कांग्रेस प्रवक्ता भन्छन्– ‘राष्ट्रपतिमा कांग्रेसलाई सघाए पाँचै वर्ष दाहाल प्रधानमन्त्री’

सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको प्रवक्ता महतको भनाइ छ।

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनमा माओवादीले आफ्नो उम्मेदवारलाई समर्थन गरे पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचै वर्ष प्रधानमन्त्री स्विकार्न तयार रहेको बताएका छन्।

अहिलेको परिवेशमा राष्ट्रपतिका लागि कांग्रेसकै उम्मेदवार सबैभन्दा स्वाभाविक हुने उनको भनाइ छ। “माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि पाँचै वर्ष प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्छ,” शुक्रबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै  उनले भने, “संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो।” 

एमाले नमानिरहेको अवस्थामा संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न उनले आग्रह गरे। “राष्ट्रपति कांग्रेसको हुने वा नहुने भन्ने कुरा गौण हो। तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने कुरा प्रमुख हो,” प्रवक्ता महतले भने।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेकोसमेत आरोप लगाए। सबैभन्दा ठूलो दल बनेर सत्ताबाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको उनको भनाइ थियो।