Wednesday, May 01, 2024

-->

एक दिनमै पासपोर्ट पाउँदा अचम्म मान्दैछन् सेवाग्राही

राहदानी विभागमा अहिले ‘प्रि–इनरोल’ आवेदन गरेर पासपोर्ट निकाल्नेसम्मका सम्पूर्ण प्रक्रिया एकै दिनमा सक्ने गरी सेवा प्रवाहको प्रणालीलाई व्यवस्थित गरिएको छ।

एक दिनमै पासपोर्ट पाउँदा अचम्म मान्दैछन् सेवाग्राही

काठमाडौँ– पासपोर्ट नवीकरण गर्न बाग्लुङबाट आएका रणबहादुर बुढाथोकी परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा भेटिए। प्रायजसो सरकारी कार्यालयमा सेवाग्राहीको अनुहारमा देखिने थकान र दिक्दारी उनीमा थिएन। 

वैदेशिक रोजगारीमा जान सन् २०१५ मा पहिलो पटक बनाएको पासपोर्ट नवीकरण गर्नुपर्ने समय भएपछि उनी विभागमै आएका थिए। चैत १४ गते विभागमा पुगेका उनले सम्पूर्ण काम एक घण्टाभित्र सकेर फर्किए। भोलिपल्ट उनका लागि तोकिएको समय दिउँसो २ बजे जाँदा विभागले पासपोर्ट तयार गरिराखेको थियो, त्यो लिए र तत्कालै घर फर्किए। 

त्रिपुरेश्वर चोक नजिकै रहेको विभागमा कुनै समय विभागको कार्यालयदेखि सडकसम्मै सेवाग्राहीको लामो लाइन देखिन्थ्यो। तर हिजोआज विभाग चुस्त र चलायमान देखिन्छ। कर्मचारीहरू फटाफट काम सिध्याउन तल्लीन देखिन्छन्। फलस्वरूप अहिले तोकिएकै समयमा बायोमेट्रिक दिने, बैंक भौचर लिने र फारम रुजु गराउने काम हुन्छ।

उनीहरू फटाफट काम सकेर घर फर्किन्छन्। कहिलेकहीँ कामको चाप बढे कार्यालय समयपछि गरेर भए पनि सेवाग्राहीको कामलाई प्राथमिकता दिने गरिएको छ। 

चितवनकी रूपा अधिकारी पहिलो पटक पासपोर्ट बनाउन विभाग आएकी थिइन्। तोकिएकै समयमा पासपोर्ट लिएर फर्किंदै गरेकी उनी निकै खुशी देखिन्थिन्। समयमै काम सकिएकाले उनलाई अचम्म लागेको थियो। उनी भन्छिन्, “हिजो यहीँ आएर फर्म भरेँ, आज एक दिनमै पासपोर्ट तयार भयो। अब घर जाँदै छु, खुशी लागेको छ।”

मकवानपुरदेखि आएकी मनिषा गुरुङ विदेश जाने तर्खरमा पासपोर्ट बनाउन विभाग आएकी थिइन्। अनलाइनबाटै ‘प्रि–इनरोलमेन्ट’ गरेर फर्म भरेकी उनलाई फर्म रुजु गराउँदा मात्रै केही समय लाइनमा बस्नुपर्‍यो। बाँकी काम सबै सहजै भएपछि पासपोर्ट लिने समय निश्चित गरेर घर फर्किइन्। भोलिपल्ट तोकिएको समय करिब २ः१५ बजे पासपोर्ट हातमा परेपछि सेवाग्राहीले पाउनुपर्ने दुःख अन्त्य भएछ भन्ने लागेको उनले बताइन्।

कसरी सहज भयो राहदानी लिने प्रक्रिया?
कामको ढिलासुस्ती र प्राविधिक जटिलताका कारण नेपालका प्रायः सरकारी कार्यालयको कामबाट सन्तुष्ट हुन नसकेको अधिकांश सेवाग्राहीको अनुभव छ। तर राहदानी विभाग भने सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर दैनिक सेवा प्रवाहमा लागिपरेको विभागका महानिर्देशक तिर्थराज अर्याल बताउँछन्। 

सेवाग्राहीको चाप व्यवस्थापन गरेर सहजै सेवा दिन सक्नु विभागको पहिलो सफलता भएको उनी ठान्छन्। सन् २०१३/१४ तिर बनेका पासपोर्ट नवीकरण गर्न आउनेको संख्या ह्वात्तै बढेकाले केही समय अघिसम्म सेवाग्राहीको चाप बढेको उनले बताए। पासपोर्ट छिटो बनाउन काठमाडौँ उपत्यका बाहिरका जिल्लाबाट आएका सेवाग्राही बिहानैदेखि लाइन लाग्ने गरेकाले पनि केही समय समस्या देखिएको थियो। 

यो पनि : राहदानीमा बिचौलियाको रजगज : विभाग गए एक महिना, बाहिर पैसा तिरे तीन दिनमै

त्यसपछि अनलाइनबाट समय लिएर आउनेका लागि भन्दा पनि अनलाइन प्रविधिको प्रयोग गर्न नजानेर बिहानै लाइन लाग्न आउने सेवाग्राहीका लागि बिहान १० देखि ११ बजेको समय छुट्ट्याइएको विभागले जनाएको छ। अनलाइनबाट समय लिनेहरूका लागि ११ बजेपछिको समय व्यवस्थापन गरिएकोले भिड कम भएको विभागका महानिर्देशक अर्यालले बताए।   

राहदानी विभागले २०७८ साल मंसिर १ गतेदेखि विद्युत्तीय पासपोर्ट वितरण गर्न थालेको थियो। पहिलो दुई वर्षमा २० लाख थानको लागि मात्रै आइडिमिया कम्पनीसँग सम्झौता भएको थियो। तर पुनः सम्झौता नवीकरण प्रक्रिया अघि बढ्यो। त्यही कारण सेवाग्राहीको चाप व्यवस्थापन र सिस्टमको परिपक्वताको बीचमा समस्या सिर्जना भएकाले केही समय सेवाग्राहीलाई सहज सेवा दिन नसकिएको विभागका निर्देशक एवं प्रवक्ता रमेशकुमार चर्मकार बताउँछन्।

वैदेशिक रोजगारीमा जान रोजगार अनुमति प्रणाली (ईपीएस) र अमेरिकामा बसाइँ सराइका लागि ईडीभी प्रक्रियामा आवेदन दिनेको संख्या धेरै ठूलो भएका कारण पनि सिजनल चाप बढेको थियो। ‘अपोइन्टमेन्ट सिस्टम’को उचित व्यवस्थापन र प्राविधिक गुणस्तर वृद्धिका कारण पासपोर्ट वितरण सहज भएको प्रवक्ता चर्मकारको भनाइ छ। उनका अनुसार सिस्टम सञ्चालनमा आएको परिपक्वता, सिजनल चापको पूर्वतयारी र कर्मचारी व्यवस्थापनका कारणले पनि अहिले पासपोर्ट वितरण सहज भएको छ। 

प्रि–इनरोलमेन्टमा समस्या देखिएपछि सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले प्राविधिक क्षमतामा वृद्धि गरेको थियो। शुरूमा एकै समयमा दुई हजार ५०० को संख्यामा प्रि–इनरोल गर्न मिल्थ्यो। तर सेवाग्राहीको चाप बढेर प्रि–इनरोल आवेदन गर्नेको संख्या ह्वात्तै बढ्दा सर्भरमा लोड धेरै भई सेवाग्राहीलाई सेवा दिन समस्या भएको थियो। विभागले दुई महिनाअघि तीन वटा सर्भर थपेपछि अहिले एकै समयमा तीन हजार २०० देखि तीन हजार ५०० सम्मले प्रि–इनरोल आवेदन गर्न मिल्छ। 

कुनै समय १५ दिनपछिको समयका लागि प्रि–इनरोल गर्नुपथ्र्यो। तर विभागले त्यही १५ दिनपछिको चापलाई मध्यनजर गर्दै हरेक दिन तीन–चार सयको संख्यामा वृद्धि गरी काम शुरू गर्‍यो। त्यसकै कारण बिस्तारै सेवा प्रवाह गर्ने क्षमतामा सुधार भएको प्रवक्ता चर्मकार बताउँछन्। उनका अनुसार अहिले विभागमा ‘प्रि–इनरोल’ आवेदन गरेर पासपोर्ट निकाल्नेसम्मका सम्पूर्ण प्रक्रिया एकै दिनमा सक्ने गरी सेवा प्रवाहको प्रणालीलाई व्यवस्थित गरिएको छ।

विभागका अनुसार जिल्ला प्रशासन कार्यालयहरूबाट वितरण गरिने पासपोर्टको प्रक्रिया पनि अहिले सहज भएको छ। उपत्यका नजिकका जिल्लाहरूमा तीन दिनदेखि एक हप्ताभित्रमै सेवाग्राहीले पासपोर्ट पाउन सक्छन्। अन्य जिल्लाहरूमा भने दुई हप्तादेखि एक महिनाभित्रमा पाइने व्यवस्था गरिएको छ। देशभरका सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूमार्फत सहजै पासपोर्ट वितरण भइरहेको विभागले जनाएको छ। 

निकट भविष्यमा राष्ट्रिय परिचयपत्रमा भएको विवरणलाई प्रयोग गरी फोटो मात्रै खिचेर पासपोर्ट बनाउन सकिन्छ कि भनेर सेवालाई थप चुस्त बनाउन राहदानी विभाग लागिपरेको प्रवक्ता चर्मकार बताउँछन्।


सम्बन्धित सामग्री