Friday, May 03, 2024

-->

तरकारीमा अनियन्त्रित विषादीको प्रयोगले किसानलाई नै बढी असर

विषादी प्रयोग नभएका तरकारीहरू राम्रो हुँदैनन् र बजारमा त्यसको भाउ पाउन सकिँदैन भन्ने मान्यता अधिकांश किसानमा छ। यसको पहिलो असर भोग्नेमा उनीहरू स्वयं र त्यसपछि आम उपभोक्ता पर्छन्।

तरकारीमा अनियन्त्रित विषादीको प्रयोगले किसानलाई नै बढी असर

काठमाडौँ– गोरखाका सुदर्शन रेग्मीले नगदेबालीका रूपमा तरकारी खेती गर्दै आएका छन्। बालीलाई रोगकीराबाट बचाउन विषादीको प्रयोग गर्नैपर्ने बाध्यता रहेको उनी बताउँछन्। तर यसले पार्ने धेरै असरमध्ये केही आफैँले भोगिरहेको उनलाई प्रस्टसँग थाहा छ। 

रेग्मी भन्छन्, “विषादीको प्रयोग नगर्दा रोग–कीराले तरकारी सखापै पार्छ र आम्दानी लिनै पाइँदैन। यसको प्रयोग गर्दा पनि आफ्नै शरीरलाई हानि भइरहेको छ। विषादी छोएपछि जिउभरि एलर्जीले सताएर हैरान पार्छ, बजारसम्म तरकारी बोकेर जाँदा त झन् खप्नै सकिँदैन।”

तरकारी बाली जोगाउन सबैभन्दा बढी विषादी भन्टामा प्रयोग गरेको उनको अनुभव छ। अरू तरकारीमा प्रयोग गरिने विषादीको मात्राले त्यसमा लाग्ने कीरा नियन्त्रण नभएको बताउने रेग्मी भन्टामा ‘फ्लोजन’ र ‘दरवा’ नामका विषादीहरू प्रयोग गर्छन्। ती विषादीहरू धेरै कडा हुन्छन्। 

रेग्मीले बताएअनुसार उनी एक लिटर पानीमा दुई मिलीलिटर विषादी राखेर तरकारी बालीमा हाल्छन्। यसले सबै कीराहरू नष्ट भएको उनले देखेका छन्। उनका अनुसार १६ लिटर पानीमा ३२ एमएल विषादी राखेर छर्दा लगभग एक रोपनी जमिनलाई पुग्ने गर्छ।

“विषादीको प्रयोगले हामीजस्ता तरकारी उत्पादक किसानलाई त असर पार्छ नै, खाने उपभोक्तालाई  पनि यसले नराम्रो प्रभाव पार्ने हुँदा अर्ग्यानिक तरकारी खेती पनि गर्‍यौँ,” उनी भन्छन्, “तर हेर्दा राम्रो नदेखेर व्यापारीहरूले जैविक मल प्रयोग गरेको तरकारीमा रुचि नराख्ने रहेछन्।”

नुवाकोटका कृषक नारायण धमलाले पनि उस्तै अनुभूति गरेका छन्। “विषादीको प्रयोग नगरे कीरा, कमिला लागेर तरकारी उत्पादन नै नहुने रहेछ। बजारमा पनि राम्रो, चिटिक्क परेको तरकारी नै मन पराउँदा रहेछन्,” उनी भन्छन्, “विषादी नहालेको बालीबाट राम्रो उत्पादन लिन सकिँदैन। त्यसकारण किसानहरू विषादी हाल्न बाध्य भएका छन्।”

केही समय विषादी नहाल्दा कीरा र कमिलाले बाली खाएर हैरान पारेको धमला बताउँछन्। राम्रो उत्पादन लिएर नोक्सानीबाट बच्न तरकारी बाली प्रायः सबैमा विषादीको प्रयोग गर्नुपर्ने उनको भोगाइ छ। विषादीको प्रयोग नगरी फलाउने कोशिश गरेको तरकारी कीराले खाइदिएको र त्यसबाट लागत खर्चसमेत नउठेको धमला बताउँछन्।

लहरे बालीमा हप्ताको एक पटक विषादी हाल्नुपर्ने किसानहरू बताउँछन्। विषादी प्रयोग नभएका तरकारीहरू राम्रो हुँदैन र बजारमा त्यसको भाउ पाउन सकिँदैन भन्ने मान्यता उनीहरूमध्ये अधिकांशमा छ। 

 


विषादी नहाली पनि फलाउन सकिन्छ तरकारी
विषादी राख्दै नराखी वा यसको प्रयोग कम गरेर पनि राम्रो उत्पादन लिन सकिने राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्र खुमलटारका बालीरोग विज्ञ वशिष्ट आचार्य बताउँछन्। तर त्यसका लागि उचित विधि अपनाउनुपर्ने हुन्छ। तरकारी लगाउने समय र वातावरण मिलाएमा राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ। 

आचार्य भन्छन्, “विषादीको प्रभाव रहने समयावधि हुन्छ। त्यसपछि प्रयोग गर्दा खासै असर पर्दैन।” बालीमा कुनै विषादी राखेपछि प्रयोगका लागि पर्खनुपर्ने अवधि १६ देखि ९० दिनसम्म हुन्छ। उनले बताएअनुसार विषादी प्रयोगपछि असर बाँकी रहने समय पर्खेर मात्र खानु राम्रो हुन्छ। तर धेरै लामो समयसम्म नरहने विशेषगरी फलफूल र तरकारीमा हरियो रङले संकेत गरिएका विष प्रयोग गर्न बालीरोग विज्ञ आचार्य सुझाउँछन्।

उनका अनुसार बजारमा पाइने विषादीको बट्टामा त्यसले पार्ने असरअनुसार विभिन्न रङका चिन्हले संकेत गरिएको हुन्छ। ती रङहरू हरियो, निलो, पहेँलो र रातो हुन्छन्। प्रयोग गर्न परेमा हरियो चिन्ह भएको विषादी प्रयोग गर्नु उपयुक्त मानिन्छ। रातो चिन्ह भएको विषादीलाई कडा विषादीको रूपमा लिइने भएकाले यसको प्रयोग गर्न नहुने विज्ञको सल्लाह छ। 

विषादीको प्रकारअनुसार त्यसको प्रयोग गर्ने मात्रा फरक–फरक हुन्छ। कीटनाशक विषादी प्रतिलिटर पानीमा एक मिलीलिटरका दरले मिसाएर प्रयोग गर्न सकिन्छ। तर किसानहरूले विषादी प्रयोगको मात्रा थाहा नपाउँदा र छोटो समयमा कीराहरूलाई नष्ट गर्ने चाहना राख्दा आवश्यकताभन्दा धेरै मात्रामा विषादीको प्रयोग भइरहेको विशेषज्ञहरू बताउँछन्। 

हरिया तरकारीमध्ये भन्टामा कडा विषादी हाल्नुपर्छ भन्ने किसानको धारणाबारे बालीविज्ञ आचार्य विषादीको प्रयोगभन्दा पनि रोग–कीराको पहिचान गर्नुपर्ने बताउँछन्। “भन्टामा लाग्ने गबारो कीरा हुन्छ, पासो प्रयोग गरेर त्यसको नियन्त्रण गर्न सकिन्छ। त्यसकारण भन्टामा कडा विषादीको प्रयोग गर्नुपर्छ भन्ने हुँदैन,” उनी भन्छन्। 

फरक–फरक विषादीको प्रयोग, कडा विषादीको प्रयोग र कीराको पहिचान नगरी विषादीको प्रयोग गर्दा जनस्वास्थ्य र वातावरणमा धेरै असर परिरहेको आचार्यको भनाइ छ। प्रत्यक्ष रूपमा यसको असर नदेखिए पनि अप्रत्यक्ष रूपमा असर पर्ने र बालीमा प्रयोग गरेको विषादी सञ्चित हुँदा यसको असर दिन प्रतिदिन बढ्दै जाने उनले बताए। 

“त्यसको असरले मानिसमा क्यान्सर, स्नायु प्रणाली, पाचन प्रणाली र छालामा विभिन्न एलर्जीजस्ता समस्या देखिने गरेको छ,” उनी भन्छन्, “हावा र पानीका स्रोतहरूमा विषादीको प्रवेशले वातावरणलाई समेत असर परिरहेकाले विषादीको प्रयोगलाई सक्दो कम गर्नुपर्छ।” 

विषादीको प्रयोग घटाउने तौरतरिका
राष्ट्रिय बालीरोग अनुसन्धान केन्द्र खुमलटारका बालीरोग विज्ञ वशिष्ट आचार्यका अनुसार विषादीको प्रयोग घटाएर रोग–कीरा व्यवस्थापन गर्ने तौरतरिकाहरू छन्। तरकारी लगाउने समय तलमाथि गर्ने, वातावरणअनुसार तरकारीको प्रयोग गर्दा कीरा लाग्ने समयसम्म बाली भित्र्याइसक्ने, चिसो मौसममा टनेल बनाएर खेती लगाउनेजस्ता उपायले विषादीको प्रयोग घटाउन मद्दत गर्ने उनले बताए।


त्यसबाहेकका जैविक विधि पनि छन्। माटोजन्य रोग व्यवस्थापनका लागि जैविक तरिकाहरू जस्तै ढुसी र ब्याक्टेरियाहरूको प्रयोगले गबारो, मेटाराइजियम जस्ता सूक्ष्म जीवाणुहरूको व्यवस्थापन गर्न सकिन्छ। रासायनिक विषादीको सट्टा वनस्पतिजन्य विषादीहरूको प्रयोग गर्नु अर्को विकल्प हो। माटोजन्य रोगको व्यवस्थापनका लागि माटोको जाँच गरेर रोगलाई धेरै हदसम्म कम गर्न सकिन्छ।

बालीरोग विज्ञहरूका अनुसार जैविक मल प्रयोग गर्दा उत्पादन कम हुन्छ भन्ने हुँदैन, तर तुलनात्मक रूपमा हेर्दा रासायनिक विषादीजस्तो प्रभावकारी भने हुँदैन। जैविक मलको प्रयोगले तुरुन्तै नतिजा नदेखिए पनि यसले बिस्तारै बालीनालीमा पोषणको काम गर्छ जुन दिगो हुन्छ। 

२०३८ सालपछि कृषि विकास केन्द्रहरूको स्थापनासँगै नेपालमा व्यावसायिक तरकारी खेती गर्न थालिएको हो। कृषि उत्पादन क्षेत्रहरू इलाम, धनकुटा, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, काभ्रेपलान्चोक, भक्तपुर, पर्सा, बारा, धनुषा, महोत्तरी, सल्यान, धादिङ, चितवन, बाँके, बर्दिया, नुवाकोट लगायतका जिल्लाहरूमा व्यावसायिक तरकारी खेती बढी हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। तरकारी खेतीमा देश आत्मनिर्भर हुन नसक्दा भारतलगायतका देशहरूबाट बर्सेनि तरकारी आयात गर्नुपरेको छ। 

नेपालका केही क्षेत्रहरूमा विषादीको प्रयोग भए पनि धेरै मात्रामा प्रयोग भएको भन्न नमिल्ने प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी मनोज पोखरेल बताउँछन्। उनी भन्छन्, “विषादीको प्रयोगबिना उत्पादन गर्न सकिन्छ भन्ने त हुँदैन, तर, कसरी विषादीको प्रयोग कम गर्ने भन्ने कुरालाई किसानले ध्यान दिनुपर्ने हुन्छ।”

भारतबाट ल्याइने तरकारीमा विषादी परीक्षण हुन सकेको छैन। अहिलेसम्म नेपालमा १५ वटा केन्द्रमा जम्मा दुई वटा विषादीको मात्र परीक्षण हुन्छ। देशभरका १६५ वटा भन्सार नाकाहरूमा विषादी परीक्षण नै हुँदैन।

विषादीको वर्गीकरण 
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरले विषादीको समुचित प्रयोग, भण्डारण र विसर्जनका बारेमा जानकारी गराउन अघिल्लो वर्ष एक पुस्तक तयार पारेको छ। त्यसमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनले गरेको विषादीको वर्गीकरणमा रासायनिक कीटनाशक विषादीहरू एसिफेट, कार्टाप हाइड्रोक्लोरनइड, क्लोरोपाइरिफस, इमामेक्टिन वेन्जोएर, फेनभेलारेट, इमिडाक्लोरप्रिड, मालाथिएन, प्रोपोक्जर, साइपरमेथ्रिन, प्रोपोक्जर, डेल्टामेथ्रिन, डाइमेयुएट लगायतका विषादीहरू पर्छन्।

ढुसीनाशक विषादीहरूमा क्याप्टन, कार्बेन्डाजिम, क्लोरोथालोनिल, कपरअक्सिक्लोराइड, मेनकोजब, डाइमिथोमोर्फ, डिनोक्याप, हेक्जाकोनजाल, कासुगामाइसिन, मेनकोजब, मेटालाक्सिल, मेटिराम, प्रोपिनेब, थिराम, टाइसाइक्लाजेल, भेलिडामाइसिन, जिनेब लगायतका विषादीहरू प्रयोग गरिन्छ।


शरीरभित्र कसरी पुग्छ विषादी? 
विषादी तथा अन्य रसायनहरू छाला, मुख, आँखा र श्वासप्रश्वास क्रियामार्फत फोक्सो हुँदै मानव शरीरमा प्रवेश गर्छन्। धेरैजसो कृषक र प्रयोगकर्ताहरूमा विषादीको मात्रा मिलाउँदा वा छर्किएको विषको झोल पोखिँदा सोझै वा हावाको माध्यमबाट विषादी शरीरको सम्पर्कमा आउँछ र छालामा सोसिएर शरीरभित्र जान्छ। त्यसकारण विषादी प्रयोग गर्दा प्रदूषित भएको पहिरन तत्काल फेर्नुपर्छ। घाउ लागेको छ वा छालामा दाग छ भने विषादी सजिलै सोस्ने गर्छ।

श्वासप्रश्वास क्रियाबाट सोझै फोक्सोमा पुगेको विषादीले रगतमा असर पार्छ। धुलो विषादी वा पाउडर पानीमा मिसाउँदा या सोझै छर्दा हावामा मिसिएर उड्न पुग्छ जसले मानव शरीरमा प्रवेश गर्नासाथ नाक, घाँटी र फोक्सोमा असर पुर्‍याउँछ। यस्तै, विषादी छर्केपछि असर सकिन पर्खनुपर्ने समय पूरा नहुँदै फलफूल, तरकारी तथा अनाजबाली टिपेर खाएमा मुखबाट विषादीको अवशेष पेटमा पुग्छ र पाचन तथा रक्तसञ्चार प्रणाली हुँदै शरीरभरि फैलिन्छ। 

बाहिरी सम्पर्कमा आउने अंगमध्ये सबैभन्दा कोमल मांसपेशीले बनेको आँखा विषादीलाई शरीरभित्र पुर्‍याउने अर्को सजिलो माध्यम हो। विषादीको झोल पानीमा मिसाई तयार गर्दा छिटा पर्न गएमा, विषादी छर्दा हावाको बहावले उडेर एवं प्रदूषित हात वा पहिरनले आँखा पुछ्दा विषादी शरीरभित्र जान सक्छ। 

विषादीको असरबाट रिँगटा लाग्ने, पक्षाघात हुने, थाकेको महसुस हुने, होस हराउने, टाउको दुख्ने, बान्ता हुने, स्वाँ स्वाँ हुने, खोकी लाग्ने, छाती दुख्ने, मांसपेशी थाक्ने, वाकवाकी लाग्ने, पेट बटारिनेजस्ता लक्षणहरू देखा पर्छन्। पखाला लाग्ने, छाला लाटो र रातो हुने, हिँड्दा लडखडाउने, आँखा रातो भएर पोल्ने र नाक पोल्नेदेखि लिएर क्यान्सर र ट्युमरजस्ता जटिल जनस्वास्थ्य समस्यामा विषादीले पुर्‍याउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ। 

विषादीबाट बच्ने उपायहरू
तरकारीमा प्रयोग भएका मात्र नभई दैनिक जनजीवनमा आइपर्ने विषादीको असरबाट सुरक्षित रहन आम उपभोक्ताले केही निश्चित विषयमा सचेतता अपनाउनु पर्ने विज्ञहरूको सल्लाह छ। 

बालीरोग विज्ञ वशिष्ट आचार्यका अनुसार प्रतिबन्धित विषादीबारे जानकारी लिने, बालीनालीमा विषादी प्रयोग गर्दा अनिवार्य कृषि प्राविधिकहरूको सल्लाह लिने, अनावश्यक विषादी प्रयोग नगर्ने, सम्भावित खतराबाट सावधान रहने, इथियन र क्विनाल्फोस नामका विषादीको प्रयोग गर्दै नगर्नेजस्ता उपायले विषादीको असरलाई रोकथाम गर्छ। 

उपचारभन्दा रोकथामलाई आत्मसात् गर्ने, विषादीलाई केटाकेटीहरूको पहुँचभन्दा टाढा राख्ने, प्रयोग गर्नै परेमा कम विषालु तर प्रभावकारी विषादी छनोट गर्ने र सबै किसिमका विषादीहरू विष हुन्, ती औषधी होइनन् भन्ने कुरा जानकारीमा राख्ने गरेमा विषादीको असरबाट बच्न सकिने यसका विज्ञहरू सुझाउँछन्।


सम्बन्धित सामग्री