Monday, June 17, 2024

-->

‘यसपालि पतिंगर समेट्न सकिइएन, बर्खामा कसरी खाना पाक्ला?’

यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले महोत्तरीको झुपर बस्तीका स्थानीयले पतिंगर सोहोर्न पाएनन्। बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्।

‘यसपालि पतिंगर समेट्न सकिइएन बर्खामा कसरी खाना पाक्ला’

महोत्तरी– बर्खा शुरू हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीय चिन्तित छन्। यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले उनीहरूले पतिंगर सोहोर्न पाएनन्। सोही कारण झुपर बस्तीका स्थानीय बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन्। 

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन। “अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै” (यसपालि पतिंगर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला?) भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्नुहुन्छ, “बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल” (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन)। जिल्लाका मुसहर, बाँतर  समुदायका गरिबको पतिंगर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो। 

“चैत, वैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली” (चैत, वैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन) गौशाला-४ की भुल्ली सदाले भनिन्, “गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई” (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो?) संकलित पतिंगर बेचेर कमाउने नगद पनि यसपालि नभएको भङ्गाहा-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन्। 

यहाँका स्थानीयले चैत र वैशाखमा संकलन गरेका पतिंगर आफूलाई वर्षभरि चाहिने राखेर अरू किसानलाई बेचेर आम्दानी लिन्थे। बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिंगरले छोप्ने गर्छन्। वनक्षेत्रको पतिंगर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीहरू अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन्। यी ठाउँमा केही गोबर संकलन गर्न सके चिपरी पथारेर सुकाउन सकिने उनीहरूको आशा छ।


सम्बन्धित सामग्री