Sunday, May 05, 2024

-->

‘राजावादी’ ज्ञानेन्द्रको त्रासमा सत्तागठबन्धन, ‘क्रस भोटिङ’ रोक्न अनेक ‘प्रपञ्च’

पार्टी–संगठनको आधार नभएको राप्रपाका ज्ञानेन्द्र शाहीले ‘हायलकायल’ पारेपछि जुम्लामा सत्तागठबन्धनका नेताहरू गठबन्धनबाट उनलाई जानसक्ने मत रोक्न केन्द्रित भएका छन्।

‘राजावादी’ ज्ञानेन्द्रको त्रासमा सत्तागठबन्धन ‘क्रस भोटिङ’ रोक्न अनेक ‘प्रपञ्च’

खलंगा, जुम्ला– जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीलाई सत्तागठबन्धनभित्रैबाट धेरै मत जाने ‘माहोल’ देखेपछि गठबन्धनका दल र नेताहरू त्यसलाई रोक्ने रणनीतिमा जुटेका छन्। त्यसका लागि उनीहरू मतदान केन्द्रमा ‘बुथ निगरानी’ गर्नेसम्मको निर्णयमा पुगेका छन्।

पार्टीगत हिसाबले राप्रपाको प्रभाव नभएपनि ज्ञानेन्द्रले आश्चर्यजनक रूपमा आफ्नो पक्षमा ‘माहोल’ बनाउँदै गएपछि झस्केका गठबन्धनका नेताहरूले त्यसलाई रोक्ने रणनीतिमा आफूलाई केन्द्रित गरेका हुन्। सदरमुकाम खलंगामा रहेको चन्दननाथ नगरपालिकादेखि विकट गाउँपालिकासम्म मतदाताहरू, त्यसमा पनि कांग्रेस र माओवादीकै कार्यकर्ताहरू पनि ज्ञानेन्द्रको पक्षमा लाग्न थालेपछि गठबन्धनका दलहरूले आइतबार र सोमबार ‘आपतकालीन बैठक’ गरेर त्यसलाई रोक्ने रणनीति बनाएका हुन्।

जुम्लाबाट गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर उम्मेदवार छिन्। नेपाली कांग्रेसका जिल्ला तहका एक नेताले भने, “यहाँ कांग्रेस र माओवादीको गठबन्धनलाई रुचाइएको छैन। आम मतदाताको त खास कुरा भएन, गठबन्धनमा रहेका दलका नेताकार्यकर्ता नै ज्ञानेन्द्रलाई मत दिने भनेर खुल्न थालेपछि त्यसलाई रोक्ने तयारी भएको हो।” 

आइतबार र सोमबार खलंगाको एक होटलमा बसेको सत्तागठबन्धनका नेताहरूको बैठकले गठबन्धनका दलबाट ‘क्रस’ भएर ज्ञानेन्द्रलाई जानसक्ने मत रोक्न मतदानका दिन मतदानस्थलमा माओवादी र कांग्रेस समर्थित एक–एकजना मतदातालाई नाम टिपेर पठाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। “आफ्नै उम्मेदवार हराउन क्रस भोटिङ हुने सम्भावना निकै बढेको देखिएपछि बुथमै निगरानी गर्न यस्तो निर्णय गरिएको हो”, उनले भने। 

त्यसका लागि सुरक्षा निकायको समेत साथ लिने निर्णय भएको उल्लेख गर्दै ती नेताले भने, “जे-जे गर्न सकिन्छ गर्ने भन्ने भएको छ।”‍

मतदातामाथि निगरानी, उम्मेदवारलाई ‘काउन्टर’
‘अभियन्ता’का रूपमा चिनिएका र बेलाबेला विवादमा आइरहने ज्ञानेन्द्र यसपालि निर्वाचनको मिति घोषणा भएसँगै प्रत्यक्ष निर्वाचन लड्न जुम्ला पुगेका थिए। जुम्लाको सिञ्जा गाउँपालिकाका बासिन्दा ज्ञानेन्द्रको यो घोषणालाई धेरैले चर्चामा आउने उपायका रूपमा मात्र लिएका थिए।

त्यसको कारण थियो। त्यो कारण के भने स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा जुम्लामा राप्रपाको मत झिनो थियो। वडाध्यक्षहरूको मत हेर्दा कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२, एकीकृत समाजवादीको ६ हजार १९५ मत छ। राप्रपाको भने ५५४ मत मात्र छ। सत्ता गठबन्धनको कूल मत नै यहाँ ३६ हजार ४४५ देखिन्छ।

तर, मतदानको मिति नजिकिँदै जाँदा ज्ञानेन्द्रको पक्षमा मतदाता मात्र होइन, सत्तागठबन्धन दलकै कार्यकर्तासमेत खुल्न थाले। उनको आक्रामक प्रचारसामु अरूको उपस्थिति कमजोर देखिन थाल्यो। त्यसबाटै झस्किएका गठबन्धनका दल र नेताहरू गठबन्धनको मत जोगाउने उपायमा केन्द्रित भएका हुन्।

ज्ञानेन्द्रले जहाँजहाँ चुनावी सभा गरे, गठबन्धनले उनीपछि त्यही ठाउँमा सभा गरिरहेको छ। सोमबार ज्ञानेन्द्रले खलंगामा चुनावीसभा गरेको भोलिपल्ट, मंगलबार त्यही ठाउँमा सत्ता गठबन्धनले आफ्ना उम्मेदवार कुँवरलाई जिताउन सभा गरेको छ। केही समयअघि हेलिकप्टर चढेर जुम्ला आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले त यहाँ आयोजित आमसभामा ज्ञानेन्द्रविरुद्ध नै चर्को भाषण गरेका थिए। त्यो सभामा दाहालले उनलाई ‘भूतप्रेत ब्युँताउन’खोजेको टिप्पणी गरेका थिए। 

यो पनि: सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’

स्थानीय निर्वाचनको मत हेरेर आफूलाई चुनौतीविहीन ठानेको सत्तागठबन्धन जुम्लामा ज्ञानेन्द्र ‘माहोल’बाट त्रस्त बनेपनि यसको कारण भने गठबन्धनभित्रै जोडिएको छ। पहिलो कारण उम्मेदवारी चयनसँग जोडिन्छ। जुम्लाका कांग्रेस नेताहरू गठबन्धनमा भागबण्डा हुँदा जुम्ला कांग्रेसको भागमा पर्नुपर्ने अडानमा थिए। तर, गठबन्धनमा यो माओवादीको भागमा पर्‍यो। माओवादीको भागमा पर्दा माओवादीभित्रका धेरैको चाहना नरेश भण्डारीलाई अगाडि सार्ने थियो। तर, माओवादी अध्यक्ष दाहालले पार्टीभित्रको समीकरण मिलाउन गोमा गौतम कुँवरलाई टिकट दिएपछि माओवादीको एउटा पंक्ति नै असन्तुष्ट बन्यो। 

प्रदेशसभाको उम्मेदवारी झन् विवादमा पर्‍यो। प्रदेशसभा ‘क’मा गठबन्धनबाट कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसकै बागी उम्मेदवार खडा भएका छन् भने प्रदेशसभा ‘ख’मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध पनि कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ। गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीभित्रको यो भद्रगोलले पनि ज्ञानेन्द्रको पक्षमा माहोल बनाउन सघाएको जुम्ला कांग्रेसका एक नेता बताउँछन्।

ज्ञानेन्द्रको आक्रामक प्रचारले पनि कतिपयलाई ‘पुराना पार्टी र पुरानै नेताको साटो नयाँलाई छान्ने’ मनस्थिति बनाउन सघाएको देखिन्छ। “ज्ञानेन्द्र क्षमतावान् वा लोकप्रिय भएर माहोल बनेको होइन, सत्तागठबन्धनका कारण यस्तो भएको हो”, ती नेताले भने, “यहाँ गठबन्धन नगरी आएको भए ज्ञानेन्द्र ठूला दलहरूका लागि चुनौती नै बन्ने थिएनन्। अब ठूला दलकै कार्यकर्ताको मतसमेत जोगाउन गाह्रो पर्ने देखिएपछि अनेकथोक गर्नुपर्ने अवस्था आयो।”

सत्तागठबन्धनका नेताहरू भने यसलाई ‘अफवाह’ मात्र भएको दाबी गर्छन्। “हामीले ज्ञानेन्द्र शाहीलाई प्रतिस्पर्धी नै ठानेका छैनौँ भने उनीविरुद्ध षडयन्त्र गरेको भन्ने कुरै भएन। चुनावमा हामीले जे भन्यो त्यही हुने पनि होइन। चुनावको आफ्नो नियम छ, विधि छ, प्रक्रिया छ। यो अनावश्यक आरोप मात्रै हो”, सत्तागठबन्धनबाट माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार कुँवरले भनिन्। उनले ज्ञानेन्द्रको ‘राजतन्त्र ब्युँताउने’ नाराले मतदातालाई झुक्याएको दाबी गरिन्। 

एमालेबाट जुम्लामा रतननाथ योगी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। एमालेका एक जिल्ला नेताले ज्ञानेन्द्रको व्यक्तिगत माहोल राम्रो देखिएपनि राप्रपाको संगठन खासै नभएको देखेर सत्तागठबन्धनले मतदानका दिन अनेक षडयन्त्र गर्ने योजना बनाएको आरोप लगाए। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने मतदान प्रभावित गर्ने कुनै पनि गतिविधि गर्न नदिइने दाबी गरे। उनले भने, “निर्वाचन अधिकृत, सुरक्षा निकायलगायतलाई प्रभावित पार्ने, नाम टिपेर मत हाल्न लगाउने, परिचयपत्र संकलन गरेर आफैँ मत हाल्ने, बुथ कब्जा गर्ने जस्ता कुनै पनि गतिविधि कानूनविपरीत छन्। जुम्लामा अब हाम्रो विशेष निगरानी हुनेछ।”


सम्बन्धित सामग्री