Friday, May 03, 2024

-->

सम्पदास्थलमा बस्न ललितपुर महानगरले लगाएको बन्देज कति उचित?

पाटन दरबार क्षेत्रका मन्दिरहरूको माथिल्लो पेटीमा बस्न ललितपुर महानगरले लगाएको प्रतिबन्धको पक्ष र विपक्षमा बहस भइरहेको छ। स्थानीय बासिन्दा यसको समर्थनमा देखिएका छन् भने विज्ञहरूले प्रश्न उठाएका छन्।

सम्पदास्थलमा बस्न ललितपुर महानगरले लगाएको बन्देज कति उचित 
पाटन दरबार स्क्वायरको सम्पदा क्षेत्रमा ललितपुर महानगरपालिकाबाट खटिएका नगर प्रहरीहरू। तस्वीर सौजन्य: पाटन ब्लडस् फेसबुक पेज

काठमाडौँ– साउन २० गते शनिबार दिउँसो पाटन दरबार क्षेत्र परिसरमा ललितपुर महानगरपालिकाका केही नगर प्रहरीहरू देखा पर्छन्। ट्रकमा राखेर ल्याइएको ‘नो इन्ट्री’ लेखिएको सूचनापाटी त्यहाँको विश्वनाथ र हरिशंकर मन्दिरको माथिल्लो पेटीमा राख्छन्। 

त्यति गरेपछि नगर प्रहरीहरू ती मन्दिरका पेटीहरूमा गफिइरहेका जमातको ध्यान आफूतिर खिच्छन् र उनीहरू सबैलाई तल ओर्लन अनुरोध गर्छन्। पेटीमा बसिरहेकाहरू ओर्लिन्छन् पनि। केही क्षण अलमलमा परेका उनीहरूलाई नगर प्रहरीले आइन्दा ती मन्दिरका माथिल्लो पेटीमा बस्न नमिल्ने जानकारी दिन्छन्। 

त्यस दिनको यो दृश्यपछि मल्लकालीन पाटन दरबार स्क्वायर क्षेत्रमा नयाँ नियम लागू भएको छ। बन्देज गरिएपछि मन्दिरका माथिल्ला पेटीमा कोही पनि जान र बस्न पाएका छैनन्। 

तस्वीर: प्रबिता श्रेष्ठ/उकालो

नगर प्रहरीले पहिलो दिन विश्वनाथ र हरिशंकर मन्दिरमा लगाएको ‘प्रवेश निषेध’को सूचनापाटी हाल कृष्ण मन्दिर, चार नारायण मन्दिर र भीमेसन मन्दिरका पेटीहरूमा पनि राखिएको छ। सम्पदा संरक्षणको हेतुले यस खालको नियम लागू गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्। उनका अनुसार मन्दिरका तल्ला पेटीहरूमा बस्नचाहिँ रोकतोक छैन। 

त्यसरी प्रतिबन्ध शुरू गरेको चार दिनपछि महानगरबाट पुनः खटिएका नगर प्रहरीहरू मन्दिर परिसरमा ‘प्लेकार्ड’सहित पुगेर निश्चित क्षेत्रमा बस्न रोक लगाएको जानकारी दिँदै थिए। यसलाई सचेतना कार्यक्रमको रूपमा लिनुपर्ने महानगरको भनाइ छ। हाल दरबार स्क्वायर क्षेत्रमा नगर प्रहरीको घुम्ती टोली खटिएर निरीक्षण गरिरहेको छ। 

महानगरको कदममा स्थानीयको साथ
पाटन दरबार क्षेत्रका सम्पदास्थलमा भइरहेका मानवीय गतिविधिमाथि नियन्त्रण गर्ने महानगरको कदमलाई त्यस वरपरका स्थानीय बासिन्दाले साथ दिएका छन्। तर उनीहरूको बुझाइ भने महानगरले देखाएको कारणभन्दा फरक रहेको पाइएको छ। 

तस्वीर सौजन्य: पाटन ब्लडस् फेसबुक पेज

‘पाटन ब्लड्स’ र ‘रुटिन अफ पाटन’ नामका फेसबुक ‘पेज’हरूमा युगल जोडीहरूको बसाइँ र अनैतिक हर्कतको कारण महानगरपालिकाले प्रतिबन्ध लगाएको टिप्पणी भइरहेको छ। 

पाटनका स्थानीय रवि शाक्यले यी फेसबुक पेजमा एउटा भिडियो पोस्ट गरेका छन् जसमा हात समाएर, अँगालो हालेर बसेका जोडीहरू सम्पदा क्षेत्रमा शिष्टसँग बस्नुपर्ने मत उनले आक्रोशित भावमा राखेका छन्। अन्य स्थानीयले पनि उनलाई साथ र समर्थन गरेको देखिएको छ। 

तस्वीर सौजन्य: दयासागर केसी

मन्दिर परिसरमा बस्ने युगल जोडीहरूको अशोभनीय क्रियाकलापले स्थानीयदेखि अवलोकनका लागि आउनेलाई समेत अप्ठ्यारो पारेको भन्दै आफूहरूले पटक–पटक महानगरमा गुनासो गरेको अर्का स्थानीय सुप्रिन्य शाक्य बताउँछन्। राति ११–१२ बजेसम्म पनि जोडीहरू आएर अनैतिक क्रियाकलाप गर्दै बस्नु राम्रो नभएको उनको भनाइ छ।

प्रवेश निषेधको अर्को कारण यो पनि भएको नगर प्रहरी प्रमुख हाछेथु स्वीकार्छन्। “राति अबेरसम्म बस्ने, अनैतिक क्रियाकलाप गर्ने, ड्रग्सको प्रयोग गर्नेजस्ता जनगुनासो पनि आइरहेको थियो। हामी कतै छापा मार्न गएका छैनौँ। सम्पदा क्षेत्रलाई विकृतिबाट जोगाउन धेरै कारणले यस क्षेत्रमा केही कडाइ गर्नुपर्ने देखिएपछि मेयरसाबको आदेशमा हामीले एक्सन लिएका हौँ,” हाछेथुले उकालोलाई भने। 

तस्वीर: प्रबिता श्रेष्ठ/उकालो

अर्का स्थानीय तथा मंगलबजार टोल सुधार समितिका पूर्वअध्यक्ष वीरेन्द्रमान शाक्यको बुझाइ भने फरक छ। यस क्षेत्रमा मानिसहरूको घुइँचो हुँदा पैसा तिरेर आएका पर्यटकहरूले राम्रो तस्वीर लिन र जानकारी पाउन बाधा पुगेपछि यस खालको नियम लागू भएको उनी बताउँछन्। 

“हजार रुपैयाँ तिरेर यहाँ घुम्न आएका विदेशी पर्यटकलाई मन्दिरको माथिल्लो पेटीमा लागेको मानिसको घुइँचोले हेर्न र फोटो लिनमै अवरोध पुर्‍याउँछ। उनीहरू आफैँ पनि माथि गएर बस्न पाउँदैनन्,” उनी भन्छन्, “उनीहरूको सुविस्ताका लागि भए पनि यस्तो नियम चाहिएको थियो।”

तस्वीर सौजन्य: पाटन ब्लडस् फेसबुक पेज

यसअघि यस्तो नियम कहिल्यै पनि लागू नभएको स्थानीय वीरेन्द्र शाक्य बताउँछन्। “त्यत्रो पैसा तिरेर घुम्न आउँछन्, फोटो खिच्नेबेला मान्छेहरूले छेकिदिएपछि के हुन्छ?” त्यस्तै, युवायुवतीका जोडीहरूको छाडापनले पनि दिक्क लागेको उनी बताउँछन्। “यहाँ बस्नै नसकिने थियो, हेर्नै नसकिने हुन्थ्यो। अहिले उनीहरू बस्न पाउँदैनन्, आनन्द भएको छ,” उनी भन्छन्।

सचेतनाको प्रयत्न गर्दा डेढ वर्षदेखि प्रशासनिक अलमलमा  
महानगरको पछिल्लो निर्णय र गतिविधिलाई नजिकबाट नियालिरहेका छन्, दयासागर केसी। पेशाले फोटोग्राफर उनी गोदावरीका स्थानीय हुन्। महानगरको पछिल्लो कदमबाट केसी अकमकिएका छन्।

दुई वर्षअघि उनले फोटोग्राफीमार्फत सम्पदा क्षेत्रमा लापरबाहीपूर्वक बस्दा सम्पदामा पर्ने असरबारे ‘फोटो–सिरिज’ तयार पारेका थिए। सोही सिरिज उनी पाटन दरबार क्षेत्रमा प्रदर्शनी गर्न चाहन्थे। त्यसका लागि लिखित अनुमति माग्ने प्रक्रियामा उनी डेढ वर्षदेखि महानगर धाइरहेका छन्।  

फोटोग्राफर दयासागर केसीले सम्पदास्थलमा बस्दा संरक्षणका लागि ख्याल गर्नुपर्ने आचरणबारे सचेतनाका लागि खिचेका तस्वीर जसको प्रदर्शनीबाट आम मानिसलाई बुझाउन उनी डेढ वर्षदेखि प्रयत्नरत छन्। 

उनका अनुसार एक महिनाअघि मात्रै महानगर प्रमुख चिरीबाबु महर्जनसँग करिब ४५ मिनेटको कुराकानी भयो। त्यसपश्चात् महर्जनले तत्कालै उनको काम अगाडि बढाउन महानगर प्रशासनलाई निर्देशन दिएका थिए। तर त्यसयता पनि उनको कामले गति लिन सकेको छैन। आफ्नो परिकल्पना यथार्थमा परिणत हुने आशा भने उनीमा जीवितै छ। 

विभिन्न कारण देखाएर महानगरले सम्पदास्थलमा प्रवेश निषेध गरेको केसीलाई मन परेको छैन। “मेरो प्रदर्शनीको ध्येय भनेको सम्पदा क्षेत्रमा बस्दा कसरी बस्ने भनेर सचेतना दिने र  मानिसको आचरणले सम्पदा मासिनबाट जोगाउने थियो, तर यहाँ युगल जोडीका व्यवहारबारे अनेक टिप्पणी निस्किएको छ जसमा मेरो कुनै सरोकार छैन,” उनी भन्छन्, “धर्मभन्दा पनि मेरो ध्येय कलाको अनादर नहोस् भन्ने हो।”  

तस्वीर सौजन्य: दयासागर केसी

केबल फोटो प्रदर्शनी गर्ने अनुमतिका लागि महानगर पुग्दा त्यहाँको प्रशासनिक ढिलासुस्तीले बिस्तारै आजित हुन थालेको उनी बताउँछन्। प्रदर्शनी कहिले हुने भन्ने पनि उनलाई थाहा छैन। 

के भन्छन् महानगरका पदाधिकारीहरू?
ललितपुर महानगरका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ सम्पदा परिसरमा बस्नै नपाउने भन्ने सूचना गलत भएको बताउँछन्। “परिसरमा बस्न मिल्छ, तर त्यहाँ कुनै अनैतिक क्रियाकलाप गर्नचाहिँ मिल्दैन। लापरबाहीपूर्वक बस्दा सम्पदामा भएको क्षतिलाई नियालेर नै महानगरले नियन्त्रण गरेको हो,” उनी भन्छन्। 

तस्वीर सौजन्य: दयासागर केसी

महानगरका प्रमुख चिरीबाबु महर्जन नगरपालिकाको यो कदम सम्पदा संरक्षणको निम्ति भएको बताउँछन्। मन्दिरको माथिल्लो पेटीमा मानिसहरू बस्ने गरेको स्थानको ठ्याक्कै मुनि खुट्टाले टेकिने ठाउँमा काठ तथा ढुंगामा कुँदिएका कलात्मक बुट्टा तथा मूर्ति भएकाले मानवीय स्पर्शबाट त्यसमा हुने क्षति कम गराउन प्रवेश रोक्ने निर्णय लिइएको महर्जनले बताए। 

“त्यसरी बस्दा ठ्याक्कै भगवान‍्का शिरमाथि बसेजस्तो भयो,” उनी भन्छन्, “बसेर खुट्टा चलाउँदा कलात्मक मूर्तिका कलाकृतिमा असर पर्छ।” 

तस्वीर सौजन्य: दयासागर केसी

मन्दिरका अन्य स्थानमा जतिबेर चाहे पनि बस्न पाइने महानगर प्रमुख महर्जन बताउँछन्। महानगरले सार्वजनिकस्थलमा गरिने मानवीय व्यवहारलाई नियन्त्रित गर्न ‘मोरल पोलिसिङ’ लादेको भनी भइरहेको आलोचनाको विषयमा भने उनले खासै बोल्न चाहेनन्। सम्पदा संरक्षण गर्नु महानगरको ध्येय भएकाले त्यसरी नै बुझ्नुपर्ने उनले बताए। 

यही विषयसँग सम्बन्धित फोटो प्रदर्शनीको अनुमति लिन साढे एक वर्षदेखि महानगरपालिका कार्यालय धाइरहेका दयासागर केसीको प्रयत्नबारे प्रश्न गर्दा उनीसँग महिना दिनअघि मात्र भेट भएको महर्जनले बताए। “एक वर्ष अघिदेखि महानगरमा उहाँले कसलाई कसरी कन्ट्क्याट गर्न खोज्नुभयो मलाई थाहा भएन। तर मलाई भेटेर तस्वीरहरू देखाएपछि म अझ गम्भीर भएँ र उनको योजनामा तत्काल सहयोग गर्न महानगर प्रशासनलाई निर्देशन पनि दिएको थिएँ।” 

सन्देश राम्रो गएन : विज्ञहरू 
पाटनका कृष्ण मन्दिर, चार नारायण मन्दिर, हरिशंकर, भाइदेग मन्दिर, विश्वनाथ मन्दिर र मंगलबजार क्षेत्रका विभिन्न देवीदेवताको अधिकांश मूर्ति कुँदेका सूर्यबहादुर रञ्जितकार मन्दिर क्षेत्र बस्नकै लागि बनाइएकाले त्यहाँ बस्नै नदिनु राम्रो नभएको बताउँछन्। केही समयअघि मात्र विश्वनाथ मन्दिरको पेटीमा खुट्टा झुन्ड्याएर बसेका मानिसहरूको जुत्ताको घर्षणले खिएर कुबेरको बुट्टा भाँचिएपछि उनले नै मर्मत गरेका छन्। 

तस्वीर: प्रबिता श्रेष्ठ/उकालो

उनी भन्छन्, “यद्यपि, सम्पदा र कलाको महत्व मानिसले बुझ्नुपर्‍यो। पहिले–पहिले जुत्ताको जमाना थिएन, मन्दिरमा खुट्टा झुन्ड्याएर पनि कोही बस्दैनथे। सबैलाई आफ्नो सम्पदाको माया थियो, तर अहिले जुत्ता नलगाई हुँदैन। त्यसरी बस्दा यस्तो समस्या आएको मलाई लाग्छ।”

त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त इतिहास विषयका सहप्राध्यापक विश्वमोहन जोशी ललितपुर महानगरको उक्त कदम उचित भए पनि कार्यशैलीका कारण नकारात्मक देखिएको बताउँछन्। सम्पदा क्षेत्रमा ‘प्रवेश निषेध’ को सूचनापाटी राख्दा नराम्रो सन्देश गएको उनको भनाइ छ।  

माथिल्लो पेटीमा बस्ने आगन्तुकका जुत्ताले टेकिँदा नाक भाँचिएको ढुंगाको मूर्ति । तस्वीर सौजन्य: दयासागर केसी

“सचेतनास्वरूप सम्बन्धित क्षेत्रका मन्दिरहरूको प्राचीन महत्त्व उजागर गर्ने सूचनापाटी राख्ने र जागरणमूलक कार्यक्रम गरी सम्पदाप्रतिको चेतना उजागर गर्ने काम गरेको भए सकारात्मक पहल देखिन्थ्यो,” उनी भन्छन्। यसमा रोकछेकभन्दा पनि सम्झाइबुझाइ अनुरोध गर्ने तथा पालिकाका कर्मचारी खटाएर निरीक्षण गर्ने उपाय अपनाउनु उचित हुने जोशी बताउँछन्।

फोटो कलाकार दयासागर केसीले त्यस्तै चेतनामूलक कार्यक्रम गर्ने अवधारणा बनाएका हुन्। तर महानगरको अनुमति र सहयोग पर्खंदा उनको डेढ वर्ष बितिसकेको छ। 


सम्बन्धित सामग्री