Saturday, April 27, 2024

-->

सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया

भक्तपुरको बालकोटमा आफैँले किनेको घरमा बस्ने ७४ वर्षीया एकल महिला अनन्तमाया घिमिरेले छोराछोरी, बुहारी र नातिले सम्पत्ति हडप्न आफूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको बताएकी छिन्।

सम्पत्ति हत्याउन सन्तानबाटै घरभित्र बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया
तस्वीर र भिडियोः किसन पाण्डे/उकालो

भक्तपुर– शनिबारयता निरन्तरको झरीले जनजीवन अस्तव्यस्त बनिरहेका बेला मंगलबार दिउँसो हिलाम्य बाटो छिचोल्दै हामी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित अनन्तमाया घिमिरेको घरमा पुग्यौँ। घर सुनसान देखिन्थ्यो। मूल गेटमा रहेको ‘डोर बेल’ बजाउँदा बिग्रिएको थाहा भयो। गेट खोलेर भित्र छिर्नसाथ दुई तला माथिको कौशीबाट अनन्तमायाले हात हल्लाएर हामीलाई स्वागत गरिन्।

७४ वर्षीया एकल महिला अनन्तमायालाई सम्पत्तिको विषयलाई लिएर आफ्नै घरमा बन्धक बनाएर राखिएको र स्वतन्त्र तरिकाले हिँडडुल तथा कुराकानी गर्नसमेत बन्देज लगाइएको पारिवारिक र कानूनी स्रोतबाट जानकारी पाएपछि हामीले उनीसँग फोनमा कुराकानी गरेका थियौँ। फोनमा कुराकानी हुँदा भेट्न चाहेको बताएका थियौँ। अनन्तमायाले घरमा आउन भनेपछि हामी उनलाई भेट्न बालकोटस्थित उनको घरमा पुगेका थियौँ। उनलाई भेट्न जानुअघि नै हामीले यसबारे धेरै तथ्य जुटाएका थियौँ।

अनन्तमायाले कौशीबाट हात हल्लाएपछि हामीले घरमा अरू को रहेछन् भनेर जान्न र उनीहरूसँग कुरा गर्न खोज्यौँ। आँगनबाटै ‘घरमा को हुनुहुन्छ?’ भनेर सोध्यौँ, तर कोही बोलेन। त्यसपछि हामीले ठूलो स्वरमा अनन्तमायालाई ‘आमा’ भनेर बोलायौँ। 

त्यसपछि भने एक अधबैँसे महिला आत्तिँदै च्यानल गेटसम्म आइपुगिन्। उनले हामीलाई केरकार गर्न थालिन्। हामीले ‘अनन्तमायालाई भेट्न आएको’ भन्यौँ। उनले तत्कालै आमालाई भेट्न नमिल्ने निर्णय सुनाइन्।

“हामी तपाईंसँग कुरा गर्न चाहन्छौँ, कुरा गर्ने समय दिनुहुन्छ?,” हामीले ती महिलालाई सोध्यौँ।

“ढोका त म कुनै हालतमा खोल्दिनँ, कुरा गर्ने भए बाहिरबाटै गर्नुस्,” उनले यति भनेपछि हामी च्यानलगेटसम्म पुग्यौँ।

च्यानलगेटमा ताल्चा लगाइएको थियो। उनी भित्रपट्टि थिइन्, हामी बाहिरपट्टि।

“अदालतको कागजबिना आमालाई कसैले भेट्न पाउँदैन,” उनले भनिन्।

यति भन्नसाथ उनले तत्कालै कसैलाई फोन लगाइन्। उनी अनन्तमायाकी जेठी छोरी उर्मिला घिमिरे रहिछन्। फोनमा कुरा नसकिँदै हामीलाई सोधिन्, “कसले बोलाएर तपाईंहरू आउनुभयो?”

हामीले ‘आमा (अनन्तमाया) ले बोलाएकाले उहाँलाई भेट्न आएका हौँ’ भन्यौँ।

“आमाले तपाईंहरूलाई बोलाउनै सक्नुहुन्न। कसले बोलाएको हो, हामीलाई थाहा छ। यसरी अर्काको घरमा आएर कुरा गर्न पाउनुहुन्न। अदालतको स्वीकृति लिएर आउनुपर्छ,” उनले हामीलाई सुनाइन्।

फेरि थपिन्, “यो घरमा आमा, म र मेरो जेठो छोरा बस्छौँ। म दिनभरि कतै जान्नँ, आमासँगै बस्छु। उहाँको हेरचाह गर्छु।”

हामीले आमा (अनन्तमाया) सँग भेट गराइदिन उनलाई अनुरोध गर्न छाडेनौँ।

उनले एकपछि अर्को बहाना बनाइरहिन्। “आमा बिरामी हुनुहुन्छ, कुराकानी गर्न सक्नुहुन्न,” उनले फेरि प्रश्न गरिन्, “तपाईंहरूलाई प्रतीक्षाले पठाएको हो?”

प्रतीक्षा घिमिरे, उनकी कान्छी बहिनी रहिछन्। अर्थात् अनन्तमायाकी कान्छी छोरी।

उर्मिलाले अडान राखिरहिन्, “सरकार, प्रहरी जो आए पनि हामी आमालाई भेट्न दिँदैनौँ। भेट्ने भए अदालतको पुर्जी ल्याउनुस्।”

यति भनेर उनले पुनः पहिल्यै फोन गरेका व्यक्तिलाई फोन लगाइन् र फोनमा भनिन्, “जबरजस्ती ढोका खोलेर आमालाई भेट्न खोज्दै छन्।”

त्यसपछि उनी हामीबाट तर्किएर आमा अनन्तमायातिरै गइन्। अनन्तमायाले दोस्रो तलाबाट हाम्रो कुराकानी सुनिरहेकी रहिछन्।

उर्मिलाले हामीसँग कुरा गर्न नचाहेपछि र अनन्तमायालाई भेट गर्न नदिएपछि हामीले पुनः अनन्तमायालाई ‘आमा’ भनेर बोलायौँ।

अनन्तमाया भर्‍याङको रेलिङको आड लिँदै च्यानल गेटसम्म आइपुगिन्। हामीलाई देख्नसाथ आफू अस्वस्थ भएको खुलाइन्। उनको अनुहार मलिन थियो।

“कहिलेदेखि अस्वस्थ हुनुहुन्छ आमा?” हामीले सोध्नसाथ उनले भनिन्, “बिरामी त म पहिलेदेखि नै छु, तर पछिल्लोपटक झाडापखालाको कारण थलिएकी छु।”

“कहिलेदेखि घरभित्रै बस्नुभएको छ नि?” हाम्रो अर्को प्रश्नमा उनले भनिन्, “माघदेखि।”

त्योबीचमा उनी कहिल्यै घरबाट निस्किइनन् त? हामीले फेरि सोध्यौँ।

यसपालि अनन्तमायालाई रोकेर उर्मिला बोलिन्, “अस्ति मन्दिर लगेँ, तीर्थ व्रतमा लगेँ, आमालाई आफैँ घुमाउन पनि लगेकी छु।”

तर, अनन्तमायाले मसिनो स्वरमा उर्मिलाको कुरामा असहमति जनाउँदै भनिन्, “सँगै राखेर मात्रै, एक्लै जान पाउँदिनँ।”

“मलाई मुद्दा पर्‍यो, म सुनसरी जान्छु भन्दा तैँले किन जान दिइनस्?” उनले उर्मिलालाई नै सोधिन्।

उर्मिलाको जवाफ थियो, “त्यो त भाइहरूले गर्ने हो, मैले गर्ने होइन।”

अनन्तमायाले फेरि उर्मिलालाई सोधिन्, “मुद्दा चाहिँ मलाई किन हालेको? मैले के गरेँ?”

उर्मिलाले छेक्न खोज्दै थिइन्, अनन्तमाया रोकिइनन्। आफूविरुद्ध मुद्दा हालेपछि आफू सुनसरी जान खोजेको तर, जेठो छोरा (उर्मिलाका जेठा भाइ) बल्लभमणि घिमिरेले ‘तिमी सुनसरी जान पाउँदिनौँ’ भन्दै मोबाइल खोसेर राखिदिएको उनले सुनाइन्।

उर्मिला बीचमै बोलिन्, “तपाईंहरूले जे पायो त्यही सोध्ने?”

उनले अनन्तमायालाई छेकिदिइन्।

छेक्दाछेक्दै पनि अनन्तमाया बोल्न खोज्दै थिइन्। उर्मिलाले उनलाई समातेर माथि उकाल्न खोजिन्। “उनीहरू त मिडियाबाट आएका रहेछन्, पृथ्वी हल्लिन्छ, उनीहरू मिडियाबाट आएको। तपाईंले छोरा (जगदीश)को जागिर खाइदिन खोजेको?”, उनले आमासँग आक्रोश पोखिन्। 

जगदीश उच्च अदालत पाटनका न्यायाधीश हुन्।

“त्यसलाई (जगदीशलाई) टेकाउने मै हुँ”, अनन्तमायाले उर्मिलालाई जवाफ दिइन्, “मलाई ढोका खोलिदेऊ भनेर कतिपटक भनेँ, तिम्ले खोलिदियौ? मलाई घरमा थुनेर किन राखेको?”

त्यहीबेला उर्मिलाले अनन्तमायालाई उपचार गर्न अस्पताल लिएर गएको भन्दै अनन्तमायालाई अनुरोध गरिन्, “आमा, जगदीशलाई नमार्नु न।”

त्यसपछि उनले आमालाई बलपूर्वक माथिल्लो तलामा लिएर गइन्।

त्यहीबेला उर्मिलाका जेठो भाइ बल्लभमणि आक्रोशित हुँदै घरभित्र छिरे। उर्मिलाले उनैलाई फोन गरेकी रहिछन् भन्ने थाहा भयो।

‘मेरो घरमा जबर्जस्ती छिर्ने?’ भन्दै उनी आक्रोशित भए। हामीलाई गलहत्त्याएर बाहिर निकाले।

हामी त्यहाँबाट फर्क्यौं। केही समयपछि अनन्तमायालाई फोन गर्यौं। उनले ‘मिडिया बोलाएको’ भन्दै छोरी उर्मिला र छोरा बल्लभले आफूलाई बेस्सरी गालीगलौज गरेको, मोबाइल पनि खोसेर राखिदिने धम्की दिएको सुनाइन्।

अनन्तमायाका अनुसार उनलाई गत माघदेखि आफ्नै घरमा थुनेर राखिएको छ। यो घर, सबैको अंशबन्डा भइसकेपछि अनन्तमायाले आफ्नो पुरानो जायजेथा बेचेर किनेको घर रहेछ। उनले आफूलाई जेठी छोरी उर्मिला, उनका छोरा रिजन भट्टराई, जेठा छोरा बल्लभमणि, उनकी पत्नी रेणुका बरालले थुनेर राखेको बताइन्।

अदालतको म्याद गुजारेर सम्पत्ति हत्याउन वृद्धा आमामाथि अत्याचार
अनन्तमायालाई आफ्नै छोराछोरीले घरभित्रै बन्धक किन बनाए? यसबारे बुझ्न उनको परिवारमा घटेका विगतदेखिका घटनाक्रम केलाउनुपर्ने हुन्छ।

अनन्तमायाको पुर्ख्यौली घर ताप्लेजुङ हो। पछि बसाइ सरेर सुनसरी झरेकी रहिछन्। सुनसरीमै छँदा उनका दुई छोरी (जेठी उर्मिला र माहिली कल्पना)को विवाह भएको थियो।

२०५८ सालतिर अनन्तमाया, उनका श्रीमान् रामप्रसाद, दुई छोराहरू (बल्लभ र जगदीश) र कान्छी छोरी प्रतीक्षा सुनसरीबाट काठमाडौँ आए। उनीहरू कोटेश्वरमा डेरामा बस्थे। अनन्तमाया–रामप्रसादले २०६५ सालमा कान्छा छोरा जगदीश घिमिरेको नाममा कोटेश्वरमै घर किने। त्यही साल अंशबन्डा गरेर त्यो घर जगदीशलाई दिइयो। ब्रेनट्युमरका कारण रामप्रसाद त्यही घरमा २०६९ सालमा बिते।

श्रीमान‍्को मृत्युपछि अनन्तमाया एक्लै परिन्। उनको दिनचर्या सोही घरको एउटा कोठामा सीमित हुन पुग्यो।

काठमाडौँको मूलपानीमा अनन्तमायासहित अर्जुन बराल (अनन्तमायाकी जेठी बुहारीका बुवा), मुकुन्द गजुरेल लगायत ६ जनाको संयुक्त नाममा जग्गा थियो। कूल दुई रोपनी जग्गा थियो, त्यसमा अनन्तमायाको पनि हक लाग्थ्यो। त्यो जग्गामा खोला पसेको थियो।

२०७० सालमा जेठो छोरा बल्लभलाई अंशबन्डा गरिदिँदा उनले सुनसरीमा रहेको जग्गा दिएकी थिइन्। यता मूलपानीमा खोला फर्किएपछि जग्गा उकासियो। आफ्नो नाममा रहेको जग्गामध्ये अनन्तमायाले केही जग्गा बेचेर भक्तपुरको सूर्यबिनायक नगरपालिका–३, बालकोटमा झन्डै ३ करोड रुपैयाँमा २०७९ वैशाख १४ गते घर किनिन्।

“लामो समयदेखि म खुम्चिएको थिएँ, जब आफ्नै पैसाले घर किनेर बसेँ, त्यसपछि राहतको सास फेरेँ,” उनले भनिन्, “तर मलाई जेठी छोरी र छोराहरूले अत्याचार गर्नथाले।”

उर्मिलाको सम्बन्ध–विच्छेद भइसकेको छ। सम्बन्ध–विच्छेदपछि उनी कोटेश्वरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन्। तर अनन्तमायाले बालकोटमा आफ्नो घर किनेपछि आमा एक्लै भएको र उनलाई रेखदेख गर्ने भन्दै २०७९ वैशाख १५ गते उर्मिला छोरा रिजनसहित बालकोटमा बस्न थालिन्। कोटेश्वरको घर भने भाडामा लगाइन्।

अनन्तमायासँग बस्न थालेको एक साता नबित्दै, २०७९ वैशाख २२ गते उर्मिलाले शेषपछिको बकस–पत्र गरेर आमाको नाममा रहेको घर हत्याउने प्रपञ्च गरिन्।

“शेष पछाडिको बकस–पत्र गर्छु भनिरहेकी थिई, तर मलाई त्यहाँ (मालपोत) लगिएको होइन,” अनन्तमायाले भनिन्, “त्यहाँ (मालपोत) बोलाएर ल्याप्चे लगाइएको पनि होइन, छोरीले घरमै ल्याप्चे लगाएर एकलौटी खान खोजेकी हो। पास गर्दा पनि छोरीले नै के–के मिलाएकी थिई, मैले केही थाहा पाइनँ। म त यो घर किन्दाबाहेक मालपोत गएकै छैन।”

गएको मंसिरमा अनन्तमायाले त्यो बकस–पत्र खारेज गर्न मालपोत कार्यालय भक्तपुरमा निवेदन दिइन्। तर, मालपोत कार्यालयले अनन्तमायाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेकाले रोक्का भएको र रोक्का गरिएको जग्गाको बकस–पत्र बदर गर्न मिल्छ कि मिल्दैन भनेर पत्र पठायो। अहिलेसम्म बकस–पत्र खारेज भएको भने छैन।  

२०७९ भदौ ५ गते बल्लभकी पत्नी रेणुका बरालले अनन्तमाया र बल्लभविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ‘अंशचलन मुद्दा’ हालेकी थिइन्। त्यही मुद्दाले अनन्तमायाको घर तथा जग्गा रोक्का राखेको थियो। यो मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा पुनः सुनसरी जिल्ला अदालतमा बल्लभसँग २०७० मा भएको अंशबन्डा बदर गरिपाऊँ भनेर अनन्तमायाविरुद्ध रेणुकाले नै २०७९ फागुन १४ गते मुद्दा दर्ता गराइन्। त्यो मुद्दाको प्रतिउत्तर फर्काउन नदिन आफूलाई थुनेर राखिएको अनन्तमाया बताउँछिन्।

“मेरो विरुद्ध मुद्दा चलेपछि म सुनसरी जान खोज्दा जान दिइएन,” अनन्तमायाले भनिन्, “२०७० मा अंशबन्डा गरेको थियो, त्यो बदर गर कि गर भन्छन्। जेठो छोराले तिमीलाई मुद्दासँग के सरोकार भन्छ, किन प्रतिउत्तर दिनुपर्‍यो भन्छ।”

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ११९ मा तोकिए बमोजिम २१ दिने म्याद र थामी पाउने १५ दिनसमेतको ३६ दिन म्यादभित्र आफूविरुद्ध दर्ता भएको मुद्दामा प्रतिउत्तर दिनुपर्छ। अनन्तमायाले २०७९ चैत १५ गते सुनसरी जिल्ला अदालतको म्याद तामेल गरेको उल्लेख छ, जबकि उनलाई चैत २२ गते मात्र म्याद तामेलको पत्र प्राप्त भएको अनन्तमाया बताउँछिन्।

चैत १५ को मितिले २०८० वैशाख २० गतेभित्र अनन्तमायाले अदालतमा प्रतिउत्तर दर्ता गराउनुपर्ने थियो। त्यो मितिभित्र उनले प्रतिउत्तर दर्ता नगराएमा निवेदकको दाबीले वैधता पाउने अवस्था बन्छ। यही म्याद गुजार्न उनलाई घरमै थुनेको देखिन्छ। 

अनन्तमाया त्यसपछि आफूले दिनहुँ छोरा र छोरीको हिंसा सहिरहेको बताउँछिन्। एउटै भान्साभित्र पनि आफ्नो लागि छुट्टै ग्यास चुल्होको व्यवस्था गरिएको, त्यही भान्सामा छोरीको अलग्गै ग्यास चुल्हो रहेको उनले बताइन्।

अनन्तमायालाई घरभित्रै बन्धक बनाइएपछि उनकी कान्छी छोरी प्रतीक्षाले दिदी उर्मिला घिमिरे, दिदीको छोरा रिजन भट्टराई, जेठो दाजु बल्लभमणि घिमिरे र भाउजू रेणुका बरालविरुद्ध २०७९ चैत २६ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। चैत २७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदीको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो।

‘बन्दीलाई सशरीर उपस्थित गराई जिम्मा लगाइपाऊँ’ भन्दै फेरि प्रतीक्षा २०८० वैशाख ३ गते सर्वोच्च अदालत गइन्। “मुद्दा विचाराधीन रहेकै अवस्थामा न्यायमा अवरोध पुर्‍याउने, न्यायिक प्रक्रिया विलम्ब गर्ने, प्रमाण नष्ट गर्ने, बनावटी प्रमाण सिर्जना गर्ने, शरीर बन्धकयुक्त गैरकानूनी थुना कायम राख्ने, आमाको विरुद्धका अंश मुद्दा र अंशबन्डा बदर मुद्दामा प्रतिवाद गर्ने मौलिक हकबाट वञ्चित गर्ने गैरकानूनी कार्य भइरहेको र गम्भीर रोगको बिरामी ज्येष्ठ नागरिक आमाको जीउज्यान र वैयक्तिक स्वतन्त्रता हाल अत्यन्त जोखिम अवस्थामा रहेको हुँदा”, पूरक निवेदनमा उल्लेख छ, “सर्वोच्च अदालत नियमावली २०७४ को नियम १४, नियम १५, नियम ३५ (ख), नियम (३६) तथा न्याय प्रशासन ऐन २०७३ को दफा २७ को आधारमा आवश्यक भएमा खानतलासीको पुर्जी (सर्च वारेन्ट) समेत जारी गरी तत्काल उद्धार गरी आमा अनन्तमाया घिमिरेलाई स्थानीय प्रहरीमार्फत सशरीर अदालतमा झिकाई उपस्थित गराई उहाँको स्वतन्त्र इच्छा बुझी मेरो जिम्मामा लगाउने गरी अन्तरिम/अन्तरकालीन वा अन्य उपयुक्त आज्ञा आदेश जारी पूर्ण रूपमा न्याय पर्ने गरी न्याय निरूपण गरिपाऊँ।”

तर, सर्वोच्चले पूरक निवेदन दर्ता गरेन।

यो रिटमाथि गएको शुक्रबार (वैशाख १५ गते) सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासले रिट खारेज गर्ने निर्णय सुनायो।

अधिवक्ता डुन्डीराज देवकोटा नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक दिएको बताउँछन्। ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को प्रस्तावनामै ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन जारी गरी लागू गरिएकाले अन्य व्यक्तिभन्दा ज्येष्ठ नागरिकहरूलाई विशेष सुविधा तथा संरक्षण प्राप्त हुने उल्लेख छ।

देवकोटाका अनुसार अनन्तमायाका छोरा बल्लभमणि घिमिरेले २०७० मंसिर २४ मै मालपोत कार्यालय सुनसरीबाट अंशबन्डा पारित गरी आफ्नो हिस्सा लिएको १० वर्षपछि बदनियतपूर्वक श्रीमती र नाबालिग छोराछोरीको नाममा आफैँविरुद्ध समेत मुद्दा दायर गरेर सुनसरी जिल्ला अदालतमा अंशबन्डा बदरको मुद्दा दायर गरेको देखिन्छ। “काठमाडौँ जिल्ला अदालतमा पनि मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा ८९ को विपरीत अंशबन्डा मुद्दा हालेर ७४ वर्षीया वृद्ध आमाविरुद्ध मुद्दा दिएको, बिहे भएपछि आफ्नै घरमा बसेकी र सम्बन्ध–विच्छेदपश्चात् पनि घरमै बसिरहेकी उर्मिला घिमिरेलाई शेषपछिको बकस–पत्र पारित गराउने, त्यसलाई बदर गर्न अनन्तमायाले निवेदन दिँदा र अदालती कारबाहीमा म्याद बुझिसक्दा सो मुद्दामा प्रतिवाद गर्नबाट रोक्ने, त्यसका लागि गैरकानूनी रूपमा बन्धक बनाएर कानून व्यवसायीसँग भेटघाट र सम्पर्क गर्न नदिएको प्रस्टै देखिन्छ,” उनले भने।

देवकोटाले वृद्ध आमाको संरक्षण गर्नुपर्ने दायित्व रहेका छोरा, बुहारी, छोरीले मुद्दामाथि मुद्दा गरी सम्पत्ति रोक्का राखी नितान्त व्यक्तिगत रूपमा आफ्नो भोगचलन लगायतको कामकारबाही गर्नबाट वञ्चित गराई घरबाट बाहिर समेत निस्कन नदिई गैरकानूनी नजरबन्द गरेको देखिएको बताए।

अनन्तमायालाई आफ्नै घरमा बस्न थालेपछि जीवन सहज होला भन्ने लागेको थियो। “आफ्नो समय पनि घर्किँदै गयो, छोराहरूका घरमा बस्दा त भएन–भएन, आफूले किनेर आफ्नै घरमा बस्दा पनि जीवन सहज हुन्छ होला भनेको भएन,” उनले भनिन्, “घरबाट बाहिर निस्कन पाए न्यायका लागि लड्ने थिएँ।”

समाचार प्रकाशन भइसकेपछि* सम्पर्कमा आएका छोरा बल्लभमणि, छोरी उर्मिला र नाति रिजनले अनन्तमाया राजीखुशीले उर्मिलासँग बसेको र उनको स्वास्थ्यलाई ख्याल गरी स्याहारसुसार गरिरहेको बताएका छन्। अनन्तमाया खुशीसाथ बसेको पनि उनीहरूको भनाइ छ।


*सम्पादित


सम्बन्धित सामग्री