Sunday, May 05, 2024

-->

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

केही सहकारीका सञ्चालकले बिचौलिया समेतको मिलेमतोमा बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुल्ने धन्दा चलाइरहेको पाइएको छ। यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्।

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू
एआईको सहयोगमा निर्मित तस्वीर।

काठमाडौँ– बचतकर्ताको ठूलो रकम अपचलन गरेर सडकमा आउन बाध्य पारेका सहकारी सञ्चालकहरूले महँगोमा जग्गा भिडाएर उनीहरूबाटै ठूलो रकम असुलेको पाइएको छ। काठमाडौँमा केन्द्रीय कार्यालय रहेका गौतमश्री, कान्तिपुर, शिवशिखर लगायतका सहकारीहरूले बचतकर्तालाई महँगोमा जग्गा किन्न बाध्य पारेर त्यसबाट उल्टै असुली धन्दा चलाइरहेको पाइएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यी तीन लगायतका २० सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ। तीमध्ये सहकारी विभागको नियमनभित्र पर्ने गौतमश्री, कान्तिपुर, शिवशिखर, पशुपति र लालीगुराँस तथा समस्याउन्मुख भनी पहिचान गरिएका आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय लगायतका संस्थामा बढी समस्या देखिएको छ। त्यसबाहेक प्रदेश र स्थानीय तहको नियमन क्षेत्राधिकारभित्रका समस्यामा रहेका सहकारीहरूको पनि अवस्था उस्तै छ।

त्यस्ता कतिपय सहकारी संस्थाको नाममा बिचौलियाहरूले जग्गाको कारोबार गरिरहेको पीडित बचतकर्ताले बताएका छन्। उनीहरूलाई बचत रकमको सट्टामा देखाइने जग्गा सबै सहकारी संस्थाको भने हुँदैन। सस्तो मूल्यका एकै ठाउँका जग्गालाई धेरै सहकारी संस्थाका सम्बन्धित व्यक्ति र बिचौलियाहरूले आफ्नो भन्दै किन्न बाध्य पार्ने गरेको उनीहरूको भनाइ छ। 

ठगिएकालाई थप ठग्ने काइदा 
काठमाडौँ, कुलेश्वरका ७२ वर्षीय बह्म महर्जनले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थामा श्रीमती र आफ्नो गरी एक करोड भन्दा बढी रकम लिन बाँकी छ। २०६० सालदेखि उक्त सहकारीमा कारोबार शुरू गरेका महर्जनले कुलेश्वरस्थित आफ्नै घरमा संस्थाका अध्यक्ष रामबहादुर गौतमलाई मार्ट पनि सञ्चालन गर्न दिएका थिए। पछि सहकारी नै समस्याग्रस्त घोषित भएपछि मार्ट हट्यो। तर उनीबाट असुलीको धन्दा भने रोकिएन। शुरूमा गौतमले आफूसँग पैसा नभएको भन्दै जग्गा लिन महर्जनलाई निकै कर गरे। पछि आफैले जग्गा किनिदिनेसम्मको प्रलोभन देखाए र महर्जन पनि लोभिए। 

जग्गाधनी दर्ता प्रमाण पुर्जाअनुसार चितवनमा साबिकको रातापुर गाविस र हालको भरतपुर महानगरपालिका–२० स्थित २१.२५ धुर( १ कठ्ठा १ धुर) जग्गा महर्जनले २०७९ भदौ ३० गते आफ्नो नाममा पास गरेका थिए। उक्त जग्गा भरतपुरको पूर्व–पश्चिम राजमार्गमा पर्ने चौबीसकोठीदेखि २० किलोमिटर पश्चिममा पर्छ।  त्यसमाथि महर्जनले किनेको जग्गा गौतमश्री सहकारीको पनि होइन। यो कुरा जग्गाधनी दर्ता प्रमाण पुर्जाले पनि पुष्टि गर्छ। 

पहिले ठेक्कापट्टा व्यवसायमा संलग्न रहेको बताएका महर्जनको काठमाडौँका विभिन्न ठाउँमा प्रशस्त घरजग्गा रहेकोबारे गौतम राम्रैसँग जानकार थिए। त्यही कारण उक्त जग्गा दिँदा आफूबाट उल्टै ४४ लाख रुपैयाँ नगद पनि लगेको महर्जन बताउँछन्। 

“मैले शुरूमा जग्गा लिनै चाहेको थिइनँ, तर उसले यो जग्गा मैले कान्तिपुरलाई बेच्न सम्झौता गरिसकेँ, अहिले जग्गा लिइराख्नुस्, पछि पैसा दिन्छु भन्यो। धुरको सात/आठ लाख रुपैयाँ पर्छ भन्थ्यो,” महर्जन भन्छन्, “उसले मसँग पैसा छैन, अहिलेलाई पास गरेर लिनुस्, हप्ता दिनमा म तपाईंलाई दिन्छु भन्यो। २० वर्ष कारोबार गरेको मान्छेलाई कसरी विश्वास नगर्नु, त्यसैका भरमा मैले उल्टै पैसा दिएर जग्गा लिएँ।” 

बचतको बदलामा गौतमश्री सहकारीबाट पैसा थपेर लिनुपरेको जग्गाको लालपुर्जा देखाउँदै बह्म महर्जन। तस्वीर: केशु/उकालो

गौतमले जग्गा दिएबापत पहिला १० धुरको २० लाख र पछि ११ धुरको २० लाख थप्न लगाएर पास गर्दा सरकारलाई कर तिर्नुपर्छ भनेर फेरि दुई/दुई लाख रुपैयाँ पनि लगेको महर्जनले सुनाए। त्यति असुलेर पनि आफूले मुद्दती खातामा राखेको ३१ लाख मध्येबाट १० लाख रुपैयाँ कटाएको उनले बताए।

मालपोत कार्यालयले तोकेको दररेट अनुसार महर्जनले रजिस्ट्रेसन पास गर्दाको समयमा रातापुरको पक्की सडकले छोएको जग्गाको सरकारी मूल्यांकन प्रतिकठ्ठा १६ लाख ९४ हजार रुपैयाँ रहेको देखिन्छ। तर चलनचल्तीको रेट बढीमा २५ लाखसम्म हुनसक्ने चितवनमा लामो समयदेखि बैंकको लागि घरजग्गाको मूल्यांकन गर्दै आएका इन्जिनियर छवि गौतम बताउँछन्।

पीडित बचतकर्ताको भनाइअनुसार रामबहादुर गौतमले शुरूमा त्यो जग्गा सरकारी दरअनुसार सस्तोमा किनेका थिए। उनले त्यही ठाउँमा २० बिघा भन्दा बढी जग्गा किनेर झन्डै २०० बचतकर्तालाई यसरी नै थप पैसा असुलेर त्यही जग्गा भिडाएका थिए। “१३/१४ जना मान्छे त मरिसके। उसले कठ्ठाको ५/६ लाखमा लिएको जग्गाबाट हामीसँग १५/२० लाख रुपैयाँ नाफा खायो। जग्गा जर्बजस्तीमा भिडाएको छ। मसँग पैसा छैन भनेपछि मान्छेहरूले बाध्य भएर पनि जग्गा लिने भए,” उनले भने।

महर्जनसँगै आफ्नो बुवाले पनि सोही दरमा चार धुर जग्गा लिएको कुलेश्वरस्थित गौतमश्री सहकारीको आडैमा घर भएका नरेश श्रेष्ठले बताए। उनले त्यसबापत गौतमलाई दिएको पैसाबारे भने खुलाउन चाहेनन्।

गौतमश्रीकै पीडित बचतकर्ता ललितपुर, भैँसेपाटीकी दालचिनी थापा (७०) पनि गौतमले एक वर्षअघि चितवनको जगतपुर, सर्लाहीको हरिवन लगायतका स्थानमा चलेको रेटभन्दा सात गुणासम्म महँगोमा जग्गा लिन भनेको बताउँछिन्। “मैले ३० लाख लिनुपर्ने थियो। जग्गा पास गर्दा उनीहरूका मान्छेले त्यसमा २० लाख थप्नुपर्छ भने,” समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय बुद्धनगरमा आइतबार भेटिएकी थापा भन्छिन्, “त्यहाँ बुझ्दा त धेरै महँगो भन्यो। मेरो पैसा हाल्ने हैसियत नै भएन।”

उक्त सहकारीबाटै ४० लाख फिर्ता पाउन बाँकी रहेको बताएकी कलंकी बस्ने अञ्जली बज्राचार्यले पनि गौतमले आफूलाई चलनचल्तीको मूल्यभन्दा सात गुणा महँगोमा हरिवनको जग्गा लिन भने पनि आफूले नलिएको बताइन्। उनीजस्तै अर्की पीडित लक्ष्मी थापा भने तिनै गौतमको ठगीको फेहरिस्त समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य–सचिव केशव पौडेललाई सुनाउँदै थिइन्। अन्य सहकारी सञ्चालक पक्राउ परिरहेको समयमा गौतम खुलेआम हिँडिरहेको भन्दै उनी आक्रोशित देखिन्थिन्।

सहकारीहरूबाट उठ्न बाँकी बचत फिर्ताको माग गर्दै आन्दोलनमा लागेका बचतकर्ताको फाइल तस्वीर।

“जग्गा लिने भए लिई, नत्र फिर्ता दिने पैसा छैन भनेर गौतश्रीले यस्तो बाध्यतामा पुर्‍यायो कि मान्छेलाई पैसा फस्नुभन्दा त जग्गा लिनु नै ठीक भन्ने भयो। पाँच लाख पर्ने जग्गा २५ लाखमा भिडाएको छ। बचत गर्नेहरू बाध्यतामा परेर जग्गा लिइराखेका छन्, थापा भन्छिन्, “कुनै कुनै जग्गा त भीर, पाखा र खोला छेउमा छ। ६/७ वर्षमा पनि जग्गा नै बन्दैन। इनरुवा, हरिवन र चितवनको सस्तो जग्गामा उसले जाल गरेको छ।” तुलनात्मकरूपमा बढी रकम फिर्ता लिन बाँकी रहेका बचतकर्ताहरूलाई गौतमले त्यसरी फसाइरहेको पीडितहरू बताउँछन्। 

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा गरेको बचत फिर्ता नपाएका कोटेश्वरका मदन अधिकारीले नारायणस्थान, लेले लगायतका ठाउँमा ३०/३५ लाख रुपैयाँ प्रतिआनामा चलेको जग्गा ५० लाखका दरले लिन भनिएको बताए। “बुढानीलकण्ठको धेरै भित्र थियो। त्यहाँ बुझ्दा आनाको ३०/३५ लाखको दरले किनबेच भएको रहेछ। तर हामीलाई ५० लाखको दरमा किन्न प्रस्ताव राखे,” सहकारी विभाग बानेश्वरमा भेटिएका अधिकारीले भने, “थप्न पुग्ने पैसा भएको भए त लिन्थेँ होला। तर एक करोडको जग्गालाई दुई करोड भनेपछि कसरी लिनु!”

समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा समितिको कार्यालयले पाएको छ। समितिले समस्याग्रस्त सहकारी र तिनका सञ्चालकको नाममा रहेको जग्गा भने रोक्का राखेको छ। शिवशिखर २०८० भदौ ५, कान्तिपुर फागुन ३ र गौतमश्री चैत १३ गते समस्याग्रस्त घोषित भएका हुन्। शिवशिखर र कान्तिपुरका अध्यक्ष तथा सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिएर उनीहरूमाथि ठगी मुद्दा दायर भइसकेको छ। तर ती सहकारीको नाम लिँदै महँगोमा जग्गा किनाएर ठगी गर्ने बिचौलिया समूहको गतिविधि रोकिएको छैन।

शिवशिखर सहकारीपीडित सञ्जय महर्जन पनि जग्गा दिने नाममा पीडितहरूमाथि व्यापक ठगी भइरहेको बताउँछन्। उनका अनुसार त्यस्ता बिचौलियाहरूले काठमडौँको थानकोट, हेटौँडा, धुलिखेल लगायतका ठाउँको जग्गा शुरूमा सम्बन्धित सहकारीकै हो भनेर देखाउन लैजान्छन्। तर त्यही जग्गा अन्य सहकारीहरूले पनि देखाइरहेका हुन्छन्। उनीहरू सबैले १० लाख मूल्य पर्ने जग्गालाई ३० लाख भन्ने र त्यसमध्ये पनि ५० प्रतिशत रकम जग्गा लिने व्यक्तिले नै दिनुपर्ने शर्त राख्ने गरेको महर्जन बताउँछन्। 

“जग्गा दलालीहरूले कन्ट्याक्ट गर्ने रहेछन्। उनीहरूको सेटिङ हुनेरैछ। म तपाईंकोमा किन्ने मान्छे लाइदिन्छु। १० लाखको जग्गालाई ३० लाख भनिदिनुस्, ५० प्रतिशत क्यास आउँछ, त्यो हामीलाई दिनुस् भन्ने कुरा हुने रहेछ,” महर्जन भन्छन्, “एउटै जग्गा देखाउन कहिले को आउँछ, कहिले को! फोन गरेर बोलाउँछन्, मान्छे भेटेपछि जसले पनि जग्गा यही हो भनेर देखाउँछन्।” 

त्यसरी अलमल्याउने समूहले आफूलाई बैंकमा धितो भएको जग्गासमेत देखाएको उनले सुनाए। “त्यस्ता जग्गा लिन्छु भन्यो भने बैंकमा धितो छ, पहिले पैसा दिनुस्, बैंकबाट फुकुवा गरेर तपाईंलाई दिन्छु भन्दा रहेछन्। जसरी पनि ठग्ने दाउ मात्र छ,” सहकारीमा पैसा फसेका कतिपय बचतकर्ताहरूले भीरपाखोमा पर्ने जग्गा पनि लिइरहेको पाइएको महर्जनले बताए। 

बेखबर छैनन् नियामकीय निकाय
यसरी भइरहेको ठगीबारे नियामकीय निकायहरू बेखबर भने छैनन्। गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गौतमले बचतकर्तालाई दिनुपर्ने एक अर्ब ३२ करोड रुपैयाँ बराबरको हरहिसाब आफूले फछ्र्योट गरेको विवरण गत माघमा नै सहकारी विभागमा पेश गरेका थिए। त्यसमध्ये जग्गाबाट मात्रै एक अर्ब भन्दा बढीको कारोबार मिलाएको र बाँकी ३२ करोड अन्य सामग्री तथा नगदमा भुक्तानी गरेको उनको दाबी थियो। 

सहकारी विभागको कार्यालय

गौतमश्री मात्र नभई अधिकांश सहकारीले जग्गाबाट हिसाब मिलान गरेको भन्दै विवरण बुझाउने गरेको विभागका एक अधिकारी बताउँछन्। “विभागलाई सूक्ष्म जानकारी त हुँदैन। तर सुनिएअनुसार बचकर्तालाई दिने जग्गा संस्थाको आफ्नै हुँदैन। ती जग्गा कुनै तेस्रो व्यक्तिका हुन्छन्। संस्थाले बिचौलियाको काम गरेर, कसैको जग्गा बिकाइदिने र बीचको केही मार्जिन आफैले खाने गरेको सुनिन्छ,” ती अधिकारी भन्छन्। 

संघ मात्र नभई प्रदेश र स्थानीय तहमातहत रहेका समस्याग्रस्त सहकारीहरूले यसो गरेको सुनिएको विभागका ती अधिकारीको भनाइ छ। “यो, ऊ मात्र भन्ने होइन। सबैको स्थिति उही हो। बचतकर्ताहरू आफ्नै हिसाबले लिने हुन्, उनीहरूले हामीलाई भन्ने कुरा भएन, त्यो आफैले मिलाउने कुरा हो। त्यसमा हाम्रो कुनै सरोकार रहेन। अझ समस्याग्रस्त संस्थाको त हाम्रो चासो पनि भएन,” उनले भने।

समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयका अनुुसार ओरेण्टल सहकारीका तत्कालीन अध्यक्ष सुधीर बस्नेतले पनि २० करोड रुपैयाँ जग्गाबाट भुक्तानी लिन बचतकर्ता राजी भएको जानकारी गराएका छन्। हाल समितिले रोक्का राखेकै जग्गा लिएर सहकारीको बचत हिसाब मिलाउन पाऊँ भन्दै बस्नेतले समितिमा निवेदन दिएका छन्। यद्यपि जग्गाको चलनचल्तीको मूल्य र बस्नेतले गरेको मूल्यांकन अंकबारे भने केही उल्लेख छैन। समितिको कार्यालयले सूचना निकालेर त्यसरी जग्गा लिन मञ्जुर भएका बचतकर्ताहरूलाई जानकारी गराउनू भनेको छ।


सम्बन्धित सामग्री