Thursday, May 02, 2024

-->

अर्घाखाँचीका सोम, सिंहदरबारका सामन्त

मिल्नु नराम्रो नहुनु पर्ने हो, तर हामीले भोगेको राजनीतिक र राजकीय चरित्रलाई केलाएर हेर्दा धेरै चिज मिलेरै बित्यास पारेका छन्।

अर्घाखाँचीका सोम सिंहदरबारका सामन्त

मिल्नु नराम्रो नहुनु पर्ने हो, तर हामीले भोगेको राजनीतिक र राजकीय चरित्रलाई केलाएर हेर्दा धेरै चिज मिल्दा तिनले बित्यास पनि पारेका छन्। मिलीभगतको चरित्र झल्काउन कुनै ठूलो काण्डको चर्चा गर्दै वा ठूला ठूला जार्गनवाला दृष्टान्त प्रस्तुत गरेर आलेखलाई जटिल बनाउन मन छैन, एउटा सामान्य ग्रामीण घटना उल्लेख गर्न चाहन्छु। 

वारि अर्घाखाँची, पारि पाल्पा
अर्घाखाँचीपट्टिको बस्तीमा घर, गोठ र विद्यालय भवनलगायत निर्माण काममा ठेक्कापट्टा लिने, काम गर्ने प्रायःजसो कालिगड पारि पाल्पाका हुन्छन्। ती कालिगडलाई गाउँ, गाउँले र गाउँका रकमी र हर्ताकर्ताका बारेमा त पाइपाई जानकारी हुने नै भयो। गाउँलेको काम गर्ने क्रममा काठ काट्न जंगल जाँदा पसेट, धुरीखाँबो र थाम बनाउन मिल्ने खालका तिजु र चिउरीका गतिला गतिला रूख जंगलको कुन–कुन ठाउँमा छन्, कालिगडलाई चप्पाचप्पा थाहा हुने नै भयो।

कालिगडको नाइके सोमबहादुर! सोमबहादुरलाई आफ्नो घर बनाउनुपर्ने भयो। आफ्नो गृहगाँउ रहेको पाल्पापट्टिभन्दा राम्रा–राम्रा काठ पैदावार अर्घाखाँचीपछिको जंगलमा पाइने कुरा उसलाई राम्रोसँग थाहा थियो, तर स्थानीय उपभोक्ता नियमले वारि जिल्लाको जंगलबाट पारि जिल्लाका बासिन्दाले रूख काट्न पाइन्नथ्यो। सोमबहादुरले पुरापुर `राजनीति` खेल्यो! पारि गाउँका ´हर्ताकर्ता र ठूलाठालु`जति सबैलाई एक्लाएक्लै भेटेर जंगलको सबैभन्दा रोजिन्दा रूख काट्ने अनुमति माग्यो, भेटमा सबैलाई लोभ देखायो।

वडाध्यक्षलाई पनि फकायो। गाउँका ´नेता` सबैलाई भेट्दै भन्यो, “म त तपाईंले जे भने पनि मान्छु हजुर, मलाई त्यो रूख काट्न अनुमति दिनुपर्‍यो!” गाउँका चुनिँदा ठूलाठालुलाई लाग्यो, ‘यसले त मलाई खुब मान्दो रहेछ!’ ठेकेदारको साख्यै बन्न र आफ्नो काम गराउँदा फाइदा लिने लोभमा सबैजसोले सोमबहादुरको रूख काट्ने मागमा आफ्नै खल्तीबाट झिकेर दिन मिल्नेझैँ गरी आश्वासन दिए। 

चतुर सोमबहादुरले भोलिपल्ट नै आफ्ना कर्मी र कामदार बटुलेर झामझुम रूख काटिबरी आफ्नो गाउँ पुर्‍याइभ्यायो। घाँसदाउरा गर्न जंगल गएका स्थानीय अचम्म परे। गोठ बनाउन एउटा सल्लोको रूख काट्नुपर्दा नानाभाती विधि पुर्‍याउनुपर्थ्यो, तर पारि गाउँकाले आँखैअगाडि फटाफट रूख काटेर लग्यो। के हो यस्तो? गाउँमा खबर फैलियो। बिनाअनुमति रूख काट्नेलाई छोडिन्नँ भनेर कुर्लिने धेरै भए, पाता कसिन्छ भनेर कुर्लिनेमा गाउँकै ठूलाठालु भनाउँदा भए। रूख काटेको विषयमा कचहरी बस्नैपर्ने भयो। कचहरीमा गाउँलेले रूख काट्नेलाई 'जुर्माना' गर्नैपर्छ भन्न थाले, ठालुहरू भने मुखामुख गर्न थाले।

सबै दगलफसल सुनिबसेको सोमबहादुर जुरुक्क उठ्यो र कड्किन थाल्यो, "कसले भन्छ मैले बिनाइजाजत रूख काटेँ भनेर? मैले सोध्नुपर्ने सबैलाई सोधेरै रूख काटेको हुँ, सोमबहादुरले आफ्नो चोरी औँला ताक्दै कमल, कुलानन्द, कृष्णप्रसाद, खगराज, गणपति, गुणप्रसाद, टीकाराम, पुष्कर, बालकृष्ण, रविलाल, नेत्र, ईश्वरी, यज्ञनाथलगायत गाउँका ठूलाठालुको नाम लिँदै भन्यो, "मैले हजुरसँग रूख काट्न माग्दा, मेरो तर्फबाट हुन्छ भन्नू भएको होइन? अहिले कचहरीमा आएर मलाई नै उल्लु बनाउने?" 

होइन भनौँ भने एक्लाएक्लै भेटमा रूख काट्न दिने बाचा गरेकै हुन्, हो भनौँ त गाउँलेका अगाडि मिलीभगतको गन्ध आउने। अनि त गाउँलेलाई फकाएर, कुरा घुमाएर, तर्साएर र आलटाल अनेक गरी ठूलाठालुले आफ्नो बचाउ गरिछाडे। अनधिकृत रूपमा काटिएको रूखको मुद्दा अनेक तरहले आफू–आफू मिलेर गोलमाल बनाए। सोमबहादुरलाई जुर्माना गराउने कुरा त्यत्तिकै फासफुस भयो।

पढ्दा सामान्यजस्तो लाग्ने यो घटनाको बिम्ब अहिले देशका राजनीतिक दल, खासगरी राज्यसत्तानजिक रहेका र राज्यसत्तानजिक पुग्ने लालसा बोकेका सामन्तसँग ठ्याक्कै मिल्दोजुल्दो छ। सुनकाण्ड, जग्गाकाण्ड, नक्कली भुटानी शरणार्थीकाण्ड, सहकारीकाण्ड; कुनचाहिँ काण्डको कुरा गरौँ? जुनसुकै प्रकरणमा पनि खासखास ´टाउके`ले "मेरा तर्फबाट भइहाल्छ" भन्ने एग्रिमो पक्कै दिए। बाहिर जति चर्का कुरा गरे पनि खास अनुसन्धान भयो भने अनुसन्धानको तीर बुमर्‍याङ हुने डर नेतृत्वमा बसेकाहरूमा छ। सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन भएको सहकारी प्रकरणमा यदि साँच्चिकै वित्तीय र न्यायिक अनुसन्धान हुने हो भने प्रमुख राजनीतिक दलका जिल्ला तहका झन्डै ७० प्रतिशत नेता पक्राउ गर्नुपर्ने देखिन्छ। ती मझौला नेताले आफ्ना माथिल्ला तहका नेता रिझाउन पनि सहकारीको रकम अपचलन गरेका छन्। अनि त कसरी कारबाही होस् सहकारीका सोमबहादुरहरूलाई?

डर
गएको माघ २८ गते एनटीसीको सिम प्रयोगकर्ताले डायल गर्दा ´कल टोन`मा अनिता बिन्दुको परिचित आवाजमा सन्देश थियो, ‘भ्रष्टाचारको धनले सधैँभरि पोल्छ, लुकाइ राख्न सकिँदैन एक दिन पोल खुल्छ!’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आयोगले प्रायोजन गरेको कल टोन थियो त्यो। कसैलाई फोन डायल गर्दा यो टोन सुन्नुपर्दा ‘अहो, यो त मलाई नै भनेको हो क्या हो?’ भन्ने ठान्दै तर्सिएका पात्रहरू कति होलान्? 

माघ २८ गते विनोद चौधरीले कसैलाई फोन डायल गरे कि गरेनन् होला? अरुण चौधरीले आफ्नै कानले यो कल टोन सुने कि सुनेनन् होला? चूडामणि शर्माको कानमा सो ´श्लोक' पर्दा त्यसको प्रभाव कस्तो रह्यो होला? मीनबहादुर गुरुङ र दीप बस्नेतहरूलाई सो टोन कस्तो लाग्यो होला? राजनीति गर्ने, व्यापार गर्ने, सेनाका मान्छे, प्रहरीका मान्छे, प्रशासक, प्राविधिक , प्राध्यापक जो मैलोमा मुछिएका छन्, तिनलाई कस्तो लाग्यो होला? ´आफ्नै आत्मासँग झूट बोल्न सकिँदैन' भन्ने मान्यतालाई आधार मान्ने हो भने सो टोनले कति जनाको आत्मामा घोच्यो होला? सायद अनगिन्ती!

राजनीतिक, सामाजिक, शैक्षिक या आर्थिक कुनै पनि क्षेत्रमा अलिकति अग्लो स्थान बनाएका धेरै पात्र समाजका लागि निःशन्देह 'अनुकरणीय व्यक्तित्व' बन्न किन सकिरहेका छैनन्? इमान र आदर्श किन टिकाउ छैन? के इमान ´मुखुन्डो`को बलमा बाँचेको छ? जब मुखुन्डो फुत्कियो इमान गायब! प्रख्यात कथाकार मोपासाले भनेझैँ के किसान र वेश्या मात्र मुखुन्डोविहीन छन्? अरू हामी बाँकी सब बेइमानी गर्ने अवसर नपाएर मात्र इमानदार ठहरिएका हौँ?

चेतनाका हिसाबले मानिस जगत‍्कै सबैभन्दा सचेत प्राणी हो भनेर हामीले नै ठहर गरेका छौँ। उसो त, मानिस ब्रह्माण्डकै सबैभन्दा स्वार्थी प्राणी पनि हो। आफ्ना लागि ज्यादा सोच्ने। आफू र आफ्नाका लागि ज्यादा अनुकूल हुने गरी सोच्नु अरूका लागि अप्ठ्यारो भए भइरहोस् भन्नु पनि हो। स्वार्थको त्यही बिन्दुबाट शुरू हुने हो, आचरणमा भ्रष्टाचार र आचरणमा अपराध।

पक्षीको बगालझैँ वा माहुरीको घारझैँ सगोलमा बस्ने, तर आफ्नो चारो भने आफ्नै चुच्चाले आफैँ खोज्ने सरल जीवनको कल्पना आजको दिनमा निकै भद्दा आदर्श ठहरिने छ। जसरी हाम्रो शरीरका कतिपय तत्त्व, हर्मोन या रसायन आम रूपमा लाभदायक हुँदैनन्, तर निश्चित मापदण्डभन्दा मुनि हुँदा तिनले शरीरमा नोक्सान पनि पुर्‍याउँदैनन् भन्ने चिकित्सकीय मान्यता हुन्छ, त्यसैगरी राज्यका विभिन्न जिम्मेवारमा रहेकाले पनि स्वार्थको ´सामान्य रेखा`भन्दा तल नै बसिदिने हो भने हामीले भोगेको बेथिति र भ्रष्टाचार सायद यति चर्को र दिक्कलाग्दो अवस्थामा पुग्ने थिएनन् कि?

सञ्चारमाध्यममा भ्रष्टाचारसम्बन्धी समाचार नछापिएको दिन हुँदैन। भ्रष्टाचार र अख्तियार दुरुपयोगकै कारण विधि, प्रणाली र सुशासनको सपना हाम्रा लागि 'मिथ अफ सिसिफस` बनिरहेको छ। यावत् निराशाका कुराका बिच केही आशावादी कुरा गरौँ , बालुवाटारको ´ललिता निवास` होस वा बाँसबारीको चाँदबाग`, यी जमिनमा जति शक्तिशाली प्रपञ्च गरे पनि ´चोरी` त एक दिन पटाक्षेप भइछाड्यो।

चालको तेस्रो नियम हो, ´हरेक क्रियामा बराबर तर विपरीत प्रतिक्रिया`! हो, त्यस्तै समाजमा पनि यस्तो तप्का पनि त तयार हुँदै होला, जो बेथितिपूर्ण क्रियाको जति धेरै सिकार बन्दैछ त्यति नै आफू असल बन्ने वा असल गर्ने प्रतिक्रिया (अठोट) का साथ सोचोस्। इमान दुर्लभ बन्दैछ, तर सकिएकै त होइन। इमानसहितको पुस्ता पनि हुर्किँदै छ, कम्तीमा आशावादी त बनौँ।

भ्रष्टाचारको धनले पोल्छ
"लुकाई राख्न सकिँदैन एक दिन पोल खुल्छ!" भन्दै अख्तियार दिवसका सन्दर्भमा कल टोनमा बजेको स्लोगानको अन्तर्यलाई कसरी व्याख्या गर्ने भन्ने कुरा विषयपरक हो। कसैलाई यस्तो सन्देश सचेतता प्रभावकारी लाग्न सक्छ, कसैलाई वाहियात लाग्न पनि पायो। त्यसको छिनोफानो गर्न गाह्रो छ। तर पनि कतिपय अनैतिक, अमानवीय , असभ्य र भ्रष्टाचार जन्य (कु)कर्मको फल तत्कालका लागि आरामदायी भए पनि अन्ततः त्यसको असर हानिकारक नै हुन्छ भन्ने मान्यतालाई हामीले स्वीकार गर्नै पर्छ। भ्रष्टाचारको परिणति दुःखद नै हुन्छ र भ्रष्टले कुनै न कुनै बखत सजाय पाइछाड्छ भन्ने कुरालाई नैतिक र सामाजिक रूपमा अनुमोदन गर्नै पर्छ।

न्यायिक हिसाबले भन्दा कानुनको हात लामो हुन्छ भनेर बुझ्न/बुझाउन सकियो, विज्ञानका हिसाबले भन्दा तथ्य र प्रमाणले कहिल्यै छोड्दैन भने बुझ्न सकियो, धार्मिक या आध्यात्मिक हिसाबले भन्ने हो भने पाप धुरीबाट कराउँछ भन्न पाइयो। भ्रष्टाचारले एक दिन न एक दिन अवश्य पोल्छ।

भ्रष्टाचारले कसरी पोल्छ?
नेपालको शासकीय संयन्त्रमा पटक पटक अवसर पाएका एक जना व्यक्ति भ्रष्टाचारको कसुरमा आरोपित भए, छानबिनकै बीचमा उनको निधन भयो। आरोपितको निधन भए पनि अनुसन्धान रोकिएन, न्यायिक निरूपणमा ती व्यक्ति दोषी ठहरिए। बिगो र जरिबानाबापत करोडौँ रुपैयाँ असुली गर्न उनको नाममा रहेको घरबंगलामा राज्यले दाबी गर्‍यो। परिवारले पनि खुरुक्क घर खाली गरिदिए। परिवारले घर/जमिन राज्यलाई सुम्पने क्रममा घरभित्रको सिवाय एक चिजबाहेक आफ्ना सम्पूर्ण निजी सामान पोको पारेर लगे। त्यही घरमा छोडेर गएको त्यो एक चिज थियो फूलमाला चढाइएको तस्वीर। उक्त तस्वीर कुनै बेला त्यही घरका मालिकको थियो, श्रीमान‍्को थियो, बुवाको थियो, तर उक्त तस्वीरलाई श्रीमती, छोराछोरी र नातिनातिनाले समेत अपनाउन मानेनन्। 

त्यसको विपरीत यदि इमान र आदर्शबाट जोडेको सम्पत्ति कसैलाई सुम्पनुपरेको हुन्थ्यो भने परिवारले सारा सामान बिर्सेर आफ्ना अभिभावकको तस्वीर मात्र च्यापेर निस्कँदै गरेको आदर्श दृश्य देख्न पाइन्थ्यो। 

भारतीय साहित्यकार जाबेद अख्तरले कुनै सन्दर्भमा भनेका छन्, “ठूला मान्छेहरू सिर्फ आफैँसँग मात्र प्रेम गर्छन्। आफ्नो जीवन र भूमिकालाई भव्य देखाउन अनेक तरिकाले आफ्नो व्यक्तित्वलाई सिँगारपटार गर्छन्।” हामीले भोगेको सामाजिक र राजनीतिक यथार्थ त्यस्तै छ। हाम्रो देशका 'ठूला मान्छे'ले पनि आफैँलाई मात्र प्रेम गरे, उनीहरूले आफ्ना लागी ´प्रेम` गर्दा अपनाएका मिलीभगत, छल, बेइमानी र स्वार्थको मूल्यचाहिँ आममान्छेले चुकाउनु परेको छ। तर नैतिक पक्ष यो हो कि हामी जति धेरै गलत हरकतको चस्मदिद (साक्षी) हुनुपरेको छ, हामीले त्यति नै असल बन्ने र बनाउने अठोट पनि गर्नुपर्‍यो।


स्वतन्त्र पत्रकार पोख्रेल हाल निजी उद्यममा संलग्न छन्।


सम्बन्धित सामग्री