साप्ताहिक ब्रिफिङ: मधेशमा बदलिएको बालेनको पोसाक, पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ

यो साता उकालोमा, ‘मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?’, ‘सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?‘, ‘आफ्नै सपनाले दपेट्दै छ ओलीलाई’लगायतका खबरले बनाए हेडलाइन।

न्यूजलेटर शुरू गरौँ, कुपोषण बचाइरहने धन्दाको समाचारबाट। गत मंसिर दोस्रो हप्ता बाजुराको मुक्तिकोटस्थित पाखा गाउँमा पुग्दा चिसो असाध्यै बढेको थियो। कठ्याङ्ग्रिँदो जाडो छल्न हारा विक (२४) दुई वर्षीय छोरालाई लिएर थाडामा घाम तापिरहेकी थिइन्। छोराको तल्लो पेट अस्वाभाविक रूपमा फुलेको छ। पाखुरा मसिनो छ। उनलाई कुपोषण भएको प्रष्ट देखिन्छ।

छोरा एक वर्षको हुँदा, एक वर्षअघि नै हाराले खोलीकोट सामुदायिक स्वास्थ्य इकाईमा गएर छोराको उपचार गराएकी थिइन्। पुरिया (पोषणको कमीले स्वास्थ्य अवस्था जर्जर भएका बालबालिकालाई बचाउन खुवाइने रेडिमेड चिकित्सकीय खाद्यपदार्थ ‘आरयूटीएफ’ अर्थात् रेडी टु युज थेराप्यूटिक फुड) खुवाइसकेपछि रातो चिह्नले सूचित गरेको शीघ्र कुपोषण केही समयमै पहेँलो चिह्नमा झरेको देखेपछि उनी दंग पनि परेकी थिइन्।

तर पुरिया सधैँ खुवाउन मिल्ने कुरा भएन। जसै उनलाई घरमै सागसब्जी, माछामासु, फलफूल लगायत पौष्टिक आहार खुवाएर आवश्यक पोषण पूर्ति गर्नुपर्ने भयो, छोराको स्वास्थ्य फेरि बिग्रियो। अर्थात् छोरामा कुपोषण फर्कियो।

बाजुराका गाउँमा प्रायः सानै उमेरमा बिहाबारी भइसक्छ। हाराको पनि १५ वर्षमै विवाह भएको थियो। १६ वर्षको उमेरमा त उनले पहिलो सन्तान नै जन्माइसकेकी थिइन्। अहिले फेरि उनी चार महिनाकी गर्भवती छिन्। “मैकन कमजोरी छु। छोराछोरीलाई दूध नै पुग्दैन,” कुपोषणसँगको लडाइँमा लगभग हाराले हार मानिसकेकी छिन्।

काखमा हुर्किँदै गरेको बच्चा कुपोषणको शिकार भएको छ। सम्भवतः अब पेटमा रहेको उनको बच्चा पनि जन्मँदै कुपोषित हुनेछ। तर, यो सबै जान्दाजान्दै पनि हारासँग कुनै उपाय छैन। खोलीकोट सामुदायिक स्वास्थ्य इकाईका इन्चार्जसमेत रहेका सिनियर अहेब बृज विकका अनुसार यो क्षेत्रमा करिब ९० प्रतिशत आमाहरूमा रगतको कमी छ।

अर्थात् उनीहरू कुपोषणबाट ग्रस्त छन्। यसरी कुपोषणबाट ग्रस्त आमाले जन्माएका बच्चा कुपोषित भएरै जन्मनु अस्वाभाविक नभएको उनी बताउँछन्। स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मा पर्ने मुक्तिकोट जस्ता गाउँ यति दुर्गम छन् कि त्यहाँका बासिन्दाको पहुँच सदरमुकामस्थित न त जिल्ला अस्पतालसम्म नै छ न त सदरमुकामस्थित पोषण पुनर्स्थापना केन्द्र सम्म नै। कुपोषण बचाइरहने धन्दाको कथा बुझ्न सविना देवकोटाको यो रिपोर्ट पढ्नुहोस्: कुपोषण बचाइरहने ‘धन्दा’

अब कुरा गरौँ चुनावको। गत भदौमा जेन–जी आन्दोलन नभएको हुँदो हो त सम्भवतः अबको दुई वर्षपछि अर्थात् २०८४ सालमा मात्र प्रतिनिधिसभा निर्वाचन हुने थियो। राजनीतिमा दुई वर्ष आफैमा सानो समय होइन। माहौल बदल्न केही दिन या महिना नै पर्याप्त हुने अवस्थामा दुई वर्षपछिको परिदृश्य जे पनि हुन सक्थ्यो।

तर जेन–जी आन्दोलनकै धक्काले ठूलो उथलपुथल भयो। संसद् विघटन भयो। र करिब दुई वर्ष चाँडै प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने परिस्थिति बन्यो। यही परिस्थितिले संविधानसभाबाट संविधान जारी भएयता पहिलोपटक अर्को नयाँ परिस्थिति पनि निर्माण गरिदिएको छ।

त्यो हो– आउँदो फागुन २१ गते हुने निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दै छन्। र संविधान जारी भएयता पहिलोपटक यस्तो हुँदै छ। किनभने २०७४ को प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचन मात्र होइन, २०७९ का तीनै तहका निर्वाचनमा पनि दलहरूले कुनै न कुनै खाले गठबन्धन बनाएरै चुनावी प्रतिस्पर्धा गरेका थिए।

मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न हुँदा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। अर्थात् यसपालि सबै दल एक्लाएक्लै चुनावी मैदानमा हुने छन्। चुनावी गठबन्धनमा कसरी लाग्यो ‘ब्रेक’ भन्ने बुझ्न पढ्नुहोस् बीपी अनमोल यो रिपोर्ट : शक्ति परीक्षणमा दल, संविधान बनेपछि पहिलोपटक एक्लाएक्लै मैदानमा

साताका प्रमुख हेडलाइनहरू

देश-समाज

भुटानी शरणार्थीको ‘ट्राभल–डकुमेन्ट’ खुल्यो, मुद्दा यथावत्
पुनर्बसोबास टुंगिएपछि पनि संयुक्त प्रमाणीकरण टोलीले ४२९ जनालाई शरणार्थी परिचय दिने तथा अद्यावधिक गर्ने निर्णय गरेको थियो। तर, त्यो अवस्थाका शरणार्थी पनि अझै परिचयपत्रविहीन छन्।

टिकट पाउन चुनावपिच्छे दल फेर्नेहरू: पुरानासँगै ‘नयाँ’मा पनि अवसरवादकै रजाइँ
चुनाव जित्न जे पनि गर्ने पार्टी र सांसद बन्न जता पनि गइदिने अवसरवादले पुराना–नयाँ सबै पार्टीमा कसरी रजाइँ गर्दै छ भन्ने उत्कर्ष यसपालिको मनोनयनमा देखिएको छ।

सभापति गगन थापा झरे मधेश, फर्किएला कांग्रेसको विरासत?
शेरबहादुर देउवालाई अपवाद मान्दा कांग्रेसमा सभापति भइसकेका नेता कुनै न कुनै समय तराई–मधेशबाट उम्मेदवार बनेकै छन्, गगन पनि सभापति हुने बित्तिकै उतै लागे। क्षेत्र परिवर्तन गर्ने उनको निर्णयले मधेशमा प्रभाव पार्ला?

गैरदलीय सरकारमा मन्त्री बने, दलको टिकट बोकेर निस्किए
जेन–जी विद्रोहपछि निर्वाचन गराउन गठित गैरदलीय सरकारका मन्त्रीहरू आफै चुनाव लड्ने ‘बायोडाटा’ बनाउँदै दलको टिकट च्यापेर चुनावी प्रतिस्पर्धामा दौडिएका छन् जसले सरकारलाई नै नैतिक संकटमा पारेको छ।

आफ्नै सपनाले दपेट्दै छ ओलीलाई
दमक भ्यू–टावरको कन्तविजोगदेखि औद्योगिक क्षेत्रको अलपत्र योजनासम्म ओलीसँग जोडिएका छन्, जसबारे उनी खुलेर प्रतिवाद गर्न सकिरहेका छैनन्।

पदमा हुँदाहुँदै नयाँ पदको आकांक्षा अर्थात् मतदाताप्रति बेइमानी
मतदातासँग पाँच वर्ष काम गर्ने वाचासहित स्थानीय तह र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरू त्यो वाचा बीचमै अलपत्र छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न दौडिएका छन्। जानकारहरू यसलाई अनैतिक र मतदाताप्रतिको बेइमानी भन्छन्।

मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?
जनकपुरधाममा भएको ‘परिवर्तन उद्घोष सभा’ रास्वपा प्रवेशपछि बालेनका लागि पहिलो औपचारिक कार्यक्रम थियो, जहाँ सेतो र कालो मिश्रित पोसाकमा देखिएका उनलाई नेताहरूले ‘नायक’का रूपमा चित्रण गरे।

मधेशका मतदाताको गुनासो– संघीयता पायौँ, तर विकास पाउन सकेनौँ
संघीयताका लागि मधेशले रगत बगाए पनि त्यसको पूर्ण कार्यान्वयनमा जालझेल भएको यहाँका सर्वसाधारणदेखि बुद्धिजीवीहरूको भनाइ छ। सबै दलले मधेशलाई ‘भोटबैंक’ मात्र बुझेको उनीहरू गुनासो गर्छन्।

रेणुसँग भिड्न चितवन–३ किन पुगिन् सोबिता?
रास्वपाको आन्तरिक समीकरणले सोबितालाई चितवनको नयाँ र चुनौतीपूर्ण भूगोलमा पुर्‍याएको छ भने त्यहाँ उनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

विचार

मधेशको मियो बन्ने गगनको ‘मुभ’
दशकयता मधेशले आफूलाई राजनीतिको केन्द्रमा प्रोजेक्ट गर्दै आए पनि नेपाली राजनीतिको केन्द्रमा भने झापा र डडेलधुरा रहन पुग्यो। यद्यपि, मधेशले राजनीतिको केन्द्रमा आफ्नै मियो खोजिरहेको थियो।

‘हाम्रो समाज डढेलो लाग्नुअघिको पतिंगरजस्तो अवस्थामा छ’
‘सामाजिक सञ्जालमा आउने कन्टेन्टका कारण मानिस अनावश्यक सतही बहसमा सहभागी हुँदै थकित बनेको छ। जब मानिसमा स्फूर्ति र चुस्तता रहँदैन, तब सोच्ने, बहस गर्ने र सिर्जनशील काम गर्ने क्षमता पनि कमजोर बन्छ।’

घृणा र संवेदनहीनता: पोखरेल र बस्नेतदेखि सङ्ग्रौलासम्म
देश र समाज बदल्छु भनेर राजनीतिमा लागेकाहरूले नै भाषिक र सामुदायिक संवेदनशीलता नदेखाउनु लाजमर्दो हो। अझ, युगौँदेखि उत्पीडनमा परेका समुदायप्रति त्यस्तो टिप्पणी गर्नु झनै बढी असंवेदनशील हुनु हो।

अर्थ/बजार

विश्वबजारमा फैलिन सक्षम नेपाली आईटी उद्योग, नीतिगत सुधार खोज्दै उद्यमी
विश्वबजारमा प्रतिस्पर्धा गर्ने क्षमता भएर पनि सरकारको करनीति, प्रक्रियागत झन्झट र वित्तीय सीमाले नेपाली आईटी कम्पनीहरू साँघुरो दायरामा खुम्चिएर काम गर्न बाध्य छन्।

खेल

महिला क्रिकेटः सुधारियो, तर नतिजाविहीन
कुनै समय टी–२० मा १२० रन कटाउन मुस्किल पर्ने नेपाली महिला टोलीको ब्याटिङ पछिल्लो समय सुधारिएको छ। तर बनाएको रन जोगाउन वा लक्ष्य पछ्याउन अन्तिम समयमा चुकिरहेको छ।

विश्व

ग्रिनल्यान्डको सार्वभौमसत्तामा वार्ता हुन सक्दैन: डेनमार्क
डेनमार्कले अमेरिकी ‘गोल्डन डोम’ जस्ता सुरक्षा कार्यक्रममा रचनात्मक संवादका लागि तत्परता देखाए पनि त्यस्तो सहकार्य डेनमार्कको क्षेत्रीय अखण्डता र ग्रिनल्यान्डको सार्वभौमसत्ताको पूर्ण सम्मानसहित मात्र हुने स्पष्ट पारेको छ।