Tuesday, June 18, 2024

-->

७ हजारमा ‘किनिएका’ ४२ नेपाली कश्मीरमा बन्धक, खबर पाएर पनि सरकारको बेवास्ता

राम्रो कमाइको लोभ देखाएर कश्मीर पुर्‍याइएका नेपालीलाई त्यहाँ बन्धक बनाइएको खबर लिएर सरोज राय गृह र परराष्ट्र मन्त्रालय धाए। तर सरकारले वास्ता नगरेपछि आफैँ अघि सरे। कसरी सफल भयो सरोजको ‘मिसन कश्मीर?’

७ हजारमा ‘किनिएका’ ४२ नेपाली कश्मीरमा बन्धक खबर पाएर पनि सरकारको बेवास्ता

काठमाडौँ– रोजगारीको सिलसिलामा चार महिनाअघि ४२ जना नेपाली भारतको जम्मु कश्मीरस्थित करलपोरा पुगेका थिए। दैनिक ११ सय रूपैयाँ र खान-बस्न पाउने बताइएपछि गाउँमा बेरोजगार उनीहरूलाई राम्रो अवसर पाएको महसुस भएको थियो। तर कश्मीर पुग्दाको उनीहरूको खुशी आधा घण्टाभन्दा बढी टिक्न सकेन।

उनीहरूलाई राम्रो कमाइको आशा देखाएर भारतीय नागरिक मुख्तकिम आलम र मोहम्मद सजादले करलपोरा पुर्‍याएका थिए। करलपोराको एउटा घरमा पुग्नेबित्तिकै सबैको मोबाइल र पैसासँगै सारा सामान थुतिए। “तिमीहरू अब हाम्रो नियन्त्रणमा छौ, कसैले कुनै चालाखी नगर्नू। नभए यहीँ मारेर गाडिदिन्छौँ। कसैलाई केही थाहा हुँदैन,” उनीहरूलाई यसरी धम्की दिइयो।

कामको आशामा कश्मीर पुगेका उनीहरू स्तब्ध भए। “यो के भइरहेको छ? कहाँ, के, कसरी, किन सबै प्रश्न एकैपटक दिमागमा चल्न थाल्यो। टाउकोमा कसैले पूरै दम लगाएर रड प्रहार गरेपछि झम्म भएजस्तो महसुस भयो,” करिब दुई महिनापछि त्यहाँबाट भाग्न सफल चन्दन मण्डल भन्छन्, “हामीलाई रोजगारीका लागि पन्जाब लग्ने कुरा भएको थियो। पछि मात्रै थाहा पायौँ की पञ्जाब होइन कश्मीर पुर्‍याएछन्।”

चार महिनाअगाडि बिहारको अररिया जिल्लाका आलम र सजाद सप्तरी तथा सुनसरीको सीमा हुँदै नेपाल आएका थिए। सप्तरी, सर्लाही, महोत्तरी र धनुषा घुमेर रोजगारीको प्रलोभनमा ४२ जना नेपाली जम्मा पारे। उनीहरूले राम्रो कमाइको प्रलोभनमा मात्र पारेनन् प्रत्येकका परिवारलाई ७ हजार रूपैयाँ पनि दिएका थिए।

सबैलाई उनीहरूले भारतसँगको सीमावर्ती सर्लाहीको सोनबर्साबाट पञ्जाब लैजान भनेर बस चढाए। तर १ लाख ३० हजार रूपैयाँमा रिजर्भ गरिएको उक्त बसले एकैपटक जम्मु पुर्‍यायो। जम्मुबाट अर्को बसमा कश्मीर लगियो। कश्मीरको श्रीनगरस्थित करलपोरा पुग्ने बित्तिकै सबैलाई एउटा पुरानो घरको बेसमेन्टमा बन्धक बनाएको चन्दन बताउँछन्।

“नालाको काम छ भनेको थियो। त्यहाँ आउँदा छत ढलानको काम रहेछ। बिहानै गाडी आउँथ्यो, त्यसैमा सबैलाई कोचेर साइटमा लान्थ्यो,” उनी भन्छन्, “दिनभरि काम गराउँथ्यो, राति ल्याएर त्यहीँ राख्थ्यो। फेरि बिहान उही रूटिन दोहोरिन्थ्यो। कोही बोल्न खोजे चुट्थ्यो। गोली हानेर मारिदिने धम्की दिन्थ्यो। कुनै बेला त तिमीहरू जस्तो कति नेपालीलाई मारेका छौँ पनि भन्थ्यो।”

यसरी भागेका थिए चन्दन र सरोज
उनीहरूलाई कश्मीर पुर्‍याउन आलम र सजादसँगै आलमका बाबु जमाल मनसुरी र अर्का भारतीय मलिम मन्सुरी पनि संलग्न थिए। कामका लागि विभिन्न साइटमा लाँदा उनीहरूमाथि हरघडी निगरानी हुन्थ्यो। काम सन्तोषजनक नहुँदा राति बेल्ट र पाइपले निर्ममतापूर्वक पिट्थे। कसैलाई त आफैले थुकेको थुकसमेत चाट्न लगाएको चन्दन बताउँछन्। 

चन्दनले करिब डेढ महिनापछि चरम यातना र कष्टकर दैनिकीबाट मुक्त हुने हिम्मत जुटाए। उनीसँग सरोज सदा पनि भाग्न तयार भए। चन्दन धनुषाका र सरोज सर्लाहीका हुन्।

एक दिन बिहानै चन्दन र सरोजसँगै ४० नेपालीलाई ढलानको काममा लगियो। बिहान १० बजे चिया खाएपछि दुवैजना ठेकेदारमाथि आँखा गाडिरहेका थिए। एकछिन भए पनि ठेकेदार नदेखिने ठाउँमा पुगोस् भन्ने उनीहरूको कामना थियो।

१२ बजेतिर चन्दन ‘मिक्सचर’मा मसला बनाउँदै थिए भने सरोज मसला ढुवानी गरिरहेका थिए। दुवै जनाले कुनामा भएको शौचालय जाने निहुँमा नौ फिटको पर्खाल चढेर हामफाले। पारि सडक थियो, त्यहीँबाट दौडिन शुरू गरे। करिब १० मिनेटपछि सैनिक क्याम्पअगाडि पुगे। चन्दनले क्याम्पको ढोकामा उभिएका सैनिकलाई वृत्तान्त सुनाए। तर ती सैनिकले उनीहरूलाई 'आतंकवादी' भन्दै तुरुन्तै भागिहाल्न भने।

“सर हम लोगोंको मार्ता हे पिट्ता हे। हमारे आदमी लोगोंको बचालिजिए भनेर भन्दा पनि तुम लोग आतंकवादी हो, भागो इहांसे भन्यो,” चन्दन भन्छन्, “हामी आतंकवादी होइनौँ भनेर फेरि भनेँ तर उसले भाग्ते हो की अभी अन्दर करूँ भनेपछि भाग्यौँ।”

एउटा ढोकाबाट लखेटिएपछि चन्दन र सरोजले अर्को ढोकामा बसिरहेको सैनिकसँग सहयोगको याचना गरे। तर त्यहाँबाट पनि त्यस्तै जवाफ पाएपछि दुवैजना करिब दुई घण्टा जति दौडेको दौडै गरे। उनीहरू जसरी पनि जम्मु पुग्न चाहन्थे। सडकमा एक जनालाई जम्मु जाने बाटो सोध्दा ती मान्छे अच्चम मानेर प्रतिप्रश्न गरेका थिए, “तुम जम्मु इहां से पैदल जाओगे? चोरीउरी करके आए हो?”

उनीहरूले ती मान्छेलाई पनि आफ्नो अवस्था भनेपछि बाटो देखाइदिएको चन्दन बताउँछन्। त्यही बाटो भएर चन्दन र सरोज फेरि दुईतीन घन्टा हिँडे। बाटोमा एक जना ट्राफिक भेटिएपछि सारा कुरा सुनाए। ती ट्राफिकले एउटा ट्रकमा जम्मुतर्फ पठाइदिए।

“हिँड्दा भोक लागिसकेको थियो। ती ट्रकवालाले दुईवटा बिस्कुट दिए। हामी त्यही खाएर सफर गर्यौँ,” चन्दन भन्छन्, “मलाई त्यति ठाउँहरूको नाम याद छैन। ती ट्रकवालाले हामीलाई अर्को ट्राफिककहाँ राति ८-९ बजेतीर छाडिदियो।”

ती ट्राफिकलाई चन्दनले सारा कुरा बताएपछि उनलाई ५५० र सरोजलाई २५० रुपैयाँ दिएर एउटा पिकअपमा चढाइदिए। त्यो पिकअपले उद्यमपुरस्थित रेल्वे स्टेशनमा छाडिदियो। त्यहाँ ७० रुपैयाँमा रेलको टिकट काटेर जम्मुका लागि निस्किए। जम्मुबाट फेरि अर्को रेलमा दिल्ली आइपुगे। त्यहाँ आइपुग्दा उनीहरूसँग पैसा सकिइसकेको थियो।

“दिल्लीबाट बिनापैसा ट्रेनमा बस्यौँ। बाटोमा कतै नपरे पनि बिहारको सोनपुरमा चेकजाँच भयो र ओर्लियौँ,” चन्दन भन्छन्, “त्यहाँबाट जयनगरको लागि अर्को ट्रेन चढ्यौँ। जयनगरबाट जनकपुर हिँडेर आयौँ।”

त्यो दिन चन्दनलाई ठूलो जंग जितेर आएको महसुस भयो। उता सरोज पनि आफ्नो घर पुगेर परिवारलाई सारा वृत्तान्त सुनाए। तर बाहिर कसैलाई सुनाएनन्।

जब खबर बाहिरियो
सामाजिक अभियन्ता सरोज रायलाई २०-२१ दिनअगाडि दुई ठाउँबाट फोन आयो, एउटा सर्लाहीको बैलबास र अर्को साउदी अरबिया। बैलबासबाट जितेन्द्र साहले फोन गरेका थिए भने साउदीबाट राजीव चौधरीले। साह र चौधरी दुवैको एउटै गुनासो थियो, ‘कश्मीरमा मेरा आफन्तहरूलाई बन्धक बनाइएको छ। कृपया पहल गरेर नेपाल ल्याइदिनुहोस्।’

त्यसअगाडि बर्दिबासबाट रञ्जु साहले फोन गरेर त्यही घटना सुनाएकी थिइन्। तर सूचना स्पष्ट थिएन। रञ्जुको श्रीमान् साउदीमा फसेका बेला रायले उद्धार गरेर नेपाल फर्काइदिएका कारण उनीसँग चिनजान थियो।

यस्ता अधुरा सूचना आउनुमा चन्दन र सरोजको भूमिका थियो। तर खुलेर कसैलाई भन्न सकिरहेका थिएनन्। करिब दुई महिनापछि एकदिन चन्दनले महोत्तरीका बिल्टु सदालाई घटना सुनाए। कश्मीरमा बाँकी रहेका ४० नेपालीमा बिल्टुका आफन्त पनि थिए। घटनाबारे थाहा पाएपछि बिल्टु तुरुन्तै सीडीओ कार्यालय पुगे। तर त्यो दिन सीडीओ भेटिएनन्। जनकपुरमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आयोजना गरिएको सुरक्षासम्बन्धी कार्यक्रममा भाग लिन गएका थिए। 

“सीडीओसँग भेट नभएपछि म रघुवीर महासेठ (भौतिक पूर्वाधारमन्त्री) कहाँ पुगे। उहाँले मलाई अब चिन्ता नगर्नुस्, मकहाँ सूचना आइसक्यो, तपाईंको काम भइहाल्छ भन्नुभयो,” बिल्टु भन्छन्, “तर कतैबाट केही भएन। पछि हाम्रो क्षेत्रका प्रदेश सासंद शारदादेवी थापा कहाँ पुग्यौँ। उनले पनि खासै वास्ता गरिनन्।”

थापा महोत्तरी क्षेत्र नं १(क) बाट निर्वाचित भएकी हुन्। त्यस बेला उनी मधेश सरकारको गृह, सञ्चार तथा कानून राज्यमन्त्री थिइन्। कतैबाट पहल नभएपछि बिल्टु पनि रायको शरणमा पुगे। 

सरोकारवाला मन्त्रीले दिएनन् चासो
सामाजिक अभियन्ता रायले कश्मीरमा बन्धक बनाइएकाहरूको सूचना संकलन गरे। त्यसपछि सरकारको सहयोग लिने प्रयास गरे। पहिला उनी निवेदन लिएर गृहमन्त्री रवि लामिछानेलाई भेट्न मन्त्रालय पुगे। तर गृहमन्त्रीले रायसँग भेटै गरेनन्। 

“एक दिनअगाडि शिशिर खनालसँग कुरा भएको थियो। उहाँले नै रविजीको सचिवालय सदस्य नवराज पौडेलको नम्बर दिनुभयो। नवराजजीले कुराको गाम्भीरता बुझ्नुभयो र भित्र गएर मेरो सूचना दिनुभयो। तर व्यस्तताका कारण आज नमिल्ने बताउनुभयो,” रायले उकालोसँग भने, “ठिकै छ भन्दै निस्किनै लागेको थिएँ त्यहीबेला दीपक बोहोरा बाहिर आउनुभयो। नवराजजीले दीपकजीलाई भन्दा उहाँले मलाई 'तपाईं उता बस्नुस्' भनेर हप्काउनुभयो।”

बोहोराको कुरा सुनेर आफूलाई चोट पुगेको राय बताउँछन्। त्यसपछि उनी चिठ्ठी छाडेर बाहिरिए।

अर्को चिठ्ठी लिएर राय परराष्ट्र मन्त्रालय पुगे। मन्त्रीसँग नभई सचिवसँग भेट भयो। सचिवले मन्त्रालयमा भएको दक्षिण एशिया डिभिजनमा जान सुझाए। उनी त्यहाँ गएपछि चिठ्ठी छाडेर जान भनियो। “अर्को दिन बिहान फोन आयो, त्यो चिठ्ठी भारतस्थित नेपाली राजदूतावास पठाइदिइरहेको बताए। मैले मलाई पनि इमेलमा सीसी गर्नुहोला भनेँ,” राय भन्छन्, “मेरै चिठ्ठीसँग संलग्न अर्को चिठ्ठीमा यस्तो यस्तो निवेदन आएको कुरा उल्लेख थियो।”

सरकारको पहलबाट कश्मीरमा फसेकाहरू फर्किएलान् भन्ने उनलाई पत्यार नभएपछि आफैँ उता जाने निधो गरे। अनि उनले सामाजिक सञ्जालमा लेखे– मिसन कश्मीर।

सरोजले आफूसँग हिँड्न चन्दन मण्डललाई समेत आग्रह गरे। चन्दनसँगै तीन जना अभिभावक पनि जाने भए। राय दिल्ली पुगेर स्थानीय संस्था ‘किन इन्डिया’का नवीन जोशीसँग नेपाली दूतावास पुगे। त्यहाँबाट श्रीनगरका एसएसपीलाई आधिकारिक पत्र लेखिदिन आग्रह गरे। नेपाली दूतावासले श्रीनगरका एसएसपीलाई पत्राचार गरिदियो।

एकाबिहानै छापा
नेपाली दूतावासको पत्रपछि राय र ‘किन इन्डिया’को टिम दिल्लीबाट कश्मीरस्थित श्रीनगरका लागि निस्कियो। श्रीनगरका एसएसपीले ड्रस्ट्रिक्ट पुलिस लाइनका इन्स्पेक्टरलाई भनिदिए। एसएसपीलाई भेट्नुअघि नै रायले चन्दनलाई लिएर करलपोरास्थित बन्धक बनाइएको स्थानको अवलोकन गरेका थिए।

“यदि चन्दन हामीसँग आउन नमानेको भए ती नेपाली भएको ठाउँसम्म पुग्ने सम्भावना कमै हुन्थ्यो। तर चन्दनले हिम्मत देखायो,” राय भन्छन्, “उसको भेषभूषा परिवर्तन गरेर र मुख छोपेर त्यो ठाउँ गयौँ। चन्दनले घर चिनाइदिए।”

लगत्तै रायको समूहले त्यस क्षेत्रका इन्स्पेक्टरलाई सबै घटना सुनाए। बिहानको समयमा छापा मार्ने सल्लाह भयो। सोहीअनुसार अर्को दिन बिहान ४ बजे इन्स्पेक्टरको टोलीसँगै राय र किन इन्डियाको समूह उक्त घरमा पुग्यो। राय भन्छन्, “राति अलिक जोखिम भएर छापा हानिएन। फेरि दिउँसो सबैलाई काममा लानेगर्थ्यो। त्यसैले बिहानको समय नै उपयुक्त हुने सल्लाह भएको थियो।”

बन्धक बनाइएको स्थानबाट निस्किँदै नेपालीसँग सरोज राय (अगाडिबाट दोस्रो)।

स्थानीय प्रहरी सिधै घरभित्र पस्दा अधिकांश सुतिरहेका थिए। एकछिनका लागि उनीहरू पनि अक्कमक्किए। तर जब चन्दन र बन्धक बनाइएका दुई जनाको बुबालाई देखे सबै एकाएक उत्साहित भए। केही भने आफूहरूलाई बन्धक बनाउने मुख्तकिम आलमलाई झम्टन पुगे। तर प्रहरीले उनीमाथि हातपात हुनदिएन। बन्धक बनाइएको ठाउँबाट निकालेपछि कतिपय भावुक भएका थिए।

उक्त घरबाट आलम र सजाद दुवै पक्राउ परेका छन्। आलमका बाबु जमाल र मलिम फरार छन्। छापा मारेपछि ४० जनामध्ये जम्मा ३५ जनाको उद्धार गरिएको छ। “शम्भु सदालाई मरणासन्न हुने गरी कुटपिट गरेर उनीहरू आफैँले मुज्जफरपुर लगेर छाडिदिएका रहेछन्। अहिले नेपालमै उनको उपचार भइरहेको छ। बाँकी चार जना हामी दिल्लीमै हुँदा भागेका थिए,” राय भन्छन्, “उनीहरू सबै अहिले परिवारको सम्पर्कमा पुगिसकेको जानकारी आएको छ।”

३५ जनाको उद्धार र दुई जनालाई पक्राउ गरिसकेपछि श्रीनगर ड्रस्ट्रिक्ट पुलिस लाइनका 'एन्टी ह्यूमेन ट्राफिकिङ सेल'ले कागजी प्रक्रिया गरिरहेको थियो। यता सबैलाई घर जान हतार थियो। तीमध्ये एक महोत्तरीका भग्लु मुसहर सबैभन्दा पाका हुन्। “आश थिएन कोही यति दूर हामीलाई छोडाउन आउँछन् भनेर। तर भगवानको कृपाले उहाँहरू आउनुभयो,” ह्वाटस्एप कलमा उनले उकालोसँग भने, “अब चाँडै घर गएर परिवारसँग समय बिताउन मन छ।”

सोमबार उक्त क्षेत्रमा चुनाव भएका कारण आइतबार साँझ नै सबै कागजी प्रक्रिया सकाएर राय सबैलाई लिएर नेपालका लागि निस्किसकेका छन्।


सम्बन्धित सामग्री