लामो समयपश्चात् ‘सामान्य’ चुनाव भएकोमा विपक्षी नेताहरू खुशी छन्। उनीहरूको तर्क छ कि बहकाउका मुद्दाले जीविकोपार्जनका वास्तविक समस्याहरूलाई छायामा पार्न असफल हुँदा सत्तारुढ भारतीय जनता पार्टीलाई पहिलो चरणको मतदानमा ठूलो घाटा पारेको छ।
विपक्षीहरूले विभिन्न राज्यका निर्वाचन क्षेत्रबाट आएका प्रतिक्रियाहरू सकारात्मक रहेको दाबी गरे पनि मोदी सरकार/बीजेपीको 'अवरोधक हस्तक्षेप'को सम्भावनाबाट यिनीहरूलाई डर छ, किनभने सामान्य चुनावले अफिसबाट बाहिरिनेछन् नरेन्द्र मोदी। पहिलो चरणमा मतदाताको कम उपस्थितिलाई कुनै 'लहर नआएको' र मतदाताहरू गहिरो थकानमा रहेको प्रस्ट प्रमाणको रूपमा विश्लेषण गरिएको छ। यो चुनावमा कुनै ‘आकर्षण’ फ्याक्टर छैन, सबैजसो चुनावी भाषणहरूमा हाबी हुने मुद्दाहरूकै प्राय: बोलवाला छ।
चार महिनापहिले मात्र विधानसभा चुनावमा उच्च ७४.६२ प्रतिशत मतदान भएको राजस्थानमा लोकसभा चुनावको पहिलो चरणमा ५७.६५ प्रतिशत मतदान भयो। १७ प्रतिशत गिरावटले लाखौँ मतदाता चुनावबाट टाढा रहेको देखियो। यो ठूलो संख्या हो, जसले अन्तिम अवस्थामा आश्चर्यचकित परिणाम दिलाउन सक्छ। तर कस्ता प्रकारका मतदाताले चुनावमा चासो नलिएका हुन् भन्ने अनुमान गर्न भने गाह्रो छ।
मोदी अपराजय रहेको ठहर गर्दै विपक्षीहरूले हार मानेको निचोड भाजपा नेताहरू निकाल्दै छन् भने विपक्षी नेताहरूचाहिँ षड्यन्त्रपूर्ण रूपमा मुद्दाको विषयान्तर र असान्दर्भिक मुद्दा आधारित मोदी-ब्रान्डको राजनीतिबाट मान्छेहरू दिक्क भइसकेको बताउँछन्, जहाँ जनताका मूल सरोकारका विषयलाई सधैँ पछाडि धकेलिन्छ।
पहिलो चरणको मतदानबारे महाराष्ट्रको विदर्भका एक नेताले भने, “हामी अहिले मोदीविरोधी लहर देखिरहेका छौँ; जनताले चुनाव आफ्नो हातमा लिएका छन्। धेरै गाउँहरूमा आम नागरिकले बीजेपीलाई पाठ सिकाउन बीजेपीविरुद्ध भोट हाल्न मानिसहरूलाई प्रोत्साहित गरेको भेट्टायौँ। नितिन गडकरी स्वयं नागपुरमा संघर्ष गरिरहेका छन्। पाँचमध्ये चार सिट जित्नेमा हामी विश्वस्त छौँ। मोदीले कसरी सामान्य रूपमा चुनाव हुन दिए? यी सबैसँगै, राजनीतिक बहसलाई मोदीले नाटकीय रूपमा अपहरण गर्ने डर पनि थियो, जसरी २०१९ को चुनावमा उनले पुलवामा हमलापश्चात् गरे। अन्य चरणका चुनाव सामान्य भएमा, जनताले दाल र रोटीका मुद्दामा केन्द्रित रहेर मतदान गर्न पाए महाविकास अघाडी (राज्यस्तरको महाराष्ट्रीय विपक्षी गठबन्धन)ले यो चुनावमा 'स्वीप' गर्नेछ। यो चुनावमा भाजपा समर्थकहरू उति उत्प्रेरित छैनन्; अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको भाउ महँगो भएको विषयलाई बेवास्ता गर्दै आफू पक्षधरलाई भोट हाल्न लगाउन मतदातालाई मनाउन सक्दैनन्। बेरोजगारीका कारण युवा आक्रोशित छन्। किसान आक्रान्त छन्। अन्ततः यस्तो लाग्छ कि परिवर्तनको उद्घोष गर्छ जस्तो छ यो चुनावले।”
बिहारको राष्ट्रिय जनता दलका एक नेताले पनि यस पटक चुनाव रोजगारी र बजार भाउजस्ता वास्तविक मुद्दामा लडिएकोले भाजपा बहसलाई आफ्नो पक्षमा पार्न पूर्ण रूपमा असफल रहेको बताए। “अयोध्यामा बनाइएको राम मन्दिरको विषयले चुनावमा असामान्य वातावरण सिर्जना गर्ने प्रयास गरियो, तर त्यसले अपेक्षित परिणाम ल्याउन सकेन। यस पटक त चुनावमा पाकिस्तानको मुद्दा पनि कम छ," उनले बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखे, “पहिलो चरणको चुनावमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भयो। आज मतदान गर्नुहुने सबैलाई धन्यवाद। आजको मतदानबाट उत्कृष्ट प्रतिक्रियाहरू पाइरहेको छु। यो स्पष्ट छ कि भारतभरका मानिसले एनडीएलाई अहिलेसम्मकै धेरै संख्यामा मतदान गरिरहेका छन्।”
तर कांग्रेसका सञ्चार प्रमुख जयराम रमेशले अहिलेको मतदानको ढाँचाबारे प्रतिक्रिया दिँदै भने, "भाजपाको ग्राफ: दक्षिणमा सफा, उत्तरमा आधा! पहिलो चरणको मतदानपछि हामीलाई के थाहा भयो भने: १. पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान भएको थियो। ग्राउन्ड रिपोर्टहरूले स्पष्ट देखाउँछ कि विपक्षी इन्डिया गठबन्धन भाजपाभन्दा धेरैअगाडि छ। हामीले तमिलनाडु र महाराष्ट्रमा पूर्ण रूपमा जितेका छौँ। बिहार, राजस्थान र उत्तर प्रदेशमा बलियो प्रदर्शन गरेका छौँ। २. आफ्ना प्रमुख राज्यमा बीजेपीको प्रदर्शन उल्लेखनीय रूपमा कमजोर छ। यो 'ट्रेन्ड'का कारण भाजपा नेतृत्व त्रस्त छ- प्रधानमन्त्रीको ट्विट तिनको शिविरमा छाएको निराशाको संकेत हो। ३. आफूहरूले यस पटक कडा परिश्रम गर्नुपर्नेछ भनेर भाजपाका उम्मेदवारहरूले खुलेआम स्वीकारेका छन् किनभने यस पटकको चुनावमा 'मोदी हावा' चलेको छैन। ४. आफ्नो चुनावी भाषण र अन्तर्वार्तामा प्रधानमन्त्री मोदी प्रेरणादायक देखिएका छैनन्। इन्डिया गठबन्धनविरुद्ध उनको आक्रमण थकानपूर्ण र कमजोर देखिन्छन्। र प्रायः बेतुकाका कुरा गरिरहेका हुन्छन्। मोदीले निर्वाचनको अजेन्डा नै तय गर्न सकेका छैनन्। ‘चार सयमाथि’ र संविधान संशोधनको उनको बहसले उल्टै 'ब्याकफायर' गरेको छ। जबकि हाम्रा राज्य सरकारको राम्रो प्रदर्शनहरूको बलमा कांग्रेसले दिएका ग्यारेन्टीहरूले देशभरि आकर्षण पैदा गर्दै छ। 'अन्डरकरेन्ट' बलियो हुँदैछ। अहिले एउटा लहर चलिरहेको छ!”
चुनावी परिणाम घोषणा नभएसम्म दाबी र प्रतिदाबीहरू जारी रहनेछन्। तर मतदाताहरू थाकेको र चुनावप्रति आम रुचि घटेको संकेतहरू देखिएका छन्। राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा एक मध्यमवर्गीय समुदायमा बीजेपी नेता सहभागी हुने भेलामा आउन गरिएको अनुरोधले उदासीन प्रतिक्रिया देखायो। अयोध्यामा २२ जनवरीमा भएको राम मन्दिरको अचम्मको राजनीतिक-धार्मिक उन्मादको साक्षी रहेका, अभेद्य किल्लाका रूपमा प्रस्तुत हुने मोदी भक्तहरूको यस पटक कुनै पनि चुनावी बहसहरूमा चासो देखिएन।
केही कट्टर भाजपा समर्थकहरूले यस पटक व्हाट्सएप ग्रुपहरूमा यस्तो सन्देशसमेत पोस्ट गरे: ‘यस पटक, नोटा (चुनावमा 'नन् अफ द अबोभ' अर्थात् कसैलाई पनि भोट दिन्नँ भन्दै मतदाताले दाब्ने 'बटन') उत्तम विकल्प हो।’
त्यस्ता असामान्य प्रतिक्रियाहरूले जिज्ञासा उत्पन्न गर्दैगर्दा, यस रिपोर्टरले चिनजानका एक भाजपा कार्यकर्तासँग सोधपुछ गर्दा उनले यसो भने, “यस पटक कुनै उत्साह छैन। जनतामा आक्रोश सिर्जना गर्ने प्रमुख विषय मूल्यवृद्धि भए पनि बेरोजगारी र आम्दानीको गतिरोधले सबैलाई सताएको छ। स्थानीय पूर्वाधारका समस्या पनि वर्षौंदेखि सम्बोधन हुन सकेका छैनन्। जनताका मूल सरोकारहरू सम्बोधन नगर्ने राजनीतिको व्यर्थता बुझ्न १० वर्ष आफैमा लामो समय हो। त्यसो हुँदा, यसपटक भाजपाका लागि आफ्ना समर्थकलाई मतदान केन्द्रमा तान्न निकै कठिन हुनेछ। समर्थकहरूले आफ्नो बफादारी बदलेका छैनन् तर उनीहरू यस पटक मोदीको लागि लड्न उत्प्रेरित छैनन्।”
यही कुरा विपक्षी नेताहरूसमेत भनिरहेका छन्।
(वायरडटआइएनमा प्रकाशित झाको लेखको भावानुवाद। संजय के. झा पत्रकार र विश्लेषक हुन्।)