Friday, April 26, 2024

-->

सरकारमा जानेबारे ‘पर्खेर निर्णय गर्ने’ मुडमा साना दल

मतगणना नसकिँदै सरकार बनाउने छलफल थालेका ठूला दलले ‘निर्णायक’ मानिएका साना दलको सहयोग अहिलेसम्म खोजेका छैनन्। साना दल भने ठूला दलको निर्णय पर्खेर बसेका छन्।

सरकारमा जानेबारे ‘पर्खेर निर्णय गर्ने’ मुडमा साना दल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार सरकार गठनबारे दिएको अभिव्यक्तिले राजनीतिक माहोललाई फरक मोड दियो। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आवश्यकताका आधारमा गठबन्धन गरेर जाने बताएर आफ्नो दलको पूर्ववत् अडान फेरे।

चितवन–२ बाट निर्वाचित भएपछि शुक्रबार प्रमाणपत्र बुझ्दै उनले भने, “निर्वाचनका बेला हाम्रो पार्टीले कसैसँग गठबन्धन गरेन, तर भोलिका दिनमा देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौँ।” त्यसअघि भने उनले आफ्नो दल अन्य दलसँग मिलेर सरकारमा नजाने, बरू प्रतिपक्षको नमूना देखाउने बताउँदै आएका थिए।

गएको मंसिर ४ मा भएको निर्वाचनको प्रतिनिधिसभातर्फको प्रत्यक्षको परिणाम अन्तिम चरणमा पुग्दा सरकार गठनमा साना दल निर्णायक हुने देखिएको छ। समानुपातितर्फ पनि स्वतन्त्र पार्टी र राप्रपाले ‘थ्रेसहोल्ड’ कटाइसकेका छन्। यी दल आगामी प्रतिनिधिसभामा चौँथो र पाँचौँ ठूलो दल हुनेछन्।

त्यसबाहेक जसपा, नागरिक उन्मुक्ति, लोसपालगायत दलले प्रत्यक्ष प्रणालीमार्फत प्रतिनिधित्व गरेका छन्। जसपाले थ्रेसहोल्ड कटाउन सक्छ वा सक्दैन अझै निश्चित छैन। अबको सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेल्ने ठानिएका स्वतन्त्र पार्टी, राप्रपा जसपाले ठूला दलको कदम हेरेर मात्र निर्णय लिने तयारी गरेका छन्।

ठूला दलका नेता भने सरकार गठनको प्रयासमा लागिसकेका छन्। कांग्रेसले माओवादीबाहेक नै पनि सरकार संचालनको सम्भावना खोजिरहेको छ। उता एमाले अध्यक्ष केपी ओलीले गएको बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर मिलेर अघि बढ्न आग्रह गरे। प्रचण्डले पनि मत परिणाम आइसकेपछि बसेर छलफल गर्न सकिने जवाफ दिएको उनको सचिवालयले जनाएको थियो।

एमाले उपाध्यक्ष सुवास नेम्वाङ आफूहरू निर्वाचनअघिदेखि नै सत्ता गठबन्धन तोडिनुपर्ने मान्यतामा रहेको बताउँछन्। आफूले पनि प्रचण्डलाई फोन गरेर कांग्रेसबाहेकको सरकार बनाएर जान प्रस्ताव गरेको नेम्वाङले जानकारी दिए।

तर, प्रतिनिधिसभामा सत्ता समीकरणमा निर्णयक हुन सक्ने स्वतन्त्र पार्टी र राप्रपासँग भने ठूला दलले छलफल चलाएका छैनन्। यी दल पनि ठूला दलको निर्णय पर्खेर बसेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सरकारमा जान आफूहरूलाई कुनै हतारो नभएको बताउँछन्। “हामी हाम्रो चुनावी उपलब्धिबारे भुईंमा बसेर समीक्षा गरिरहेका छौँ। कतिपय स्थानको परिणाम आइसकेको छैन। सरकारमा जाने विषयमा हतार गरेका छैनौँ”, उनले उकालोसँग भने, “यसबारे हाम्रो गहन छलफल हुनेछ। तर, ठूला दलका गतिविधि र हाम्रो मत परिणामको अवस्था हरेर अगाडि बढ्नेछौँ।” आफ्नो दललाई कांग्रेसलगायत कुनै ठूला पार्टीबाट सरकार गठनबारे प्रस्ताव नआएको उनले जानकारी दिए।

राप्रपाले निर्वाचनमा जानुअघि सार्वजनिक गरेको घोषणापत्रमा ‘सत्ता केन्द्रित राजनीतिक गर्ने छैन’ भनेर उल्लेख गरेको छ। घोषणापत्रमा नै सरकारमा नजाने भनेर उल्लेख गरेकाले राप्रपा सरकारमा नजाने पार्टी नेता मोहन श्रेष्ठ बताउँछन्। राप्रपाले प्रत्यक्षतर्फ सात सिट जितेको छ। “निर्वाचनको पूरै परिणाम नआइकनै सरकार गठनबारे कुरा गर्नु हतारो हुन्छ”, उनले भने, “हामी सरकारमा जाँदैनौँ भनेर घोषणापत्रमा नै लेखिसकेका छौँ।”

निर्वाचन परिणाम आउँदै गर्दा अन्य दलका तर्फबाट राप्रपालाई बधाई तथा शुभकामनाका सन्देश आइरहे पनि सरकार गठनमा सहभागी हुन प्रस्ताव नआएको उनले बताए। श्रेष्ठ भन्छन्, “पहिले परिणाम आओस्। सरकार बनाउँछु भन्ने धारणा आओस्। अनि समर्थन दिने वा नदिने राप्रपाले धारणा बनाउँछ।” 

सरकारमा जाने वा नजानेबारे स्वतन्त्र पार्टीले पनि निर्णय गरिसकेको छैन। प्रत्यक्षतर्फ ७ ठाउँमा जित हासिल गरिसकेको स्वतन्त्र पार्टीले एक ठाउँमा अग्रता कायम गरिरहेको छ। समानुपातिकमा तेस्रो स्थानका लागि माओवादी केन्द्र र स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा छ।

प्रवक्ता तथा महामन्त्री मुकुल ढकाल पार्टीको ध्यान अहिले संसद्‍मा कसरी महत्त्वपूर्ण भूमिका खेल्ने भन्नेमै केन्द्रित रहेको बताउँछन्। “सरकार कार्यकारी अंग भए पनि व्यवस्थापिका आफैँमा (राज्यको) एउटा महत्त्वपूर्ण अंग भयो”, दहालले भने, “धेरैको जिज्ञासा सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी जाने वा नजानेमा आइरहे पनि हामी संसद्‍मा हुने भूमिका कसरी प्रभावकारी बनाउने भन्ने छलफल गरिरेहका छौँ।” 

अब संसद् कर्मकाण्डी मात्र रहन नदिने पार्टीको भूमिका हुने उनले बताए। पार्टी सरकारमा जाने विषयमा कुनै पनि दलसँग छलफल नभएको उनले जानकारी दिए।

जसपा अध्यक्ष उपेन्द्र यादव नै पराजित भएपछि सरकारमा जाने वा नजाने भन्ने कुनै छलफल नै नभएको एक नेताले बताए। पार्टीले हार बेहोरेको कारण पनि अहिले सरकारको विषय महत्त्वपूर्ण नभएको ती नेताले बताए।

प्रतिनिधिसभामा तीन सिट जितेको र सुदूरपश्चिम प्रदेशसभामा पाँच सिट जितेको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारमा सामेल हुनेबारे पार्टीभित्र वा बाहिर छलफल नगरेको जनाएको छ। बर्दिया-१ बाट प्रतिनिधिसभामा विजयी स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले नागरिक उन्मुक्तिकै समर्थनमा जितेका हुन्। पार्टीका संरक्षक रेशक चौधरीका बाबु रहेका उनी नागरिक उन्मुक्तिमा प्रवेश गर्ने निश्चित छ। त्यसो हुँदा नागरिक उन्मुक्तिका चार सांसद हुन्छन्।

नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डित आफूहरूले कुनै दलसँग सहकार्य वा सरकारमा सहभागी हुनेबारे सोच्न नभ्याएको बताउँछन्। अरू दलहरूसँग पनि छलफल वा संवाद नभएको उनले प्रष्ट पारे। “चुनावअघि सिके राउत नेतृत्वको पार्टीसँग केही विषयमा छलफल भएको थियो”, पण्डितले भने, “अहिले कसैसँग हाम्रो संवाद भएको छैन।”

विगतमा ‘स्वतन्त्र मेधश’ अभियान चलाउँदै अहिले मूलधारको राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टी मधेशमा नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको छ। राउतले मधेशको बलियो पार्टी मानिएको जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे। जनमतले प्रत्यक्षतर्फ मधेश प्रदेशसभामा ६ वटा र लुम्बनी प्रदेशसभामा एउटा सिट जितेको छ। 

प्रदेशमा सरकार गठनका लागि जनमत निर्णायक दल बन्ने केन्द्रीय सदस्य बीपी साहले बताए। “संघीय संसद्‍मा हाम्रो एउटा मात्र सिट भएको हुनाले सरकारमा सामेल हुने दौडमा छैनौँ”, साहले भने, “प्रदेशमा अवश्य नै हाम्रो पार्टीको राम्रो संख्यामा उपस्थिति हुने भएकाले निर्णायक हुन सक्छौँ, तर त्यतातिर (सरकार गठनतिर) अहिले पार्टीभित्र कुनै छलफल भएको छैन।” 

आफुहरू चुनावमा कुनै पनि गठबन्धनमा नरहेकाले सहकार्यको प्रस्ताव कतैबाट नआएको उनी बताउँछन्। सरकारमा जान आफूहरूले पनि पहल नगरेको उनको भनाइ छ। सरकारमा जाने वा प्रतिपक्षमा बस्ने आगामी परिस्थितिले निर्धारण गर्ने साहले जानकारी दिए। 

नेपाल मजदुर किसान पार्टी २०४८ सालयता कुनै पनि सरकारमा सामेल भएको छैन। हरेकपटक प्रतिपक्षको भूमिकामा रहेको यस पार्टीले योपटक पनि सरकारमा सामेल नहुने घोषणा गरिसकेको छ। त्यसैले अहिलेसम्म कुनै पनि ठूला दलबाट सरकारमा सहभागी हुनको लागि कुनै प्रस्ताव नआएको नेमकिपाबाट भक्तपुर–१ का नवनिर्वाचित सांसद प्रेम सुवाल बताउँछन्। 

“हाम्रो लाइन क्लियर छ, हामी प्रतिपक्षमा नै बस्ने हो”, उनी भन्छन्, “सरकारमा आउनको लागि कुनै पार्टीबाट अफर पनि आएको छैन। हामी विगतमा झैँ प्रखर प्रतिपक्ष बनेर बस्छौँ।” नेमकिपाबाट विजयी हुने उनी एक मात्र सांसद् हुन्।

राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा समावेश हुनको लागि अहिलेसम्म कुनै प्रस्ताव नआइसकेको अध्यक्ष चित्रबहादुर केसीले बताए। सरकारमा जाने वा नजाने विषयमा पार्टीमै पनि कुनै निर्णय नभइसकेको उनको भनाइ छ। “हाम्रो धेरै सांसद छैनन्, जम्मा एक जना हो। अहिलेसम्म सरकारमा जाने निर्णय भएको छैन”, उनी भन्छन्, “सरकारमा जाँदै नजाने भन्ने त होइन, तर जाने भन्ने पनि कुनै टुंगो लागिसकेको छैन।” निर्वाचनमा जनमोर्चा सत्ता गठबन्धनसँगै थियो। बागलुङ–१ बाट चित्रबहादुर केसी कांग्रेस र माओवादीकै सहयोगमा विजयी भएका हुन्।


सम्बन्धित सामग्री