Saturday, April 20, 2024

-->

कैलाली-१ : सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित

२०४८ सालको आम निर्वाचनदेखि २०७४ को पछिल्लो निर्वाचनसम्म नयाँ अनुहारलाई विजयी गराउँदै आएको कैलाली-१ ले हालसम्म कुनैपनि दललाई निरन्तर रूपमा जिताएको छैन।

कैलाली-१  सातौँपटक पनि नयाँ अनुहार जिताउने निश्चित

टीकापुर– कैलालीको पूर्वी क्षेत्रमा पर्ने टीकापुर सदरमुकाम धनगढीपछिको दोस्रो ठूलो शहर हो। यो शहर निर्वाचन क्षेत्र नं. १ मा पर्छ। 

यस क्षेत्रले खडकबहादुर सिंहदेखि थुप्रै नेताहरू जन्माएको छ। सिंह नै टीकापुर बस्तीको परिकल्पनाकार रहेको यहाँका जानकारहरू बताउँछन्। तर, त्यसपछि टीकापुरले विकासवादी नेता पाउन नसकेको स्थानीयको गुनासो छ। सिंह पञ्चायतकालमा विभिन्न उच्च ओहोदामा पुगेका थिए।

“खडकबहादुर सिंहपछि आएका नेतृत्व फिका पर्नुभयो, स्थापित हुन सक्नुभएन”, टीकापुरका नागरिक अगुवा भीमलाल चपाईं भन्छन्, “यस क्षेत्रका योजना दिगो रूपमा अगाडि बढाउन कसैले पनि सकेन।”

कैलाली-१ को अहिलेसम्मको विशेषता: भनेको हरेक आमनिर्वाचनमा नयाँ अनुहार विजयी गराउँदै आएको छ। एकपटक विजय भएका उम्मेदवार अर्को चुनावमा दोहोरिएका छैनन्। कुनै पनि राजनीतिक दलले लगातार चुनाव जितेको इतिहास पनि छैन। 

२०४८ सालको निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका गंगाबहादुर कुँवर निर्वाचित भएका थिए। त्यहाँका कांग्रेसले ‘सबै कांग्रेस नेपाली, सबै नेपाली कांग्रेस’ भन्ने नारा लगाएका थिए। कुँवर त्यसपछिका कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पाएनन्। पछि उनले टीकापुर विकास समितिको अध्यक्ष र टीकापुर बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य भएर काम गरे।

२०५१ सालकाे निर्वाचनमा बैंकिङ क्षेत्रमा रहेका हिमाञ्चलराज भट्टराई एमाले उम्मदेवार थिए। उनलाई जिताएर पठाए पनि विकासका काममा ध्यान नदिएको स्थानीयको आरोप छ। त्यतिबेला कांग्रेसबाट बागी उम्मेदवारी परेको कारणले पनि उनलाई जित हासिल गर्न सहज भएको थियो। 

२०५६ सालको आमनिर्वाचनमा यस क्षेत्रका मतदाताले कांग्रेसकी उम्मेदवार सुशीला स्वाँरलाई जिताए। कैलाली बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा रहेकै बेला उनी चुनाव लडेकी थिइन्। कांग्रेसका वर्तमान पार्टी सभापति शेरबहादुर देउवासँग उनको सम्बन्ध राम्रो थियो। त्यसै कारण टिकट पाइन् र चुनाव जितिन्। तर, उनले पनि यस क्षेत्रको विकासमा ध्यान नदिएको टीकापुरका नागरिक अगुवा चपाईं बताउँछन्। सांसद भइसकेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी समाजकल्याण राज्यमन्त्रीसमेत बनेकी थिइन्।

२०४८ मा कांग्रेसबाट चुनाव जितेका कुँवर र २०५६ मा चुनाव जितेकी स्वाँरको पार्टीमा अहिले कुनै भूमिका छैन। कांग्रेस टीकापुरका एक नेता अहिले कुँवर र स्वाँर दुवैलाई पार्टीले वडामा प्रतिनिधिसमेत बनाउन नसक्ने अवस्था रहेको बताउँछन्। 

२०६४ सालको संविधानसभा निर्वाचनमा देशभर नेकपा माओवादीको पक्षमा जनलहर थियो। थारू बाहुल्य क्षेत्र रहेको कैलाली-१ मा नेकपा माओवादीले रूपा चौधरीलाई उम्मेदवार बनाएको थियो। सो क्षेत्रबाट उनी नै निर्वाचित भइन्। 

तर, उनले पनि यस क्षेत्रको विकासमा योगदान गर्न नसकेको स्थानीय बताउँछन्। संविधानसभा सदस्य भइसकेपछि उनी प्रायः काठमाडौँतिर नै बसिन्। त्यो बेला नेकपा माओवादी केन्द्रले मत माग्दा थारू समुदायमा ‘लाबा झुला’ (नयाँ लुगा अर्थात् नयाँलाई चुनौँ) भन्ने नारा अघि सारेर मत मागेको थियो। संविधानसभाको निर्वाचन अघिको अन्तरिम संसद्‌मा पनि उनी नेकपा माओवादी केन्द्रबाट सांसद बनेकी थिइन्। 

२०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा थारू समुदायकै मतले मधेशी जनअधिकार फोरम, लोकतान्त्रिकबाट जनकराज चौधरी निर्वाचित भए। वीरेन्द्र विद्या मन्दिरमा प्राध्यापन पेशामा रहेका चौधरीले राजीनामा दिएर चुनाव लडेका थिए। रामजनम चौधरीको बहिनी ज्वाइँ भएकै कारण विजयकुमार गच्छदारको नेतृत्वको पार्टीबाट उनले टिकट पाएका थिए। तत्कालीन फोरम लोकतान्त्रिकले पनि चुनावमा जातीय धुव्रीकरणलाई मुद्दा बनाएको थियो। जसका कारण उनले चुनाव जितेका थिए। “पहाडी समुदायको व्यक्ति भन्दा थारूकै नेता चुन्नुपर्छ भनेर भाष्य स्थापित गरियो”, एमालेका एक स्थानीय नेता भन्छन्, “यहाँ थारू समुदायको बाहुल्यता धेरै रहेकाले प्रत्येक निर्वाचनमा दलहरूले थारू समुदायलाई नै आश्वासन दिएर चुनाव जित्ने गरेका छन्।”

चौधरी देउवा नेतृत्वको सरकारमा २०७४ जेठ २४ मा गठित मन्त्रिपरिषद्‌मा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए। प्राकृतिक स्रोत साधन समितिको सभापति भएका उनले पनि जितिसकेपछि यहाँको विकासमा ध्यान नदिएको टीकापुरका स्थानीय फिरुलाल चौधरी बताउँछन्। कांग्रेस प्रदेश उपसभापति रहेका चौधरीले अहिलेको निर्वाचनमा टिकट नै पाएनन्। २०७४ मा उनी सुदूरपश्चिम प्रदेशसभामा चुनाव लड्दा ३ हजार मत समेत कटाउन सकेनन्। 

२०७४ मा तत्कालीन राजपाबाट भूमिगत भएकै अवस्थामा टीकापुर घटनामा फरार रहेका रेशम चौधरी चुनाव लडे। विपक्षीलाई ठूलो मतान्तरले पराजित गरेर उनले चुनाव पनि जिते। उनले आफ्नो सबै प्रतिस्पर्धीले ल्याएको मतभन्दा दोब्बर बढी मत ल्याएका थिए। चुनाव जिते पनि उनी संसद्‌मा सहभागी हुन पाएनन्। यद्यपि, उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले शपथ गराएका थिए। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशले उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन्। उनले चुनाव जिते पनि जनप्रतिनिधिका रूपमा काम गर्न पाएनन्।  

२०४८ देखि २०७४ सम्म भएका ६ वटै निर्वाचनमा यस क्षेत्रका मतदाताले सधैँ नयाँ अनुहारलाई नै निर्वाचित गराउँदै आएका छन्। कैलाली टीकापुरमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका एकिन्द्र तिमिल्सेना यहाँ कुनै पनि पार्टीले अहिलेसम्म उम्मेदवार पनि नदोहोर्‍याएको र निरन्तर कुनै पार्टीले जित्न पनि नसकेको बताउँछन्। “लगातार पार्टीले जितेको छैन। प्रत्येक निर्वाचनमा नयाँ अनुहारलाई निर्वाचित गराउँदै आएको छ”, उनी भन्छन्, “आसन्न निर्वाचनमा कस्तो परिणाम आउँछ भन्ने अहिले नै यकिन भन्न सकिने अवस्था छैन।”

यसपटक उम्मेदवार भएका सत्ता र विपक्षी गठबन्धनका उम्मेदवार पनि यस क्षेत्रका लागि नयाँ छन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरी यसअघि कैलालीकै अन्य क्षेत्रबाट सांसद भएको भए पनि यस क्षेत्रमा पहिलोपटक उम्मेदवार भएका हुन्। एमालेका तपेन्द्र रावल पहिलोपटक उम्मेदवार भएका छन्। यस क्षेत्रमा बलियो देखिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि संसदीय निर्वाचनमा पहिलोपटक उम्मेदवार भएकी हुन्।

कैलाली-१ मा टीकापुर नगरपालिका ९ वडा, भजनी नगरपालिकाको ६ र ७ वडा, जोशीपुर गाउँपालिकाका ७ वडा, जानकी गाउँपालिकाको १, ३, ४, ६ र ७ नम्बर वडा पर्छन्। यस क्षेत्रमा निर्णायक थारू समुदायकै मत छ। त्यस्तै देशका अन्य जिल्लाका विभिन्न समुदायका मानिसहरूको पनि बसोबास छ।

“जति पनि निर्वाचित भएर गए उनले यस क्षेत्रको विकासमा ध्यान दिन सकेनन्। कोही भ्रष्टाचारमा मुछिए, कोही अनेक गतिविधिमा संलग्न भए। अर्को खडकबहादुर सिंह त्यस्तो नेता जन्मन सकेन”, नागरिक अगुवा चपाईले भने, “अनि बाध्य भएर जनताले नयाँलाई परीक्षण गर्दै आएका हुन्।” 

स्थानीय फिरुलाल चौधरी यस क्षेत्रबाट चुनाव जितेर जानेहरूले यहाँको विकास निर्माणमा ध्यान दिन नसकेका कारण नयाँ अनुहारले जित्दै आएको बताउँछन्। “जनताले विकास र परिवर्तन खोजिरहेको हुन्छ। तर, जुन अनुहार आएपनि यहाँको विकास र परिवर्तन हुन सकिरहेको छैन”, उनी भन्छन्, “त्यसबाहेक यहाँ हुने जातीय र भेगीय राजनीतिले पनि नतिजामा फरक पर्ने गरेको छ।”

गएको स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रका पालिका नागरिक उन्मुक्ति पार्टीले जित निकालेकाले उसको बलियो उपस्थिति देखिएको छ। नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभामा श्रेष्ठबाहेक प्रदेशसभा ‘क’ मा कैलाश चौधरी र ‘ख’मा लक्ष्मण किशोर चौधरी उम्मेदवार छन्। 

सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा रामजनम चौधरी, प्रदेशसभा ‘क’मा दीर्घराज विनाडी र ‘ख’मा डा. रणबहादुर रावल उम्मेदवार छन्। एमालेबाट प्रतिनिधिसभामा तपेन्द्र रावल र प्रदेशसभा ‘क’ मा भगतराम चौधरी र ‘ख’ मा द्वारिका न्यौपाने उम्मेदवार छन्। कैलाली-१ मा १ लाख ६ हजार मतदाता छन्।


सम्बन्धित सामग्री