Wednesday, May 01, 2024

-->

संघर्षशील सरस्वती जसले सुदूरपश्चिमको माटोबाट उठेर देशकै शिर उँचो बनाइन्

अमेरिकी विदेश मन्त्रालयले सामाजिक न्यायको क्षेत्रमा यसै वर्ष स्थापना गरेको ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड’ पाउने संसारका ६ जनामा पर्न सफल सरस्वती नेपाली बाल्यकालदेखि नै संघर्षशील थिइन्।

संघर्षशील सरस्वती जसले सुदूरपश्चिमको माटोबाट उठेर देशकै शिर उँचो बनाइन् 
‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन्स अवार्ड’ विजेता सरस्वती नेपाली। तस्वीरहरू: मनिष पौडेल/उकालो

काठमाडौँ– बैतडीकी सरस्वती नेपालीले सीमान्तकृत समुदायको पक्षमा वकालत गर्न लागेको तीन दशक बितिसकेको छ। उनकै कारण सुदूरपश्चिमका कैयौँ भूमिहीन परिवारले भूमि पाएका छन्। धार्मिक रूपमा तिरस्कृत भएकाहरूले आत्मसम्मानसहित मन्दिरमा प्रवेश पाएका छन्। शिक्षाबाट विमुख बालबालिकाले स्कुल पढ्न पाएका छन्।   

२०३८ सालमा बैतडीको दशरथचन्द नगरपालिका–४, खलंगा गढीमा उनको जन्म भयो। उनी जन्मिएको छ महिनामै बाबु बिते। त्यसपछि उनकी आमालाई पाँच छोराछोरीको पालनपोषण गर्दै घरव्यवहार चलाउन निकै कठिन भयो। सरस्वतीका दाइ उद्धव नेपाली १५ वर्षको उमेरमा नेपाली सेनामा भर्ती हुन गए। अर्का दाइ हर्क नेपालीले दुई–चार अक्षर जानेकै कारण १२ वर्षको उमेरदेखि बैतडीको नापी कार्यालयमा कार्यालय सहयोगीको जागिर पाए। 

आमालाई आइपरेको आर्थिक बोझको कारण बाल्यकालमै जागिरे बनेका दुवै दाइहरूको एउटै अठोट थियो, “हामीले पढ्न नपाए पनि भाइबहिनीलाई पढाउनुपर्छ।” 

सरस्वती र उनका कान्छा दाइ प्रकाशलाई पढाउने सिंगो परिवारको लक्ष्य थियो। आमा र दाइहरूले लिएको त्यही लक्ष्य सानैदेखि पछ्याउँदै जाँदा सरस्वतीले घर नजिकैको दशरथचन्द प्राथमिक विद्यालयबाट प्राथमिक तहको शिक्षा पूरा गरिन्। माध्यमिक शिक्षा अध्ययनका क्रममा दलित छात्रा भएकै कारण उनलाई विद्यालयमा पनि अनेक खालका विभेदको सामना गर्नुपर्‍यो। स्कुलमा तिर्खा लाग्दा पानी पिउने जग उनलाई छुने अनुमति थिएन। कक्षामा संगत र सहयोग गर्ने कोही साथीसंगी भएनन्। 

उनी त्यो विगत यसरी सम्झन्छिन्, “पानी पिउने जग छोएकै कारण मैले कुटाइसमेत खाएको छु। त्यो हाम्रो दैनिक जीवनमा चलनचल्ती जस्तै बनेको थियो। कहिलेकाहीँ सरहरूले नै हिर्काउनु हुन्थ्यो, पानी किन छोएको भनेर।”

वीरेन्द्र माध्यमिक विद्यालयमा ६ कक्षामा पढ्दादेखि नै उनले आफूमाथि भएको विभेदबारे बोल्ने साहस बटुलिन्। त्यति बेलादेखि नै हो सरस्वतीले सामाजिक कार्य र सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन थालेको।  

“शाहीलेकमा हाम्रो स्कुल थियो। त्यहाँ मैले हात थापेर पानी खानुपर्थ्यो। शिक्षकहरू बस्ने अफिस कोठामा पस्न पाउँदैनथेँ। त्यतिबेला मनमनै प्रश्न गर्थें– यस्तो किन हुन्छ?” उनले भनिन्। 

 


उमेर सानै थियो। मनमा उब्जिएका खुल्दुली अञ्जुलीमा पानी हालिदिने साथीहरूसँग राख्ने अवस्था पनि थिएन। समाजमा चलिआएको चलन विद्यालयमा पनि शिक्षकले चलाइरहेकै थिए। तर उनी त्यसरी साथीहरूले नछोईकन हातमा खन्याइदिनुपर्ने पानी नखाएरै पढ्ने गर्थिन्। त्यो आफ्नो विद्रोह भएको उनी बताउँछिन्, “म पानी नखाईकन कि कक्षा कोठामा बस्थेँ कि त घरमा आएर पानी खाएर फेरि स्कुल जान्थेँ। अहिले आएर त्यसलाई म विद्रोह नै मान्छु।”

२०५३ सालतिर आफ्नै जन्मस्थल बैतडीबाट हो सरस्वतीले अधिकार प्राप्तिका लागि संघर्ष शुरू गरेको जतिबेला उनी १५ वर्षकी थिइन्। त्यसयता आजसम्म आइपुग्दा उनले कैयौँ विभेदका पहाडहरूसँग जुध्नुपर्‍यो। जातीय छुवाछुतले जरो गाडेको समाजमा विभेदविरुद्ध काम गर्नु फलामको चिउरा चपाउनु सरह थियो। तर चुनौतीलाई पर्बाह नगरी हलिया प्रथा, भूमिहीन सुकुमबासी, जातीय विभेद र लैंगिक हिंसाविरुद्धको अभियानमा प्रत्यक्ष संलग्न भएर काम थालिन्। 

ती मुद्दा उठाएर समुदायसँग भिज्न थाल्दाको परिवेश सम्झँदै उनी भन्छिन्, “मुद्दा उठाउन निकै गाह्रो थियो। जो पीडित छ उसले कानूनी लडाइँ लड्न चाहँदैनथ्यो। उनीहरूलाई राम्रोसँग बुझाएर कति मुद्दाहरू अदालतसम्म पुर्‍याउने काम गरेँ। त्यसो गरेकै कारण मलाई ज्यान मार्ने धम्कीसमेत आउँथ्यो।” तर त्यस्ता धम्कीबाट रतीभर नडराई समाज र समुदायलाई पढ्दै गइन् उनी। 

२०५८ सालमा एसएलसी पास भएपछि उनी नागरिक समाज र महिला अधिकारका क्षेत्रमा काम गरिरहेका संघसंस्था र अन्य अगुवाहरूसँग जोडिन पुगिन्। भूमिहीन, दलित, विपन्न र महिलाका मुद्दालाई सानैबाट बुझेकाले उनको रुचि पनि बढ्दै गयो।  

समाज बुझ्ने क्रममा सरस्वतीको मस्तिष्क सधैँ हल्लाइरहने केही घटनाहरू पनि छन्। “एउटा घटनाले अहिले पनि मेरो मस्तिष्क ठाउँमा बस्दैन। हाम्रो घर बजारमै पर्थ्यो। त्यहाँका होटलमा मैले बाहिर बसेर खानुपर्थ्यो। खाइसकेपछि पैसा पनि तिर्नुपर्थ्यो र आफूले आएको भाँडा पनि माझ्नपर्थ्यो। भाँडा माझ्नु नै नराम्रो त होइन, तर त्यतिबेला होटलमा खाएपछि दलितहरूलाई मात्र भाँडा माझ्न लगाइन्थ्यो” उनले सुनाइन्। एक पटक त्यस्तो परेपछि त्यो होटलमा कहिल्यै फर्किएर नगएको अनुभव उनीसँग छ। यस्ता कैयौँ तिता अनुभव सरस्वतीसँग छन्। 

एसएलसीपछि उनले बैतडीकै गोठालापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा समाजशास्त्र पढिन्। स्नातक तहमा पुगेपछि त्यही क्याम्पसमा राजनीतिशास्त्रको पढाइ थालिन्। यता उनकै नेतृत्वमा समुदायमा विभिन्न कार्यक्रमहरू भइरहेका थिए। दलितलाई निषेध गरिएका मन्दिरमा प्रवेशदेखि सार्वजनिक स्थलमा हुने विभेदविरुद्ध लडिरहिन्। उनका आमालाई गाउँलेले खिसीटिउरी गरेको अहिले पनि याद छ, “तिम्री छोरीले तिमीहरूलाई बाहुन बनाइसकी। मेरो घरमा आएर श्राद्ध गरिदेऊ भन्थे।”

यति मात्र होइन, सरस्वतीले मान्छेलाई मर्न बाध्य बनाई भनेर गाउँलेहरूले आरोप लगाउँथे। “एक जना अंकल टीबी (क्षयरोग) बाट ग्रसित हुनुहुन्थ्यो। हामीले मन्दिर प्रवेश अभियान थालेको एक–दुई महिनापछि उहाँ बित्नुभयो। पछि गाउँलेहरूले मलाई आरोप लगाए कि यसले मन्दिरभित्र पस्न पठाएर मृत्यु भयो।” 


त्यहाँका शिक्षक, कर्मचारीले समेत त्यस्तो भनेपछि समुदायका मुद्दाहरूमा वकालत गर्न उनलाई झन् जिम्मेवारी बोध भयो। त्यसपछि उनी पढाइ छोडेर निरन्तर महिला र दलित समुदायका मुद्दातिर केन्द्रित भइन्। त्यही क्रममा उनकै नेतृत्वमा उत्पीडित जातीय उत्थान अभियान चल्यो। त्यस अभियानअन्तर्गत मन्दिर प्रवेशका कार्यक्रमले निरन्तरता पाउँदै गयो। उनी सम्झन्छिन्, “विभिन्न संघसंस्थामा आबद्ध साथीहरूलाई जोडेर जातीय छुवाछुतबाट मुक्तिका लागि संगठित भयौँ।” 

६० को दशकतिर महिला र दलित समुदायको अधिकारका लागि शिविरहरू सञ्चालनमा समेत सक्रिय रहेकी उनी २०६३ मंसिर ५ गते तत्कालीन विद्रोही पक्ष र सरकारबीच भएको शान्ति सम्झौतापछि गठित शान्ति समितिको बैतडी जिल्ला संयोजक समेत भइन्। त्यतिबेला उनले जिल्लाका सशस्त्र द्वन्द्व प्रभावित परिवारहरूकहाँ पुग्ने अवसर पाइन्। 

त्यसअघि २०६० सालतिर सामुदायिक आत्मनिर्भर सेवा केन्द्र बैतडीमा सेवकका रूपमा प्रवेश गरेकी उनी पछि संस्थाको संयोजक नै बनिन्। हलियाको अधिकारका लागि भूमि आन्दोलन सुदूरको बैतडीबाट शुरू गर्ने सरस्वती नै थिइन्। साहुको हलिया बनेका जसु लावर्डलाई मुद्दा हाल्न लगाएर कानूनी लडाइँ उनले आफ्नो काँधमा लिइन्। लावर्डले मुद्दा जिते। हलिया बनाएका साहुलाई सजायसमेत भयो। 

अर्का हलिया नरिराम टमटाको मुद्दामा आवश्यक आर्थिक र भौतिक सहयोगसहित सम्पूर्ण आडभरोसा बनेर साहुबाट दुई रोपनी जग्गा दिलाइदिने उनै थिइन्। यिनै कदमका साथ सरस्वतीले २०६० सालबाटै बैतडीबाट हलियामुक्ति अभियान शुरू गरिन्। 

धेरै परिवारलाई भूमि दिलाइसकेपछि २०६३ साल भदौतिर पहिलो हलिया सम्मेलन बैतडीमा गर्न उनी सफल भइन्। त्यस सम्मेलनमा तत्कालीन महाकाली अञ्चलका चार जिल्लाका हलियाहरूले सहभागिता जनाए। हलिया अधिकार मञ्च नाम दिइएको त्यो सम्मेलनले डडेलधुराका डम्बर टमटालाई संयोजक चयन गरेको थियो। त्यसपछि मात्र हलियाको मुद्दा राष्ट्रियकरण भएको हो।  

“हलियाहरूलाई मुक्त गर्न निकै गाह्रो थियो। यो आन्दोलनमा मेरा कैयौँ जिल्लाका साथीहरूले सहयोग गर्नुभएको छ। उहाँहरूकै सहयोगले त्यतिबेला हलियाहरूको सम्मेलन गर्न सफल भएका थियौँ” सरस्वतीले भनिन्, “पछि संगठित रूपमा नै हलियाको अधिकारका लागि लड्यौँ।”

अन्ततः सरकारले नेपालको सुदूरपश्चिम र कर्णालीका जिल्लाहरूमा परम्परागत रूपमा जकडिएर बसेको विभेदकारी हलिया प्रथा अन्त्य गर्ने घोषणा गर्‍यो। २०६५ भदौ २० गते हलिया प्रतिनिधि र तत्कालीन नेपाल सरकारबीच भएको पाँचबुँदे सहमतिअनुसार हलिया प्रथाको अन्त्य हुँदा सबैभन्दा बढी खुशी कि हलिया थिए कि सरस्वती नेपाली थिइन्। 


त्यो सुखद क्षणलाई उनी यसरी याद गर्छिन्, “जीवनको सबैभन्दा खुशी त्यतिबेला नै भएँ। पछि देशभरका साथीहरूले यसबारे आवाज उठाइदिनुभयो। यसमा म गर्व गर्छु। मलाई साथ दिने पूर्णसिंह दयाल सरलाई सम्झिन्छु।”

उनी त्यतिमै रोकिइनन्। सामाजिक र परोपकारसम्बन्धी काम गरिरहेका संघसंस्थासँग जोडिएर समुदायका मुद्दालाई बलियो बनाउने अर्को अभिभारा काँधमा थापिन्। त्यसमा ‘आकाशे पुर्जा’ अर्थात् बिनाजमिनका पुर्जा पाएकाहरूको लागि संघर्ष अघि बढाउनतर्फ लागिन्।   

२०६४ सालको जनयात्रा अभियानमा सहभागी सरस्वतीले मानवअधिकार एलाइन्समा आवद्ध भई बैतडीबाट बुटवलसम्म पैदल यात्रासमेत गरेकी थिइन्। 

आन्दोलन र अधिकारका लागि निरन्तर लागिरहने सरस्वतीले २०६४/६५ सालतिर  संविधानमा महिला अधिकार, भूमिहीन सुकुमबासी र दलितको मुद्दालाई स्थापित गराउन डडेलधुरादेखि काठमाडौँसम्म पैदलयात्रा गरिन्। कञ्चनपुरदेखि कैलालीको टिकापुरसम्म ११ दिनको पैदलयात्रामा उनले १५० जना महिलालाई सहभागी गराएकी थिइन्। ‘सम्पत्तिमा महिलाको पहुँच र संविधानमा अधिकार सुनिश्चित हुनुपर्ने’ आवाज स्थापित गर्न घाउले छियाछिया पारेका पाइला नबिसाई गन्तव्यमा पुगेका महिलाहरूको त्यो अगुवाइ गर्दा उनलाई तत्कालीन मध्यपश्चिमको दाङबाट समेत भएको थियो। 

त्यो आन्दोलनमा सबैतिरबाट पाएको साथ र सहयोगले उनलाई भूमि आन्दोलन अघि बढाउन ऊर्जा थपिदिएको थियो। त्यही आन्दोलनको बलमा ३७ परिवारले दुई/दुई रोपनीका दरले जमिन र लालपुर्जा पाए। सरस्वती भन्छिन्, “त्यतिबेला उहाँहरूको अनुहारमा यस्तो खुशी थियो कि जिन्दगीमा मैले अब अरू केही नगरे पनि हुन्छ भनेजस्तो भयो।” 

२०५८ सालमा सरकारले बाँडेको जग्गाबिनाको खाली पुर्जा हातमा लिएर जग्गाको आशा गरिरहेका ती परिवारले आन्दोलनपछि बैतडीस्थित दोगडाकेदारको सिरकोटमा जग्गा पाएका थिए। त्यहाँ बसेको गाउँको नाम थियो, थामचमडिया। पछि यो शब्द विभेदित भएको भन्दै सरस्वतीको नेतृत्वमा त्यहाँका बासिन्दालाई विभिन्न बालीका बीउबिजन दिएर खेतीपाती गर्न लगाइयो र गाउँको नाम बदलेर ‘कृषिनगर’ राखियो। 

सरस्वतीले गर्नुपर्ने धेरै काम बाँकी थिए। मानवअधिकार एलाइन्सको केन्द्रीय सदस्यसमेत भएर गरेका काम होस् या महिला पुनर्स्थापना केन्द्र (ओरेक) लगायतका सामाजिक संस्थामा जोडिएर गरेका योगदान होस्, ती सबैले उनलाई सुदूरको समाजमा उत्तिकै स्मरणीय बनाइदियो। सरस्वती भन्छिन्, “माध्यम जुनसुकै भए पनि काम गर्ने समाजको लागि हो। विभिन्न संघ संस्थामा जोडिएर सामाजिक न्याय र मानवअधिकार प्राप्तिमा लागिरहेँ। कहाँ के कति उपलब्धि भयो त्यसको अभिलेख राख्नतिर लागिनँ। तर म आफ्नो अहिलेसम्मको यात्राबाट एकदम सन्तुष्ट छु।”

उनले राष्ट्रिय दलित नेटवर्क बैतडी र मित्र संघ बैतडीमा पनि काम गरेकी थिइन्। आफ्नो सफलताको श्रेय बैतडीमा साथ सहयोग गर्ने कर्ण दयाल, नरेश विश्वकर्मा, गणेश विश्वकर्मालाई दिन्छिन्। उनले दलित महिला उत्थान संघ बर्दियाकी विमला विश्वकर्माले अभियानमा दिएको साथ उनी बिर्सिन्नन। विमलासँग मिलेर दलित महिला संघ (फेडो) को अभियान शुरू गरेको सरस्वतीलाई याद छ।


उनकै प्रयासले सुदूरपश्चिमका ग्रामीण इलाकामा पुस्तौँदेखि जातीय विभेदको शिकार हुँदै आएका भूमिहीन दलित परिवारले जग्गाको कानूनी हक र न्याय पाउन सके भने जातीय भेदभावविरुद्धका थुप्रै मुद्दाहरू अदालतसम्म पुगे। सामाजिक र मानवअधिकारको क्षेत्रमा निरन्तर लगावका साथ उच्च योगदान पुर्‍याएकै कारण सन् २०१८ मा उनले पाँच लाख नगद पुरस्कारसहित ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड पाएकी थिइन्। 

दशरथ चन्द नगरपालिका बैतडीमा १४ वर्षकी दलित बालिकामाथि विद्यालयका शिक्षकले गरेको बलात्कारको घटनामा पीडितलाई न्याय दिलाउन होस् या दलित समुदायलाई जमिन दिलाउन उनले सुदूरपश्चिममा खेलेको भूमिका इतिहासमा बिर्सन नसकिने कोटिका छन्। यस्ता धेरै मुद्दाहरूको कानूनी लडाइँमा सरस्वतीको सक्रियताले सुदूरपश्चिमको दलित, भूमिहीन तथा महिला अधिकारको आन्दोलनले उचाइ लिएकोमा उनलाई साथ दिने देशभरका अधिकारकर्मीहरू गर्व महसुस गर्छन्। 

उनै सरस्वती नेपालीले अमेरिकामा हालै ‘जीएआरसी अवार्ड’ पाएर अहिले नेपालको शिर उँचो बनाएकी छन्। संयुक्त राज्य अमेरिकाकी विदेश मन्त्रालय (डिपार्टमेन्ट अफ स्टेट) ले संसारभरका अरू पाँच जनासँगै यस वर्षको जीएआरसी (ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स) अवार्ड सरस्वतीलाई प्रदान गरेको छ। हाल दलित समाज विकास मञ्चको अध्यक्ष रहेकी उनलाई उक्त अवार्ड साउन २४ गते अमेरिकी विदेश मन्त्रालयद्वारा आयोजित एक समारोहका बीच त्यहाँका विदेशमन्त्री एन्थोनी ब्लिकेनले हस्तान्तरण गरेका थिए।  

उनलाई अवार्डका लागि छनोट गरिनुको कारणबारे अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “सरस्वती नेपाली सीमान्तकृत जाति, अपांगता भएका व्यक्ति र विपन्नहरूको अधिकारको आजीवन रक्षक हुन्। दुई दशकभन्दा लामो समयदेखि सरस्वतीले नेपालको सबैभन्दा सीमान्तकृत जातीय समुदायका सदस्यहरूको मानवअधिकार बहालीमा दिगो नेतृत्व गरिरहेकी छिन्। नेपालको अल्पविकसित सुदूरपश्चिम क्षेत्रमा दलित अर्थात् कथित ‘अछुत’ जातिमा जन्मिएकी सरस्वतीले सामाजिक न्यायको आन्दोलनमा भूमि अधिकार, शिक्षामा पहुँच र अदालतबाट न्याय प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेकी छन्।”

भूमि अधिकार अभियानहरूमा उनको प्रयासले नेपालको पश्चिमी ग्रामीण जिल्लाहरूका दर्जनौँ दलित परिवारले जग्गाजमिन पाएको र जातीय भेदभाव विरुद्धको मुद्दामा नेपालमा पहिलो पटक सफल अभियोजनसहित त्यस्ता अनेकौँ मुद्दाहरूमा पीडितलाई न्याय दिलाउन सफल भएकोमा उनको योगदानको कदर गर्दै अमेरिकी विदेश मन्त्रालयको वक्तव्यमा  ‘नेपालका सबैभन्दा पिँधमा पारिएका जनसंख्याको लागि समानता, न्याय र मर्यादाको पक्षमा उनले गरिरहेको सफल नेतृत्व मानव अधिकारको खोजीमा साहसको नमूना हो’ भनिएको छ।

अमेरिकाबाट उक्त अवार्ड लिएर सोमबार मात्र स्वदेश फर्केकी सरस्वतीले मंगलबार उकालोसँगको कुराकानीमा भनिन्, “यो अवार्डले मलाई बाँकी रहेका अझै धेरै काम गर्ने जिम्मेवारी बोध गराइदिएको छ। बैतडीलाई काठमाडौँसँग जोड्नु अबको मेरो काम हुनेछ।”


सम्बन्धित सामग्री