Monday, May 20, 2024

-->

अनन्तमायालाई घरमै थुनेर राखिएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले अनन्तमायालाई परिवारले घरमै थुनेर राखेको ठहर गर्दै उनको मानव अधिकारको संरक्षण गरी त्यसको जानकारी आयोगमा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको छ।

अनन्तमायालाई घरमै थुनेर राखिएको मानव अधिकार आयोगको ठहर

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोटकी ७४ वर्षीया अनन्तमाया घिमिरेलाई परिवारले हेरचाह नगरी घरभित्रै थुनेर राखेको ठहर गरेको छ। अनन्तमायालाई परिवारले अन्य व्यक्तिहरूसँग सम्पर्क गर्नसमेत नदिएको पनि आयोगको ठहर छ। 

सम्पत्ति हत्याउन सन्तानबाटै अनन्तमायालाई घरभित्रै बन्धक बनाएकोबारे उकालोमा गत वैशाख १९ गते समाचार प्रकाशित भएको थियो। अनन्तमायाले आफूलाई जेठो छोरा बल्लभमणी, जेठी छोरी उर्मिला, नाति रिजन भट्टराइले आफ्नै घरमै बन्धक बनाएर राखेको भन्दै उकालोका प्रतिनिधिलाई भेट्न आउन टेलिफोनमार्फत अनुरोध गरेकी थिइन्। 

उकालोको टिम पुग्दा अनन्तमाया आफ्नै घरमा थुनिएको अवस्थामा भेटिएकी थिइन्। उनले उकालोकर्मीहरूसँग भेट्न र कुराकानी गर्न चाहेकी थिइन्। तर, जेठी छोरी उर्मिला र छोरा बल्लभमणिले भेट्न अवरोध गरेका थिए। 

“निज (अनन्तमाया) को हक, अधिकारको सम्बोधन गर्ने क्षेत्राधिकार स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ (त) र जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को दफा ५ (१) र ३ बमोजिम तहाँ स्थानीय तहको भएको देखिदा निज (अनन्तमाया) जेष्ठ नागरिकको मावन अधिकार संरक्षण गरी सोको जानकारी यथाशिघ्र यस आयोगलाई गराइदिन हुन राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ को दफा २१ (१) बमोजिम निर्देशनानुसार अनुरोध छ”, आयोगले सूर्यविनायक नगरपालिका वडा न.३ को कार्यालयलाई सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ।  

आयोगले उक्त पत्र अनन्तमायाको जेठो छोरा बल्लभ, जेठी छोरी उर्मिला, कान्छो छोरा जगदिश, कान्छी छोरी प्रतिभाको नाममा पनि बोधार्थ पठाएको छ। 

पुर्ख्यौली घर ताप्लेजुङ भएको र सुनसरी हुँदै २०५८ सालतिर काठमाडौँ आएकी अनन्तमायाका दुई छोरा र तीन छोरी छन्। केही समय डेरा गरी बसेकी अनन्तमायाले २०६५ सालमा कोटेश्वरमा घर किनेकी थिइन्। उक्त घर कान्छो छोरा जगदीशको नाममा थियो। 

त्यही साल अंशबण्डा गरेर जगदीशले उक्त घर लिएका थिए। उनी पाटन उच्च अदालतका न्यायाधिश हुन्। २०६९ सालमा ब्रेनट्युमरका कारण अनन्तमायाका श्रीमान् रामप्रसादको मृत्यु भएको थियो।

काठमाडौँको मूलपानीमा अनन्तमायासहित अर्जुन बराल (अनन्तमायाकी जेठी बुहारीका बुवा), मुकुन्द गजुरेललगायत ६ जनाको संयुक्त नाममा जग्गा थियो। पहिले त्यो जग्गामा खोला पसेको थियो। 

२०७० सालमा जेठा छोरा बल्लभलाई अशंबन्डा गर्दा अनन्तमायाले सुनसरीमा रहेको जग्गा दिएकी थिइन्। यता मूलपानीमा रहेको आफ्नो नामको जग्गामध्ये केही बिक्री गरेर २०७९ वैशाख १४ गते अनन्तमायाले बालकोटमा झण्डै ३ करोड रूपैयाँमा घर किनेकी थिइन्। 

तर, घर किनेलगत्तै जेठी छोरी उर्मिला र उनका छोरा रिजन भट्टराई अनन्तमायासँगै बस्न आए। उर्मिला सम्बन्ध–विच्छेदपछि कोटेश्वरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन। आफूसँग बस्न थालेको एक साता नबित्दै उर्मिलाले आफ्नो इच्छाविपरीत आफूलाई झुक्याएर २०७९ वैशाख २२ गते शेषपछिको बकस–पत्र गरेको अनन्तमायाको भनाइ छ।

२०७९ भदौ ५ गते बल्लभमणिकी पत्नी रेणुका बरालले अनन्तमाया र बल्लभमणिविरूद्ध काठमाडौँ जिल्ला अदालतमा ‘अंशचलन मुद्दा’ हालेकी थिइन्। त्यही मुद्दाका कारण अनन्तमायाले मंसिरमा बकस–पत्र खारेजको माग गर्दै मालपोत कार्यालय भक्तपुरमा निवेदन दिए पनि अहिलेसम्म सुनुवाइ भएको छैन। 

अनन्तमायाको निवेदनपछि मालपोत कार्यालयले अनन्तमायाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेकाले जग्गा रोक्का भएको र रोक्का जग्गाको बकस–पत्र बदर गर्न मिल्छ या मिल्दैन भनेर सोधेको थियो। अहिलेसम्म बकस–पत्र खारेज भएको छैन। 

आफूविरूद्ध मुद्दा चलेका बेला बल्लभमणि, जगदीश र उर्मिला मिलेर आफूलाई प्रतिउत्तर दिनबाट रोकेको अनन्तमायाको गुनासो छ। गएको वैशाख २० गतेभित्र अनन्तमायाले अदालतमा प्रतिउत्तर दर्ता गराउनु पर्ने थियो। त्यो म्याद गुजार्न आफूलाई घरमै थुनेर राखेको अनन्तमायाले बताएकी थिइन्। 

आफूलाई गत वर्ष माघयता घरबाट बाहिर एक्लै निस्कन नदिएको र अन्य व्यक्तिहरूलाई सम्पर्कसमेत गर्न नदिएको उनको भनाइ छ। घरभित्र थुनेर राखेपछि आफूमाथि छोरा र छोरीबाट दिनहुँ हिंसा भइरहेको उनले सुनाएकी थिइन्। 

अनन्तमायालाई घरमै बन्धक बनाइएपछि उनकी कान्छी छोरी प्रतीक्षाले दिदी उर्मिला, छोरा रिजन, जेठो दाइ बल्लभमणि र पत्नी रेणुका बरालविरूद्ध २०७९ चैत २६ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसकै भोलिपल्ट रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो। 

कान्छी छोरी प्रतीक्षाले ‘बन्दीलाई स–शरीर उपस्थित गराई जिम्मा लगाइपाउँ’ भन्दै फेरि गएको वैशाख ३ गते सर्वोच्च गएकी थिइन्। सर्वोच्चले उनको पुरक निवेदन दर्ता गरेन। 

उकालोमा समाचार प्रकाशित भएको केही दिनपछि आफूहरूले उक्त घर छाडेको उर्मिलाले जानकारी दिएकी थिइन्।


सम्बन्धित सामग्री