Saturday, April 27, 2024

-->

न्यूजलेटर
२०७९ फागुन ८, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन ८ सोमबार

द प्रेसिडेन्सियल कोनन्ड्रम : राष्ट्रपतीय निर्वाचनको सेरोफेरोमा नाचिरहेको राजनीति
बाहिरी आवरणमा अनेक मुद्दा उम्लिरहेका भए पनि देशको हालको राजनीति मुख्यत: आगामी राष्ट्रपति को (कुन दलको) चुनिन्छ र त्यसपछि राजनीतिक कोर्स कतातिर मोडिन्छ भन्ने विषयमै सर्वाधिक केन्द्रित रहेको कुरा सामान्य राजनीतिक चेत भएको मान्छेले पनि बुझ्न गाह्रो छैन।

यही 'कोनन्ड्रम'बाट निकास पाउने सम्भावित परिदृश्य दर्शाउने रिपोर्टहरूले पछिल्ला केही दिनमा सञ्चारमाध्यममा विशेष प्राथमिकता पाएका छन्–  त्यो निकास कसका लागि सुखद हुन्छ र कसका लागि दुखद, त्यो त यस सप्ताहन्तसम्म थाहा भइहाल्ला, अहिले चर्चा गरौँ 'किंगमेकेर माओवादी केन्द्रले दुई ठूला दलमध्ये कसको शिरमा हात राखेर तथास्तु: भन्ला' भन्नेबारे। यो प्रश्नको उत्तर पाउनु भनेको सिधा हिसाबले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई कसले पदस्थापन गर्छ भन्ने जिज्ञासाको अन्त्य हुनु हो। 'जेरी' हिसाबले भन्नुपर्दा भने त्यसपछि गठबन्धन-सम्बन्ध प्रधान भएको नेपाली राजनीतिले फेरि कस्तो रोचक मोड लिन्छ भन्ने जिज्ञासाले पुन: प्रवेश पाउनु हो।

नेकपा माओवादी केन्द्रका नेताहरूलाई 'कोट' गर्दै प्रकाशित भएका खबर (राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारीमा माओवादी, संकटको डिलमा गठबन्धन) अनुसार उक्त दलले राष्ट्रपतिय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने तयारी गरेको छ। हालको सत्तागठबन्धनबाट राष्ट्रपति बन्दा (जसमाथि नेकपा एमालेको एक्लौटि दाबी रहिआएको छ) आफूहरू 'कर्नर' हुने र राजनीति अस्थिर हुने निष्कर्ष निकाल्दै माओवादी उक्त निर्णयको पक्षमा उभिएको हो।

पछिल्लो हप्ता मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धन कुनैपनि बेला 'भत्किने' परिस्थिति बन्नसक्ने भन्दै पार्टीका भ्रातृ संस्थाको कार्यक्रममाझ नेता–कार्यकर्ताहरूलाई सम्भावित परिदृश्यबारे अवगत गराएका थिए। त्यस वक्तव्यलगत्तै सत्तागठबन्धनको आयुबारे अडकलबाजी शुरू भएका थिए।

अहिले सबैको चासोको विषय माओवादी केन्द्रले अधिकारीक रूपमा कांग्रेसको उम्मेदवार सघाउने संस्थागत निर्णय गरेको खण्डमा एमालेलगायतका दल सरकारबाट बाहिरिएर नयाँँ समीकरण बन्ला कि एमालेले आफ्नो समर्थन कायमै राख्ला भन्ने रहेको छ।

हालसालै यही सेरोफेरोमा हेडलाइन बनेका केही खबरहरू :

भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन् : केपी ओली
मंगलबार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील रहेको बताएका हुन्। “भित्र र बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्”, उनले भने। थप : भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन्

कांग्रेस प्रमुख सचेतकको दाबी : १० दिनभित्र नयाँ राजनीतिक कोर्स बन्छ
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टी राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको बताएका छन्।

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्नेहरू एमालेविरुद्ध चक्रव्यूह रच्दै छन् : ओली
एमाले अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

दाहाल–ओलीबीचको छलफल निष्कर्षविहीन
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ।

राष्ट्रपतिबारे छलफल गर्न प्रधानमन्त्री दाहाल पुगे ओलीनिवास बालकोट
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन।

कांग्रेस प्रवक्ता भन्छन्– ‘राष्ट्रपतिमा कांग्रेसलाई सघाए पाँचै वर्ष दाहाल प्रधानमन्त्री’
सबैभन्दा ठूलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको प्रवक्ता महतको भनाइ छ।

राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारीमा माओवादी, संकटको डिलमा संकटको डिलमा गठबन्धन
सत्तागठबन्धनको प्रमुख हिस्सेदार, माओवादी केन्द्र राष्ट्रपतिमा कांग्रेसलाई सघाउने ‘मनस्थिति’मा पुगेको देखिन्छ। माओवादीका कारण राष्ट्रपति गुम्दा एमाले के गर्छ भन्ने तस्वीर भने प्रष्ट भइसकेको छैन।

पार्टीबाहिरको साझा व्यक्ति राष्ट्रपतिको उम्मेदवार : देव गुरुङ
स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने माओवादी महासचिव गुरुङको भनाइ छ।

राष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफलमा जसपा
बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल भए पनि ठोस निर्णय नभएको जसपा प्रवक्ता प्रकाश अधिकारीले बताए।

राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न पुगेका कांग्रेस नेताहरूले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन्।

राष्ट्रपतिमा एमाले उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्छ : ओली
अध्यक्ष ओलीले एमालेको उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन नेकपा माओवादी केन्द्रको पनि साथ र समर्थन रहने बताएका छन्।

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ? ओलीबाहेक कसैलाई थाहा छैन
एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट भावी राष्ट्रपति उम्मेदवारबारे पार्टी कमिटीमा छलफल चलाएका छैनन्। आफूले चाहेको पात्रलाई नै राष्ट्रपतिमा अघि सार्न प्रधानमन्त्रीसँग उनी एक्लै निरन्तर छलफलमा छन्।

राष्ट्रपतिको उम्मेदवार तय गर्न माओवादीसहितका दलको निर्णय कुर्दै कांग्रेस
कांग्रेस प्रवक्ता महतले पार्टीले अन्य दलको आशय बुझिसकेपछि राष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने बताए। आइतबार प्रधानमन्त्रीसँगको भेट पनि राष्ट्रपतिमा सहयोग जुटाउनकै लागि भएको उनको भनाइ छ।

माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दियो 
सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे निर्णय गर्ने अन्तिम अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो।

पोखरा विमान दुर्घटनामा ‘गल्तीका ती ६० सेकेन्ड’ : के भन्छन् एटीआर उडाउने पाइलट?
यतीको जहाज जमिनमा ठोक्किनु ६० सेकेन्ड अघिसम्म अवस्था सामान्य थियो। तर ठ्याक्कै १० बजेर ५६ मिनेट ३२ सेकेन्ड जाँदा दुर्घटनाको क्रम शुरू हुन्छ।

यती एयरको जहाज दुर्घटना छानबिन गर्न बनेको आयोगको प्रारम्भिक प्रतिवेदनअनुसार फ्लाइट डाटा रेकर्डरले यो बेला फ्ल्यापहरू ३० डिग्रीमा गएको रेकर्ड गर्दैनन्। बरू दुवै इन्जिनका पंखाको गति २५ प्रतिशतभन्दा कम हुन्छ र टर्क (इन्जिनले धकेल्ने शक्ति) शून्यमा जान्छ। यसको अर्थ हो, जहाजको इन्जिन र पंखाबीचको सम्बन्ध छुटेको छ र पंखाहरू फेदरिङमा गएका छन्।

फ्लाइट राडारको एभी टल्क मा हवाईजहाज विज्ञ जेसन रेविनोविज भन्छन्, "सुपरिवेक्षण गरिरहेका पाइलटले फ्ल्यापलाई १५ बाट ३० मा लानुको सट्टा गल्तीले पंखाहरूलाई फेदर गरिदिए र फ्ल्यापहरू ३० मा पुगे भनेर भने। उनले दुर्घटनावश यस्तो गरेका थिए।"

एटीआरका नेपाली पाइलटहरूलाई भने यो कुरा पत्याउन गाह्रो भइरहेको छ।

यतीको जहाज जमिनमा ठोक्किनु ६० सेकेन्ड अघिसम्म अवस्था सामान्य थियो। तर ठ्याक्कै १० बजेर ५६ मिनेट ३२ सेकेन्ड जाँदा दुर्घटनाको क्रम शुरू हुन्छ।

७२ जनाको ज्यान जानेगरी माघ १ मा भएको यति एयरलाइन्स दुर्घटना छानबिन प्रतिवेदनका विभिन्न पाटाबारे उकालो विशेष : ‘गल्तीका ती ६० सेकेन्ड’ : के भन्छन् एटीआर उडाउने पाइलट?

खेलकुद : खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल
भारतको घरेलु मैदान। निर्धारित समय सकिँन २३ मिनेट बाँकी रहँदा भारतलाई २ गोलको अग्रता। ८९औँ मिनेटसम्म पनि भारतको अग्रता कायमै।

चेन्नाईस्थित जावहारलाल नेहरू रंगशालामा फागुन ३ गते भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपाल हारतर्फ गइरहेको प्रतीत हुन्थ्यो। सौम्य गुगुलोथले ५६औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई शुरूआती अग्रता दिलाएकी थिइन्। ६८औँ मिनेटमा कप्तान इन्दुमती काथिरेसनले गोल गरेकी थिइन्। नियमित समय सकिनै लाग्दा रंगशालमा उपस्थित भारतीय दर्शक जितको खुशी मनाउन थालिसकेका थिए।

नेपाली बेन्च भने स्तब्ध थियो। तनावमा देखिएका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक अनन्तराज थापा ‘टचलाइन’बाट खेलाडीलाई निरन्तर निर्देशन दिइरहेका थिए।

खेल ९०औँ मिनेटमा चलिरहँदा भारतीय डिफेन्डरले ‘ह्यान्ड’ गरेपछि नेपालले पेनाल्टीको अवसर पायो। उक्त अवसरलाई सदुपयोग गर्दै सावित्रा भण्डारीले गोल गरिन्। तर उनले खुशी मनाइनन्। बरू पोष्टभित्रको बल बोकेर मैदानको केन्द्र भागतर्फ दौडिइन्। खेल चालु राख्न उनी हतारमा थिइन्।

'साम्बा' उपनामले परिचित सावित्राले त्यसको दुई मिनेटमै अर्को गोल गर्दै खेल बराबरीमा ल्याइन्। प्रशिक्षक थापाका अनुसार नियमित समयमा पाएका केही मौका सदुपयोग नहुँदा नेपाल दबाबमा परेको थियो। निर्धारित समयपछि ५ मिनेट थपिएको थियो। अन्तिममा भए पनि भारतजस्तो बलियो टोलिविरुद्ध सावित्राले गोल गरिन्। थप : खुशियाली मनाउँदै गरेको भारतलाई स्तब्ध बनाउने सावित्राका ती दुई गोल

अन्तर्राष्ट्रिय : ब्राजिलमा भीषण वर्षासँगै आएको बाढीबाट ३६ जनाको मृत्यु
ब्राजिलमा साओ पाओलो राज्यमा भारी वर्षापछिको बाढी र पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ। त्यस्तै, केही मानिस भने बेपत्ता भएको र सयौँ मानिस विस्थापित भएको बीबीसीले उल्लेख गरेको छ।

त्यस्तै, तटीय क्षेत्रबाट अहिलेसम्म ३३८ जना मानिसको उद्धार गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन्। आइतबार त्यस राज्यका केही क्षेत्रमा मात्रै ६०० मिलिमिटर पानी परेको बताइएको छ। 


आजका अन्य प्रमुख खबरहरू:

नागरिक उड्डयन प्राधिकरणले रद्द गर्‍यो थाइ एयरवेजको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ'

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको 'सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ रद्द गरेको छ। सोमबार थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले बताए।

माओवादी महासचिव गुरुङ भन्छन्– ‘एमालेको सिफारिस मान्नैपर्ने बाध्यता छैन’
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दलविशेषबाट राष्ट्रपति बनाउनेबारे संविधानमा उल्लेख नभएको भन्दै एमालेले गरेको सिफारिस मान्नैपर्ने बाध्यता नभएको प्रतिक्रिया दिएका छन्। पदाधिकारी बैठकअघि पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान
कर्मचारीलाई तलब लगायतका सेवा सुविधा दिन नसकेपछि हवाई सुरक्षामा असर पर्न सक्ने अनुमान गरे सबै उडान बन्द गर्न निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। सोमबार कम्पनीलाई पत्राचार गरी तत्काल उडान रोक्न निर्देशन दिइएको उनले जानकारी दिए।

एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन्। सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिएर समस्यामा परेको पाइएकाले अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए। “लघुवित्तमा ३३ लाख ऋणी रहेका छन्। प्रत्येकको फाइल हेर्न सकिँदैन। त्यो लघुवित्तले हेर्ने हो। राष्ट्र बैंक लघुवित्तको एउटैमा मात्रै समावेश हुने, नभए तीनभन्दा बढी संस्थामा संगलन हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छ”, उनले भने।


सम्बन्धित सामग्री