Friday, April 26, 2024

-->

न्यूजलेटर
२०७९ कात्तिक २९, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २९ मंगलबार

वि आर ऐट बिलियन: विश्व जनसङ्ख्या आजबाट ८ अर्ब

विश्वको जनसङ्ख्या मंगलबार, नोभेम्बर १५ बाट ८ अर्ब पुग्दै उँभो लागेको छ। संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार ११ वर्षको अवधिमा विश्वको जनसङ्ख्या १ अर्ब बढ्दै ८ अर्ब पुगेको छ।

हाल भारतमा जनसङ्ख्या वृद्धिदर संसारकै उच्च रहेको छ। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा  सबैभन्दा धेरै जनसङ्ख्या हुने प्रक्षेपण गरिएको छ। चीनको जनसङ्ख्या १ अर्ब ४५ करोड २४ लाख ४७ हजार ७५१ छ भने भारतको जनसङ्ख्या १ अर्ब ४१ करोड ७१ लाख ७३ हजार १ सय ७३ हो।

सन् १९०० मा विश्व जनसङ्ख्या एक अर्ब ६० करोड थियो भने त्यसको एक शताब्दीपश्चात् सन् २००० तिर ६ अर्ब पुगेको थियो। राष्ट्र सङ्घका अनुसार यो संख्या ९ अर्ब पुग्न १५ वर्ष लाग्न सक्ने भनिएको छ। विश्व जनसंख्याबारे लाइभ तथ्याङ्क यहाँ हेर्न सक्नुहुने छ।

यसका साथै, आज फिलिपिन्सको मनिलामा जन्मिएकी भिनिस् माबानेसाङ्ग जन्मिने बित्तिकै संसारको 'पर्सन् ऐट बिलियन' भएकी थिइन्।

[उकालो विश्लेषण] चुनावी धरातल : कुन दलको स्थिति कस्तो?
राजनीतिक दल तथा उम्मेदवारको चुनावी धरातल निर्माण गर्ने महत्त्वपूर्ण आधार मतदाताको मनोविज्ञान र धारणा नै हो। निर्वाचनका सन्दर्भमा मतदाताको समर्थन कुन दललाई छ भन्ने जनमत मापन गर्न निर्वाचन आचारसंहिताले वर्जित गरेको छ। त्यसको अलावा हामीले हेर्न सक्ने अन्य मापक हुन्- नेपालको परम्परागत राजनीतिक धरातल, विगतका निर्वाचनले देखाएको परिणाम, राजनीतिक गठबन्धन र ध्रुवीकरणको अनुमानित प्रभाव, निर्वाचनका प्रमुख मुद्दा, राजनीतिक दल र मतदाताबीचको सम्बन्धमा आइरहेको परिवर्तन तथा नयाँ प्रतिस्पर्धीहरूको राजनीतिमा प्रवेश।

यसपालिको संघीय निर्वाचन कसले जित्ला? यस निर्वाचनका रोचक पक्ष के-के हुन्? हरेक निर्वाचनअघि सोधिने प्रमुख प्रश्न यिनै हुन्। यी प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा अजय भद्र खनालको विश्लेषण: चुनावी धरातल : कुन दलको स्थिति कस्तो?

निर्वाचनका लागि दुई दिन सार्वजनिक बिदा
नेपाल सरकारले आज एक सूचना प्रकाशित गर्दै निर्वाचनका लागि दुई दिने सार्वजनिक बिदा घोषणा गरेको छ‌। मन्त्रालयको सूचनाअनुसार सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा मंसिर ४ र मंसिर ५ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

यसै प्रकार, मतदान स्थल रहेका शिक्षण संस्था, विद्यालयहरूको हकमा मंसिर २ देखि ५ गतेसम्म बिदा दिइएको छ।

नेका प्रवक्ताले साँधे गगनको दाबीमाथि तीर
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आज न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताएका छन्।

उनको यो बयान नेपाली कांग्रेसका महामन्त्री, काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाप्रति लक्षित थियो। पछिल्लो समयमा थापाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेका छन्, जसको जवाफमा महतले प्रधानमन्त्रीको 'बाजा बजाएर' पार्टीको हित नहुने भनेका का छन्।

"अहिले प्रधानमन्त्री वा दलको नेताका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता म ठान्दिन। कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरे पनि त्यसले पार्टीको पक्षमा माहौल बन्दैन र पार्टीको हित पनि हुँदैन," महतले भनेका थिए

"स्वयं पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ। उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन पर्‍यो त्यो मलाई थाहा छैन", उनले थापा तर्फ इङ्गित गर्दै भने।

ललितपुर-३ मा ओलीको पदयात्रा
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार ललितपुर–३ भैँसेपाटीमा आयोजित पदयात्रामा सहभागी भएका थिए।

उक्त पदयात्रा सञ्चारकर्मी भूषण दाहाललगायतका नागरिक समाजका सदस्यले आयोजना गरेका थिए‌।

कार्यक्रममा ओलीलाई साथ दिन सोही क्षेत्रमा एमाले प्रतिनिधिसभाका उम्मेदवार अमृत खड्का र प्रदेशसभाका उम्मेदवार  प्रेमभक्त महर्जन र प्रेमभक्त महर्जन पनि पुगेका थिए।

एमाले अध्यक्ष ओलीले उक्त क्षेत्रका प्रदेश तथा प्रतिनिधि सभा उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए ।

ललितपुर-३ मा एमालेबाट खड्का उम्मेदवार छन् भने नेकपा माओवादीकी पम्फा भुसाल सत्ता गठबन्धनको उम्मेदवार हुन्। यसै गरी पछिल्लो समयमा निकै चर्चित राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की यही क्षेत्रबाट चुनाव लड्दै छिन्

गण्डकी प्रदेशका थप एक मन्त्री बर्खास्त
गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्ती परेको एक हप्ता पुग्दै गर्दा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई पनि प्रदेश सरकारको मन्त्रिपरिषद्बाट हटाइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेको जानकारीसहित मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गरेका थिए।

कास्की-२ को प्रदेशसभा २ मा उम्मेदवारी दिने तयारीमा रहेका खड्काले टिकट नपाएर कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापाले टिकट पाएका थिए । खड्कामाथि तत्पश्चात् थापालाई हराउन विपक्षी तिर लागेको आरोप लाग्दै आएको थियो।

यसअघि कात्तिक २२ गतेमा मुख्यमन्त्री पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई गोरखामा आफू आबद्ध गठबन्धनका उम्मेदवारविरुद्ध गई नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको आरोपमा बर्खास्त गरिएको थियो‌। 

'राजावादी’ ज्ञानेन्द्रको त्रासमा सत्ता गठबन्धन, ‘क्रस भोटिङ’ रोक्न अनेक ‘प्रपञ्च’
जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीलाई सत्ता गठबन्धनभित्रैबाट धेरै मत जाने ‘माहौल’ देखेपछि गठबन्धनका दल र नेताहरू त्यसलाई रोक्ने रणनीतिमा जुटेका छन्। त्यसका लागि उनीहरू मतदान केन्द्रमा ‘बुथ निगरानी’ गर्नेसम्मको निर्णयमा पुगेका छन्।

पार्टी–संगठनको आधार नभएको राप्रपाका ज्ञानेन्द्र शाहीले ‘हायलकायल’ पारेपछि जुम्लामा सत्ता गठबन्धनका नेताहरू गठबन्धनबाट उनलाई जान सक्ने मत रोक्न केन्द्रित भएका छन्। थप पढ्नुहोस् दिपा दाहालको स्थलगत स्टोरी: 'राजावादी’ ज्ञानेन्द्रको त्रासमा सत्ता गठबन्धन, ‘क्रस भोटिङ’ रोक्न अनेक ‘प्रपञ्च’  

फेरि बढ्यो सुनको भाउ
बहुमूल्य धातु सुनको प्रतितोला मूल्य मंगलबार एक हजार रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २०० रुपैयाँ तोकिएको थियो।

यस महिना मात्र सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको खरिद बिक्री मूल्य यो महिनाकै उच्च बिन्दु हो।   

मंगलबार तेजाबी सुनको प्रतितोला मूल्य ९७ हजार ७०० रुपैयाँ पुगेको छ जसको दर सोमबार ९६ हजार ७०० रुपैयाँ थियो। अर्कोतर्फ, सोमबार प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ।

[उकालो निर्वाचन विशेष] कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित
२०४८ सालको आम निर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनै पनि दललाई निरन्तर रूपमा जिताएको छैन। विस्तृतमा हेर्नुहोस् बीपी अनमोलको रिपोर्ट : कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित


सम्बन्धित सामग्री