Tuesday, May 07, 2024

-->

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ? ओलीबाहेक कसैलाई थाहा छैन

एमाले अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट भावी राष्ट्रपति उम्मेदवारबारे पार्टी कमिटीमा छलफल चलाएका छैनन्। आफूले चाहेको पात्रलाई नै राष्ट्रपतिमा अघि सार्न प्रधानमन्त्रीसँग उनी एक्लै निरन्तर छलफलमा छन्।

एमालेबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ ओलीबाहेक कसैलाई थाहा छैन

काठमाडौँ– “राष्ट्रपति को हुने भन्ने पहिले नै सहमति भइसकेको छ। हामी उम्मेदवार उठाउछौँ, सबैको सहमति हुन्छ। फागुन १३ गते उम्मेदवारको टुंगो लाग्छ।”
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने। 

फागुन २५ गते तोकिएको राष्ट्रपतिको निर्वाचनको उम्मेदवार मनोनयन दर्ताको समय आउन ६ दिन बाँकी छ। अहिलेसम्म भावी राष्ट्रपति को बन्दैछ भन्ने प्रष्ट तस्वीर आइसकेको छैन।

ओली निवास बालकोटमा गएको पुस १० गते बनेको सत्ता गठबन्धनमा एमालेलाई राष्ट्रपति दिने सहमति बनेको थियो। तर पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि माओवादी केन्द्रले राजनीतिक परिस्थिति फेरिएको बताइरहेको छ। प्रधानमन्त्री दाहालसहित माओवादी नेताहरू राष्ट्रपतिमा राष्ट्रिय सहमति गरिनुपर्ने अडानमा छन्।

माओवादीको यो प्रस्तावकै कारण सत्ता साझेदार दलबीच राष्ट्रपतिको विषयमा सहमति जुट्न सकेको छैन। कांग्रेस पनि भावी राष्ट्रपतिमा आफ्नो उम्मेदवार निर्वाचित गराउने रणनीतिमा छ। कांग्रेस नेताहरूले सार्वजनिक रूपमा नै फागुन १० गतेपछि अहिलेको सत्ता गठबन्धन भत्किने बताइरहेका छन्।

माओवादीले अघि सारेको राष्ट्रिय सहमतिबाट उम्मेदवार तय गर्ने प्रस्ताव एमालेले स्वीकार गरेको छैन। त्यसैकारण पुस २६ गते यता निरन्तर रूपमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भइरहेका छन्। एमाले पनि पूर्वसहमति कार्यान्वयनकै अडानमा छ। तर अझै सहमतिको ठोस खाका आइसकेको छैन।

पूर्व सहमतिभन्दा बाहिर गएर माओवादीले अघि सारेको प्रस्ताव अनौठो भएको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन्। पूर्वसहमति कार्यान्वयनको विकल्प नहुने उनको भनाइ छ। 

“हामी चिन्तित छौँ र आश्चर्यचकित पनि। किन यसरी अस्थिरतातिर जाने बाटोतिर लग्न खोजिँदैछ?” उनले उकालोसँग भने “एमालेभन्दा बाहिर सहमति खोज्ने र एमालेले नमाने पनि हुन्छ भनेर सोच्नुभएको हो भने त्यो गलत कुरा हुन्छ। सम्भव नै हुँदैन।” 

तर एमालेमा छैन छलफल
राष्ट्रपतिको उम्मेदवारका विषयमा सत्ता गठबन्धनमा रहेको माओवादी गएको माघ १३ गतेको स्थायी समिति बैठकमा छलफल गरेको थियो। उक्त बैठकपछि नै माओवादी नेताहरूले मुखर रूपमा राष्ट्रिय सहमतिमा भावी राष्ट्रपति तय गर्नुपर्ने बताउन थालेका हुन्।

तर एमालेका कुनै पनि पार्टी कमिटीमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको छैन। एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चामा रहेका उपाध्यक्ष सुवास नेम्बाङ यस विषयमा पार्टी अध्यक्ष नै छलफलमा रहेको बताउँछन्। “यो सबै जिम्मा अध्यक्षले नै लिनुभएको छ। उहाँले नै कुराकानी गरिरहनुभएको छ,” उनले भने, “थप छलफल भएको छैन।” 

ओलीले राष्ट्रपतिको उम्मेदवारका विषयमा प्रधानमन्त्रीसँग एकल छलफल गर्ने गरेका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि एमालेबाट भावी राष्ट्रपतिको उम्मेदवार को हुने भन्ने विषयमा पार्टी कमिटीमा छलफल नभएको बताउँछिन्। “राष्ट्रपति एमालेकै हुनुपर्छ। र सबै राजनीतिक दललाई सहज हुने खालको हुनुपर्छ। महत्वपूर्ण पदबारे निर्णय गर्न पार्टीभित्र पनि छलफल हुनुपर्छ,” उनले भनिन्, “तर अहिलेसम्म यस विषयमा छलफल भएको छैन। संस्थागत निर्णय गर्दा राम्रो हुन्छ।” 

शाक्यले सभामुखको उम्मेदवारका विषयमा पनि पार्टीभित्र छलफल नभएको बताइन्। पूर्व सहमतिअनुसार राष्ट्रपति एमालेबाट नै बन्नुपर्ने उनको भनाइ छ। यो विषयले सत्ता समीकरणलाई अप्ठ्यारो पार्ने काम गर्न नहुने उनले बताइन्।

ओलीले पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनाउने विषयमा प्रधानमन्त्री दाहालसँग पनि संवाद गरेका थिएनन्। जसकारण दाहाल भावी राष्ट्रपतिको निर्वाचनलाई लिएर ओलीले अघि सार्ने सम्भावित पात्रबारे संशकित बनेको एमाले नेताहरू नै बताउँछन्। 

“सभामुखको उम्मेदवार अघि सार्दा पनि पार्टीभित्र छलफल भएन। प्रधानमन्त्रीसँग पनि यस विषयमा छलफल भएनछ,” एक पदाधिकारीले भने, “अहिले राष्ट्रपतिमा आफ्नो एस म्यान ल्याइएमा भोलि समस्या आउन सक्छ कि भन्ने माओवादीलाई आशंका भएको होला।” यही कारण पनि पछिल्लो समय माओवादीले राष्ट्रिय सहमतिको कुरा उठाएको हुनसक्ने उनको भनाइ छ।

राष्ट्रपतिको उम्मेदवार छान्ने विषयमा सबैभन्दा शक्तिशाली मानिएको सचिवालयको बैठकसमेत एमालेले आह्वान गरेको छैन। “अध्यक्ष ओलीले नै संवाद गरिरहनुभएको छ। आफ्नो इच्छाअनुसार उहाँले सभामुखको उम्मेदवार बनाउनुभयो। राष्ट्रपतिमा पनि त्यसै गर्न खोजिएको होला,” एक स्थायी कमिटी सदस्यले भने,” कम्तीमा सचिवालय बैठक बसेर छलफल गरेर टुंगो लगाउनुपर्ने हो।”

उनका अनुसार अहिले राष्ट्रपतिका एक मात्र उम्मेदवारका रूपमा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सार्न चाहिरहेका छन्। तर सत्ताको नेतृत्व गरेको माओवादी यसमा सहमत छैन। एमालेमा भावी राष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, युवराज ज्ञवाली र अमृत बोहरालगायतको नाम पनि चर्चामा छ। एमाले स्रोतका अनुसार नेता गुरु बराललाई राष्ट्रपति बनाउन पनि ओलीनिकट नेताहरूले‍ लबिइङ गरिरहेका छन्।

माओवादी पूर्वसहमति कार्यान्वयन गर्नेतर्फ नजाने एमालेले नसोचेको उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन्। “जे सहमति भएको छ त्यो कार्यान्वयन गर्ने नै पहिलो दायित्व हुन्छ। त्योभन्दा अर्को विकल्प तत्काल सोचिएको छैन। दुई अध्यक्षबीच छलफल भइरहेको छ,” उनी भन्छन्। 

पार्टीले कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा केही छलफल भइनसकेको ज्ञवालीले बताए। “अध्यक्षले कुराकानी गरिरहनुभएको छ। औपचारिक रूपमा अध्यक्षलाई छुट्टै जिम्मेवारी दिने भनिएको छैन। आवश्यकता पर्दा बैठक बस्ने भनेको छ। तर अहिलेसम्म केही निर्णय भएको छैन,” उनले भने।  

एमालेका नेताहरू वर्तमान गठबन्धन जसरी पनि तोड्न कांग्रेसले चाहेको बताउँछन्। प्रधानमन्त्रीलाई विश्वासको मत त्यहीकारण दिएको र अहिले राष्ट्रपतिका लागि दाउपेच गरिरहेको उनीहरूको भनाइ छ। “साझा सहमतिको आधारमा सरकार बनेको नै होइन। कांग्रेसले गठबन्धनभित्र अन्तरविरोध चर्काउनका लागि विश्वासको मत दिएको हो,” ज्ञवालीले भने, “गठबन्धन तोड्ने र अस्थिरता निम्त्याउने दाउपेचलाई प्रधानमन्त्री र माओवादीले बुझ्न सक्नुपर्छ। गठबन्धन बनेर संघ, प्रदेशमा सरकार निर्माण भएको छ। यसबारे सबैले सोच्नुपर्छ।”


सम्बन्धित सामग्री