Sunday, May 05, 2024

-->

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति, के गर्ला कांग्रेस?

माओवादीसहितका तीन दलबीच बिहीबार साँझ भएको माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमतिमा शुक्रबार कांग्रेसले दिने ‘राय’ राजनीतिक विकासक्रममा निर्णायक हुनेछ।

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने माओवादीसहित तीन दलको सहमति के गर्ला कांग्रेस

काठमाडौँ– तीन दिनअघि पहिलोपटक माधवकुमार नेपालको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा आयो। त्यो चर्चाको कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा ओलीले अघि सार्ने एमालेका कुनै नेतालाई स्वीकार नगर्ने, बरु कांग्रेसले अघि सार्ने राष्ट्रपतिलाई सघाउने माहौल बनाउन थालेपछि त्यसलाई माथ दिन ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी अघि बढाएका थिए। त्यसका लागि नेपाललाई भेटेर उनले पार्टी एकताकै प्रस्ताव गरेका थिए।

पहिलोपटक चर्चा ओलीले शुरु गरे। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल अब राष्ट्रपतिमा बलियो उम्मेदवारका रूपमा खडा हुने परिस्थिति विकास भएको छ। तर, एमालेबाट होइन। आश्चर्यजनक रूपमा त्यसको पहलकदमी प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले लिन खोजेको देखिन्छ, त्यो पनि एमालेइतरको गठबन्धन बनाएर। बिहीबार साँझ बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को संयुक्त बैठकले तीन पार्टीको भिन्नै मोर्चा बनाउने र त्यही मोर्चाबाट नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गर्ने सहमति गरेको छ।

सिंहदरबारमा बसेको बैठकले यस्तो सहमति गरेको हो। माओवादीसहितका तीन दलले शुक्रबार बस्ने कांग्रेससहितको बैठकमा नेपालको नाम राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा प्रस्ताव गर्ने जनाएका छन्।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार साँझ भएको तीन दलको बैठकको शुरूमै एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिमा आफ्नो दाबी प्रस्तुत गरेका थिए। उनले राष्ट्रपतिको विषयलाई लिएर आफूसँग एमालेले पनि निरन्तर छलफल गरिरहेको खुलाउँदै आफूलाई राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउनुपर्ने अडान लिएका थिए। “मलाई राष्ट्रपति बनाउन एमाले पनि तयार छ। तर, पुरानै गठबन्धनबाट मलाई साझा उम्मेदवार बनाउने हो भने म किन एमालेको प्रस्तावमा राष्ट्रपति बन्ने?”, नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी माओवादीका एक नेताले भने।

नेपाल एमालेको प्रस्तावमा राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको बुझेका माओवादी र जसपाका नेताहरूले बरु आफूहरू नेपाललाई साझा उम्मेदवार बनाउन तयार रहेको बताएका थिए। साथै त्यसका लागि कांग्रेसको समर्थन जुटाउने अधिकतम प्रयत्न गर्ने प्रतिबद्धता उनीहरूले जनाएपछि नेपाल पनि तीन दलको साझा उम्मेदवार बन्न तयार भएका थिए।

माओवादीका ती नेताका अनुसार त्यसपछि बैठकमा कांग्रेसले नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार अस्वीकार गरेमा के गर्ने भन्ने विषयमा लामो छलफल भएको थियो। त्यसको निष्कर्ष स्वरूप कांग्रेसले राष्ट्रपतिमा आफ्नो अडान नछाडे नेपाललाई निश्चित अवधि प्रधानमन्त्री बनाउने गरी सहमति गर्नुपर्ने निचोड बैठकले निकालेको छ। ती नेताले दुई वर्ष दाहाल प्रधानमन्त्री बन्ने, बाँकी दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा र एक वर्ष नेपाल प्रधानमन्त्री बन्ने यसको 'मोडालिटी' भएको बताए।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले पनि घुमाउरो रूपमा यसलाई पुष्टि गरे। “हामीले राष्ट्रपतिमा दाबी गर्ने निर्णय सचिवालय बैठकबाटै गरिसकेका छौँ। त्यसमा सबै दलसँग सहयोगका लागि आग्रह गरिरहेका छौँ। आशा छ उहाँ (माधव नेपाल) को नाममा हामीबीच नै सहमति हुनेछ”, बैठकपछि ज्वालाले भने।

बैठकमा सहभागी जसपाका एक नेताले पनि नेपाललाई नै राष्ट्रपतिको साझा उम्मेदवार बनाउने गरी अधिकतम पहल गर्ने निर्णय भएको सुनाए। तर, नेपाललाई कांग्रेसले राष्ट्रपतिको साझा उम्मेदवार मान्न तयार नभए पनि चुनावअघिको गठबन्धन ब्युँताउने उनको भनाई छ। कसरी त? जवाफमा उनले भने, “हामी पहिले राष्ट्रपतिमा माधव नेपाललाई साझा उम्मेदवार बनाउने प्रयास गर्छाैं, नभए कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवार मान्दै माधव नेपाललाई सरकारको नेतृत्व दिने गरी सहमति गर्छौं।”

बिहीबारको बैठकमा जसपाले उपराष्ट्रपतिमा दाबी गरेको थियो। तीन दलबीच चुनावअघिको गठबन्धन ब्युँताउन जसपाले उपराष्ट्रपति पाउने गरी कांग्रेससँग प्याकेजमा सहमति गर्ने समझदारीसमेत बनेको ती नेताले बताए।

“पुरानो गठबन्धन ब्युँताउँदा अमुक दल र नेतालाई मात्र लाभ हुने गरी होइन, सबैलाई मान्य हुने गरी पावर सेयरिङ हुन्छ, त्यहीअनुसार सहमति गर्दैछौ”, उनले भने।

सिंहदरबारको बैठकबाट तीन दलले शुक्रबार बिहान ८ बजे नेपाली कांग्रेससँग संयुक्त बैठक गर्ने निधो गरेका छन्। “हामी माधव नेपाललाई एमालेले राष्ट्रपतिमा प्रस्ताव गर्ने अवस्था आउन दिँदैनौँ। आफै समझदारीका साथ नेपाललाई या कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवार बनाउँछौँ,” बैठकमा सहभागी माओवादीका अर्का एक नेताले भने, “अब हामी जे गर्छौं, सामूहिक गर्छौं। हामीलाई अब फुट्नु छैन, जुट्नु छ।”

बिहीबारको बैठकमा प्रधानमन्त्री दाहालले पनि कांग्रेस भन्दा माधव नेपाललाई नै राष्ट्रपति बनाउन आफू तयार रहेको बताएका थिए। “राष्ट्रपतिमा कांग्रेसभन्दा माधवजीलाई नै सघाउन मलाई सहज हुन्छ, तर उहाँ यो (पुरानो) गठबन्धनबाट हुनुपर्छ”, दाहालको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एकीकृत समाजवादीका एक नेताले भने।

आफूसँग भएको सहमतिभन्दा बाहिर गएर माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेपछि माओवादीलाई चुनौती दिन एमाले अध्यक्ष ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी अघि बढाएका थिए। बिहीबार पनि ओलीले आफ्ना विश्वासपात्र, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नेपाल  निवास कोटेश्वर पठाएर नेपाललाई मनाउने प्रयास गरेका थिए। पोखरेलले नेपाल र आफूबीच राष्ट्रपति निर्वाचनलगायतका विषयमा कुरा भएको पुष्टि गरे।

“माधवजीसँगको हाम्रो वार्ता पहिलो होइन, हामी निरन्तर संवादमै छौँ। आजको संवाद त्यसैको एउटा हिस्सा हो। हामीले राष्ट्रपतिलगायत समसामयिक विषयमा छलफल गर्‍यौँ। यो छलफलले थप निरन्तरता पाउने छ,” उनले भने।

यसअघि बिहीबार सिंहदरबारमा भएको एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको भेटमा जसपालाई पनि पावर सेयरिङको हिस्सेदार बनाउने गरी कांग्रेस र माओवादीसँग सहमति गर्ने निर्णय भएको थियो। त्यही कुरा तीन दलको बैठकमा भएको थियो। तीन दलको बैठकबाट बाहिरिने क्रममा यादवले उपराष्ट्रपति जसपाले पाउने विषयमा सबै दल सकारात्मक रहेको बताए।

राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी नछाड्दा कांग्रेसले पुस १० गते आफू नेतृत्वको गठबन्धन भत्किएपछि संघ र प्रदेशमा सरकारको नेतृत्व गर्ने अवसर गुमाएको थियो। आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएपछि पाँचदलीय गठबन्धन त्यागेर दाहाल एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बनेका थिए। एमालेले पनि राष्ट्रपतिलगायत महत्त्वपूर्ण पद पाउने भएपछि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो। तर, पुस २६ गते दाहाललाई आवश्यक नै नपरे पनि कांग्रेस, एकीकृत समाजवादीले विश्वासको मत दिएर लचिलो बनाएका थिए। त्यसपछि नै कांग्रेस राष्ट्रपतिमा बाजी मार्न र वर्तमान सत्ता गठबन्धन भत्काउन सक्रिय बन्यो।

“हामीले पुरानो गठबन्धनबाट राष्ट्रपति बनाउनेबित्तिकै एमाले सरकारबाट बाहिरिन्छ, त्यसकारण अब बाँकी पावर सेयरिङका विषयमा थप छलफल हुनेछ”, कांग्रेसका एक पदाधिकारीले भने। 


सम्बन्धित सामग्री