Tuesday, May 14, 2024

-->

घृणाको बजारमा चौधरी ग्रुपको प्रवेश

बेलैमा विनोद चौधरीजस्ता विद्वानहरूलाई सम्झाऔँ कि उनका वाइवाइजस्ता ब्रान्डहरू भदौ २–५ को कथावाचनपछि धिरेन्द्र शास्त्रीका यस्ता सन्देशसित जोडिने छन्ः महिलाहरू उपभोग्य वस्तु हुन्, दलित नीच र अछूत हुन्।

घृणाको बजारमा चौधरी ग्रुपको प्रवेश

विनोद चौधरीले आफ्नो आत्मकथामा वाइवाइ चाउचाउको ब्रान्ड हात पार्ने बेलाको रोचक किस्सा लेखेका छन्। अहिले नेपालमा लोकप्रिय वाइवाइ ब्रान्ड वास्तवमा थाइल्यान्डको कम्पनी थाइ फुड्सबाट नेपाल भित्रिएको हो। त्यो हात पार्दाको प्रसंगमा चौधरी लेख्छन्ः

‘‘लामो छलफलपछि उनीहरू तयार भए। मेरा दुईवटा शर्त थिएः मलाई तयारी चाउचाउको प्राविधिक ज्ञान सिकाउनुपर्छ। विश्वभरिका लागि वाइवाइ ब्रान्डको अविच्छिन्न एकाधिकार मलाई प्राप्त हुनुपर्छ।’’

थाइल्यान्डको चाउचाउ बजारको ६० प्रतिशत हिस्सा ओगट्ने मामा चाउचाउको सट्टा किन २०–२५ प्रतिशत बजार ओगटेको सानो वाइवाइ ब्रान्ड नेपाल भित्र्याए त उनले? लेख्छन्, ‘‘मामासँग मिलेर जाँदा ब्रान्ड स्थापित गर्न खासै मिहिनेत गर्नुपर्थेन। उसको ब्रान्ड यति बलियो र चर्चित थियो, त्यसैको बलमा सजिलै नेपालमा बजार प्रवर्द्धन गर्न सक्थेँ। प्लान्ट लगाउनदेखि पूर्वाधार विकासमा दह्रै सहयोग पाउने थिएँ। लगानी सुरक्षाका दृष्टिले फाइदा भए पनि मैले आफ्नो अस्तित्वको मूल्य चुकाउनुपर्थ्यो। ठूलो कम्पनी भएकाले ऊ नेपाल र दक्षिण एसियाली बजारको क्षेत्राधिकार मलाई दिन राजी थिएन।’’

अर्थात् उनका लागि तत्कालको व्यापारिक सहजता र नाफाभन्दा दीर्घकालसम्म आफ्नो हुन सक्ने ब्रान्ड प्यारो थियो। कालान्तरमा उनको व्यवसायचेत सही ठहरियो।

उनको व्यापारिक समूह अहिले त्यस्तै दोबाटोमा रहेको देखिन्छ। अवैध रूपमा सरकारी जग्गा हडपेको तथा त्यससम्बन्धी अनुसन्धानलाई नै अवरुद्ध गर्न आफ्नो राजनीतिक शक्ति र पहुँच प्रयोग गरेको भनेर यस अगाडि बारम्बार सार्वजनिक भइसकेको छ। 

त्यसले उनको आर्थिक तरक्की कति वैध मेहनत र चुस्त व्यवसाय–क्षमताको नतिजा अनि कति सार्वजनिक सम्पत्तिको अवैध कब्जाबाट भएको हो भन्ने प्रश्न उठेका छन्।

यही पृष्ठभुमिमा भारतका विवादित बाबा धिरेन्द्रकृष्ण शास्त्रीलाई आफूले बनाएको ‘धाम’मा बोलाएर चौधरी ग्रुपले यही भदौ २ गतेदेखि ३ दिने ‘कथा वाचन’ गराउँदै छ।

भारतजस्तो विशाल देशमा कुनै साधारण गफाडीदेखि शृंखलाबद्ध रूपमा हत्या र बलात्कारजस्ता जघन्य अपराध गर्नेहरू 'बाबा' कहलाएर बस्ने गरेका छन्। त्यो माहोलमा सानै उमेरमा साम्प्रदायिकता र अन्धविश्वास फैलाउनमा ‘सिद्धि’ प्राप्त गरेका बाबा हुन् शास्त्री।

त्यसैले आजको भारतमा उनको खास ब्रान्ड छः खुलेआम अन्धविश्वासको प्रचार गर्ने, जातीय विभेद र छुवाछुतको अभ्यास गर्ने, लैंगिक विभेदलाई प्रश्रय दिने र साम्प्रदायिकतालाई धारिलो बनाउने।

शास्त्रीको ‘कथा वाचन’को यही ब्रान्डलाई नै नवलपरासीस्थित सिजीधाममा किन निम्त्याउँदै छ त चौधरी ग्रुपले?

एउटा त उनको लोकप्रियता हुन सक्छ। उनले भारतमा दशौं हजारको भीड जुटाएर मानिसका पक्षघातदेखि क्यान्सरसम्म सबै खाले समस्याहरूको ‘समाधान’ निकालिदिने गरेका छन्।  कुनै पनि ब्रान्डका लागि लोकप्रियता आफैँमा धेरै ठूलो सबलता हो।

तर चौधरी ग्रुपले अर्को के बुझेको देखिन्छ भने भारतमा आजको दिनमा सबैभन्दा बिक्ने कुरा भनेकै साम्प्रदायिक घृणा र विद्वेष छ। भारतका सबैभन्दा धनी मुकेश अम्बानीले आज जियोका मोबाइल र प्रशोधित तेल मात्र बेचिरहेका छैनन्, राष्ट्रिय च्यानल टीभी १८ लगायतका दर्जनौँ साना–ठूला सञ्चार माध्यमबाट विशुद्ध द्वेष र घृणा बेचिरहेका छन्।

अघिल्लो वर्षसम्म शीर्षस्थानमा रहेर यसै वर्ष दोस्रो नम्बरमा खस्केका गौतम अडानीले पनि त्यो मोर्चामा अम्बानीसित प्रतिस्पर्धा गर्न केही महिना अगाडि भारतको तबसम्म प्रतिष्ठित एनडीटीभीलाई ‘होस्टाइल टेकओभर’मार्फत कब्जामा लिएका छन्।

अम्बानीका सञ्चार माध्यममा घृणाको व्यापार कतिसम्म चर्केको छ भने, हालै टीभी १८ का एक मुख्य प्रस्तोताले खुलेआम हिटलरका भाषा प्रयोग गरेर एउटा सम्प्रदायमाथि 'आम नरसंहार'को माग गरेका छन् जसबारे म्यागासेसे पुरस्कार विजेता पत्रकार रवीश कुमारले आफ्नो यो कार्यक्रममा समेटेका छन्। देशका मुख्य टेलिभिजन च्यानलहरूले वर्षौंसम्म निरन्तर कुनै सम्प्रदाय विशेषमाथि विषवमन गरेर समाजलाई तीव्र रूपमा ध्रुवीकृत  गरेका छन्।

त्यस्तो विषवमनलाई ग्रहण गरेर रुष्ट बनेका चेतन सिंह नामका एक आरपीएफका जवानले हालै एउटा रेलमा आफ्ना सिनियर र तीन जना मुसलमान यात्रीको खोजीखोजी हत्या गरेपछि अर्का यात्रुलाई रेकर्ड गर्न लगाएर भनेका थिएः मिडियाले देखाइरहेको छ, तिमीहरू सबै पाकिस्तानबाट सञ्चालित छौ।

आजको भारतमा यो सब सामान्य भएको छ जहाँ रेलमा सवार साधारण मुसलमान यात्रीको हत्या गरेर तिनलाई ‘पाकिस्तानबाट सञ्चालित’ भन्नासाथ हत्याराले आम मानिसको सहानुभूति पाइरहेको छ। उसलाई मानसिक रूपमा विक्षिप्त घोषणा गरेर हत्याको सजायबाट बचाउने प्रयास अहिले पनि जारी छ। 

हिटलरको भाषामा रातदिन द्वेष र घृणा फैलाएर अम्बानीका च्यानलहरूले कति पो कमाएका होलान् र भन्ने एउटा जायज प्रश्न चाहिँ छ।  सम्भवतः अम्बानीको सम्पत्तिको तुलनामा त्यो कमाइ त्यति ठूलो हैन।  तर भारतजस्तो गरिबीले ग्रस्त मुलुकमा उनीजस्ता मानिसले १०० अर्ब डलरसम्मको सम्पत्ति जोड्न सक्नुको मुख्य कारण सत्ता संस्थापनसितको उनको  अविच्छिन्न निकटता रहेको त कसैबाट लुकेको छैन।  

नाजीवादी प्रोपगाण्डा अहिले मुकेश अम्बानीका लागि मोदी सरकारलाई खुशी पार्ने बुटी बनेको छ ताकि अरू दशकौँसम्म भाजपा खुशी भैरहोस् र भारतको आसेपासे पुँजीवादमा उनलाई अरू कसैले नउछिनोस्।  

यस्तो माहोलमा नेपालको एउटा व्यवसायी घरानाले इन्टरनेट युगका एक बदनाम भारतीय बाबालाई नेपाल भित्र्याउनु साधारण कुरा हैन। उनी नेपाल आउने समाचार आउनासाथ उनको विरोध र चौधरी ग्रुपको आलोचना सबैतिर भइरहेका छन्।

तर सम्भवतः हिसाबमा चलाख चौधरी घरानाका मानिसहरूले दीर्घकालमा यसबाट लाभ हुने देखेका छन्।

आखिर व्यक्तिको मेहनत र विलक्षणताका सीमा हुन्छन्। नेपालजस्तो सानो देशमा सार्वजनिक सम्पत्ति हडपेर पनि अनिश्चितकालसम्म अकुत कमाइ गरिरहन सम्भव हुँदैन। यदि भारतमा अहिले घृणा र विद्वेषको व्यापार यति चम्केको छ भने भोलि नेपालमा कसो नचम्केला? व्यापारलाई त्यता फैलाउनु नै छ भने अहिलेदेखि नै शुरू किन नगर्ने?

यस्तो हिसाकिताब चौधरी ग्रुपका लागि लाभदायी सावित हुन सक्ला तर त्यसका लागि नेपाली समाजले भने अगणनीय क्षति भोग्नुपर्नेछ। त्यस्तो जोखिमप्रति बेलैमा सचेत भएर खबरदारी गर्नुको हामीसित विकल्प छैन।

त्यसैले बेलैमा विनोद चौधरीजस्ता विद्वानहरूलाई सम्झाऔँ कि उनका वाइवाइजस्ता ब्रान्डहरू अब भदौ २–५ को कथावाचनपछि धिरेन्द्र शास्त्रीका यस्ता सन्देशसित जोडिने छन्ः महिलाहरू उपभोग्य वस्तु हुन्, दलित नीच र अछूत हुन्, फरक आस्था राख्नेलाई समुदायले नै बुल्डोजर लगाएर ध्वस्त पार्नुपर्छ, आदि।

अनि सोधौँ: भोलि नेपालका डेढ करोड महिलाहरूले, लाखौँ दलितहरूले, दशौं लाख अल्पसंख्यकहरूले तपाईंले बनाएको चाउचाउ कसरी खाने? तपाइँको बैंकमा खाता कसरी खोल्ने, तपाईंका होटलमा कसरी बस्ने? तपाईंका अस्पतालमा कसरी उपचार गर्ने?

घृणाको व्यापारले दीर्घकालमा के गर्ला थाहा छैन तर अल्पकालमा भने चौधरी ग्रुपलाई व्यावसायिक क्षति गर्न सक्नेछ। यो कुरा उनीहरूलाई बुझाउने जिम्मेवारी हामी सबैको हो।


सम्बन्धित सामग्री