैयाँसम्म उपभोक्तालाई पर्नु नपर्ने हो। कसरी यति महँगो हुन्छ मलाई थाहा छैन,” मगरातीले भने।

यस्तो छ महँगीको कारण
असारको पहिलो साता काठमाडौँमा गोलभेँडाको मूल्य प्रतिकिलो ८ रुपैयाँ थियो। त्यतिबेला भारतीय गोलभेँडा आयातले आफूहरूको उत्पादनले मुल्य नपाएको भन्दै किसानहरूले विरोध जनाएका थिए। उनीहरूले असार ३ गते सडकमै गोलभेँडा फालेका थिए। तर पछि किसानले नभई विचौलियाले कालिमाटी तरकारी बजार ल्याएर गोलभेँडा फालेको बताइएको थियो।

कृषि विज्ञहरूका अनुसार खेतमा लगाइने लहरे प्रजातिका तरकारी वर्षामा पानी जम्ने हुँदा उत्पादन घट्छ। यस्ता तरकारीका बोट खेतबारीमा पानी जमेपछि कुहिन थाल्छन्। नेपालमा भौगोलिक हिसाबले पानी नजम्ने ठाउँहरूमा गोलभेँडाको उत्पादन भइरहँदा भारतमा उत्पादन क्षेत्र घट्छ। त्यही कारण मूल्य बढ्न थालेपछि भारतको सरकारले विभिन्न स्थानमा सहुलियत दर तोकेर गोलभेँडाको मूल्य निर्धारण गर्छ। 

मूल्य नपाएको भन्दै असार ३ गते कालीमाटीको सडकमा फालिएको गोलभेँडा। तस्वीर: रासस

भारतमा गोलभेँडा उत्पादन हुने मुख्य १० राज्य आन्ध्र प्रदेश, मध्य प्रदेश, कर्नाटक, गुजरात, ओडिसा, पश्चिम बंगाल, तेलंगाना, छतिसगढ, महाराष्ट्र र विहार हुन्। यी प्रदेशहरूमा वर्षायाममा उत्पादन घट्दा मूल्य आकासिने गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। 

यसरी भारतमा गोलभेँडाको मूल्य आकासिदा त्यसको नियन्त्रणका लागि त्यहाँकी वित्तमन्त्री सीतारमणले नेपालबाट आयात गर्ने विषय उठाएकी हुन्। तर भारतले लामो समय भने गोलभेँडा आयात गर्दैन। यद्यपि, भारततर्फ गोलभेँडा जाने समयमा नेपालमा मूल्य बढ्ने गरेको छ।

गोलभेँडामा विचौलियाको रजाइँ
नेपालमा घरेलु उत्पादनले नै गोलभेँडाको माग धान्ने गरेको छ। तर मूल्य नियन्त्रण गर्नका लागि भारतबाट आयात गर्ने गरिएको किसानहरूले गुनासो गर्दै आएका छन्। रिसर्चगेट डटनेटले तीन वर्षअगाडि गरेको एउटा अध्ययनमा नेपालमा वार्षिक प्रतिव्यक्ति ११.९० किलो गोलभेँडा खपत हुन्छ। नेपालको जनसंख्याको आधारमा वर्षेनी तीन लाख ५९ हजार १०० टन गोलभेँडाको माग हुन्छ। 

कृषि मन्त्रालयले जारी गरेको कृषि सम्बन्धी एक तथ्यांकअनुसार नेपालमा दुई हजार ९११ हेक्टर गरिएको खेतीबाट वार्षिक चार लाख २२ हजार ७०३ टन गोलभेँडा उत्पादन हुन्छ। यसको अर्थ, नेपालमा उत्पादन भएको गोलभेँडाले यहाँको माग धानेर पनि भारत निकासी गर्न पुग्छ। तर गत आर्थिक वर्ष भारतबाट ४२ हजार १०५ टन गोलभेँडा आयात भएको भन्सार विभागको तथ्यांक छ। 

भारतमा वर्षेनी १८ करोड ७८ लाख ११ हजार टन गोलभेँडा खपत हुन्छ। त्यस्तो विशाल बजारमा नेपालको उत्पादनले नगन्य मात्र आपूर्ति गर्न सक्छ। 

बजारमा नेपालकै गोलभेँडाले माग धान्ने अवस्थामा पनि भारतमा मूल्य घटेको बेला उताबाट आयात हुने गरेको र त्यसलाई नियन्त्रण गर्न नसकिएको कृषि मन्त्रालयका एक अधिकारी बताउँछन्। यही कारण गोलभेँडाको मूल्य अचानक खस्किएर किसान मर्कामा पर्ने गरेको उनको भनाइ छ। हरेक वर्ष विचौलियाले यसरी नै मूल्य घटाउने गरेका छन्।

गोलभेँडा लामो समय भण्डारण गर्न नसकिने प्रकृतिको तरकारी हो। यो पाकेपछि चाँडै बिग्रिने जोखिम भएको हुँदा मुल्य खस्केको बेला पनि किसान बेच्न बाध्य हुन्छन्। यतिबेला किसानबाट सस्तोमा लिएर विचौलियाले थोक बजारमा आफूले नियन्त्रण गरेको मूल्यमा बेच्ने गरेका छन्।