रुसी सेनामा छिरेका नेपालीहरू नौ महिना तालिममै बित्ने र त्यसपछि सीमा सुरक्षाको 'ड्युटी' गर्दै एक वर्षमा ‘पीआर’ पाइने प्रलोभनमा पर्दै छन्। तर पर्याप्त तालिमबिनै युद्धमा खटाइँदा उनीहरूको ज्यान जोखिममा छ।
काठमाडौँ– बर्दियाका विवेक खत्री अहिले युक्रेनी सेनाको कब्जामा छन्। राजापुर गाउँपालिका–१ का विवेक पढ्ने र उतै कमाउने भनेर अघिल्लो वर्षको असोजमा रुस पुगेका थिए। परिवारको आर्थिक अवस्था निकै कमजोर। बुवा बिरामी, आमा अपांग। घरको जेठो छोरा विवेकलाई बुवाआमाको उपचारको लागि भए पनि धेरै कमाउनुपर्छ भन्ने लाग्यो।
काठमाडौँमा बसेर ‘प्लस टु’ पढ्न पनि उनलाई कामै गर्नुपर्यो। साथीहरूले रुस जाने, उता कमाउँदै पढ्न पाइन्छ र तीन वर्षपछि स्थायी बसोबासको अनुमतिपत्र लिन सकिन्छ भनेपछि उनी त्यसकै पछि लागे। जग्गा धितो राखेर पैसाको जोहो गरे। काठमाडौँकै एक शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) लाई १२ लाख रुपैयाँ बुझाएर अध्ययन भिसाको प्रक्रिया पूरा गरी रुस पुगे।
तर त्यहाँ विवेकले न राम्रो काम पाए, न त कमाइ नै भयो। हप्तामा एक दिन मात्र काम गर्न पाइने। त्यसले उनको पढाइ खर्च पनि पुगेन। घरको ऋण तिर्ने सपना परको कुरा भयो। विवेककी काकी सीता केसी भन्छिन्, “त्यता गएर काम नपाउँदा कमाइ नै गर्न सकिएन भनेर गुनासो गरेको थियो। ऋण तिर्न सक्ने होइन भन्थ्यो। ऋणको चिन्ता नगर, दुई वर्षमा जसरी भए पनि पढाइ सक, अनि केही न केही भइहाल्ला भनेर सम्झाएका थियौँ। तर पछि त ऊ रुसी आर्मीमा भर्ना भइसकेको रहेछ।”
सिताका अनुसार गएको साउनतिर मात्रै विवेक रुसी आर्मीमा भर्ती भएका थिए। त्यसको दुई महिनासम्म तालिम गरे। त्यसपछि ‘रेड जोन’ अर्थात् युद्धग्रस्त क्षेत्रमा पठाइँदैछ, अब फोन नलाग्न सक्छ भनेर उनले घरमा जानकारी गराएका थिए। त्यसको हप्ता दिनमै असोज २७ गते विवेककी दिदीको मोबाइलमा ‘ह्वाट्सएप कल’ आयो। फोनमा आत्तिँदै विवेकले आफ्ना नागरिकता लगायतका कागजात तुरुन्तै पठाउन भनेका थिए।
“उसलाई युक्रेनी सेनाले बन्धक बनाइसकेको रहेछ। आफू नेपाली हुँ भन्दा नपत्याएपछि कागजात मगाउन लगाएको रहेछ,” विवेककी काकीले भनिन्। त्यसको दुई दिनसम्म युक्रेनी सेनाले विवेकको अवस्थाको बारेमा जानकारी गराइरह्यो। तर पछि उताबाट सम्पर्कमा आएको ह्वाट्सएप नम्बरमा पठाइएका मेसेजको जवाफ आउन छाड्यो। त्यसयता विवेकको अवस्थाबारे उनको परिवारलाई केही थाहा छैन।
विवकेकी काकीले बताएअनुसार सीमा क्षेत्रमा रहेको रुसी आर्मीको क्याम्पमै युक्रेनी सेनाले आक्रमण गर्दा त्यही क्याम्पमा रहेका विवेक युक्रेनी सेनाको कब्जामा परेका थिए।
त्यस्तै, मन्डनदेउपुर नगरपालिका–६, काभ्रेपलाञ्चोकका २२ वर्षीय सिद्धार्थ ढकाल पनि युक्रेनी सेनाको कब्जामा परेको भिडियो बाहिरिएको छ। उक्त भिडियोमा उनी युक्रेनी सेनाले सोधेका प्रश्नहरूको जवाफ दिइरहेका देखिन्छन्। उनको कुरा सुन्दा त्यो भिडियो ३ डिसेम्बरको भन्ने बुझिन्छ।
आफू पढ्नको लागि भनेर आएको तर कलेजको पैसा तिर्न नसक्दा घर फर्किनुपर्ने भएपछि रुसी सेनामा भर्ती भएको उनी बताउँछन्। भिडियोमा सिद्धार्थ भन्छन्, “युनिभर्सिटीले पैसा माग्यो। तर मसँग पैसा थिएन। फि नतिरे घर फर्किनुपर्छ भन्यो। आफूसँग अरू कुनै विकल्प नभएकाले म रुसी आर्मीमा लागेँ।”
उनी एजेन्टमार्फत भारतको बाटो हुँदै रुस पुगेको पाइएको मन्डनदेउपुर–६ का वडाध्यक्ष सोमप्रसाद ढकालले बताएका छन्। उनका अनुसार मन्डनदेउपुरबाट दुई महिना पहिले सिद्धार्थसहित चार जना रुस गएका थिए। उनीहरू कोही पनि रुसी सेनामा भर्ती हुने भनेर गएका भने होइनन्।
“काम खोजिरहेका अरू तीन जनाले होटलतिर काम पाएछन्। काम नपाएका कारण सिद्धार्थ मात्र रुसी सेनामा भर्ती हुन पुगेछन्,” वडाध्यक्ष ढकालले भने, “त्यहाँ रुसी आर्मीले भर्तीका लागि पोलपोलमा विज्ञापन गरेको रहेछ। त्यसैको पछि लागेर सिद्धार्थ भर्ती भएको भन्ने जानकारीमा आएको छ।”
उनी कसरी युक्रेनी सेनाको कब्जामा परे भन्नेबारे चाहिँ थाहा नभएको उनले बताए। युक्रेनी सेनाको कब्जामा रहेको भनी जानकारी आएका दुवै नेपालीलाई छुटाउन कूटनीतिक प्रयास थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर छुट्नुअघि उनीहरूले दुई वर्ष जति युक्रेनको जेलमा बस्नुपर्ने हुनसक्ने मन्त्रालय स्रोतले बतायो।
तालिमबिनै युद्धमा पठाउँछ रुस
विवेक र सिद्धार्थले दुई महिनाभन्दा बढी समय तालिममा बिताएको देखिँदैन। उनीहरू युद्धमा खटिँदा न आत्मसुरक्षाका उपायबारे जानकार थिए न त हतियार चलाउन पोख्त नै। त्यही कारण विपक्षी सेनाको आक्रमणमा उनीहरू सजिलै पक्राउ परे।
रुसी सेनामा भर्ती भएर पर्याप्त तालिमबिना युद्धमा खटाइएका ६ जना नेपालीको ज्यान गइसकेको छ। सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु भएको पुष्टि गरेको थियो।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार रुसी सेनामा ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की, पोखरा, कास्कीका देवान राई, पुतलीबजार–५, स्याङ्जाका प्रितम कार्की, मेलुङ–६, दोलखाका राजकुमार रोका र इलाम–५, इलामका गंगाराज मोक्तान रहेका छन्।
एक सिपाहीलाई युद्धमा सरिक हुनुअघि कम्तीमा वर्षदिन लामो तालिम चाहिन्छ। रुसी सेनामा भर्ती भएका नेपालीलाई पनि नौ महिना तालिम गरेपछि मात्र ‘रेड जोन’ अर्थात् युद्ध क्षेत्रमा पठाउने भनिएको हुन्छ। तर एक–दुई महिना र कसैलाई त बिनातालिम नै युद्धमा पठाइँदा नेपालीहरू विपक्षी सेनाको कब्जामा पर्ने, घाइते हुने र ज्यानै जाने क्रम बढिरहेको छ।
रुसी सेनामा भर्ती भएर युद्धमा परी घाइते भएका धनगढीका सन्तोष ताम्राकारका बुवा धनबहादुर पनि आफ्नो छोरालाई दुई महिनाको मात्र तालिम दिएर युद्ध क्षेत्रमा पठाइएको बताउँछन्। उनी भन्छन्, “दुई महिनाको तालिमपछि एकाएक युद्धमैदानमा उत्रिँदा सन्तोष सवार प्यारासुटलाई युक्रेनी सेनाले गिराइदिएछ। त्यसमा रहेका ४०÷४५ जनामा कसैलाई धेरै चोट लागेछ, कसैलाई कम। कसैको त ज्यानैसमेत गएछ।”
इलेक्ट्रिक इन्जिनियर सन्तोष काम गर्दै पढ्ने भनेर २०७९ मंसिरको शुरूमै रुस गएका थिए। उनले त्यहाँ होटललगायत विभिन्न ठाउँमा काम पनि गरे। तर पछिल्लो समय युद्धका कारण रुसमा पर्याप्त काम नपाइने र पाइए पनि तलब थोरै हुने भएपछि उनी रुसी सेनामा भर्ती भएका थिए।
१४ लाख रुपैयाँ खर्चेर रुस पुगेका सन्तोष विगत सात महिनादेखि अस्पतालको बेडमा छन्। उनको हात र तिघ्रामा चोट लागेको थियो। त्यसले नशामा पनि असर गरेकाले अहिले उनको नशाको उपचार भइरहेको सन्तोषका बुवा धनबहादुरले बताए।
‘रुसी नागरिकता पाइने आशामा घाइते हुँदा ढुक्क’
रुसी सेनाले नौ महिनासम्म तालिम अवधि हुने र एक वर्ष पुगेपछि रुसको स्थायी आवासीय परिचयपत्र (पीआर) पाइने आशा देखाएर सिपाहीमा भर्ती खोलिरहेको छ। त्यही प्रलोभनमा पर्ने गरेका नेपालीहरूले बताएअनुसार वर्षको ८० लाख रुपैयाँ कमाइ हुने, तालिमपछि सीमाक्षेत्रमा मात्रै खटाइने र तत्काल युद्धमा जानु नपर्ने लगायतका आश्वासन दिइएको हुन्छ।
नौ महिना तालिममै बित्ने भएपछि पीआर पाउनुअघिको बाँकी तीन महिना जसरी पनि कटाइहालिन्छ भन्ने सोचेर रुस पुगेका नेपाली त्यहाँको सेनामा भर्ती हुने गरेको सन्तोषका बुवा बताउँछन्। “एक सालको सम्झौता हुन्छ, नौ महिना तालिममै जान्छ, दुई–तीन महिना लडाइँ हुन्छ। त्यसमा पनि बाँचिन्छ, अनि रुसको नागरिकता पनि पाइहालिन्छ भन्ने सोचेर लालची भए। त्यसरी आफू मृत्युको मुखमा पुगेको थाहै पाउँदैनन्,” उनले भने।
घाइते सन्तोषका बुवा धनबहादुरले बताएअनुसार त्यहाँ घाइते भएर अस्पतालमा बसेकाहरूलाई ढुक्क हुन्छ। “लामो समय अस्पतालमै बस्नुपर्ने र ठीक भएपछि पनि तत्कालै युद्धमा नखटाइने कारण त्यत्तिकैमा एक वर्ष बित्छ। त्यसपछि त्यहाँको स्थायी आवासीय परिचयपत्र पाइहालिन्छ भन्ने आशामा घाइतेहरू हुन्छन्,” उनी भन्छन्, “युद्ध क्षेत्रमा पठाइएकाहरू छोरालाई फोन गर्दै घाइते भएर तपाईंलाई ढुक्क भएको छ, हामी त कुन दिन मर्ने हो थाहा छैन भनेर रुन्छन् रे।”
रुसी सेनामा भर्ना भएकाहरूले बताएअनुसार त्यहाँ भर्ती हुने बेला एक वर्ष सेनामा सेवा गर्नैपर्ने, बीचमा भागेर जान नपाइने र गएमा जेल परिने सम्झौता भएको हुन्छ। त्यसैले पनि नेपालीहरूले तालिम अवधिसमेत एक वर्ष जसोतसो जोगिन पाएपछि पीआर लिएर ढुक्कसँग बस्न पाइने सपना बुन्छन्।
उपचार लिइरहेको छोरालाई डाक्टरहरूले पनि ‘आत्तिनुपर्दैन, अब एक–दुई महिनामा पीआर पाइहाल्छौ। त्यसपछि नेपाल जाने कि रुसमै बस्ने आफ्नो निर्णय गर्न पाउँछौ’ भनेर सम्झाउने गरेको सन्तोषका बुवा बताउँछन्। तर आफूलाई समस्या परेको बताएर उद्धारको खोजी गर्ने, सामाजिक सन्जालतिर लेख्ने र फोटो राख्नेजस्ता क्रियाकलाप भने गर्न पाइँदैन।
“पहिला एक जनाले त्यस्तै गर्दा उसको उपचार पनि गरिदिएनन् भन्थ्यो छोराले। मरे पनि मर भन्दै गाली गर्छन् रे डाक्टरले। बरु चुपचाप बस्यो भने अस्पतालमा सुरक्षित र ढुक्क भइँदो रहेछ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
