यो साता उकालोमा, ‘धर्मगुरुहरू चुनावतिर, उम्मेदवार धार्मिकस्थलतिर’, ‘डेथजोनमा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका’, ‘अवकाशको अन्तिम घुम्तीमा डासो रिजाल’ लगायतका खबरहरू हेडलाइन बने।
यो साताको न्यूजलेटर शुरू गरौँ, बाँकेको जानकी गाउँपालिकाको समाचारबाट। नेपालगन्ज उपमहानगर–१४ बालेगाउँका बब्लु कबोडिया (४०) का लागि श्रीमतीको गर्भावस्था कुनै उत्सवको तयारी होइन, त्रास र वियोगान्त कथाको शुरूआत बन्यो। ६ महिनाअघि उनकी पहिली श्रीमती समसाको सुत्केरी व्यथाले च्यापेर मृत्यु भयो।
समसाले गर्भ बसेको आठ महिनासम्म स्वास्थ्य चौकी टेकेकी थिइनन्। अघिल्ला तीन सन्तान घरमै जन्मिएका कारण उनले जोखिमलाई सामान्य मानिन्। सरकारी स्वास्थ्य प्रणालीले पनि उनलाई खोजेन। समुदायले जोखिम बुझेन। अन्तिम क्षणमा अस्पताल पुर्याउँदा धेरै ढिला भइसकेको थियो।
यो एउटा घरको शोक होइन, लुम्बिनी प्रदेशको चित्र हो। नेपालको कुल मातृमृत्युको ३७ प्रतिशत लुम्बिनीमा छ। सुगम मानिने यो प्रदेशमा भौगोलिक रूपमा विकट कर्णालीको तुलनामा पाँच गुणा बढी आमाहरूको ज्यान जान्छ। प्रति एक लाख जीवित जन्ममा लुम्बिनीमा २०७ आमाको मृत्यु हुन्छ। जबकि, राष्ट्रिय औसत १५१ मात्र छ।
बाँकेमा मुस्लिम तथा मधेशी समुदायको बाहुल्य छ। यहाँ निम्न आर्थिक अवस्थाका र औपचारिक शिक्षा कम भएका धेरै छन्। गर्भावस्थामा स्वास्थ्य जाँच गर्न र सुत्केरी गराउन अस्पताल नजाने र नलैजाने प्रवृत्ति छ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार, यहाँका मुस्लिम र मधेशी समुदायमा १५–१६ वर्ष नपुग्दै छोरीको बिहे गरिदिने चलन छ। उनीहरू २० वर्ष पुग्दा दुई–तीन सन्तानको आमा बनिसक्छन्। गर्भवतीले अत्यावश्यक पोषणसमेत पाउँदैनन्। सरसफाइमा ध्यान दिइँदैन।
गर्भवती अवस्थामा पोषणको कमी हुँदा रक्तअल्पता हुन्छ। त्यस्ता महिला सुत्केरी हुँदा रगत धेरै बग्छ। बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी सोनु सोनुकर ‘गर्भावस्थामा आइरन चक्की खुवायो भने बच्चा ठूलो भएर जन्माउन अपरेसन गर्नुपर्ने र अपरेसन गर्दा पुरुष डाक्टरले गोप्य अंगमा हेर्ने’ भनेर नखुवाउने गरेको बताउँछिन्।
सोनुकरका अनुसार, अस्पताल लैजाँदा पुरुष डाक्टरले छुने भन्दै घरमै सुत्केरी गराउँदा कतिपयको मृत्यु भएको छ। कतिपयलाई घरमा सुत्केरी गराउन नसकेर रगत धेरै बगिसकेपछि मात्र बर्थिङ सेन्टर वा अस्पताल पुर्याइन्छ। अन्तिम अवस्थामा अस्पताल लगिँदा धेरैको ज्यान गइरहेको छ।
यही ‘डेथजोन’भित्र बाँकेको जानकी गाउँपालिका पनि छ। यो गाउँपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो सीमाभित्र कुनै पनि आमाको मृत्यु हुन दिएको छैन। अर्थात्, तीन वर्षयता मातृमृत्यु शून्य छ। पढ्नुहोस् सागर बुढाथोकीको यो स्टोरी : ‘डेथजोन’मा गर्भवती आमाहरू बचाइरहेको जानकी गाउँपालिका
अब कुरा गरौँ, तेलको मूल्य आकासिएको समाचारबारे। शंखमूल बस्ने मनीषा लम्सालले दुई साताअघि सूर्यमुख (सनफ्लावर) तेल लिटरको २४० रुपैयाँमा किनेकी थिइन्। त्यही तेल फागुन १ गते किन्दा २७५ रुपैयाँ तिर्नुपर्यो।
दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक साताअघि नै मूल्य समायोजन गर्न निर्देशन दिएको थियो। खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख आयातकर्ता र वितरकलाई बोलाएरै अनुचित नाफा नलिई सामान बेच्न निर्देशन दिइएको थियो। तर उपभोक्ताले भने मूल्य घटेको महसुस गरेका छैनन्।
अघिल्लो महिनाको तुलनामा माघको दोस्रो सातादेखि सबै प्रकारका खाने तेलको मूल्य बढेको थियो। नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३० देखि ४० रुपैयाँसम्म बढेको छ।
गत पुसमा प्रतिलिटर ४३० रुपैयाँमा बिक्री भएको भुटेको तोरीको तेल अहिले ४४० रुपैयाँ तिर्नुपर्छ। यस्तै, प्रतिलिटर २४५ रुपैयाँमा बिक्री भएको भटमास र सूर्यमुखीको तेल २७५ रुपैयाँ हाल्नुपर्छ। एक महिनाको अन्तरमै तेलको मूल्य अस्वभाविक बढ्दा भान्सा महँगिएको उपभोक्ताको गुनासो छ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर पनि दुई सातायता खाने तेलको मूल्य बढेको बताउँछन्। प्रतिलिटर २४० रुपैयाँ हाराहारीमा बेचेको तेल २९५ सम्म पुगेको उनको भनाइ छ। “यसको मूल्य किन बढ्यो भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन। बजार मूल्य उत्पादक र आयातकर्ताले निर्धारण गरिसकेका हुन्छन्, त्यसैको आधारमा हामीले बेच्ने हो,” उनी भन्छन्।
काठमाडौँ बुद्धनगरका श्रीकृष्ण भण्डारी खाने तेलको मूल्य होलसेलमै प्रतिकार्टुन २५० देखि ३०० रुपैयाँले बढेको बताउँछन्। “होलसेलमै ३०० रुपैयाँ बढेको छ। खुद्रा बेच्दा त महँगो पर्ने नै भयो। किन बढ्यो त थाहा भएन,” उनी भन्छन्।
आमउपभोक्ता भने चुनावकै कारण महँगी बढेको अनुमान गर्छन्। तर व्यवसायी अन्तर्राष्ट्रिय बजारमै कच्चापदार्थको मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि महँगिएको दाबी गर्छन्। किन बढिरहेको छ तेलको मूल्य? यसबारे थप बुझ्न पढ्नुहोस् केशु लामिछानेको यो रिपोर्ट: अकासियो खानेतेलको मूल्य, सरकारको निर्देशनले पनि किन भएन समायोजन?
साताका प्रमुख हेडलाइनहरू
देश-समाज
धर्मगुरुहरू चुनावतिर, उम्मेदवार धार्मिकस्थलतिर
शासकीय सुधारको नीति तथा कार्यक्रमका खाका दिनुको साटो नेताहरू धार्मिक मत तान्ने धुनमा शक्तिपीठ धाइरहेका मात्र छैनन्, कतिपय धर्मगुरू नै उम्मेदवार छन्। के यसले समाजलाई नयाँ द्वन्द्वतिर लैजाने जोखिम हुँदैन?
मधेशका स्थानीय कार्यकर्ता: कोही किन फेर्छ दल?
चुनाव नजिकिँदै जाँदा मधेशका जिल्लामा पार्टी प्रवेशको लहर नै चलेको छ। पार्टी फेर्नेहरूको गतिविधि स्वार्थका कारण भएजस्तो देखिए पनि यो दलीय राजनीतिमा विचारको क्षयीकरणको उपज भएको विश्लेषक बताउँछन्।
अवकाशको अन्तिम घुम्तीमा ‘डासो रिजाल’
अथक राजनीतिक संघर्ष र जनबोलीको प्रेरणा रहेका भुटानी नेता टेकनाथ रिजाललाई कुनैबेला ‘नेल्सन मन्डेला’झैँ साधक मानिन्थ्यो। उनै रिजाल आज संघर्षको सिंगो इतिहास र दायित्व भुलेर अवकाश लिने क्षणमा आइपुगेका छन्।
पाथीभरा केवलकार निर्माणः पोहोर गोली चल्यो, अहिले पनि बन्दुकको आड
ताप्लेजुङकै विभिन्न ठाउँ र छिमेकी जिल्लाबाट समेत आएका महिला, केटाकेटी, युवा, पाका सबैका हातमा धागो थियो, तर अनुहारमा डर। उनीहरूलाई आशंका थियो— प्रहरीले अघिल्लो वर्षजस्तै गोली पो चलाउने हो कि!
शनिबारे महोत्सवले बदलेको पहिचान : गृहिणी होइन, उद्यमी
हरेक शनिबार हाँडीगाउँ र टोखामा हुने सडक नेवाः खाजा महोत्सवले स्थानीय महिलामा उद्यमशीलताको नयाँ बाटोसँगै नयाँ परिचय मात्र दिएको छैन, आर्थिक स्वतन्त्रतामा पनि टेवा पुर्याएको छ।
विचार
‘ऊ गर्नै लागेथेँ, सरकार ढालिहाले’
अधिकाश नेताहरू पछिल्ला ३० वर्षयताका परीक्षामा लगातार फेल भएर पनि कक्षा चढाइएका विद्यार्थी मात्रै हुन्। ओली, देउवा वा दाहालहरू कक्षा टपर होइनन्, कक्षा चढुवा मात्रै हुन्।
कृषिमा कसरी फड्को मार्ने?
देशमा कृषिका लागि पूर्वाधारको अभाव र खाद्यान्नको आयातको आकार यस्तै रहने हो भने २०९० साल सम्म नेपाल प्रतिवर्ष ५ खर्ब रुपैयाँभन्दा बढीको परिमाणमा कृषिजन्य वस्तु आयात गर्ने अवस्थामा पुग्नेछ।
आमनिर्वाचन र ‘सोसल टेक्टोनिक’ अध्ययन
प्रजातन्त्र, लोकतन्त्र, नैतिकता र सामाजिक मर्यादाभित्र बसेका नेताहरूले मात्रै यो परिवर्तन व्यवस्थापन गर्न सक्छन्। निरकुंश र सर्वसत्तावादीले यस्तो सिर्जनशील तथा प्रगतिशील सामाजिक चेतना बुझेका हुँदैनन्।
निशा अधिकारीलाई प्रश्न– कलाकारिता छाडेर किन राजनीतिमा आउनुभयो?
‘म काठमाडौँ क्षेत्र नं. ५ को मतादाता भइरहँदा जवाफदेहिता पाइनँ। मेरा अभिभावकले जुन दुःख भोगे, मैले पनि त्यही भोगिरहेकी छु र मेरो ७ वर्षको बच्चाले पनि त्यही भोगिरहेको छ।’
खेल
टी२० विश्वकप : १२ वर्षपछि अर्धशतक फर्कियो, जित फर्किएन
नेपालले तेस्रो टी२० विश्वकप खेलिरहँदा १२ वर्षयता कुनै पनि खेल जितेको छैन। अहिलेसम्म विश्वकपमा १० खेल खेल्दा दुईमा जित, सातमा पराजित र एउटा खेल रद्द भएको छ।
विश्व
मार्सल ल प्रकरण: दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
दक्षिण कोरियाको एक अदालतले सन् २०२४ को मार्सल ल प्रकरणमा पूर्वराष्ट्रपति युन सुक येओललाई विद्रोहको अभियोगमा दोषी ठहर गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
