Tuesday, May 07, 2024

-->

म्यानमारमा बन्धक रहेका १३ नेपाली मुक्त, घरफिर्तीको पहल जारी

म्यानमारमा विद्रोही पकडको द्वन्द्वग्रस्त क्षेत्रमा चिनियाँहरूले चलाउँदै आएको अनलाइन धन्दामा झुक्याएर नेपालीलाई पुर्‍याइने गरेको छ। अहिले पनि त्यहाँ नेपाल, भारतसहित २५ भन्दा बढी देशका नागरिक बन्धक छन्।

म्यानमारमा बन्धक रहेका १३ नेपाली मुक्त घरफिर्तीको पहल जारी

काठमाडौँ– कम्प्युटर, सूचना–प्रविधि र अनलाइन सेवासम्बन्धी काममा आकर्षक तलबसहितको रोजगारी दिइने भनेर चिनियाँ गिरोहले थाइल्यान्ड–म्यानमार सिमावर्ती क्षेत्रमा पुर्‍याएकामध्ये १३ जना नेपाली बन्धकमुक्त भएर स्थानीय प्रहरी हिरासतमा पुगेका छन्। 

म्यानमारस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेका अनुसार नेपाली दूतावासको सम्पर्कमा आइसकेका ती नेपालीको घरफिर्तीका लागि पहल जारी रहेको छ। तीबाहेक अरू आठ जना पनि उद्धारको प्रकृयामा छन्। तर उनीहरूबारे विस्तृत विवरण आइनसकेको राजदूत घिमिरेले जानकारी दिए।  

त्यहाँस्थित नेपाली दूतावासले उपलब्ध गराएको सूचीअनुसार अहिले बन्धकमुक्त भएर प्रहरी हिरासतमा रहनेमा त्रियम्बल यादव, प्रकाश उप्रेती, महेश खड्का, अनिल राई, गोपाल बुढाथोकी, विशाल विश्वकर्मा, शैलेन्द्र थापा, अमिर खान, विजयसिंह ठकुरी, ताराविक्रम पौडेल, अमरनाथ बराई, सुमित घिमिरे र सुमन लावती छन्। 

म्यानमारस्थित नेपाली दूतावासबाट प्राप्त बन्धकमुक्त नेपालीहरूको सूची। 

दूतावासको सम्पर्कमा रहेका सबैलाई घरफिर्ती प्रकृयामा पीडितका एक आफन्त महेश शर्माले समन्वय गरिरहेका छन्। फर्कने टिकटको प्रबन्ध र अरू कागजी प्रकृयामा उनी लागिरहेका छन्। “म्यानमार र थाइल्यान्डको नेपाली दूतावासले आवश्यक प्रकृया तथा समन्वय जुटाइरहेका छन्, आफन्त घर फर्कने कुरामा छिट्टै केही खबर आउला कि,” शर्माले फोनमा भने। 

“यी १३ जना नेपाली अहिले म्यानमार सरकारअन्तर्गत स्थानीय प्रहरी चौकीमा आश्रित छन्, उनीहरूको सहज घरफिर्तीका लागि सम्बद्ध सरकारी निकायमा समन्वय जुटाइरहेका छौँ,” बैंककस्थित थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले फोनमा भने। रोजगारीको नियमित प्रकृयाअन्तर्गत नहुँदा र गिरोहको चंगुलमा परेर धेरैजसो संयुक्त अरब इमिरेट्सको दुबईबाट थाइल्यान्ड–म्यानमार आएका नेपालीलाई त्यति सहजै घरफिर्ती प्रकृयामा लैजान नसकिने अनुभव कुटनीतिक नियोगहरूले बेहोर्दै आएका छन्।     

म्यानमारमा विद्रोही पकडको द्वन्द्वग्रस्त क्षेत्रमा चिनियाँहरूले चलाउँदै आएको अनलाइन धन्दामा झुक्याएर नेपालीहरूलाई पुर्‍याइने गरेको छ। अहिले पनि त्यहाँ नेपाल, भारत, बंगालादेशसहित २५ भन्दा बढी देशका नागरिकलाई बन्धक बनाएर राखिएको सूचना अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेको छ।

नेपालीलाई पनि म्यावडी (कायिन प्रान्त)मा राखेर ‘अनलाइन स्क्यामिङ’का धन्दामा लगाइने गरेको र त्यहाँबाट उम्कन चाहेमा जनही १३ लाख रुपैयाँभन्दा बढी फिरौती रकम बुझाउनुपर्ने गिरोहको कब्जाबाट उम्केर आएका पीडितहरूले बताइसकेका छन्। यो गिरोहमा सामेल हुन गएका केही पीडितले प्रहरीलाई दिएको सूचनामा नेपालबाट कलकत्ता, थाइल्यान्ड हुँदै त्यहाँबाट झन्डै १२ घण्टा मोटरयात्रापछि म्यावडी पुर्‍याइने गरेको थियो। 

काठमाडौँस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोले यसबारे अनुसन्धान गर्दै आएको छ। ब्युरोले आफूकहाँ आएको उजुरीका आधारमा गिरोहका केही चिनियाँ तथा नेपालीलाई समेत पक्राउ गरिसकेको छ। यो गिरोहका बारेमा सूचना आएपछि गत साउन दोस्रो साता परराष्ट्र मन्त्रालयले थाइल्यान्ड र म्यानमार भ्रमणबारे सचेतना अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेको थियो। पछिल्लो समय पर्यटक बनेर दुबई हुँदै रुस गएजस्तै खतरनाक गन्तव्यमा म्यानमारसमेत जोडिएपछि सरकारले भिजिट भिसामा कडाइ गर्न थालेको छ।

म्यानमारको यांगुनस्थित नेपाली दूतावासले माघ ९ गते (२३ जनवरी) मा परराष्ट्र मन्त्रालयमा पठाएको पत्रमा म्यानमार प्रहरी फोर्सका प्रमुख जनेरल नि लिन अंगले म्यानमार–थाइल्यान्ड सीमाक्षेत्र म्यावडीमा जारी गैरकानूनी धन्दा र ती कम्पनीमा कार्यरत विदेशी नागरिकका बारेमा अवगत गराएको उल्लेख छ। म्यानमारको गृह मन्त्रालयअन्तर्गत प्रहरी मुख्यालयले जनवरी २२ मा आयोजना गरेको समारोहमा फोर्सका प्रमुख अंगले म्यावडी क्षेत्रमा कार्यरत विदेशी नागरिकको उद्धार तथा घरफिर्तीबारे पहिलो पटक औपचारिक तहमा जानकारी गराएका थिए।  .

“स्वदेश फिर्तीका लागि म्यावडी–यांगुनको सडक तथा हवाई यातायात त्यहाँ क्रियाशील विद्रोही समूहका कारण अवरुद्ध रहेको र थाइल्यान्ड हुँदै स्वदेश फर्काउन म्यानमार तथा थाइल्यान्ड दुवै देशको सरकारी स्तरमा आपसी सहयोग एवं सहकार्य जारी रहेको छ,” दूतावासले पठाएको पत्रमा भनिएको छ। 

यांगुनस्थित राजदूत घिमिरेका अनुसार यस्तै रोजगारीका नाममा ठगी र गिरोहको फन्दामा परेकामध्ये थाइल्यान्ड र म्यानमारका तर्फबाट ६५ नेपालीलाई घरफिर्ती गराइएको छ। अझै पनि ५०० भन्दा बढी नेपाली ‘अनलाइन स्क्यामिङ’ धन्दामा म्यानमारको म्यावडी (कायिन प्रान्त) मा बन्धक बनाएर राखिएको पुष्टी भइसकेको छ।

‘दुबई गएको २ वर्ष भएथ्यो, म्यानमारमा बन्धक भएछ’ 
रोजगारीका क्रममा दुई वर्षअघि दुबई गएका मकवानपुरका विजयसिंह ठकुरी गत असारमा थाइल्यान्ड पुगेका थिए। विजयका दाइ सञ्जीवसिंहका अनुसार त्यसबीचमा यमन, जोर्डनतिर पनि गइरहने भाइ फेरि किन थाइल्यान्ड गए र कसरी म्यानमारमा बन्धक बन्न पुगे भन्नेबारे कुनै जानकारी थिएन। 

“तिहारको टीकाको दिन उसले आत्तिँदै फोन गरेको थियो। मेरो फोन अब नलाग्न सक्छ, म म्यानमारमा छु। अलिक कठिन अवस्था छ भनेर उसले भनेथ्यो,” सञ्जीवले फोनमा भने, “पछि अरू खबरहरू पनि आउन थाले। म्यानमारमा बन्धक बनेको र घर फर्काउन मुस्किल परिरहेको थाहा भयो। अब घर फर्काउन लाग्ने टिकटको पैसा पठाउनेबारे सल्लाह हुँदैछ, उतैका राजदूतहरूले सहयोग गर्ने हुनुभएको छ।” 

विजयजस्तै सप्तरी मूल घर भएका अमिर खान पनि चार महिनाअघि दुबईबाट थाइल्यान्ड पुगेको थाहा भएको छ। “नाति जेलमा छ अरे भन्ने सुनेको हुँ,” अमिरका हजुरबा पिल्टु मियाँले फोनमा भने, “अब कसरी र कहिले घर फर्कन्छ, म भन्न सक्दिनँ। सबै अल्लाहको हातमा छ।” 

लुम्बिनी घर भएका अमरनाथ बराई पनि दुबई हुँदै चार महिनाअघि थाइल्यान्ड गएको खबर उनका आफन्तले हालै मात्र पाएका छन्। दुबई जाने क्रममा अढाई लाख रुपैयाँ खर्च भएको र अब फेरि घरफिर्ती टिकटका लागि पैसा उठाउने कुरा भइरहेको उनका काका प्रल्हादले जानकारी दिए। त्यहाँबाट उनी के–कसरी म्यानमार पुगे भन्नेबारे गाउँमा कुनै जाकारी नआएको प्रल्हादले बताए।


सम्बन्धित सामग्री