साप्ताहिक ब्रिफिङः समानुपातिक सूचीले रास्वपामा कलह, ठेकेदारको लापरबाहीले स्कुल अस्तव्यस्त

यो साता उकालोमा, ‘गैरदलीय चुनावी सरकारका दलीय मन्त्री, पार्टीमै लागिसकेपछि राजीनामा नगर्ने?’, ‘समानुपातिक बसाइँ हिँड्नेको ताँतीले बिग्रिँदै छ गाउँको लय’, ‘रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल’सहितका खबरले हेडलाइन बनाए।

यो साताको न्यूजलेटर शुरू गरौँ, रास्वपामा समानुपातिक सूचीले निम्त्याएको कलहको समाचारबाट। सूर्य दर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यो मुद्दाको नियमित तारेख बुझ्न बुधबार पोखरा पुग्नासाथ सञ्चारकर्मीहरूबाट घेरिए।

यसपटक लामिछानेले क्यामराहरूमा जवाफ दिने प्रश्न पनि फेरिएका थिए। उनको चेहरामा पहिले जस्तो सहकारी प्रकरणको मात्र बोझ थिएन, बरु आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फका उम्मेदवारको सूचीले निम्त्याएको असमञ्जस स्पष्ट देखिन्थ्यो।

शुरूमा विवेकशील साझा पार्टी, त्यसपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको समूह हुँदै उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग एकता गरेपछि रास्वपापंक्ति आउँदो निर्वाचनको सम्भावित परिणाम आकलन गरेर जुरुक्कै उचालिएको थियो। त्यहीक्रममा सोमबार राति निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फका उम्मेदवारहरूको सूची जसै सार्वजनिक भयो, त्यसले ल्याएको तरंग भने फरक थियो। यस्तो तरंग जसले सभापति लामिछानेसहित रास्वपाका नेताहरूलाई रक्षात्मक बनाइदिएको छ।

सञ्चारकर्मीहरूबाट घेरिएका लामिछानेले बुधबार पोखरामा पनि रक्षात्मक शैलीमै भने, “हामी नयाँ एक ठाउँमा उभिएर अघि बढ्ने निर्णय छोटो समयमा भयो। यसमा हामीलाई तयारी गर्ने समय पुगेन। केही समस्या भएको हुन सक्ने र भएको भए पनि त्यसैलाई रिभ्यू गरिनेछ।”

खासमा पोखरा जानुअघि, बुधबार बिहान काठमाडौँमै पार्टीका केही पदाधिकारीसँग उनले यो असमञ्जस सुनाएका थिए। “हाम्रो चौतर्फी आलोचना भएको छ, यसबारे म सजग छु। हाम्रो नियत खराब होइन। हतारमा निर्णय गर्नुपर्यो। सच्याउने ठाउँहरू छन्, त्यसमा हामी एक्सरसाइज गरौँला,” लामिछानेले भनेको उद्धृत गर्दै एक पदाधिकारीले भने।

तर पार्टी सभापतिको यो स्वीकारोक्ति नआउँदै रास्वपा केन्द्रीय सदस्य गणेश पराजुलीले कमजोरी स्वीकार्दै त्यसको बचाउ पनि गरिसकेका थिए। बुधबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका थिए, “सहमति अत्यावश्यक थियो। अन्तिम समयमा महत्वपूर्ण काम भए। समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याइने छन्। सुशासन र विधि हाम्रो जग हो।”


के समानुपातिक सूची पार्टी एकताको हतारमा भएको गल्ती मात्र थियो त? यसबारे थप बुझ्न पढ्नुहोस् दिपा दाहालको यो रिपोर्ट : समानुपातिक सूचीले रास्वपामा कलहः सच्याउने नेताहरूको दाबी, तर कसरी?

अब कुरा गरौँ, बाजुराको एउटा स्कुलको समाचारबारे। गत मंसिर १० गते बुधबार बिहान १०:२१ बजेको समय। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ स्थित राघुमाता माध्यमिक विद्यालयको प्रांगणको एक कुनामा कक्षा ५ का १० जना विद्यार्थी विज्ञान विषय पढ्दै थिए।

ठिहिर्‍याउने हिउँदे जाडो, तर विद्यालय भवन भत्केर भताभुंग छ। विद्यार्थी विद्यालय प्रांगणकै एक कुनामा पढ्न बाध्य थिए। तिनैमध्ये ११ वर्षीय सुजन भण्डारीले गत जेठ महिनायता यसरी नै आँगनमा बसेर पढिरहेको बताए।

यो विद्यालयका अधिकांश कक्षाकोठामा ढुंगा र माटो छरपस्ट भएर यसरी ओइरिएको छ, मानौँ यहाँ भर्खरै सुख्खा पहिरो गएको हो।

तर खासमा यहाँ पहिरो गएर यस्तो भएको होइन। बरु विद्यालय भवन बनाउने जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण विद्यालयका अधिकांश कोठा भत्किएका छन्। यहीकारण विद्यार्थीको बिचल्ली भएको प्रधानाध्यापक शंकर भण्डारी बताउँछन्।

यो २०१९ सालमा बनेको विद्यालय भवन हो। गत वर्ष स्वामीकार्तिक खापर गाउँपालिकाले नयाँ विद्यालय भवन बनाउन बजेट विनियोजन गर्दै ३ करोड ७० लाख रुपैयाँको टेन्डर आह्वान गरेको थियो। जसअन्तर्गत निर्माण कम्पनी, जनकल्याण निर्माण सेवाले १ करोड ९३ लाखको बोलपत्र पेस गरेर टेन्डर हात पारेको थियो। २०८३ असार १८ गतेसम्म १६ कोठे नयाँ विद्यालय भवन (८ कोठा तल र ८ कोठा माथि) निर्माण गरिसक्ने सम्झौतासहित कम्पनीले गत वैशाख १७ गते सम्झौता गरेर तत्काल काम शुरू गरेको थियो।

त्यही क्रममा गत जेठमा भवन बनाउने क्रममा गारो लगाउँदा विद्यालयको पुरानो भवनमा माथिबाट ढुंगा र माटो ओइरियो। त्यसबाट कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब ध्वस्त भए। अहिले नयाँ भवन पनि बनेको छैन, भएकै पुरानो भवन पनि भत्किएपछि करिब ५०० विद्यार्थीको बिजोग भएको छ। यसबारे थप बुझ्न सविना देवकोटाको यो रिपोर्ट पढ्नुहोस् : ठेकेदारको लापरबाहीले स्कुल अस्तव्यस्त, विद्यार्थीको बिचल्ली

साताका प्रमुख हेडलाइनहरू

देश-समाज
गैरदलीय चुनावी सरकारका दलीय मन्त्री, पार्टीमै लागिसकेपछि राजीनामा नगर्ने?
प्रधानमन्त्री स्वयंको घोषणा र गैरदलीय चुनावी सरकारको छविमै विरोधाभास हुनेगरी मन्त्रीहरू दलीय राजनीतिमा जोडिएर चुनाव लड्ने तयारीमा छन्। तर न उनीहरू राजीनामा दिने तयारीमा छन्, न प्रधानमन्त्री उनीहरूलाई हटाउने।

आफ्नै नजिर बेवास्ताः चोलेन्द्र सम्मिलित इजलासको फैसला ‘अन्तिम’ भएन
तत्कालीन प्रधानन्यायाधीश चालेन्द्रशमशेर समेत सम्मिलित इजलासले आफैले कायम गरेको नजिर विपरीत जुद्ध म्याच फ्याक्ट्रीको जग्गा लिलामी सदर गरेपछि जेठो सलाई उद्योगको अस्तित्व नै नामेट हुने अवस्था आएको थियो।

समानुपातिक बन्दसूची: के दलहरूले आयोगमा बुझाएका नाम हेरफेर गर्न सक्छन्?
प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची विवादमा परेपछि नेताहरूले सच्याउँछौँ भनिरहेका छन्। तर उम्मेदवारले नाम फिर्ता लिएमा वा कसैको मृत्यु भएमा बाहेक नाम हेरफेर सहज छैन।

बालेन–रवि सहमतिमा नपरेको जेन–जी सम्झौताः तीन महिनाको त्यो पर्खाइ, कसले गर्छ कार्यान्वयन?
जेन–जी आन्दोलनको ‘स्टेकहोल्डर’ आफूहरु नै भएको सन्देश दिनेगरी बालेन–रबि–कुलमानले गरेको सहमतिमा जेन–जी र सरकारबीचको सम्झौताबारे केही उल्लेख छैन। सम्झौतासम्म पुग्न चलेको तीन महिना लामो त्यो रस्साकस्सीः

देवी भट्टचनको सहकारी ठगी प्रकरण: सीआईबीमा थप सहकारीको नयाँ जाहेरी
प्रभु मेनेजमेन्ट प्रालिको आवरणमा भएको देशभरका सहकारीको रकम हिनामिना प्रकरणमा जाहेरी दिने सहकारीहरू थपिइरहँदा यो प्रकरणका ‘मास्टरमाइन्ड’ भट्टचन भने प्रहरीलाई नै छलेर उम्किइसकेका छन्।

कुलमानको ‘ब्रान्डिङ’ले खुलेको उज्यालो नेपाल, उनकै निर्णयले बढ्यो असन्तुष्टि
उज्यालो नेपाल पार्टी मूलतः कुलमान घिसिङले लोडसेडिङ हटाउन खेलेको भूमिकाकै ‘ब्रान्डिङ’को नतिजा थियो। तर रास्वपासँग एकता गर्ने उनको निर्णयले त्यो पार्टीपंक्तिमा असन्तुष्टि चर्काइदिएको छ।

रास्वपाको मोर्चाबन्दीपछि धमाधम मिल्दै अरू दल
रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङले फागुन २१ को निर्वाचनलक्षित मोर्चाबन्दी गरेपछि असुरक्षित महसुस गरेर अरू दल पनि एकापसमा गाभिन थालेका छन्। मधेशकेन्द्रित दलमा यसको तरंग तीव्र देखिन्छ।

बसाइँ हिँड्नेको ताँतीले बिग्रिँदै छ गाउँको लय
बसाइँ सर्नेले छाडेका रित्ता घर उजाड छन्, आँगनमा झाडी छ। खेतबारी बाँझै छन्। गाउँमै बसेकाले कृषि मजदुर पाउँदैनन्। विद्यार्थी नभएर विद्यालय धमाधम मर्ज गरिँदै छ।

आयो उच्च वायु प्रदूषण गराउने डढेलोको मौसम, नियन्त्रणमा सरकार सधैँ किन असफल?
यतिबेला तराई शीतलहरले आक्रान्त छ, पहाडमा डढेलो लाग्नथालेको छ। हिउँद शुरू भएपछि बर्खा नलागेसम्म वायु प्रदूषण हदैसम्म बढाउन भूमिका खेल्ने डढेलो नियन्त्रणमा भने सरकारका कुनै प्रयास सफल देखिँदैनन्, किन?

विचार-टिप्पणी
यहाँ त्यस्तो नहोस्
अस्ति भक्खर एमाले केन्द्रीय सदस्य उठेर हारेका वासुदेव घिमिरेले ‘नयाँ’को चोला धारण गरिसके। देश बिगार्नेबाट बनाउनेमा रूपान्तरण भइसके। उम्मेदवारी दर्ता गर्ने बेलासम्म अरू कति ‘गौरीशंकर पाण्डेहरू’ थपिने हुन्!

चुनाव नजिकिँदै गर्दा अनौपचारिक अर्थतन्त्रको चर्चा
चुनाव आउँदै गर्दा अवैध स्रोत परिचालनबारे निर्वाचन आयोगलगायत सरकारका सम्बन्धित निकायको आँखा चनाखो हुनुपर्ने देखिन्छ।

‘नेपाली सपना’को खोजी
भदौ २४ को विध्वंसमा अघिल्लो दिन भएको जनहत्याको आक्रोश कम, आफूभन्दा अर्को धनी भएको आक्रोश र कुण्ठा बढी थियो भन्ने मलाई लागेको छ।

रमेश लेखक उर्फ ‘शहाब जाफरी रिभिजिटेड’
नेपो–बेबी बुझ्न शितलनिवास धाए हुन्छ, जहाँ राष्ट्रपति पिताकी एउटी छोरी ‘प्रिन्सिपल प्राइभेट सेक्रेटरी टु द प्रेसिडेन्ट’ छन् र, अर्की कांग्रेसको समानुपातिक उम्मेदवार।

१३ पुसको ब्रह्ममुहूर्त: ‘पुराना’को सातो, जेलेन्स्कीको बाटो!
रवि–बालेनको पछिल्लो प्रणय त्यसकै शुरूआत नहोस्। समावेशिता र सामाजिक न्याय बुझ्ने केही मान्छे रवि-बालेनको पार्टीमा मात्र नभएर कुलमानकै पार्टीमा पनि देखिन्छन्। तिनले यी तीनै टाउकालाई खबरदारी गरिराखून्।

कला
जेम्स क्यामरुनको अवतार: पोस्टमोडर्न मिथक, एआई अस्वीकार
कथा वाचनशैलीबारे चर्चा र आलोचना जे-जस्तो भए पनि ‘अवतार’ प्राविधिक पाटोमा अब्बल छ। १६ वर्षअघि फिल्ममा सीजीआई र थ्रिडी प्रविधि अभ्यस्त गराएका निर्देशकले एआई युगमा यसको प्रयोग भने अस्वीकार गरेका छन्।

खेल
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल
नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।

विश्व
स्विजरल्यान्डको रिसोर्टमा आगलागी, ४० जनाको मृत्यु
आगलागीमा परेर १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ।