Sunday, May 05, 2024

-->

काठमाडौँमा 'बलात्कृत' नाबालिगमाथि अभिभावकबाटै यातना

घटना कमजोर बनाउन पीडितका अभिभावकले नै पीडकका आफन्तबाट ५० हजार रुपैयाँ बुझेको र बालिकालाई यातना दिई कोठामा थुनेको सूचना पाएपछि प्रहरीले बालिकासँगै अभिभावकलाई पनि झिकाएको थियो।

काठमाडौँमा बलात्कृत नाबालिगमाथि अभिभावकबाटै यातना

काठमाडौँ– महाराजगञ्ज प्रहरी वृत्तको मुद्दा फाँटको साँघुरो र चिसो कोठा, मंसिर १३ गते बुधबारको मध्यान्ह। जाडो महिनामा चिसो कोठामा पनि बालिकाको निधारबाट चिटचिट पसिना बगिरहेको छ। हातखुट्टा लुगलुग कामिरहेका छन्, जाडोले होइन, आघात र त्रासले। 

आफैँलाई सम्हाल्न उनलाई सकस भइरहेको बुझिन्थ्यो। हात कुर्सीको दुवैतिर च्याप्प समातेर आफ्नै शरीर अड्याउन प्रयत्नरत छिन्। बेलाबेला टोलाउँछिन्। प्रहरीको प्रश्नमा उनी झस्किन्छिन्। मंसिर १० गते पहिलोचोटि वृत्तमा पुग्दा पनि उनी यसरी नै थरथर कामेकी थिइन्। प्रहरी सहायक निरीक्षक (असई) यशोदा सुनामले मोबाइलमा भिडियो खिच्दै सोधपुछ गर्दा उनले काम्दै र झस्किँदै बयान दिएकी थिइन्। 

प्रहरीले पटक–पटक सोधे, “जर्बजस्ती करणीको जाहेरी दिएपछि तिमीलाई बुवाले कुटेको हो?’ बालिकाको जवाफ थियो, “उहाँ (बुवा)ले मलाई पहिले पनि कुट्नुहुन्थ्यो। यहाँबाट (वृत्तमा जाहेरी दिएर) फर्केपछि झूटो नबोल् भन्दै झपार्नुभयो। यो कुरा बुवालाई नभन्दिनुस् है, डर लाग्छ।” 

सामुदायिक विद्यालयमा ७ कक्षामा पढिरहेकी १४ वर्षीया कल्की (नाम परिवर्तन) परीक्षा नजिकिएसँगै आफ्नो परिवार डेरा गरी बस्ने टोलकै ‘दिदी’सँग निःशुल्क ट्युसन पढ्न थालेकी थिइन्। पढ्न पाउँदा दंग थिइन् उनी। दशैँ–तिहारको लामो बिदापछि ट्युसन कक्षामा जाँदा पढाइदिने युवतीलाई त्यसबेला बालिकाको व्यवहार असामान्य लाग्यो। पढाउँदा उनी टोलाउँथिन र झस्किन्थिन्। शरीर पनि अनायास काम्थ्यो। 

मसिनोसँग सोधेपछि बालिकाले तिहारकै बेला आफूमाथि पटकपटक बलात्कार भएको वृत्तान्त सुनाइन्। त्यसपछि तिनै युवतीको परिवारले सोही दिन (मंसिर १० गते) बालिकालाई सोझै महाराजगञ्ज प्रहरी वृत्तमा पुर्‍याएका थिए। बालिकाका अभिभावकलाई पनि त्यहीँ बोलाइयो। 

वृत्तको महिला, बालिका तथा ज्येष्ठ नागरिक सहायता कक्षले प्रारम्भिक बयान लियो। लगत्तै बालिकाका बुवालाई जाहेरी दिन लगाइयो। छिमेकमै बस्ने ४५ वर्षीय हिमाल शाहीले पटकपटक जबर्जस्ती करणी गरेको अभियोगसहित जाहेरी दर्ता भएको थियो। 

बालिकाको डेरानजिकै किराना पसल चलाउँदै आएका जुम्लाका शाही पूर्वप्रहरी हल्वदार हुन्। प्रहरीमा जागिरे छँदैदेखि बालिकाका बुवासँग उनको चिनजान थियो। बालिकाको परिवारले शाहीकै पसलबाट सामान खरिद गर्थे। कल्की पनि कहिलेकाहीँ सामान किन्न पुग्थिन्। शाहीको पसल अघिल्तिरकै बाटो हुँदै स्कुल आउजाउ गर्थिन्। 

बुबा समानका शाहीलाई उनी ‘अंकल’ भनेर सम्बोधन गर्थिन्। प्रहरीमा परेको जाहेरीमा फरकफरक समयमा गरी शाहीले बालिकालाई तीन पटक जबर्जस्ती गरेको उल्लेख छ। पहिलो पटक असोज २८ गते स्कुलबाट फर्किंदै गर्दा नजिकैको साँघुरो गल्लीमा आफूलाई समातेर जबर्जस्ती करणी गर्ने प्रयास गरेको बालिकाले खुलाएकी छन्। 

घटनाबारे कसैलाई बताए बुवाआमालाई मारिदिने धम्की दिएको उनले बयानमा भनेकी छन्। त्यही डरले घटनाबारे कसैलाई भन्न सकेकी थिइनन्। उनका अनुसार अर्को दिन साँझपख डेरा नजिकै हिँडिरहेका बेला शाहीले रोकेर जबर्जस्ती कपडा फुकाल्न भने। त्यो दिन पनि जसोतसो उम्कन सफल भएको बालिकाले बताएकी छन्। त्यसपछि तिहारको लक्ष्मी पूजाको दिन (कात्तिक २७ गते) आफू शाहीबाट बलात्कृत भएको पीडित बालिकाले बयानमा भनेकी छन्। 

“अंकलले मेरो कोठामा कोही छैन। तँ मेरो कोठामा तुरुन्त आइज। आइनस् भने तेरो बुवाआमा सबैलाई सिध्याइदिन्छु। तँलाई पनि मारिदिन्छु भन्नुभयो। म डराएर अंकलको कोठामा गएँ। जानासाथ जबर्जस्ती कपडा खोलेर बलात्कार गर्नुभयो,” बालिकाले बयानमा भनेकी छन्, “बलात्कार गरेपछि कसैलाई भनिस् भने तँलाई बाँकी राख्दिनँ भन्नुभयो। कोठाबाट पहिले म निस्कन्छु अनि मात्रै तँ निस्कनु भन्दै जानुभयो।” शाहीको धम्कीका कारण घटनाबारे बुवाआमालाई भन्न नसकेको पीडित बालिकाले प्रहरीसमक्ष बताएकी छन्। 

घटना सामसुम पार्न धम्की र आर्थिक प्रलोभन  
जबर्जस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउपुर्जी दिएर शाहीलाई हिरासतमा लिएको थियो। बालिकालाई भने स्वास्थ्य परीक्षण गरेर राति ८ बजे अभिभावकको जिम्मा लगाइएको थियो। घटना कमजोर बनाउन पीडित बालिकाका अभिभावक र शाहीका आफन्तबीच ५० हजार रुपैयाँ लेनदेन भएको तथा बालिकालाई यातना दिई कोठामै थुनेर राखिएको सूचना पाएपछि प्रहरीले बुधबार अभिभावकलाई पनि बालिकासँगै उपस्थित गराएको थियो। 

जाहेरी परेको भोलिपल्ट मंसिर ११ गतेदेखि शाहीका आफन्तले अर्को स्कूलमा भर्ना गरेर बालिकाको पढाइको जिम्मा लिइदिने र पैसा पनि दिने भन्दै कल्कीका बुवाआमालाई लोभ्याउन खोजेको पाइएको छ। बालिकाकै एक आफन्तका अनुसार शाहीका नातेदारहरूले पढाइदिने, पैसा दिने प्रलोभन देखाउनुका साथै अदालतसम्म पुग्दा बालिकालाई उल्टो नोक्सानी हुने, बिहे गर्न गाह्रो हुने भन्दै बयान फेर्न दबाब दिएका थिए। 

तीमध्ये शाहीका ज्वाइँ पर्ने एकजनाले ‘म प्रहरी हुँ’ भन्दै पीडित बालिकाका बुवालाई घुमाउरो पाराले धम्क्याएको ती आफन्तले सुनाए। शाहीका नातेदरले लोभ्याएको÷धम्क्याएकोबारे कल्कीका बुबाले शुरूमा बताउन चाहेनन्। बारम्बार सोधेपछि उनले त्यस्तो प्रस्ताव आएको स्वीकारे। 

“त्यो कुरा (घटना) मिलाऊँ भन्या हुन्। उजुरी दिएको भोलिपल्ट हवल्दार (शाही) का भिनाजु, काका र ज्वाइँले छलफल गरौँ भने। डेरानजिकै दोकानमा छलफल  गर्‍यौँ,” उनले  थपे, “उहाँहरूले नानीलाई पढाइदिने भइम्, अबको बयानमा जिस्क्याएर पाट्टपुट्ट पिटेको मात्रै हो भन्न लगाउनू भन्नुभयो। मैले त हुँदैन कानूनी प्रक्रियामा जान्छौँ भन्या हुँ।”  

घटनाबारे जानकार एक छिमेकीले भने छोरीको बयान फेराउने शर्तमा कल्कीका बुवाले शाहीका आफन्तबाट ५० हजार रुपैयाँ नै बुझिसकेको सुनेको बताए। पढाइ खर्च बेहोरिदिने भनेपछि अर्को स्कुलमा छोरी भर्ना गर्न बालिकाका बुवा तयार भइसकेको ती छिमेकीले बताए। “शाहीका आफन्तसँग भएको सहमतिअनुसार पुलिसमा गएर बयान फेर्न पीडितका बुवाले छोरीलाई दबाब दिन थालेका थिए,” ती छिमेकीले भने, “खान नदिई थुनेका थिए।” 

घटनाबारे चासो राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) भुपेन्द्र खत्रीले फोन गरेपछि चाहिँ वृत्तका प्रमुख अमरबहादुर थापा सक्रिय भएका थिए। “पीडक पक्ष र आफन्त मिलेर पीडित बालिकालाई झन् यातना दिने काम भएछ। पैसा लेनेदन गरेर केस कमजोर बनाउने खेल हुन थालेछ। यस्तो कुरा थाहा पाउनासाथ प्रहरीले बालिकाको उद्धार गरेको हो। अब कसैले चाहेर पनि चलखेल गर्न पाउँदैन,” वृत्तका एक प्रहरीले भने। 

वृत्तप्रमुख थापाले घटनाबारे शुरूमा विस्तृत बताउन चाहेनन्। जाहेरी दर्ता भएपछि भने पीडित बालिकालाई अभिभावकको संरक्षणमा घर पठाएको, तर त्यहाँ पीडक पक्षको धम्की आउन थालेको सुनेपछि आफूहरूले उद्धार गरेको उनले सुनाए। 

“पीडित बालिका वृत्तमा पुगेकै दिन मंसिर १० गते जाहेरी दर्ता गरेका थियौँ। त्यसैदिन बालिकाको स्वास्थ्य जाँच गर्‍यौँ। अदालतबाट तत्काल पक्राउ पुर्जी लिएर जबर्जस्ती करणीको आरोप लागेका व्यक्तिलाई पक्राउ गरिसकेका छौँ,” उनले भने, “तर अभिभावकको संरक्षणमा घर पठाएकी बालिकामाथि फेरि धम्की आएको सुनियो। बालिका घरमा असुरक्षित भएको महसुस भएपछि हामीले तत्काल उनलाई उद्धार गरेका हौँ।” 

उद्धार गरेर घटनाबारे सोधपुछ गरेपछि पीडित बालिकालाई संरक्षणका लागि नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन) मा पठाइएको छ। बालिकाको स्वास्थ्य जाँचको रिपोर्ट आउन कम्तीमा १५ दिन लाग्ने प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ ले १४ वर्ष वा सोभन्दा बढी र सोह वर्षभन्दा कम उमेरकी बालिकामाथि जबर्जस्ती करणी गर्नेलाई १२ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ।


सम्बन्धित सामग्री