सन् १९८० मा बनेको एउटा हिन्दी सिनेमा छ– ‘अल्बर्ट पिन्टो को गुस्सा क्यों आता है?’ सईद अख्तर मिर्जाद्वारा लिखित/निर्देशित यो सिनेमा ७०–८० को दशकको सामाजिक–राजनीतिक–आर्थिक परिवेशमाथि एउटा चोटिलो टिप्पणी थियो। कथा एउटा मध्यमवर्गीय युवा र उसको परिवार वरिपरि घुम्छ। अल्बर्ट पिन्टोलाई अधिकांश समय रिस उठिरहन्छ, उसलाई खासमा हरेक कुरामा नै रिस उठ्छ। मोटर ग्यारेजमा काम गर्ने अल्बर्टको बुवा मिल–मजदुर हुन्, तर मिल–मजदुरहरूले अधिकारका लागि गर्ने हडताल र विरोधका कार्यक्रम उसलाई गलत लाग्छन्। ऊ धनीहरूसँगको संगत रुचाउँछ, अरू सबैमा गल्ती मात्र देख्छ।
धनी मानिसहरूले बनाउन ल्याएका राम्रा गाडीमा ऊ घुम्छ। ऊ धनीहरूको अनुकरण गर्छ। तर एक दिन जब अल्बर्टको बुवालाई मिल–मालिकका गुन्डाहरूले दुर्व्यवहार गर्छन्, उसलाई अनि मात्र थाहा हुन्छ कि दोषी मजदुर हैनन् कि पुँजीवादी मालिकहरू हुन्। उसलाई विरोध र हडतालको औचित्य र आवश्यकता महसुस हुन्छ। सिनेमा सकिँदै जाँदा अल्बर्ट रिसाइ नै रहेको युवक त हुन्छ, तर उसको आक्रोश अब धनी, पुँजीवादी र मालिक वर्गहरूतिर लक्षित हुन्छ न कि मजदुरहरूतिर।
भारतीय चलचित्र भए पनि यसमा त्यस बेलाको नेपाली सामाजिक परिवेश र मध्यमवर्गीय मनोविज्ञान पनि चित्रित हुन्छ। आज समय बदलिएको छ। वर्तमान नेपाली समाजको चित्रण भने उक्त चलचित्रलाई ‘रिवाइन्ड’मा– अन्त्यदेखि शुरूसम्म– हेर्दा धेरै मिल्दोजुल्दो देखिन्छ।
पछिल्लो केही दशकयता नेपालको सत्ताको धुरी वरिपरि घुमिरहेका सबै दलको कुनै न कुनै क्रान्तिकारी इतिहास छ। त्यस बेलाको सामाजिक–राजनीतिक संरचनाले खडा गरेको विभेद र असमानताको खाडलप्रति समाजको आक्रोश थियो। यी दलहरूले आ–आफ्नो समय, कालमा समाजमा व्याप्त उक्त आक्रोशलाई सांगठनिक रूपमा एउटा दिशा दिए। त्यो क्रममा हडताल, जुलुस, विरोध भए– ती सबै समाजको उपल्लो वर्गमा बसेर राज्यको एकलौटी दोहन र उपभोग गरिरहेका वर्गप्रति लक्षित थियो, समग्रमा भन्दा शासक, बुर्जुवा, पुँजीपति र धनीहरूप्रति थियो।
अहिले आएर त्यो आक्रोश शनैः शनैः हराएर गएको छ। जो अस्तिका वर्षहरूमा पुँजीपति र धनीहरूप्रति आक्रोश राख्थे, आज उनीहरू त्यही वर्गको संगत रुचाउँछन्, त्यही समूहका मानिसहरूसँग उठबस गर्छन्, त्यस्तै बन्न चाहन्छन्– सिनेमाका अल्बर्ट पिन्टोको शुरूआती चरित्रझैँ। अहिले उनीहरूलाई समाजका तल्लो तप्काका मान्छेहरूसँग रिस उठ्छ, गरिबप्रति सहानुभूति छैन, विरोध गर्ने ठाउँ निषेध गर्छन् र ठूला घरमा बस्छन्, चिल्ला गाडीमा घुम्छन्।
हालैका केही प्रतिनिधि घटनाले चित्रण गर्ने समाजको तस्वीर अलि भयावह नै छ। भ्रष्टाचार आरोप लागेका केही व्यक्तिहरूको उमेर कति होला भन्ने विचार गर्नु भएको छ? उनीहरूको उमेर र उनीहरूलाई लगाइएको भ्रष्टाचारको आरोपको तुलना गर्नूस् त। कतिपय आरोपमा बाबु-छोरा नै मुछिएका छन्। यी सतहमा आएका विचलित बनाउने खालका घटना हुन्।
चाहना हुनु/राख्नु मानवीय गुण हुन्। पैसा कमाउने, धनी बन्ने, सहज र आरामको जीवन जिउने आकांक्षा राख्नुमा केही गलत छैन। तर ती इच्छा–आकांक्षा पूरा गर्ने साधन के हुन् भन्नेचाहिँ महत्त्वपूर्ण विषय हो। चिन्ताको कुरा के हो भने आजभोलि सबैलाई ‘छोटो बाटो’ चाहिएको छ, र त्यो छोटो बाटोको क्रममा गलत कामहरू बेवास्ता गरिएका छन्। राजनीतिक नेतृत्व भ्रष्ट– यहाँ भ्रष्टको अर्थ केवल आर्थिक चलखेलको कुरा मात्र होइन कि, आचार, व्यवहार र संस्कारको पनि हो– हुँदै गयो भने त्यसले सामाजिक मनोविज्ञान पनि भ्रष्ट बनाउँदै लान्छ।
२०४६ सालमा प्रजातन्त्रको पुनरोदयपछि सामाजिक–आर्थिक विकासले गति समाउन नसक्दा पिँधमा परेको वर्ग जति माथि उठ्न पर्ने थियो त्यति उठ्न सकेन, तर त्यही पिँधका मान्छेका आक्रोशलाई व्यवस्था परिवर्तनका लागि ‘च्यानलाइज’ गरेर सत्तामा पुगेपछि आफू नै शासक बन्ने प्रवृत्ति बढ्दो छ। जो सत्तामा पुग्न सकेन, ऊ सत्तामा भएका मानिसनिकट पुग्न चाहन्छ, अनि अरूहरू त्यही निकट पुगेका मानिसहरूनिकट रही राज्य दोहनमा नवशासकलाई सहयोग गर्न लागेका छन्।
त्यही भएर आजभोलि आक्रोश छैन, छ भने पनि यो समाजको सानो समूहमा छ, जसले ठूलै परिवर्तनका वाहक बन्नलाई निकै ठूलै मिहिनेत गर्नुपर्ने हुन्छ। यो आक्रोशलाई दिशा दिएर परिवर्तन ल्याउन सक्ने बलियो संगठन भएका दल र नेताहरूलाई समाजको निम्न वर्गको सीमित पीडासँग खासै मतलब छैन।
भारतका प्रख्यात लेखक, कवि, गीतकार जावेद अख्तर कुनै बेला उनी र उनका सह–लेखक सलिम खान ‘एंग्री यंग म्यान’को चरित्र लेख्थे, त्यो बेला उनीहरू कुनै सामाजिक–राजनीतिक चेतनाबाट अभिप्रेरित भएर भन्दा पनि समाज वरपर घटित घटना देखे/भोगेका कारण लेख्थे।
जावेद अख्तरले एउटा अन्तर्वार्तामा भनेका छन्, “आजभोलि त्यस्ता चरित्र/पात्र लेखिँदैनन्। किनकि ती पात्र विगतमा जसका विरुद्ध संघर्ष गर्थे अहिले आफैँ त्यही बन्न चाहन्छन्।”
नेपाली राजनीतिक दल र नेताहरूमा आजभोलि त्यस्तै नयाँ रहर पलाएको छ। अस्तिसम्म मजदुर र भुईं तहको मान्छेको नेतृत्व गरेर मालिक/शासकविरुद्ध आवाज उठाउनेहरू आजभोलि अल्बर्ट पिन्टोको ‘रिभर्स’ यात्रामा छन्, उनीहरूलाई मालिक र शासक बन्नु छ, उनीहरूलाई धनीहरूसँगको संगत मन पर्छ। भाषणचाहिँ समता, समाजवाद र विकासकै गर्छन्, तर समाजको तल्लो वर्गले चाहेको/खोजेको विकास कस्तो हो भन्ने उनीहरूले बिर्सिसके। किन त? उनीहरू सिनेमाको शुरूआती बेलाको अल्बर्ट पिन्टो भइसके, चिल्ला गाडीमा घुम्ने उनीहरूलाई सडकको मान्छेका पीडा र आक्रोश गलत लाग्छ। त्यसैले त होला, मिटरब्याज पीडितहरूदेखि पनि यो नयाँ पुँजीपति वर्ग खतरा देख्छ, मिलेसम्म आममानिसलाई सडकमा हिँड्न पनि दिँदैन। विरोध गरेको देख्यो भने प्रहरी लाएर धपाउँछ।
‘संसारकै उत्कृष्ट’को अनावश्यक ‘ठप्पा’ लाएर ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ गर्ने संविधान लेखी नै सकेपछि, त्यो समाजवाद आउँछचाहिँँ कसरी भनिदिने जिम्मा पनि आखिर यिनै दल र नेताहरूको नै होला, जसले सो घोषणा गरे। आजका दलहरूमा उनीहरूले भनेजस्तो समाजवाद ल्याउने समाजवादी चरित्र उनीहरू प्रदर्शन गरिरहेका छन् त? कस्तो समाजवादी राष्ट्र निर्माण गर्न खोजेका हुन् भन्ने कुरा उनीहरूले समाजलाई व्यवहारमा उतारेर देखाउन सकेका छन् त? जबकि, जनता खासमा ‘समाजवाद’ के हो भन्ने लफ्फाजी जान्न नै चाहँदैनन्, उनीहरू त आफूलाई अनुभूत हुने विकास चाहन्छन्।
जनताले चाहेको विकास के हो त? तिनै लेखक/निर्देशक सईद अख्तर मिर्जाको एउटा भनाइ छ– “विकासको अर्थ यो हो कि समाजको सबैभन्दा कमजोर व्यक्ति पनि सम्मानको जीवन जिउन सकोस्।”
त्यो कमजोर व्यक्ति को हो त– अल्बर्ट पिन्टो? वा उसको मिल? मजदुर बुवा? म? वा तपाईं?