स्विजरल्यान्डको रिसोर्टमा आगलागी, ४० जनाको मृत्यु

आगलागीमा परेर १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ।

स्विजरल्यान्डको रिसोर्टमा आगलागी, ४० जनाको मृत्यु
एपी

स्विजरल्यान्डको प्रसिद्ध स्की रिसोर्ट शहर क्रान्स–मोन्टानामा नयाँ वर्ष मनाइरहेका बेला आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ। 

यस दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ। आगलागी बिहीबार बिहान ‘ले कन्स्टेलेसन’ नामक बारमा भएको हो। आगो फैलिएपछि मानिसले ज्यान बचाउन झ्याल फुटाएर बाहिर निस्कने प्रयास गरेका थिए।

वालिस क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार हालसम्म करिब ४० जनाको मृत्यु र ११५ जना घाइते भएको पुष्टि भएको छ। इटालीका स्विजरल्यान्डस्थित राजदूतले मृतक संख्या ४७ पुगेको बताएका छन्। 

प्रारम्भिक अनुसन्धान अनुसार आगलागी कुनै आक्रमणका कारण नभएको प्रहरीले जनाएको छ। केही साक्षीका अनुसार शैम्पेनका बोतलमा प्रयोग गरिएका स्पार्कलर छत नजिक पुगेपछि आगो सल्किएको हुनसक्छ।

घाइतेलाई स्विजरल्यान्डका विभिन्न अस्पताल तथा छिमेकी देशको विशेष उपचार केन्द्रमा सारिएको छ। घटनामा विदेशी नागरिक पनि परेको आशंका गरिएको छ।

पीडित र उनीहरूका परिवारका लागि सहायता केन्द्र खोलिएको छ। धेरै परिवार अझै आफ्ना आफन्तको खोजीमा रहेका छन्। (रासस/एएफपी)