Thursday, April 25, 2024

-->

न्यूजलेटर
२०७९ फागुन १२, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन १२ शुक्रबार

राष्ट्रपति निर्वाचन आउँदो फागुन २५ गते हुँदैछ। भोलि फाल्गुन १३, दलहरूले राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता गर्न तोकिएको मिति। मनोनयनका लागि २४ घण्टाभन्दा कम समय बाँकी हुँदा शुक्रबार साँझतिर चार दलबाट शुरू भएको बैठकमा अरू चार साना दलहरूको प्रवेश भएपछि बल्ल देशले मनोनयन-प्रक्रियाको सकसबाट फुर्सद पाएको छ। यही आठ-दलीय बैठकले राष्ट्रपतिमा संसद्को ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

यस अगाडिका दुई राष्ट्रपति निर्वाचनहरूमा २४ घण्टा अगाडि नै उम्मेदवार मात्र होइन, सर्वोच्च कार्यकारी पदमा को आसीन हुँदैछ भनेर लगभग निर्क्योल भइसक्थ्यो। यसपालिको राष्ट्रपति निर्वाचन राष्ट्रिय-अन्तर्राष्ट्रिय चासोका मध्ये  संघीय सरकार गठनभन्दा पेचिलो भएको छ। यस वरिपरिका घटना परिघटनाहरू प्रधानमन्त्रीको चयनको दौरभन्दा बढी चर्चामा रहे।

विकसित घटनाक्रमलाई मध्यनजर राख्दा रातभरिमा अग्राख नपलाए ओली-देउवाबीच 'जुँगाको लडाइँ' बन्न पुगेको यो नियमित राजनीतिक प्रक्रियामा हिजोसम्म ओलीले दबदबा राखे पनि, आज आठ दलले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने भएपछि देउवाको पल्ला भारी भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। सविस्तार  : राष्ट्रपतिमा कांग्रेसलाई सघाउने दलको निर्णय

बालुवाटार निर्णयबारे एमालेको प्रतिक्रिया:  अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न
बालुवाटारमा भएको आठ दलको निर्णयलाई नेकपा एमालेले देशलाई अस्थिरतातर्फ धकेल्ने र सार्वभौमिकता कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गरेको छ। उकालोलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्छन्, “देश अस्थिरतातिर लैजाने निर्णय हो। किन भने एउटा कोर्स मिलेर अगाडि बढिरहेका बेला दुई महिनामै एउटा कोर्स बनाउने एउटा कोर्स भत्काउने हिजोका प्रतिस्पर्धीलाई मित्र बनाउने हिजोका मित्रहरूलाई शत्रु बनाउने कुराले मुलुकलाई अस्थिरतातिर धकेल्ने काम गरेको छ।"

आठ दलको निर्णयमा बाह्य शक्तिको प्रभाव देखिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीबाट आत्मनिर्णय र सार्वभौम अधिकार झन् कमजोर बनाउने गलत थालनी भएको प्रतिक्रिया दिए।

हेर्नुहोस् २४ घण्टामा यही सन्दर्भमा हेड्लाइन बनेका खबरहर:
माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति, के गर्ला कांग्रेस?
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल अब राष्ट्रपतिमा बलियो उम्मेदवारका रूपमा खडा हुने परिस्थिति विकास भएको छ। तर, एमालेबाट होइन।

आश्चर्यजनक रूपमा त्यसको पहलकदमी प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले लिन खोजेको देखिन्छ, त्यो पनि एमालेइतरको गठबन्धन बनाएर। बिहीबार साँझ बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठकले तीन पार्टीको भिन्नै मोर्चा बनाउने र त्यही मोर्चाबाट नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गर्ने सहमति गरेको छ।

सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको हो। माओवादीसहितका तीन दलले शुक्रबार बस्ने कांग्रेससहितको बैठकमा नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने जनाएका छन्। यसबारे थप : माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति, के गर्ला कांग्रेस?

कांग्रेससहित ४ दलको संयुक्त बैठक बालुवाटारमा जारी
प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको संयुक्त बैठक शुरू भएको छ। राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक शुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ

कांग्रेसलाई प्रचण्डको प्रस्ताव– माधवजीलाई राष्ट्रपति बनाएर जाऔँ
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउन नेपाली कांग्रेससमक्ष औपचारिक प्रस्ताव गरेका छन्।

शुक्रबार बिहान बालुवाटारमा बसेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठकमा दाहालले यस्तो प्रस्ताव गरेका हुन्। कांग्रेसले भने राष्ट्रपति कांग्रेसबाटै हुनुपर्ने अडान राखेको थियो।

बिहीबार साँझ सिंहदरबारमा बसेको माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठकले नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा अगाडि सार्ने सहमति गर्दै शुक्रबार कांग्रेससँगको बैठक यसलाई प्रस्तावका रूपमा लैजाने निर्णय गरेको थियो। सोहीअनुसार शुक्रबारको बैठकमा दाहालले यो प्रस्ताव गरेका हुन्। यसबारे थप : कांग्रेसलाई प्रचण्डको प्रस्ताव– माधवजीलाई राष्ट्रपति बनाएर जाऔँ

राष्ट्रपतिको उम्मेदवार तय गर्नबाट किन रोकियो कांग्रेस?
नेपाली कांग्रेसले बिहीबार कार्यसम्पादन समितिको बैठक राखेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने नेताहरूले बुधबार नै जानकारी गराएका थिए। कांग्रेसले बिहीबार राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउने संकेत पाएपछि कांग्रेसका पदाधिकारीहरूसँग बुधबार राति बालुवाटारमा गरेको छलफलका क्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपतिमा कांग्रेसलाई सघाउनेबारे आफ्नो पार्टीबाट औपचारिक निर्णय हुने बताएका थिए।

बुधबार रातिको त्यो छलफलपछि निर्वाचनअघिको गठबन्धन ब्युँताउने समझदारी बनेको नेताहरूको दाबी थियो।

कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार रूपमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा चर्चा भइरहेको छ। पछिल्लो समय भने त्यसमा सभापति शेरबहादुर देउवाको समेत नाम थपिएको छ। तर, कांग्रेसले उम्मेदवार नै टुंगो लगाउन किन सकिरहेको छैन? यसबारे थप  : राष्ट्रपतिको उम्मेदवार तय गर्नबाट किन रोकियो कांग्रेस?

कांग्रेसमाओवादीसहितका चार दलको बैठकबाट राष्ट्रपति उम्मेदवार तय भएन, पाँच बजे अर्को बैठक
राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने भन्दै बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बिहानदेखि तीन घण्टा बढी चलेको बैठक विनानिष्कर्ष टुंगिएको हो। यसबारे थप :  पाँच बजे अर्को बैठक

दाहालसँग दुई घण्टा लामो वार्ता सकेर ओली बाहिरिए, बालुवाटारमा चार दलको बैठक जारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग वार्ता गरेर बालुवाटारबाट फर्किएका छन्। संसद् भवनबाट सोझै प्रधानमन्त्री दाहालसँग वार्ता गर्न ओली बालुवाटार पुगेका थिए।

ओली र दाहालबीच दुई घण्टा लामो वार्ता भएको छ। वार्तामा के–के विषयमा छलफल भयो भन्ने सार्वजनिक भइसकेको छैन। बालुवाटार स्रोतले भने वार्ता निष्कर्षविहीन सकिएको बताएको छ।

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, भोलि मनोनयन दर्ता हुन्छः ओली
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार उठाउने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : प्रकाशशरण महत
नेपाली कांग्रेसका सांसद एवं प्रवक्ता डा. प्रकाशशरण महतले चार दलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउन सकारात्मक रहेको बताएका छन्।

शुक्रबार संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहाल कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन्। सांसद महतले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने अपेक्षा राखेको बताए।

पुरानो गठबन्धन ब्युँताउन बसिरहेको चार दलको बैठकमा साना तीन दल थपिए
सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बालुवाटारमा जारी रहँदा अन्य साना तीन दल पनि मिसिएका छन्।

राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच भइरहेको छलफलमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी पनि मिसिएका हुन्।

राष्ट्रपति निर्वाचनबाट केही क्षण विश्राम लिँदै हेरौँ आज देश-विदेशमा के-कस्ता खबर चर्चामा रहे 

विचार : ‘माफियातन्त्रको झल्को दिने राजनीति
अहिलेका पार्टीहरू पार्टीजस्ता छैनन्, माफियाजस्ता भइसके र तिनका नेतृत्व माफियाका सरदारजस्ता छन्। यो सबैमा देश भने झन‍्भन्दा झन् बढी थिलथिलो बनिरहेछ। 

पढ्नुहोस् 'मफिया' शैलीमा चलिराखेको नेपाली राजनीतिबारे हेमन्त मल्लको लेख :   माफियातन्त्रको झल्को दिने राजनीति           

हात्ती मारिनुबारे अध्ययन कार्यदलको निष्कर्ष : वनको संयन्त्रले मानव-वन्यजन्तु द्वन्द्व रोक्न सक्दैन

पछिल्लो पाँच महिनामा झापा, सुनसरी र उदयपुरमा पाँच हात्ती मारिएपछि वन मन्त्रालयले बनाएको अध्ययन कार्यदलले मान्छे र हात्तीबीचको द्वन्द्व रोक्न सरकारी संयन्त्र नै असफल भएको निष्कर्ष निकालेको छ । मुकेश पोखरेलको बिस्तृत रिपोर्ट : वनको संयन्त्रले मानव-वन्यजन्तु द्वन्द्व रोक्न सक्दैन

श्रीलंकाको कर्जा संकट छिमेकी देशका आर्थिक समस्या
नेपालको अर्थतन्त्र चलायमान राख्न मध्यपूर्वको मरुभूमि र मलेसियाको जंगलमा परिश्रम गर्ने हाम्रा पुरुष र महिलाहरूलाई सबैले कृतज्ञता र धन्यवाद व्यक्त गर्नुपर्छ। समीर खतिवडाको टिप्पणी : श्रीलंकाको कर्जा संकट र छिमेकी देशका आर्थिक समस्या

दिलीप हत्याका दोषीलाई २५ वर्ष कैद, पीडित परिवारलाई लाख क्षतिपूर्ति दिन आदेश
धनुषा जिल्ला अदालतले अवैध उत्खननको विरोध गरेका दिलीप महतोको हत्यामा संलग्न मुख्य अभियुक्त विपिन महतो, मुनीन्द्र महतोलाई २५ वर्ष कैद र पीडित परिवारलाई पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ।

रुसयुक्रेन युद्धको वर्ष : चुलिँदै मानवीय संकट, युद्ध थप लम्बिने संकेत
शुक्रबार रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको एक वर्ष पूरा भएको छ। ठूलो जनधनको क्षतिसँगै निरन्तर युद्धमा रहेका यी दुई देशबीचको तनाव एकवर्षमा कम हुनुको साटो झनै बढेको तथा जटिलतातर्फ धकेलिएको देखिन्छ। शान्ति वार्ताका सबै प्रयास विफल भइरहेका छन् भने युद्धविरामका वा आत्मसमर्पणको कुनै सम्भावना देखिँदैन। त्यस्तै, दुई देशबीचको तनावले विश्वव्यापी अस्थिरता र खिचातानी बढेको देखिएको छ।

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको 'रुलिङ'
सभामुख देवराज घिमिरेले संसद्मा सांसदले उठाएका विषयको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदले सरकारले आफूहरूले उठाएका विषयको जवाफ नै नदिएको भन्दै रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका थिए। सांसदको आग्रहपछि सभामुख घिमिरेले सरकारलाई संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन्।

सन्दीप लामिछानेलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि नेपाली टोली शनिबार यूएई भ्रमणका लागि प्रस्थान गर्ने तयारी छ। उक्त टोलीसँगै आफू पनि यूएई जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए। तर सर्वोच्चले उनलाई विदेश जान अनुमति दिन अस्वीकार गरेको हो।


सम्बन्धित सामग्री