नेपाली इतिहासका एक गहन अध्येता, अन्वेषक र इतिहासलेखन विधाका सशक्त हस्ती ज्ञानमणि नेपाल भौतिक स्वरूपमा अब हामीमाझ रहनुभएन। स्वाध्ययबाटै आफ्नो बौद्धिकतालाई उचाइ दिन सफल भएका उहाँले २०८१ जेठ १ गते महाप्रस्थान गर्नुभएको खबरले मर्माहत बनायो।
सरल, सरस तथा मानवताका पुजारी ज्ञानमणि नेपाल इतिहासलेखन र साहित्यिक फाँटका स्थापित व्यक्तित्व हुनुहुन्थ्यो। इतिहास तथा साहित्यसम्बन्धी उहाँका प्रशस्तै ग्रन्थहरू प्रकाशित छन्। साहित्यिक व्यक्तित्वका अतिरिक्त इतिहासकारका रूपमा समेत मैले उहाँसँग उठबस गरेको छु। तसर्थ यस आलेखमा नेपालको इतिहासलेखन विधामा उहाँले पुर्याउनुभएको योगदानको समेत संस्मरण गर्न खोजेको छु।
प्रारम्भिककालमा नेपालको इतिहासलेखन विधामा विदेशी लेखकहरूकै बाहुल्य देखिन्छ। २००७ सालपछि भने नेपाली विद्वान्हरूले पनि नेपालको इतिहासका विविध पक्षमा कलम चलाउन थालेका हुन्। सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा आदिले नेपालको इतिहासका विविध पक्ष समेटेर कृतिहरू प्रकाशन गरे।
नेपालको प्रामाणिक इतिहास प्रकाशमा ल्याउन स्वदेशी ऐतिहासिक स्रोतहरूको अन्वेषण गरी सोही आधारमा इतिहास लेख्ने र पूर्वप्रकाशित कृतिमा देखिएका त्रुटिलाई संशोधन गर्ने उद्देश्यसमेत राखेर नयराज पन्तद्वारा २००९ सालमा संशोधन मण्डल स्थापना भएको थियो। यिनै पन्त गुरुद्वारा दीक्षित मूर्धन्य व्यक्तिहरूमध्ये एक हुनुहुन्थ्यो, ज्ञानमणि नेपाल। धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, महेशराज पन्त, दिनेशराज पन्त जस्ता विशिष्ट इतिहास एवम् संस्कृतिविद्हरू सोही संस्थाका उपज हुनुहुन्छ।
आफ्ना सहपाठीहरूसित मिलेर ज्ञानमणि नेपालले कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या (भाग १ र २), इतिहास संशोधन (भाग १ देखि ५), ऐतिहासिक पत्रसंग्रह र जयरत्नाकर नाटक जस्ता कृतिहरू प्रकाशित गर्नुभएको थियो। यी सबै ग्रन्थहरू अनुसन्धानमूलक र विश्लेषणात्मक छन्। यी कृतिमा संग्रह गरिएका सामग्रीहरू नेपालको इतिहासको अध्ययन, अनुसन्धान र अध्यापनका लागि आधिकारिक स्रोत सामग्री हुन पुगेका छन्।
संशोधन मण्डलबाट बिदा भएको केही समयपछि उहाँ त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्रमा संलग्न हुनुभयो। उहाँले त्यहाँ रहँदा विभिन्न अनुसन्धान परियोजनाहरू सञ्चालन गर्नुभएको थियो। महिरावण वध नाटक विवेचनात्मक अध्ययन सोही अनुसन्धान केन्द्रबाट प्रकाशित भएको थियो। नेपाल–चीन–तिब्बत सम्बन्ध विषयक अनुसन्धान कार्य पनि सोही अनुसन्धान केन्द्रबाट सम्पन्न गर्नुभएको थियो।
नेपालको परराष्ट्र मन्त्रालय अभिलेखालय (जैसी कोठा)मा रहेका सामग्री अध्ययन र टिपोट गर्ने अवसर पाउने थोरै विद्वान्हरूमा ज्ञानमणि नेपाल पनि एक हुनुहुन्थ्यो। ती सामग्री केही समयका लागि मात्र अध्ययन अनुसन्धानका लागि खुल्ला गरिएको थियो। २०४६ सालको परिवर्तनपश्चात् ती अमूल्य ऐतिहासिक दस्तावेज केकस्तो अवस्था छन् आधिकारिक सूचना उपलब्ध छैन। तिनै सामग्री उपयोग गरी लेखिएका अनुसन्धनात्मक कृतिहरू हुन्, नेपाल–भोट–चीन सम्बन्धका केही सांस्कृतिक पक्ष तथा नेपाल र चीन तिब्बत सम्बन्ध। नेपाल–भोट–चीन सम्बन्धमा नेपालमा उपलब्ध अभिलेखालयका स्रोतहरू अत्यधिक उपयोग गर्ने अग्रणी अनुसन्धानकर्ता ज्ञानमणि नेपाल नै हुनुहुन्थ्यो।
नेपालका विविध पक्षको इतिहास समेटिएको नेपाल निरुक्त उहाँको अर्को अनुसन्धनात्मक तथा विश्लेषणात्मक ग्रन्थ हो। पृथ्वीनारायण शाहको अवसानपछि जंगबहादुर कुँवर राणाको उदयसम्मको षड्यन्त्रकारी राजनीतिको इतिहास हो, नेपालको महाभारत। नेपालमा षड्यन्त्रकारी राजनीति देखा पर्नाका कारणहरू र यसबाट परेका अल्पकालीन र दीर्घकालीन असरहरूको वस्तुनिष्ठ मूल्यांकन यस ग्रन्थमा गरिएको छ। नेपाल सुखिम सम्बन्ध उहाँको अर्को महत्त्वपूर्ण ग्रन्थ हो। नेपाल र सिक्किमको सम्बन्धको ऐतिहासिकता, दुवैको सम्बन्धमा आएका गतिरोध, संघर्ष र सम्झौताका प्रसंग यस कृतिका प्रमुख विशेषता हुन्।
यी त भए इतिहासकार ज्ञानमणि नेपालका उल्लेखनीय केही प्रकाशनहरू। यसका अतिरिक्त नेपालका ख्यातिप्राप्त पत्रपत्रिका तथा जर्नलहरूमा उहाँका सयभन्दा बढी अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। यहाँ त केवल उहाँलाई स्मरण गर्ने सन्दर्भमा केही कृतिहरूको स्मरण गर्न खोजिएको हो।
नेपालको इतिहासलेखन विधामा ज्ञानमणि नेपालको आफ्नै विशिष्ट पहिचान छ। उहाँद्वारा लिखित प्रायः सबै प्रकाशनहरू प्राथमिक स्रोतमा आधारित छन्। उहाँले स्वदेशमा रहेका पुरातात्त्विक, साहित्यिक एवम् सरकारी कागजपत्रहरूको उपयोग यथेष्ट मात्रामा गर्नुभएको छ।
यी कृति तथा उहाँका लेखहरूमा पूर्वप्रकाशित ग्रन्थहरूमा देखिएका कमीकमजोरीलाई इंगित गर्दै सत्यतथ्य घटना उजागर गर्ने प्रयास भएको छ। यो सराहनीय कार्य मानिन्छ। कतिपय ऐतिहासिक प्रसंगमा उहाँले नवीनतम अवधारणा समेत प्रस्तुत गर्नुभएको छ। आवश्यकताभन्दा बढी वर्णनात्मक हुनु, पूर्वप्रकाशित ग्रन्थलाई यथोचित स्थान नदिनु, विदेशी विद्वान्हरूद्वारा लेखिएका ग्रन्थलाई खासै ध्यान नदिनु तथा इतिहासलेखन विधाका स्थापित मान्यतालाई पूर्णतः अंगीकार नगर्नु जस्ता केही सीमा उहाँको लेखनमा रहने चर्चा यदाकदा गरिन्छ। तर ती सबै सामान्य प्रकृतिका सीमा हुन्।
सीमा कसमा हुँदैन र कुन कृतिमा रहँदैन? यस्ता सीमाले उहाँको उज्जवल योगदानमा ओझेल पार्ने छैनन्। भन्नैपर्छ, नेपालको इतिहासलेखन विधाका एक सशक्त हस्ताक्षर हुनुहुन्थ्यो ज्ञानमणि नेपाल। उहाँ भविष्यका इतिहासकारका लागि मार्गदर्शक र प्रेरणाका स्रोत रहनुभएको तथ्यलाई पनि स्वीकार गर्नै पर्छ।
अतः नेपालको इतिहासलेखन विधाको इतिहासमा ज्ञानमणि सदैव उज्ज्वल नक्षत्रका रूपमा रहिरहनुहुनेछ। उहाँका कृतिले उहाँलाई सर्वदा अमर बनाउने छन्। साथै उहाँले उठान गर्नुभएका कार्यलाई निखारता दिनु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। हार्दिक श्रद्धासुमन आदरणीय ज्ञानमणि नेपालज्यू!