अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल

नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए।

काठमाडौँ– सार्क मुलुकका खेलाडी सहभागी १७औँ अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल दोस्रो भएको छ। यसअघिको प्रतियोगितामा सबैभन्दा बढी पदक जितेको नेपालले यसपटक १८ स्वर्ण, सात कास्य र दुई रजतसहित २७ पदक हात पार्दै दोस्रो स्थान सुरक्षित गरेको हो।

नेपालका तर्फबाट विभिन्न उमेर र तौल समूहका ११ महिलासहित २२ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए। भारतको पुनेमा सम्पन्न सो प्रतियोगितामा नेपाली टोलीको ‘अफिसियल’का रूपमा वसन्त रोका क्षेत्री, गिरी पुन र मिलन गाहाले भूमिका निर्वाह गरेका थिए।

नेपाली खेलकुद टोलीको प्रतिनिधित्व सियानकाजी रानाले गरेको सार्कस्तरीय सो प्रतियोगितामा ४७० खेलाडीले प्रतिस्पर्धा गरेको नेपाली टोलीका अफिसियल टिमका सदस्य मिलन गाहाले बताए।  

सो प्रतियोगिता समापनका अवसरमा गोजुरियो कराते नेपालका प्रमुख प्रशिक्षक काजी रानाले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा हुने यस किसिमका खेलकुद प्रतियोगिताले सहभागी राष्ट्रहरूबीचको भाइचारा, मित्रता र खेलकुद कूटनीति सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसैगरी महाराष्ट्र ओलम्पिक संघका उपाध्यक्ष मनोज भोरेले विजेता खेलाडीलाई पदक प्रदान गरेका थिए।

सो प्रतियोगितामा भारतले २२ स्वर्ण, १० रजत र पाँच कास्यसहित ३७ पदक जिती पहिलो हुन सफल भएको थियो। नेपाली टोलीका अफिसियल मिलन गाहाका अनुसार श्रीलंका तेस्रो हुन सफल भएको दुई दिने सो प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, भुटान र बांग्लादेशका खेलाडीहरूको सहभागिता थियो।

जापान कराते–डो नाबुकाह शितेरियो करातेको आयोजना तथा महाराष्ट्रका क्योसीन कराते अभियन्ता राजु थापाको संयोजनमा अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता सम्पन्न भएको थियो।