Saturday, April 27, 2024

-->

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार, घटना १ महिनादेखि ‘आन्तरिक छानबिन’मै

नेपाल राष्ट्र बैंकमा एक उच्चपदस्थ महिला कर्मचारीमाथि आफ्नै सहकर्मीबाट भएको दुर्व्यवहार एक महिनादेखि ‘आन्तरिक छानबिन’मा छ। घटना ढाकछोप गर्न बैंकका उच्च अधिकारीहरू नै लागिपरेको आरोप लागेको छ।

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार घटना १ महिनादेखि ‘आन्तरिक छानबिन’मै

काठमाडौँ– नेपाल राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि उनी मातहतका सहकर्मीले नै दुर्व्यवहार गरेको सूचना एक महिनाअघि नै प्राप्त भएको थियो। त्यो बेला यसबारे बुझ्ने कैयौँ प्रयास गर्दा पनि पीडितले कुरा गर्न चाहिनन्। घटनाबारे जानकार अन्य केही व्यक्तिहरूसँग भने हामी सम्पर्कमै रहिरह्यौँ।

निरन्तरको प्रयासपछि फागुन ४ गते हामीले ती महिलालाई भेट्यौँ। उनले शुरूमै भनिन्, “अब म यो विषय धेरै कोट्याउन चाहन्नँ। मिडियाबाजी गर्न पनि मन छैन। ममाथि भएको घटनाबारे कार्यालय (राष्ट्र बैंक) ले छानबिन गरिरहेको छ। मलाई विश्वास छ, मैले मेरै संस्थाबाट न्याय पाउने छु।”

बैंकका निर्देशक थानेश्वर आचार्यले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले निवेदन दिएपछि यो घटनाबारे अहिले राष्ट्र बैंक आफैँले छानबिन गरिरहेको छ।  

सहकर्मीहरूकै सामुन्नेमा दुर्व्यवहार 
घटना गत पुस २७ गतेको हो। राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका करिब ५० जना कर्मचारी सहभागी थिए। त्यसमा सहभागी हुन उनी पनि कार्यक्रमका लागि नगरकोट पुगेकी थिइन्। कार्यक्रममा योगी विकासानन्दको प्रवचन र योगाभ्यास समावेश थियो।

गभर्नर महाप्रसाद अधिकारी पनि परिवारसहित कार्यक्रममा सहभागी भएका थिए। औपचारिक कार्यक्रम सकिएपछिको रात्रिभोज शुरू हुनुअघि उनी आफ्नो कोठामा गएर आराम गरिरहेकी थिइन्। त्यति नै बेला बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उनलाई ‘स्न्याक्स खुलिसक्यो, आउनुहोस्’ भन्दै फोन गरे।

उनी पुग्दा हलमा केही कर्मचारीहरू खाजा खाइरहेका थिए भने केही नाचगान गरिरहेका थिए। कार्यक्रममा सहभागी एक कर्मचारीले हामीलाई बताएअनुसार हलको एउटा टेबलमा बैंकका डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक एवं सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल र थानेश्वर आचार्य बसेर मदिरा पिइरहेका थिए।

हलको छुट्टै टेबलमा अन्य कर्मचारीसँग बसेर स्न्याक्स लिएपछि उनी खाना खान होटलको माथिल्लो हलमा जाँदै थिइन्। त्यही बेला उनलाई केही परको टेबलमा रहेका आचार्यले ‘नमस्कार म्याडम’ भने। नमस्कार फर्काएर अगाडि बढ्दै गर्दा आचार्य दौडिएर आएको र पछाडिबाट झ्याप्प अँगालो हालेको उनले बताइन्।

आचार्यको यस्तो हर्कतबाट आफू छाँगाबाट खसेझैँ भएको र त्यसबाट निकै असहज महसुस गरेको उनी बताउँछिन्। आचार्यले उनलाई यस्तो हर्कत गर्दै गर्दा त्यहाँ उपस्थित बैंकका उच्च पदाधिकारी तथा कर्मचारी प्रत्यक्षदर्शी थिए।

“मलाई दुर्व्यवहार गर्ने (थानेश्वर आचार्य) लाई त्यतिबेलै दुई/चार चड्कन लगाउन चाहन्थेँ। तर त्यति धेरै सहकर्मीमाझ पदीय मर्यादा र जिम्मेवारी सम्झेर आफूलाई सम्हालेँ,” उनले भनिन्, “उनलाई पन्छाएर म माथिल्लो तलामा गएँ। साह्रै असहजताबीच खाना खाएँ।”

उनी खाना खान माथिल्लो तलमा पुग्दा गभर्नर अधिकारी परिवारसहित खाना खाइरहेका थिए। उनले एकै छिनअघि आचार्यबाट आफूमाथि भएको दुर्व्यवहारबारे मुख खोल्न सकिनन्। घटना भएको एक सातासम्म उनी चुपचाप बसिन्। घटना सार्वजनिक गर्ने कि नगर्ने भन्ने तनावमा थिइन् उनी। सार्वजनिक गर्दा आफ्नो पद र जिम्मेवारीमा केही असर पर्ने हो कि भन्ने चिन्तासमेत उनको मनमा थपियो।

आफूमाथि भएको दुर्व्यवहार र हिंसाको विरोध गर्दा समाजले उल्टो आफैँलाई दोषी देख्ने हो कि भन्ने भय पनि उनमा थियो। तर घटनाको विरुद्ध चुपचाप बस्दाको उकुसमुकुसले बेचैन बनाइरह्यो। “म जस्तो एउटा ओहोदामा पुगेर काम गरिरहेको महिलालाई दुर्व्यवहार हुँदा त के गरौँ, कसो गरौँ भन्ने हुँदो रहेछ भने यस्तो दुर्व्यवहार खेप्ने सर्वसाधारण महिलाको अवस्था कस्तो होला?” उनले भनिन्।  

अनि शुरू भयो आरोपीलाई बचाउने खेल
एक सातासम्म आफूमाथि भएको दुर्व्यवहारबारे के गर्ने कसो गर्ने भन्ने भेउ पाउन नसकेर मुख खोल्नसमेत नसकेकी उनले यस्तो तनावका बीच कार्यालय पुगेर काम गर्न भने छाडिनन्। घटनाविरुद्ध उत्रिने कि नउत्रिने भन्ने निर्णयमा पुग्न नसकिरहेका बेला उनी माघ ७ गते बैंकको एउटा बैठकमा सहभागी भएकी थिइन्।

बेलुका ६ बजे बैठक सकिनासाथ उनलाई डेपुटी गभर्नर बमबहादुर मिश्रले आफ्नो कार्यकक्षमा बोलाएर भने, “अस्ति नगरकोटमा थानेश्वरले तपाईंलाई बद्तमिजी गरेको सम्बन्धमा पत्रिकामा समाचार छाप्ने भन्दै छन्। यसबारे मसँग सोधीखोजी गर्दै छन्। म के भन्दिऊँ?”

मिश्रले यस्तो प्रश्न गरेपछि केहीबेर निःशब्द भएकी उनले त्यसपछि उनलाई नै प्रतिप्रश्न गरिन्, “तपाईंले के छाप्ने भन्नुभएको हो? किन छाप्ने? यस्तो समाचार पनि छाप्ने हो र?” मिश्रले उनको प्रश्नको जवाफ दिएनन्। बरु थपे, “त्यसो भए म अहिले नछाप्नू भन्छु।”

लगत्तै मिश्रले एक जना पत्रकारलाई फोन गरेर ‘त्यो समाचार अहिले नछाप्नू है’ भनेको, उनको यस्तो व्यवहारले आफूलाई थप पीडा दिएको उनी बताउँछिन्। “म झन् स्तब्ध भएँ, कसले के गर्न खोजेका हुन् बुझ्दै बुझिनँ,” उनले भनिन्।

आफूमाथि दुर्व्यवहार गर्ने आचार्यलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको अडान थियो। त्यसपछि घरतर्फ लाग्दा अझ तनाव भएपछि उनले बाटैबाट मिश्रलाई फोन गरेर आचार्यलाई कारबाही हुनुपर्ने अडान दोहोर्‍याइन्। तर मिश्रले ‘त्यो (आचार्य) मरिसकेकोलाई के मार्नू, छोडिदिऊँ’ भनेका थिए।

घर पुगेपछि केही बेरअघि मिश्रले फोन गरेकी पत्रकारलाई उनले पनि फोन गरेर सोधिन्, “तपाईंले के विषयमा समाचार लेख्दै हुनुहुन्छ? तपाईं महिला नै भएर ममाथि भएको घटनाबारे समाचार लेख्नुअघि मसँग सोधपुछ गर्नुको सट्टा मेरा अरू पुरुष सहकर्मीहरूसँग के सोधखोज गर्दै हुनुहुन्छ? यो कुरा मलाई असहज लाग्यो।”

ती पत्रकारको भनाइ उद्धृत गर्दै उनले भनिन्, “म्याडम, तपाईंले क–कसलाई रोक्न सक्नुहुन्छ? त्यो नगरकोटको घटनाको न्युज मात्र होइन, भिडियो र स्क्रिन शटसमेत बनाएर मलाई दिइएको छ। एक साता भइसक्दा पनि किन नछापेको भनेर तीन पटक रिमाइन्डर आइसकेको छ।” त्यसपछि उनले ती पत्रकारलाई घटनाको भिडियो र स्क्रिन शट कसले दियो भनेर सोधेकी थिइन्। उनले जवाफ पाइन्, “नगरकोटमा उपस्थित राष्ट्र बैंक व्यवस्थापनकै उच्च तहका व्यक्तिहरूले मलाई भिडियो र स्क्रिन शट दिएका हुन्।”

उनको यस्तो प्रतिक्रियाबाट उनी आफूविरुद्ध नियोजित षडयन्त्र हुन थालेको निष्कर्षमा पुगिन्। त्यसपछि परिवारलाई पनि घटनाबारे जानकारी गराइन्। परिवारको सल्लाहमा उनले ती पत्रकारलाई त्यसै राति पुनः फोन गरेर उनीसँग भएको भनिएको भिडियो र स्क्रिन शट आफूलाई उपलब्ध गराउन अनुरोध गरिन्। तर यसपटक भने उताबाट निकै नरम उत्तर आयो, “मसँग केही छैन, मैले अर्काको मोबाइलमा हेरेको हो।”

त्यसलगत्तै उनलाई बैंकका डेपुटी गभर्नर मिश्रले फोन गरेर भनेका थिए, “यो घटनालाई धेरै नउचालौँ, बदमासी गर्ने आठ/दश जना केटाहरू को–को हुन् म खोज्दै छु।” पत्रकार र मिश्रसँगको संवादपछि आफूविरुद्ध संगठित रूपमा षडयन्त्र हुन लागेको भन्नेमा आफू अझ दृढ भएको उनी बताउँछिन्। 

बचाउमा जो–जो देखिए 
भोलिपल्ट, माघ ८ गते बिहान आरोपी आचार्यलाई लिएर डेपुटी गभर्नर मिश्र उनको कार्यकक्षमा आए। उनले हामीलाई सुनाएअनुसार मिश्रले आचार्यलाई देखाउँदै भनेका थिए, “जे भयो भयो, यसलाई माफी दिनुहोस्।”

आफूमाथि आचार्यबाट भएको अक्षम्य अपराध माफीयोग्य नभएको जवाफ दिएकी उनले त्यसपछि गभर्नर अधिकारीलाई नै भेटेर आफूमाथि भएको दुर्व्यवहारको घटनाबारे बताएकी थिइन्। डेपुटी गभर्नर मिश्र र पत्रकारले आफूलाई धम्क्याएकोबारे पनि गभर्नर अधिकारीलाई जानकारी गराइन्।

गभर्नर अधिकारीले ‘घटना भएको त धेरै दिन भइसकेको रहेछ, किन यति ढिलो भन्न आउनुभएको?’ भनेर सोधेका थिए।

“गभर्नरलाई उहाँले आफ्नो पीडा सुनाउनुभएको थियो। यो विषयलाई गभर्नरज्यूले गम्भीर रूपमा लिनुपर्ने थियो,” यसबारे जानकार राष्ट्र बैंकका एक कर्मचारीले उकालोसँग भने, “तर उहाँले कुरा गर्दै जाँदा अहिले मसँग धेरै समय छैन भन्नुभो।” आफूमाथि भएको घटनालाई गम्भीर रूपमा लिन उनले गभर्नर अधिकारीलाई अनुरोधसमेत गरेकी थिइन्।

अन्ततः उनी आफूमाथि भएको घटनाबारे छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै गभर्नरसमक्ष लिखित उजुरी दिने निर्णयमा पुगिन्। राष्ट्र बैंकका एक कर्मचारीका अनुसार उजुरी लेख्दै गर्दा बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल अकस्मात् ती महिला कर्मचारीका कार्यकक्षमा आएका थिए। उनले उजुरी दिएर घटनालाई ‘फर्मलाइजेसन’ नगरौँ भन्दै मनाउने प्रयास गरेका थिए। ढकालले ‘पछि तपाईंसँग प्रमाण के छ भनेर सोध्छन्, के भन्नुहुन्छ त्यतिबेला?’ भन्दै प्रश्न गरेका थिए।

हामीले यसबारे बुझ्न सम्पर्क गर्दा ढकालले भने, “त्यो घटना हुँदा म बाहिरपट्टि निस्केको थिएँ। घटना भएको पाँच दिनपछि मात्र थाहा पाएँ। मैले कसैलाई बचाउन किन परेको छ र?” उजुरी लेख्दै गर्दा त्यसलाई रोक्न दबाबचाहिँ दिनुभएको रहेछ नि भन्ने प्रश्नमा उनले भने, “हामीले जे गर्न खोजिरहेका छौँ त्यो सही नहोला कि, सोचेर मात्रै गरौँ है भन्नु त कुन ठूलो कुरा भयो र!”

उनले यो घटनाको समाचार बनाउन खोजेकी पत्रकार आफ्नै गाउँकी महिला भएको र उनीसँग घटनाबारे कुनै पनि भिडियो र स्क्रिन शट नभएको बताएका थिए। अब यो घटनाबारे समाचार नआउने भन्दै उनले ती उच्चपदस्थ महिला कर्मचारीलाई आश्वस्त पार्न खोजेका थिए। त्यसका बाबजुद उनले गभर्नर अधिकारीसमक्ष लिखित उजुरी दिइन्।

राष्ट्र बैंकको मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभागका एक कर्मचारीका अनुसार गभर्नर अधिकारीसमक्ष पेश भएको उजुरी दुई दिनपछि छानबिनको प्रक्रियामा गयो। विभागले लिखित उजुरीबिना छानबिन अघि बढाउन नसक्ने भनेपछि गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ अनुसार छानबिन अघि बढाउन लिखित निर्देशन दिएका थिए। त्यसपछि घटनाबारे छानबिन प्रक्रियाले औपचारिकता पाएको थियो।

उजुरीमाथि छानबिन गर्न मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभागका प्रमुखको अध्यक्षतामा समिति हुन्छ। विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले गोपनीयतालाई ख्याल गर्दै यो विषयबारे केही बोल्न नमिल्ने बताए। बरु बैंकका प्रवक्ताबाट यसबारे जानकारी लिन उनले अनुरोध गरे। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आफूलाई यो घटनाबारे जानकारी नभएको बताए। उनले भने, “यो विषयमा के भएको छ भन्नेबारे मैले पनि सूचना खोज्नुपर्छ।”

बैंकभित्रकै घटनाबारे सूचना दिने प्रवक्ताको जिम्मेवारी होइन र भन्ने प्रश्नको जवाफमा उनले भने, “प्रवक्ताले राष्ट्र बैंकको पोलिसी या घोषित क्रियाकलापका विषयमा बोल्ने हो। तपाईंहरू सूचना अधिकारीमार्फत जानकारी लिनुहोस्।”

सूचना अधिकारी डिल्लीराम पोखरेलले पनि आफूलाई यसबारे जानकारी नभएको बताए। उनले भने, “मलाई यस विषयमा जानकारी भएन, उहाँकै पीएसँग बुझ्नुभयो भने राम्रो हुन्छ।” तर, हामीले यसबारे जे जति सूचना दिन मिल्छ दिनुहोस् भनेर पटक–पटक अनुरोध गरेपछि उनले जान्न चाहेका विषयमा प्रश्न लेखेर इमेल गर्न भनेका थिए।

राष्ट्र बैंक स्रोतका अनुसार छानबिन समितिले पीडित महिला र आरोपी आचार्यसँग सोधपुछ गरिसकेको छ। आचार्यलाई लिखित स्पष्टीकरण पनि सोधिएको छ। उनले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभए पनि दोस्रो पटक पुनः स्पष्टीकरण सोधिएको राष्ट्र बैंक स्रोतले बतायो। छानबिनको क्रममा उनलाई जिम्मेवारीबाट हटाएर बैंकको अतिरिक्त समूहमा राखिएको छ।

हामीले घटनाबारे बुझ्न सम्पर्क गर्दा आचार्यले ‘दिदीबहिनी सम्झेर हग गर्ने, नमस्कार गर्ने काम गरेको’ प्रतिक्रिया दिए। आफूविरुद्ध कानूनी उपचारमा गए आफूले पनि त्यसैअनुसार प्रतिवाद गर्ने घुमाउरो चुनौती दिएका उनले भने, “म त सुप्रिम कोर्ट बार एसोसिएसनको एक्टिभ मेम्बर हुँ। पछि अदालतबाट पनि त साथ पाइएला नि।”

आचार्यको गल्ती ढाकछोप गर्न खोजेको आरोप लागेका बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शुरूमा यस विषयमा बोल्न चाहेनन्। तर बारम्बार यथार्थ बताउन अनुरोध गरेपछि उनले भने, “मैले कसैलाई संरक्षण गरेको छैन।”

हामीले गभर्नर अधिकारीलाई पनि यसबारे बुझ्न सम्पर्क गरेका थियौँ। अधिकारीले यो विषयमा छानबिन भइरहेकाले निष्कर्ष आएपछि मात्रै विस्तृत जानकारी दिन मिल्ने प्रतिक्रिया दिए। “हाम्रो अनुसन्धान कार्य सकिएपछि यसबारे विस्तृत जानकारी पाउनुहुनेछ। यस्तो संवेदनशील र गम्भीर विषयमा मैले पहिल्यै बोल्नु उचित हुँदैन,” उनले भने।   

महिला आयोगको चासो
राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि निर्देशक आचार्यले दुर्व्यवहार गरेको विषयमा राष्ट्रिय महिला आयोगले पनि चासो दिएको छ। आयोगका अध्यक्ष कमला पराजुलीले यस विषयमा केही मिडियामा समाचार आएपछि आयोगले चासो राखेर सोधपुछ गर्दा ती महिलाले आफूमाथि दुर्व्यवहार भएको कुरा स्वीकार गरेको बताइन्।

“उहाँमाथि दुर्व्यवहार भएको कुरा हामीले मिडियाबाट थाहा पायौँ। यसबारे सत्यता के हो भनेर हामीले उहाँलाई सोधेका थियौँ,” पराजुलीले भनिन्, “उहाँले आफूमाथि दुर्व्यवहार भयो भन्नुभएको छ। तर आवश्यक प्रक्रिया अघि बढेको छैन। किनभने गभर्नर बाहिर हुनुहुन्छ। उहाँ आएपछि आयोगले आवश्यक प्रक्रिया अघि बढाउँछ।”

आचार्य यसअघि पनि थिए महिला हिंसामा संलग्न
राष्ट्र बैंकका एक अधिकारीका अनुसार आचार्यले महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको यो पहिलो पटक होइन। उनले यसअघि पोखरामा कार्यस्थलमै महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेपछि बैंकले सचेत गराएको ती कर्मचारी बताउँछन्। बैंकको भैरहवा शाखामा कार्यरत रहँदा अनुशासन उल्लंघन गरेका कारण बैंकले उनलाई २०७९ चैत १६ गते दुई महिनामै मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा सरुवा गरेको भेटिएको छ।

काठमाडौँमा पनि मदिरा सेवन गरेर महिला सहकर्मीमाथि हातपात गरेपछि उनी दुई दिनसम्म प्रहरी हिरासतमा बसेको राष्ट्र बैंकका एक पूर्वकर्मचारी बताउँछन्। एक पटक मादक पदार्थ सेवन गरी होहल्ला गर्दै विमानस्थल पुगेका आचार्यलाई विमान चढ्न नदिएर सुरक्षाकर्मीको ‘स्कर्टिङ’मा घर फर्काइएको थियो।

बैंकमा कार्यरत रहँदा २०७२ वैशाख २१ गते आचार्य क्यानडा गएका थिए। बैंकले आफ्नो अनुमतिबिना क्यानडा गएको भन्दै हाजिर हुन आउन गोरखापत्रमा सूचना प्रकाशन गरेको थियो। अटेर गरी हाजिर हुन नआएको भन्दै बैंकले २०७२ वैशाख २० देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाएको थियो। आफूलाई बर्खास्त गर्ने बैंकको निर्णयविरुद्ध आचार्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सर्वोच्चले उनलाई साबिक पदमा पुनर्बहाली गराउन २०७४ मंसिर १२ गते परमादेश जारी गरेको थियो।

नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को आचरण र अनुशासनसम्बन्धी आचारसंहिताअनुसार कर्मचारीले कार्यालय समयमा कार्यालय हाताभित्र मादक पदार्थ वा लागुपदार्थ सेवन गर्ने, गराउने, गर्न प्रोत्साहन गर्ने वा मादक वा लागुपदार्थ सेवन गरी वा नगरी आफूभन्दा माथिल्लो वा तल्लो श्रेणीको कर्मचारीलाई गालीगलौज एवं अभद्र व्यवहार गर्न नपाइने उल्लेख छ।

यस्तै, कर्मचारीले अन्य कुनै व्यक्ति वा कर्मचारीलाई यौन प्रताडना हुने किसिमको संकेत, व्यवहार वा आचरण गर्न नहुने पनि उल्लेख गरिएको छ। विनियमावलीको परिच्छेद १३ मा आचरण र अनुशासनसम्बन्धी विनियमहरू उल्लंघन गर्नेविरुद्ध सामान्यदेखि विशेष सजायसम्म तोकिएको छ। सामान्य सजायमा तलबवृद्धि रोक्का र तीन वर्षसम्म बढुवा रोक्काको व्यवस्था छ। विशेष सजायमा भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बैंक सेवाबाट हटाउने र बर्खास्त गर्नेसम्म उल्लेख छ।

दुर्व्यवहारको यो घटना मुलुकी फौजदारी संहिता, २०७४ आकर्षित हुने फौजदारी कसुरमा पर्छ। तर यो कसुर सरकारवादी मुद्दाका रूपमा नभई व्यक्तिवादी फिरादपत्रका रूपमा अदालतमा पुग्नुपर्ने कानूनी व्यवस्था छ। त्यस्तै, यसमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१ समेत आकर्षित हुन्छ। ऐनले यसका लागि प्रमुख जिल्ला अधिकारीसमक्ष जाहेरी दिनुपर्ने व्यवस्था गरेको छ।

यो पनि : 

काठमाडौँमा 'बलात्कृत' नाबालिगमाथि अभिभावकबाटै यातना
‘होस्टाइल’ बन्दै र सत्ता–शक्तिको दुरुपयोग चिर्दै पीडितले जितेको नाबालिग बलात्कारको मुद्दा


सम्बन्धित सामग्री