Sunday, April 28, 2024

-->

किन दोहोरिँदैछन् मुस्ताङमा बाढी र क्षतिका घटना ?

सरदरभन्दा बढी वर्षा र कमजोर भूबनोटका कारण पहिले पानी नै नपर्ने हिमाली जिल्ला मुस्ताङ लगातार बाढी पहिरोको चपेटामा पर्न थालेको छ।

किन दोहोरिँदैछन् मुस्ताङमा बाढी र क्षतिका घटना
तस्वीरहरू: रासस र नेपाली सेना

काठमाडौँ– मुस्ताङ जिल्लाको बारागुङ मुक्तिक्षेत्रमा पर्ने कागखोलामा आएको बाढीले त्यस गाउँपालिकाको ४ नम्बर वडास्थित कागबेनी बजारका ३१ वटा घर बगाएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार जोमसोमबाट लोमान्थाङ जाने सडकमा बनाइएको एक पक्की पुल र एक काठेपुल बाढीमा बगेका छन्। कागबेनीका बासिन्दालाई पहिले नै सुरक्षित ठाउँमा सारिएकाले मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ बताउँछिन्। 

उनका अनुसार मुक्तिनाथ र झोङतर्फबाट बगेर आउने कागखोलामा आएको बाढीले कागबेनी बजारलाई बगाएको हो। “बाढीले पुर्‍याएको क्षतिको अध्ययन गरिरहेका छौँ, ३१ वटा घरहरू बाढीमा बगेका छन्। अरू घर पनि बाढीमा पुरिएका छन्,” उनी भन्छिन्, “क्षतिको संकलन गरिँदैछ।” 

कागखोलामा आएको लेदो सहितको बाढीले कागबेनीमा क्षति पुर्‍याएको बराहगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रमेश गुरुङले बताए।  

किन भयो यति ठूलो क्षति? 
कागखोलामा बाढी आउनु नयाँ होइन। वर्षैपिच्छे मनसुनको समयमा बाढी आउने गरेको झोङ निवासी वडाअध्यक्ष न्होरु गुरुङ बताउँछन्। कागखोला मुक्तिनाथ र झोङ गाउँबीचबाट बग्दै कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ। 

यस वर्ष ठूलो वर्षा भएका कारण कागखोलामा बाढी आएको स्थानीयहरू बताउँछन्। “बाढी त पहिला–पहिला पनि आउँथ्यो। तर यस पटक शनिबार दिउँसोदेखि आइतबारसम्म निरन्तर वर्षा हुँदा कागखोलामा लेदो सहितको बाढी आयो,” प्रमेश गुरुङले भने। 

कागखोलाको मुहान क्षेत्र मुक्तिनाथ तथा झोङ र त्यसभन्दा माथि अत्यधिक वर्ष भएको अनुमान गरिएको छ। त्यस क्षेत्रमा वर्षा मापन गर्ने स्टेशन नभएका कारण एकिन विवरण भने उपलब्ध छैन।

जल तथा मौसम विज्ञान विभागले जोमसोमको तापक्रम र वर्षाको विवरण मात्र राख्ने गरेको छ। विभागका अनुसार शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा जोमसोममा २५.४ मिलिमिटर वर्षा भएको छ। विभागको हावापानी तथा जलवायु विश्लेषण शाखाकी सिनियर मेटेरियोलोजिष्ट विभूती पोखरेलका अनुसार मुस्ताङका लागि यो धेरै ठूलो वर्षा हो। 

यहाँको अगस्ट महिनाको ३० दिनको सरदर वर्षा ४३.९ मिलिमिटर हो। एक महिनाभरिमा हुनुपर्ने वर्षाको आधाभन्दा बढी वर्षा २४ घण्टामा भएको जोमसोमको रेर्कडले देखाउँछ। विभागका अनुसार जोमसोममा यस वर्षको मनसुनमा त्यहाँको सरदर वर्षा १६० मिलिमिटर रहेकोमा २०८० साउन २९ सम्ममा ९० प्रतिशत वर्षा भइसकेको छ जबकि मनसुन सकिन अझै ४७ दिन बाँकी छ। 

मुस्ताङको भूबनोट कमजोर छ। पानी कम पर्ने भएकाले जमिनको सतहमा धुलो माटो रहेको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको विपद् अध्ययन केन्द्रका निर्देशक एवं विपद जोखिम न्यूनीकरणविज्ञ वसन्तराज अधिकारीका अनुसार त्यहाँको माटो यति कमजोर छ कि सामान्य वर्षाले पनि सजिलै बगाउँछ।  

“बाढीको प्रकृति हेर्दा अत्यधिक वर्षा भएको देख्न सकिन्छ। मुस्ताङमा विगतमा अत्यधिक वर्षा नभएका कारण जमिनको माथिल्लो सतहको माटो धुलोको रूपमा छ,” उनी भन्छन्, “सानो वर्षा हुँदा पनि सतहको माटो बग्छ र लेदोमा परिणत भएर त्यसले ठूलो बाढीको सिर्जना गर्छ।” 

पछिल्ला दशकमा दर्केझरी र बाढीका घटना छिटो–छिटो दोहोरिएर आउन थालेको मुस्ताङवासी बताउँछन्। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१, ढिंगा गाउँका ९३ वर्र्षीय फुर्वा गुरुङ कागबेनीमा अहिले आएजस्तो बाढी आफूले जीवनमा पहिलो पटक देखेको बताउँछन्। “सानातिना बाढी त आउँथे, तर यस्तो त थाहा थिएन,” उनी सम्झन्छन्। 

पछिल्लो एक दशकमा मुस्ताङ जिल्लाको लेते, जोमसोम, तिरी, झोङ लगायतका गाउँहरूमा पाँच पटक ठूलो मात्रामा क्षति पुर्‍याउने बाढी आएका छन्। २०७८ असार १ मा पनि मुस्ताङको लेतेमा बाढी आएको थियो। उक्त बाढीले त्यहाँका घरमा क्षति पुर्‍याउनुका साथै भौतिक सम्पत्ति नष्ट गरेको थियो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङ जिल्लाको बार्षिक सरदर वर्षा २८९ मिलिमिटर हो।  मनसुनपूर्व ७० र मनसुनमा १६० मिलिमिटर सरदर वर्षा मानिएकोमा २०७८ को मनसुनपूर्व १६० मिलिमिटर वर्षा भएको थियो। 

त्यसभन्दा अघि २०७२ सालको भदौमा एक्कासि झरी पर्दा झोङका १७ घर र अन्न उत्पादन हुने बारीमा क्षति पुर्‍याएको थियो। २०७२ कै जेठ १८ मा आधा घण्टा आएको मुसलधारे  वर्षाले मार्फा गाउँका १० घर भत्किएका थिए भने २५ घरमा क्षति पुर्‍याएको थियो। मार्फाका भक्ति हिराचनका अनुसार त्यतिबेला घरको भित्र पनि ३ फिट उचाइसम्म लेदो माटो थुप्रिएको थियो। “मैले थाहा पाउँदासम्म मुस्ताङमा पानी एकदम कम पर्थ्यो, हावाले ढुंगा उडाउँथ्यो,” उनी भन्छन् “अहिले त पानी र बाढी हाम्रो नियति जस्तै बन्न थाल्यो।”  

त्यसभन्दा अघि २०७० असार ३ गते दिउँसो एक घण्टा ठूलो वर्षा हुँदा कागबेनीभन्दा १ किलोमिटर उत्तरमा पर्ने तिरीगाउँ अहिले कागबेनी जस्तै पुरिएको थियो। त्यतिबेला त्यहाँ बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने पशु चौपाया र घरमा गरी दुई करोडभन्दा बढीको क्षति भएको थियो। 

सुक्खा तराई
बाढी तथा पहिरोका कारण देशका केही भागमा लगातार क्षति भइरहेको छ। तर मुलुकको तराई क्षेत्रमा भने मनसुनको अवधिमा हुनुपर्ने भन्दा ५० प्रतिशत मात्र सरदर वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार साउन २८ गतेसम्म जनकपुरमा ४०६.२ मिलिमिटर वर्षा भएको छ। साउन २८ सम्म त्यहाँको सरदर वर्षा ८४३.४ मिलिमिटर हो। सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानमा पनि वर्षाको दर सरदरभन्दा कम छ। यस वर्ष सिमरा र भैरहवाको वर्षा सरदरभन्दा झण्डै ४० प्रतिशत कम छ।  

यो पनि: पूर्वी नेपालको विनाशकारी भलबाढीः जलवायु विपत्ति बढ्ने संकेत

यो समयमा र अहिलेसम्म हुनुपर्ने जति वर्षा नभएका कारण तराईका कतिपय जिल्लामा धान रोपाइँ नै प्रभावित भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सबैतिर रोपाइँ सकिइसक्नुपर्नेमा अहिलेसम्म देशभर ८७ प्रतिशत मात्र रोपाइँ भएको छ। सबैभन्दा कम मधेश प्रदेशमा ६८ प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा ८८ प्रतिशत, लुम्बिनी र गण्डकीमा ९३, कोशीमा ९४, कर्णालीमा ९८ र सूदूरपश्चिम प्रदेशमा ९९ प्रतिश रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ।


सम्बन्धित सामग्री