रवि–बालेनको पछिल्लो प्रणय त्यसकै शुरूआत नहोस्। समावेशिता र सामाजिक न्याय बुझ्ने केही मान्छे रवि-बालेनको पार्टीमा मात्र नभएर कुलमानकै पार्टीमा पनि देखिन्छन्। तिनले यी तीनै टाउकालाई खबरदारी गरिराखून्।
पुस १३ को ब्रह्ममुहूर्तमा सार्वजनिक भएको बालेन शाह र रवि लामिछानेको सन्देश र तस्वीरले नेपाल सरहद र संसारभरका नेपाली समुदायमाझ तरंग सिर्जना गरेको छ। विघटित संघीय संसद्का निलम्बित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौँका मेयर शाहबीच भएको ‘एकता’को सातबुँदे सहमतिपछि कतिपयले अब नेपाल विकास र समृद्धिको बाटोमा अघि बढ्ने जिकिर गरिरहेका छन्।
सहमतिपश्चात् समर्थकबीच झन्डै ‘युफोरिया’को माहोल छ। हदभन्दा खुशीको अवस्था हो युफोरिया। अचानक धेरै पैसा पुरस्कार जितेपछि, प्रेममा अत्यन्तै डुब्दा, कुनै नशालु पदार्थ खाएपछि या आफ्नो उत्कट चाहना पूरा हुँदा मानिस यो अवस्थामा पुग्छ। यस्तो बेला व्यक्तिलाई धेरै बोल्न मन लाग्ने, दिमाग असाध्यै तेज चलेझैँ लाग्ने र संसार नै धेरै सुन्दर देखिने हुन्छ। र, कतिपय रवि र बालेनका समर्थक त्यही मुडमा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ वाला मिम सञ्जालमा शेयर गर्दै छन्।
रवि र बालेनका समर्थकको कुरा अलग भयो, तटस्थ व्यक्ति पनि यो सहमतिपछि एक प्रकारले उत्साहित देखिन्छन्। कुशासन, भ्रष्टाचार र जबाफदेहिता नभएको आरोप खेपिरहेका पुराना पार्टीलाई यो एकता र यसपछिको सम्भावित नतिजाले दह्रो पाठ सिकाउने तिनको अपेक्षा छ। जेनजी विद्रोह/विस्फोटको सांघातिक हमला, आतंक र आतंकपछि समेत नचेतेका यिनलाई यो सहमति र सम्भावित परिणामले ‘चेताउने’ उनीहरूको चाहना देखिन्छ।
तर, स्वयं अनेकौँ आर्थिक अपारदर्शिताका प्रश्न र कानूनी झमेलामा फसेका पात्र हुन् रवि, जो ठूलो रकम अदालतमा धरौटी राखेर भर्खरै जेलबाट जमानतमा बाहिर निस्केका हुन्। कमसेकम, मुद्दाबाट नचोखिँदासम्म लामिछाने नेतृत्वकै पार्टीले आर्थिक-नैतिकता र सुशासनको विषय उठाउँदा त्यो असंगत सुनिन्छ।
जहाँसम्म जबाफदेहिता र उत्तरदायित्वको मुद्दा छ, काठमाडौँ महानगरको मेयर भएर झन्डै चार वर्ष काम गरे शाह। मेयर भएयता उनी र उनी नेतृत्वको महानगरले गरेको कामका विषयमा दिनुपर्ने सयौँ प्रश्न उब्जे। बिरलै शाहले सार्वजनिक रूपमा ती प्रश्न र संशयको निवारण गरे।
र, सहमतिपछि अब रवि र बालेन नै रास्वपाका दुई शीर्ष नेता हुन्। रविको मिडिया कर्म, फेसबुक स्ट्याटस, वक्तव्यबाजी र व्यक्तित्वमा टेकेर खोलिएको रास्वपामा अहिलेसम्म रविको समकक्षमा कोही अर्को थिएन। तर रास्वपामा बालेनको विलयपछि भने झन्डै उस्तै महत्त्वाकांक्षा भएका दुई पात्र सार्वजनिक रूपमा रास्वपाको 'आइकन'का रूपमा देखिनेछन्। अत्यन्त महत्त्वाकांक्षा र इगो भएका दुईको व्यक्तित्वको टकराब छिटै प्रकट हुने अपेक्षा गर्न सकिन्छ।
अहिले रास्वपामा बालेनलाई दोस्रो वरीयताको ठहर गरिएको भनिए पनि बालेनले आफूलाई दोस्रो कहिल्यै ठान्ने छैनन्। कुनै राजनीतिक पृष्ठभूमि र प्रयासबिनै, असन्तुष्टि भजाएर, पहिलो प्रयासमै लोकप्रिय मत पाएर काठमाडौँको मेयर चुनिएका यिनको विगत तीन वर्षको सामाजिक सञ्जालका हरकतबाट बुझिन्छ– इगोका यिनी इमारत हुन्। र, बालेनको खेती सप्रेको देखेर नै रविले असन्तुष्टिको सुली खन्याउँदै राजनीतिको बारीमा मुला रोपेका हुन्। बालेन र रवि दुवैलाई यो थाहा छ।
त्यसो हुँदा आफ्नो पक्षमा सदस्यलाई प्रभावित पार्न र आफू पहिलो हुन यी दुईबीच यस दलभित्र छिटै प्रयास हुनेछ। धेरै लामो अभ्यास, प्रयास र सामाजिक घुलमिलपछि राजनीतिक संस्कार निर्माण हुने भएकाले कमसेकम बालेनबाट त्यो अपेक्षा गर्न कठिन छ। रवि कुटिल भएकाले उनी बढी 'संस्कारी' देखिने सम्भावना छ। उसो त बिरलै सार्वजनिक रूपमा देखिने भएकाले बालेनले आफ्नो रहस्यमय र ‘राजशाही’ छवि कायमै राख्लान् पनि। तर दरबारमै आगो लागे पनि धुवाँ त रेतिलै देख्ने गरी नै फैलनेछ।
…
त, पुसको पहिलो आइतबारे बिहानीले नेपाली तरंगित छन् र सम्भवतः आउँदो चुनावको परिणामको केही महिनासम्म तरंगित नै भइराख्लान्। सम्झिल्याउँदा नेपाली झन्डै सात सालयता यस्तै तरंगबाटै तरंगित भइरहेछौँ।
सात सालको क्रान्ति, २०१५ सालको चुनाव, २०१७ सालको महेन्द्रको ‘कु’, २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन, २०४८ मंसिरमा भारतसँग गरिएको टनकपुर बाँध सम्झौता, २०५० सालको दासढुंगा जिप प्रकरण, २०५२ सालको माओवादी जनयुद्ध, २०५७ सालको ऋतिक रोशन प्रकरण, २०५८ सालको राजदरबार हत्याकाण्ड, २०६१ सालको इराक-काण्ड, २०६२/६३ सालको जनआन्दोलन, २०६३ पछिको मधेश आन्दोलन, २०६४ सालको चुनावी परिणाम। २०७२ को संविधान घोषणा, २०७२ कै थरूहट आन्दोलन। नेपाली तरंगित भएका यस्ता धेरै तिथि–मिति छन्। यी तिथि–मितिले हाम्रा अपेक्षा, मनोदशा र इतिहासबारे कतिपय कुरा बताउँछन्। तिथि–मितिका आर्काइभमा नसमेटिएका दुःख फेरि कुन दिन प्रकट होलान्, थाहा छैन।
उसो त, २०७९ असार ७ गतेका दिन लामिछानेले सञ्चारकर्म छाडेर पार्टी खोल्दा नेपाली जन तरंगित भएका थिए। चितवनको संसदीय क्षेत्रबाट लामिछाने भारी मतसाथ दुई पटक सांसद हुँदा पनि देश उसै गरी तरंगित भएको थियो। अब देशमा नयाँ बिहानी आउने अनुमान गरिएको थियो। बालेनले मेयर जित्दा उस्तै युफोरिया थियो। स्मरणीय छ, यी दुवै घटना भएको तीन वर्ष आसपास भयो। दुवै व्यक्तिको विकास झन्डै एकै पटक भयो।
यही तरंगको कुरा गर्दा, कुनै पुस्तक विमोचनमा जान हतारिइरहेका बागी/वामपन्थी साहित्यकार खगेन्द्र संग्रौलाले टिप्पणीकारसँग भने , “थोत्राहरूको एउटा तरंग थियो। अर्को थोत्राहरूको अर्को तरंग मात्र हो यो। पुराना थोत्राविरुद्ध नयाँ थोत्राको तरंग हो। यी जेलेन्स्कीका सन्तान हुन्। गोर्खाल्यान्डले जेलेन्स्की जन्माइरहेको छ। जेलेन्स्कीले युक्रेन डुबायो। यी पनि विचार, सिद्धान्तबिना र जराबिनाका जेलेन्स्की हुन्। तर राम्रो के भइरहेको छ भने हाम्रा बुढा तिघ्रेहरूलाई यिनले हावाकावा खेलाइरहेका छन्। हाम्रा बुढाहरू थर्कमान भइरहेका छन्।”
उनको थप टिप्पणी थियो, ”जेनजीले सडकमा लगेर पछार्दा पनि यिनले चेतेनन्, नयाँ पत्रुहरू मिल्दै गएपछि यिनले उत्पात मच्चाउलान् भनेर फेरि पुराना डराएका छन्, तर पनि चेत्नेवालाचाहिँ छैनन्। सिद्धान्त, व्यवहार, योजना र परिकल्पनामा चाहिँ नयाँ भनिनेमा पनि केही छैन। यी वैकल्पिक पनि होइनन्। यी एक प्रकारका भाँड हुन्। यीबाट सकारात्मक अपेक्षाभन्दा पनि भयग्रस्त अपेक्षा छ। किनकि पपुलिजम धेरै ठूलो रोग हो। पपुलिजमको विश्व-बाउ ट्रम्प हुन्। खड्गप्रसाद ओली ट्रम्पका भतिजा हुन्। यी नयाँ भन्नेहरू चाहिँ ट्रम्पका मित छोरा हुन्। यी सहरिया सम्भ्रान्त वर्गका सेवक हुन्। चिन्तनमा यी पपुलिस्ट हुन्। यी नयाँ पनि होइनन्, विकल्प पनि दिँदैनन्। "
झन्डै उस्तै सुनिइन्, लेखक/अध्येता डा. मिना पौडेल। उनले भनिन्, “म त युक्रेनमा पनि काम गरेर आएँ। युक्रेनलाई रसियाले आक्रमण गर्नूपूर्व त्यहाँ थिएँ। पुटिनको शासन रहेको रसियामा पनि काम गरेर आएँ। रविले मिडिया छाडेर पार्टी खोल्नेबित्तिकै उनी नेपाली संस्करणको जेलेन्स्की हुन् भनेर मैले शुरूदेखि नै भनेको हुँ। जेलेन्स्कीले क्रिश्चियनिटी र आफ्नो कलाकारिताको ग्ल्यामर प्रयोग गरे। रवि पनि टीकाटालो गर्दै हातमा डोरो बाँधेर हिन्दुत्वको संकेत दिँदै हिँडे। रवि नेपाली समाजको जेलेन्स्की हुन्।”
“तर ग्लुले टाँसेको सिसा हो यो, जुनसुकै बेला झर्यामझुरुम हुन्छ। समानुपातिकतर्फका उम्मेदवारको नाम बुझाउने म्याद सकिनै लाग्दा यिनीबीच सहमति भएको कुरा हामीले भुल्नुहुन्न।"
पौडेलले त्यसो भनिरहँदा ‘नयाँ शक्तिबीचको एकीकरण’का लागि जुटिरहेका कुलमान अघिल्लो दिन नै नेपथ्यमा पुगिसकेका थिए। कुलमानलाई पनि भाग लगाउँदा आफ्नो धेरै भाग खोसिने भयले सम्भवतः रवि-बालेनले कुलमानलाई धेरै पस्किन चाहेनन्। कुलमानले बराबर थाल भाग माग्दा यी दुईले उनलाई प्लेटमा पस्कन चाहेकाले होला, मिडियाका अनुसार कुलमान त्यसपछि यी दुईको सम्पर्कमै आएनन्।
पुराना दलहरूको अतिबाट सिर्जित निराशामा जन्मेका पपुलिस्ट अनुहार हुन् रवि, बालेन र कुलमानहरू। यिनका घोषणा, फेसबुक स्ट्याटस, चुनावचिह्न र पार्टीको नामसमेतले विचारहीनता र पपुलिजमको संकेत गर्छ। यिनले बिरलै आफूलाई सामाजिक न्यायको पक्षमा उभ्याएका छन्। भोटलाई शिरमा राखेर अघि बढेका यी मनुवा अलोकप्रिय सुनिने कुनै पनि कुरा गर्दैनन्।
पुस १३ कै तस्वीर नियालौँ, त्यहाँ एक जना पनि महिला छैनन्। प्राविधिक रूपमा एकदुई जना अल्पसंख्यकबाहेक उही शासक वर्गका ‘भाले’ उभिएर हाँसिरहेका छन्। मानौँ, देश बनाउने योजना र सपना पुलिंगकै ठेक्का हो। अतः यी फगत लोकरिझ्याइँ (पपुलिजम) वाला हुन्। पुरानो भाष्य तोड्दै नयाँ कर्म गर्ने हिम्मत र सपना यिनीसँग छैन। महिला, अल्पसंख्यक र उत्पीडित जाति र वर्गका कुरा सुन्ने लेठो यिनले गरेका छैनन् र अपेक्षा कम छ।
त्यसो हुँदाहुँदै पनि, पुरानालाई ‘देखाइदिने’ सुखद कल्पनामा उम्लेका छन् कतिपयका टाउकाभित्र डोपामिन। पपुलिजमले विश्वका धेरै देश/समाज आजका दिन आक्रान्त छन्। र, रवि–बालेनको पछिल्लो प्रणय त्यसकै शुरूआत नहोस्। समावेशिता र सामाजिक न्याय बुझ्ने केही मान्छे रवि-बालेनको पार्टीमा मात्र नभएर कुलमानकै पार्टीमा पनि देखिन्छन्। तिनले यी तीन वटै टाउकालाई खबरदारी गरिराखून्। षड्यन्त्र-सिद्धान्तमा खासै रुचि राख्दैन यो टिप्पणीकार, तर १३ पुसको ब्रह्ममुहूर्तले नेपाली संस्करणको जेलेन्स्की नजन्माओस्। रवि–बालेनको यो मिलन ‘भारुण्ड’ नामक चराको कथाझैँ नहोस्।
(उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
