Saturday, April 27, 2024

-->

‘पलटू चाचा फेरु पलट गइलेँ’

सीमावर्ती भारतीय प्रान्तका विकृति राजनीतिमा हुबहु अवतरित देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहालको पल्टामारी मात्रै हैन, राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

‘पलटू चाचा फेरु पलट गइलेँ’

‘पलटू चाचा फेरु पलट गइलेँ
राजद छोडी बीजेपी में सट गइलेँ
माटी में मिल जाएम 
बीजेपी मे नजाएम 
अपनी बात से वह हट गइलेँ’ 

अलिअघि (२८ जनवरी २०२४) लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (राजद) र कांग्रेससहितको गठबन्धनबाट फुत्किएर भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको ‘एनडीए’ गठबन्धनमा सामेल भई नयाँ सत्ता साझेदारी शुरू गर्ने बिहारका मुख्यमन्त्री नितिशकुमारलाई व्यंग्य गरी बुनिएका अनेकन गीत, प्यारोडी, किस्सामध्येको एउटा अंश हो। सन् २००५ यता नौ महिना स्वेच्छाले पदत्यागबाहेक अनवरत मुख्यमन्त्री रहेका नितिशकुमारले सन् २०१३ मा पहिलोचोटी ‘यू टर्न’ गरेपछि पटक–पटक पल्टी मारिसकेका थिए। 

यसअघि भाजपा छाडेर राजद–कांग्रेससँग सत्ता साझेदारी गर्दा पनि उनलाई ‘पल्टुराम’ भनेर व्यंग्य कसिएकै थियो। अत्ति नै महसुस गरेर होला पछिल्लो पटक काँध फेर्दाचाहिँ उनीविरुद्ध व्यंग्यबाणको बौछार नै भयो। पल्टुराम, पल्टुकुमार त उनको बोलाइने प्रचलित नामैजस्तो सुनिन थालेको छ। पल्टीपुत्र (पटनाको प्राचीन नाम पाटलीपुत्र) पनि भनियो। हालै मात्र सीमामै जोडिएको प्रान्तमा भएको राजनीतिक घटनाक्रम र त्यसउपर भएका टीकाटिप्पणी/हँसीमजाकमा अपडेट नेपालीहरूले पनि प्रचण्डको पछिल्लो पल्टामारीलाई त्यसैसँग तुलना गरी टिप्पणी गरिरहेका छन्, हँसीमजाक गरिरहेका छन्।

‘पलटू चाचा फेरु पलट गइलेँ
कांग्रेस छोडी एमाले में सट गइलेँ’ 

माथिकै प्यारोडीलाई सरोज चापागाईंले प्रचण्डलक्षित गरी ‘एक्स’मा पोष्ट गरेका छन्।  

‘कम्तिमा एकचोटी भन्दिएको भए त हुन्थ्यो नि, म रहन चाहदिनँ भनेर, भन्दा पनि भन्नु भएन,’ मुख्यमन्त्रीले पल्टी मारेपछि उपमुख्यमन्त्रीबाट प्रमुख प्रतिपक्षी नेता बन्न पुगेका तेजस्वी यादवले नितिशकुमारले विश्वास मत लिँदा संसद्मा गरेको भाषणको क्लिप यता शेरबहादुर देउवाको अवस्थासँग तुलना गर्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ‘बोलाएर भन्दिएको भए म केही भन्ने थिएँ र?’ देउवाको दशाजस्तो सुनिने क्लिपमा तेजस्वी गुनासो गर्छन्।

भारतको लोकतान्त्रिक अभ्यासलाई पछ्याउने क्रममा त्यहाँका तमाम विकृतिलाई पनि यहाँ अनुशरण गरिन्छ। अझ सीमावर्ती प्रान्तका विकृति त हुबहु अवतरित भएको जस्तो देखिन्छ। उताका नितिशकुमार र यताका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पल्टामारी मात्रै हैन, तिनको राजनीतिक अवस्था, पार्टीको घट्दो आकारबीच तिनको मनस्थिति पनि मेल खान्छ।

उमेरमा तीन वर्षको अन्तर रहेका लालुप्रसाद यादव र नितिशकुमार करिब त्यस्तै अन्तरालमा पटनामा पढ्दापढ्दै विद्यार्थी राजनीतिमार्फत पार्टी राजनीतिमा लागेका थिए– लालुप्रसादले सन १९६० को दशकको उत्तराद्र्धमा अनि नितिशकुमारले सन् १९७४ मा जयप्रकाश नारायणको ‘इन्दिरा हटाओ’ आन्दोलनमार्फत। श्रीमती गान्धीले घोषणा गरेको इमर्जेन्सीका क्रममा दुवै जेलमा जाकिए। इमर्जेन्सीपछि भएको चुनावमा जनता पार्टीको टिकटमा चुनाव लडे। लालुप्रसाद पहिलो प्रयासमै लोकसभा प्रवेश गरे। नितिश भने राज्य विधानसभाको चुनावमा लगातार दुई हारपछि सन् १९८५ मा बल्ल बिहार विधानसभामा पुगेका थिए। 

कांग्रेसमा बगावत गरी विश्वनाथ प्रताप सिंहले सन् १९८९ मा जनता दल गठन गरेपछि दुवै जनता दलको छत्रछायाँमा पुगे। लोहियापथका समाजवादी, जयप्रकाश नारायणको अनुयायी दुवै सन् १९९४ सम्म साथसाथै रहे। बिहारमा सर्वशक्तिमान हुँदै गएका लालुप्रसादविरुद्ध जर्ज फर्नान्डिसको नेतृत्वमा नितिशकुमार समता पार्टीको संस्थापक सदस्य भएपछि दुवैको रास्ता अलग भयो। सन् १९९५ को विधानसभा चुनावमा नराम्ररी पराजित भएपछि भाजपा नेतृत्वको एनडीएमा छिरे। सन् २००५ मा भाजपासहितको गठबन्धनले १५ वर्षदेखि शासन गरिरहेका लालुप्रसाद यादवलाई पछारेपछि नितिशकुमार पहिलोचोटि मुख्यमन्त्री भएका थिए। त्यसयता सन् २०१४ मा नौ महिनाबाहेक नितिश निरन्तर मुख्यमन्त्री छन्। सन् २०१४ को आमचुनावमा लोकसभाको ४० सिट भएको बिहारमा जम्माजम्मी दुई सिटमा खुम्चिएपछि नितिशले राजीनामा गरी दलित समुदायका जितनराम माझीलाई मुख्यमन्त्री बनाएका थिए। नौ महिनापछि राजीनामा गराई आफैँ मुख्यमन्त्री बने। 

भाजपासहितको गठबन्धन एनडीएमा अनवरत रहेका नितिशले सन् २०१३ मा पहिलोचोटि पल्टी मारेका थिए्, जब भाजपाले नरेन्द्र मोदीलाई गठबन्धनमा प्रधानमन्त्रीको चेहरा बनाएर ल्यायो। ‘सुशासनबाबु’ खिताबमा रमाइरहेका लोकप्रिय नितिशकुमारको मनमा प्रधानमन्त्रीको लड्डु फुट्न थालिसकेको थियो। सन् २००५ मा जनता दल युनाइटेड (जदयू) ले विधानसभामा ८८ सिट जितेपछि मुख्यमन्त्री बनेका उनको लोकप्रियताकै जगमा सन् २०१० मा जदयू एक्लैको आँकडा ११५ मा पुगेको थियो। शान्ति सुव्यवस्था कायममा काफी सुधार भएको थियो भने पूर्वाधारमा पनि कामहरू भएका थिए। लालुप्रसादले सत्ता हस्तान्तरण गर्दा २ प्रतिशतमा रहेको बिहारको आर्थिक वृद्धिदरलाई नितिशकुमारले दोहोरो अंकमा पुर्‍याएका थिए। अर्कातिर सन् २००२ को गुजरात दंगाको दागी मोदीलाई काँध हाल्दा बिहारमा मुस्लिमलगायतको जनाधार बिच्किने जोखिम पनि थियो।

एनडीएबाट अलग भएपछि नितिशले भनेका थिए, ‘बरु माटोमा मिल्छु, भाजपासँग मिल्दिनँ।’ पत्रकार संकर्षण ठाकुरले द ब्रदर्स बिहारी किताबमा उल्लेख गरेअनुसार सन् २०१४ कै चुनावअघि उनले लालुप्रसादलाई ‘नितिशकुमारसँग हात मिलाउनु हुन्छ?’ भनी सोधेका थिए। लालुप्रसादको जवाफ थियो, “यत्रो वर्षदेखि भाजपाको काखमा बसिरहेको भाजपाको पाल्तुसँग मिल्नुहुन्छ भन्ने प्रश्न तपाईंले मसित कसरी सोध्नु भयो?” उनले चिरपरिचित अन्दाजमा थपेका थिए, “कभी नही, नेभर।”

सन् २०१४ को मोदी लहरमा बढारिएपछि यी दुवै एकसाथ आए। ‘कभी नही, नेभर’ भन्ने लालुप्रसाद नितिशकुमारलाई नै मुख्यमन्त्रीको चेहरा बनाएर विधानसभा चुनावमा जान तयार भए। लालुप्रसाद–नितिशकुमारसहितको महागठबन्धनले वर्ष दिनअघि भाजपाले पाएको सफलता उल्टाइदियो, नितिशकुमार मुख्यमन्त्री बने। २०१७ जुलाईमा उनी लालुप्रसादसहितलाई छाडेर पुनश्चः भाजपाको गठबन्धनको छत्रछायाँमा पुगे। मेकियावेलीको ‘राजनीति र नैतिकताको कुनै सम्बन्ध हुँदैन’ भन्ने उद्गार ५०० वर्षपछि पनि नेपाल वा बिहारको राजनीतिमा हुबहु फिट खान्छ। नितिशकुमार २०२० को चुनावमा त भाजपासँगै थिए, झिनो अन्तरले बहुमत पनि प्राप्त गरे। तेस्रो ठूलो दलमा खस्किँदा पनि मुख्यमन्त्री नै बनाइए। सन् २०२२ मा भाजपा छाडेर राजद–कांग्रेससहितको काँधमा मुख्यमन्त्री पदलाई  निरन्तरता दिए। 

प्रचण्डको पनि २०६४ को संविधानसभा चुनावमा सबैभन्दा ठूलो दलको रूपमा उदाएपछि एमालेसँग सत्ता साझेदारी अनि प्रधानसेनापति काण्डमा राजीनामासम्म त ठीक थियो। २०७२ सालमा संविधान जारी भई एमालेसँग सत्तासाझेदारी शुरू गरेपछिको दिनचाहिँ नितिशकुमार झैँ अघि बढ्यो। आमचुनावसम्मै सत्ता साझेदारी गर्नेगरी २०७२ असोज २५ गते केपी ओलीको नेतृत्वमा सरकार बनाए पनि १० महिनामै पल्टी मारेर कांग्रेसको साझेदारी प्रधानमन्त्री पड्काए। आलापालो प्रधानमन्त्री हुने सहमति बमोजिम कबोलेकै समयमा देउवालाई सत्ता सुम्पिए पनि। २०७४ को चुनावको मुखमा एमालेसँग गठबन्धन गरी चुनावमा गए। चुनावपछि एमालेसँग पार्टी नै एकीकरण गरे पनि नेकपा (नेकपा) दीर्घजीवी हुन सकेन। चरम द्वन्द्व चलिरहेकै बेला सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी नै छुट्यादिएपछि कांग्रेससँग मिल्न पुगे। २०७९ सालको आमचुनावपछि आफू प्रधानमन्त्री हुने सहमति देउवाले नमानेपछि पुनश्चः एमालेसँग मिलेर प्रधानमन्त्री भए। दुई महिनामै कांग्रेसतिर फर्केर पदलाई निरन्तरता दिए। आफू र देउवा दुई–दुई वर्ष अनि माधवकुमार नेपाल एक वर्ष प्रधानमन्त्री हुने लिखित सम्झौता गरे। तर वर्षदिन नपुग्दै फेरी एमालेसँग मिले।         

२०५१ सालको मध्यावधिपछि राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई झल्झली सम्झाइराख्या छन्, त्यही विकृत दृश्यबीचै शुरू भई फले–फुलेको सशस्त्र विद्रोहका कमाण्डरले। २०५३ फागुन २९ गते एमालेको साझेदारीमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका थिए भने २०५४ असोज २१ गते कांग्रेसको साथमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए।  

प्रचण्ड र नितिशकुमारमा समानता पल्टी मार्ने मामिलामा मात्रै सीमित छैन। सन् २००५ मा पहिला ५५ सिट र कसैको बहुमत नभएको विधानसभा भंग गरी सोही वर्ष भएको चुनावमा ८८ सिट जितेको नितिशकुमारको पार्टी जदयूले २०१० मा ११५ सिट जितेको थियो। सन् २०१५ मा महागठबन्धनले बहुमत ल्याए पनि जदयू ७१ मा खुम्चिएको थियो। पछिल्लो चुनाव (सन् २०२०) मा त ४३ सिटसहित तेस्रो स्थानमा छ। जबकि सबैभन्दा ठूलो राजदले ७५ र भाजपाले ७४ सिट जितेका छन्। 

अब माओवादीलाई हेरौँ। पहिलो संविधानसभामा प्रत्यक्षतर्फको २४० मध्ये १२० सिट जितेको माओवादीले समानुपातिकतर्फ १०० स्थान पाएको थियो। दोस्रो संविधानसभामा आइपुग्दा प्रत्यक्षमा २६ र सामानुपातिकमा ५४ सिटमा झर्‍यो। संविधान जारी भएपछि कायम प्रत्यक्षतर्फ १६५ मध्ये एमालेसँग गठबन्धन गरी ३६ र समानुपातिकमा १७ सिट जितेको थियो। २०७९ सालको आमचुनावमा कांग्रेससँग गठबन्धन गर्दा १८ र १४ सिटमा समेटिएको छ।  

नितिशकुमारले पाल्टी मारिरहनुमा उनको अवसरवादी चरित्र मात्रै होइन, राजनीतिक अस्तित्वमाथि तेर्सिएको अन्योल पनि जोडिएको छ। सन् २०२२ मा भाजपाले आफ्नो दलका विधायकहरूसित खुसुरफुसुर गरिरहेको संकेत पाएपछि उनले पल्टी मारेका थिए। यसपालि फेरि पल्टी मार्नुमा राजदसँग गठबन्धनमै आमचुनावमा जाँदा सम्भावित भाजपा लहरमा आफ्नो हविगत उही २०१४ कै चुनावझैँ हुने त्रासले काम गरेको छ। भाजपासँग गठबन्धन गर्दा मोदी लहरको फाइदा आफूले पनि पाउने अपेक्षा हुनुपर्छ। चुनावी रणनीतिकार प्रशान्तकिशोर त नितिशकुमार राजनीतिको अन्तिम चरणमा रहेको ठोकुवा गर्छन्। आगामी आमचुनावसम्म भाजपाले नितिशकुमारलाई भाउ दिए पनि सन् २०२५ को बिहार विधानसभा चुनावमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने छैन। जदयूको आकार अहिलेभन्दा पनि खस्किने निश्चित छ।   

प्रचण्डले काँध फेर्नुमा पनि मिडिया खपतका लागि लेखिएका/लेखाइएका अर्थमन्त्री फेर्नुपर्ने माग ह्यानत्यान भनिए पनि अन्तर्य अरू नै हो। डा. प्रकाशशरण महतले पदबाटै छुट्टी हुनेगरी काम बिगारेका थिएनन् नै, अर्थमन्त्री फेर्दैमा अर्थतन्त्रका विद्यमान संकटहरू कम हुने छाँटकाँट छैन। धेरै जनाले कामना गरिरहेका डा. स्वर्णिम वाग्ले नै अर्थमन्त्री भए पनि तात्विक फरक आइहाल्ने छाँट छैन। निजी क्षेत्रले खासमा खोजेको घरजग्गा, शेयर आदिमा छेलोखेलो लगानी गर्न पुग्नेगरी राष्ट्र बैंकले ऋण खुला गर्दियोस् भन्ने हो। लकडाउनको समयमा यस्तै नीति अख्तियार गर्दा विदेशी विनिमयको मौज्दात नै स्वाट्सुट्टै भएको अलिअघिको मात्र कुरा हो। त्यतिबेलै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गरेको निब्र्याजी ऋण सम्झौताका कारण केन्द्रीय बैंक पनि फुक्काफाल छाड्न स्वतन्त्र छैन। बैंकको नीतिलाई विज्ञहरूले सही ठहर्‍याइरहेका छन्।

प्रधान कुरा अन्योलमा पुगेको माओवादी केन्द्रको अस्तित्व नै हो। माओवादीमा सिंगल–सिंगल चुनावमा जानपरे हविगत के होला भन्ने त्रास छ। कांग्रेससँग गठबन्धन गरी सत्ता प्राप्त भए पनि चुनावी नतिजा एमालेसँग जस्तो अच्छा भएन। २०७४ सालको चुनावमा एमालेसँग गठबन्धन गर्दा भोट ट्रान्सफर भएजसरी २०७९ सालमा कांग्रेससँग गर्दा भएन नै, अर्कोतिर कांग्रेसमा माओवादीसँग गठबन्धन गर्न हुँदैन भन्ने मत बलियो हुँदै गर्दा २०८४ सालको चुनावसम्ममा कांग्रेससँग गठबन्धनै नहुने सम्भावना छ। एमालेसँग चाहिँ पुनश्चः पार्टी एकीकरणै भइहाल्छ कि भनेर माओवादीका वर्षमान पुनहरू मनमा लड्डु फुटाइरहेका छन्।

दोस्ती दुश्मनी र दुश्मनी दोस्तीमा बदलिँदा नेताहरूले गर्ने कटाक्ष पनि यता र उता उस्तैउस्तै छन्। विगतमा प्रचण्डले केपी ओलीप्रति गरेको कटाक्ष वा ओलीले गरेको प्रचण्डलक्षित घोचपेचका क्लिप सामाजिक सञ्जालमा भाइरल छन्। सन् २०१७ मा राजद छाडेर भाजपातिर पल्टी मार्दाको क्षणलाई रुल्ड अर मिसरुल्ड द स्टोरी एण्ड डेस्टिनी किताबमा पत्रकार सन्तोष सिंहले उतारेका छन्। “जे भयो, भयो,” नितिशले भाजपा नेताहरूसँग भनेका थिए, “अब नयाँ उर्जा, प्रतिबद्धता र भ्रष्टाचारप्रति शून्य सहनशीलतासहित काम गर्नुछ।” भाजपा नेता नन्दकिशोर यादवले नितिशतिर हात फैलाउँदै ‘सौ साल पहले मुझे तुमसे प्यार था, आज भी है और कल भि रहेगा’ गीत गाएका थिए। यिनै यादवतिर चोर औँला तेर्स्याउँदै नितिशकुमारले सन् २०१३ मा ‘बरु माटोमा मिल्छु, भाजपासँग मिल्दिनँ’ भनेका थिए।

पल्टी मार्ने मामिलामा प्रचण्डको लीला नितिशसँग मिल्ने भए पनि राजनीतिमा परिवारलाई संलग्न गराउने मामिलामा चाहिँ लालुप्रसादसँग मिल्दो छ। सन् १९९७ मा चर्चित चाराघोटालामा अभियोगपत्र दायर भई राजीनामा गर्नुपर्ने भएपछि आफ्नै श्रीमती राबडीदेवीलाई मुख्यमन्त्री बनाएका थिए, पार्टी नै फुटाएर। “तिमीले भोलि मुख्यमन्त्रीको सपथ लिनु छ, तयारी शुरू गर्नू” द ब्रदर्स बिहारीमा ठाकुर लेख्छन्, “अब राबडी रुन थाल्छिन् र कोठाबाट बाहिरिन्छन्।”

ठाकुरकाअनुसार राबडीदेवीलाई मुख्यमन्त्री बन्न कहिल्यै पनि मन परेन र यो कुरा प्रकट गर्ने मौका कहिले पनि छाडिनन्। “गाह्रो छ, साहेबको अर्डर भएकाले यो झण्झट उठाइरहेकी छु,” उनी भन्ने गर्थिन, “कहाँ ठेल्दिए मलाई।”

लालुले राजनीतिक उत्तराधिकारीको रूपमा कान्छो छोरा तेजस्वीलाई अघि बढाएका छन् नै, जेठो तेजप्रतापको चित्त पनि दुख्न दिएका छैनन्। नितिशकुमारसँग सत्तासाझेदारी गरेको दुवैचोटि तेजस्वी उपमुख्यमन्त्री बनाइए त तेजप्रताप मन्त्री। सत्तामा पकड बलियो हुँदै गएपछि नितिशकुमारले आफ्नै राजनीतिक गुरु जर्ज फर्नान्डिसलाई नै पाखा लगाएका थिए। जर्जकै नेतृत्वमा समता पार्टी गठन गरेपछि लालुको प्रतिष्पर्धीको रूपमा नितिशको उदय भएको थियो। जर्जका साथै नितिशसँगै समता पार्टीको संस्थापक रहेका दिग्विजय सिंहलाई उनले सन् २००९ को लोकसभा चुनावमा टिकटबाटै बञ्चित गरिदिएका थिए। दिग्विजय त स्वतन्त्र उम्मेदवारको रूपमा जितिछाडे, जर्जको जमानत जफत भयो। राजनीतिक  गुरु मोहन वैद्यदेखि डा. बावुराम भट्टराईसम्मलाई पन्छाएका प्रचण्डको यो चरित्रचाहिँ फेरि नितिशकुमारसँगै मिल्न आयो। 

“बिहारी हुनुको मतलब हो स–सानो कुरामा प्रसन्न हुनु,” द ब्रदर्श बिहारीमा ठाकुर लेख्छन्, “पक्की सडक बन्दा, एक घण्टा अनवरत बिजुली आउँदा, शिक्षक र विद्यार्थी दुवै भएका स्कुल पुग्दा, ताला नलगाइएको स्वास्थ्य केन्द्र देख्दा म प्रसन्न हुन्छु।”

हाम्रो नियति बिहारी जनताको भन्दा कहाँ फरक छ र! आर्कब्रिजमा गमला राखेर झिलिमिली बिजुली बाल्दिँदैमा प्रसन्न छौँ, पैदलयात्रुले आफैँले बटन थिची रातो बत्ती बालेर बाटो काट्ने ‘पेलिकन क्रसिङ’ एकै ठाउँमा राख्दिँदा पनि प्रसन्न छौँ। नियम उल्लंघन गर्ने ठूलाबडाको गाडीलाई चिट काट्ने ट्राफिक प्रहरीलाई सम्मान नै गरेका छौँ, मन्त्रीले पोछा लाउँदा ताली पड्काएकै छौँ। यस्तै साना–साना कुरामा प्रसन्न हुने जनतालाई सरकारहरूले निराशा पार्नेबाहेक के नै गर्ने सम्भावना छ र?


सम्बन्धित सामग्री