Tuesday, September 10, 2024

-->

स्मृतिमा ज्ञानमणि
जसले चीनबाट फर्केपछि गौदान–प्रायश्चित गरे!

इतिहास लेखनका गल्ती सुधार्न शुरू भएको संसोधन मण्डलका एक सशक्त अभियन्ता थिए ज्ञानमणि। २००४ सालमा भोजपुरबाट काठमाडौँ आएका उनले मात्रै गुरु नयराज पन्तबाट शिक्षा पूर्णताको हस्तलिखित प्रमाणपत्र पाएका थिए।

जसले चीनबाट फर्केपछि गौदान–प्रायश्चित गरे

“नेपालमा पनि धेरै चर्चा चलेको छ रे– वामदेव गौतमको छोराको बारेमा। उनलाई विशेष अधिकार प्रयोग गरी पठाइदिएको रहेछ, भिसा प्रमाण, छात्रवृत्ति, कलेज प्रवेश के–के जाति नमिलेर लुकेर बसेका छन्। यहीँ दूतावासमा राख्नुपरेको छ। यहाँ भोजमा पनि ल्याउन सकिएन, माथि तलामै बसेका छन्।”

इतिहासविद् ज्ञानमणि नेपालको ९२ बर्षको उमेरमा मंगलबार निधन भएपछि उनका ऐतिहासिक सोध र खोजकर्मबारे चर्चा भइरहेको छ। ज्ञानमणिका छापिएका पुस्तकका मात्र होइन लेखरचनाभित्रका रोचक–घोचक छेउकुना पनि उत्तिकै पठनीय छन्। माथि उल्लेखित वामदेव र उनका छोरा (हरिस गौतम)को सन्दर्भलाई ज्ञानमणिले ‘यात्रा त्रयी’ (नेपाल–भारत र चीनको यात्रा) कृतिको ‘चीनको सांस्कृतिक यात्रा’ निबन्धभित्र छुस्स घुसाएका रहेछन्। यो शहरमा बादल, पुन, महरा, रायमाझी, राई, देउवा पुत्रहरूको चर्चा छाइरहेका बेला निको भएको घाउ फेरि कोट्याएझैँ ज्ञानमणिले वामदेवपुत्रको ‘फरार–सूची’लाई टिपोट गरेका रहेछन्, उबेला।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त भएपछि २०५२ जेठ तेस्रो साता उपकुलपति मदनमणि दीक्षितको नेतृत्वमा एउटा साहित्यिक टोली चीन भ्रमणमा गएको रहेछ। प्राज्ञ धुस्वा सायमी, रमेश विकल, ज्ञानमणि नेपाल तथा प्राज्ञ सभासद् देवकुमारी थापा (विराटनगर) र साहित्यिक पत्रकार रोचक घिमिरेसहितको टोली बेइजिङ उत्रिएको रहेछ। उक्त टोलीलाई तत्कालीन नेपाली राजदूत तुलसीलाल अमात्यले बेइजिङ दूतावासमा ‘डिनर’मा बोलाएका रहेछन्। त्यसै प्रसंगमा दूतावासका एक जना कर्मचारीले ज्ञानमणिलाई खुसुक्क भनेको कुरो ‘यात्रा त्रयी’मा छापिएको छ, वामदेवपुत्रको हरिहालत।

यस्ता विद्धान् लेखकहरू सम्मिलित शिष्टमण्डलमा पनि अरू सामान्य तहमा झैँ ‘छेडखान’ र ‘तेरोमेरो’ हुँदोरहेछ। आज ज्ञानमणि नेपाल पनि बितेपछि यो सन्दर्भको फेरि उत्खनन भएको छ। यी घटनाक्रमका एकमात्र साहित्यिक छड्के–साक्षी रोचक घिमिरे ‘मौन स्वीकृति लक्षणम्’को शैलीमा गहनापोखरी निवासमा बसिरहेकै छन्। कुरा के रहेछ भने, चीनयात्राअघि काठमाडौस्थित चिनिया दुतावासले लेखाएको ट्राभल–क्याटलगमा ज्ञानमणि नेपाल एक जना ‘भेजिटेरियन’ रहेछन्। स्वभावतः चीन पुगेपछि त्यही अनुसारको खानपिन आउने भयो। 

तस्वीर सौजन्य: सुन्दर बस्नेत


बेलुका डिनरको बेला भयो। ‘हटपट’सहित अनेक परिकार टेबलमा आउन थाले। छिनभरमै बडेमाको माछा (ट्राउटजस्तै लाग्ने) टेबलको बीचमा ल्याइयो, सुवासयुक्त रसमा डुबेको। हत्तपत्त ज्ञानमणिले काँटा–चम्चा उठाउँदै त्यही माछाका केस्रा निकाल्न थाले।

‘ओहो, तपाई त भेजिटेरियन होइन?’, नेपालीमै बोल्ने चिनियाँ दोभाषे युवतीले सोधिन्।

‘हुन त हो कि तर, चीनमा त अनेकथरि ख्वाइन्छ भन्ने सुनेको हुँ। भ्यागुत्ता, गँगटा, बाँदर, कुकुर... त्यही भएर भेजिटेरियन लेखेको नि!’ ज्ञानमणिको जवाफ थियो।

खानपिन त कसोकसो सकियो। बेलुका होटल लबीमा पुग्नासाथै प्राज्ञ रमेश विकलले ज्ञानमणिलाई थर्काएछन्, ‘के भनेको त्यो? खानेकुुराका नाममा चिनियाको बेइज्जत गर्ने प्राज्ञ भएर? कुकुर, बाँदर नि भन्ने? तपाईं कस्तो खालको प्राज्ञ? कस्तो विद्धान्?’

ओहो! छिनभरमै माहोल तातियो। उपकुलपति मदनमणिले ‘भैगो भैगो’ भनेपछि सबै जना आआफ्ना कोठामा छिरेछन्।

भोलिपल्ट फेरि अरनिको स्तुपा गन्तव्य घुमघाममा टोली निस्कियो। अरूभन्दा नि दौरासुरूवाल, टोपीको ज्ञानमणि ठाँटबाँठ निकै चित्ताकर्षक हुन्थ्यो। त्यो साँझ उसैगरी डिनर शुरू भयो। त्यहाँ पनि ठूलो भाँडोमा अनेक शिकारजन्य परिकार थिए।

ज्ञानमणिले दोभाषेलाई सोधेछन्, ‘यो खाद्य पदार्थ के हो नि?’

‘यो त ह्वाङ्हो नदीको माछा हो, यताको निकै लोकप्रिय,’ दोभाषेले सुनाइन्। 

यति भनेपछि ज्ञानमणिले नाइँनास्ती नभनीकन प्लेट अघि सार्दै ह्वाङ्हो–खाद्य लिइहाले। तब त के चाहियो? प्राज्ञ र विद्धानहरूबीच रहने आपसी द्धेष र स्पर्धा अझ चर्किएर बाहिर आउन थालेछ। बेलुका होटल आइपुग्नासाथ शुरू भैहाल्यो। ‘के गरेको ज्ञानमणिजी, तपाईंले त भ्यागुता, गँगटा सबै खानुभो त! अनि केको आदर्श नि? कस्तो भेजिटेरियन?’ शुरूमै प्राज्ञ विकलले खेर्न थालिहाले। त्यसमा ‘होहोरी’ थप्ने धुँस्वासहितका अरू पनि थिए।

‘कहाँ हुनु? त्यो त ह्वाङ्हो नदीको माछा भनेको थियो दोभाषेले,’ ज्ञानमणिको जवाफ थियो।

‘हो त नि, ह्वाङ्हो नदीमा भएको भ्यागुता, गँगटा हो त्यो त,’ विकलले जवाफ फर्काएका थिए। त्यति भनेपछि ज्ञानमणिले तत्कालै बाथरुम गएर ‘वाकवाक’ गरिहाले।

त्यो साँझको कलह उपकुलपतिकै हस्तक्षेपमा सकियो तर विषय सकिएको थिएन। साता दशदिने चीन भ्रमणपछि टोली काठमाडौँ फर्कियो। एकेडेमीले प्राज्ञहरूलाई लिन एयरपोर्टमा गाडी पठाएको थियो। एउटा गाडीको रुटमा रोचक घिमिरे र ज्ञानमणि नेपाल थिए। ज्ञानमणिले एयरपोर्ट कट्नासाथै भनेछन् “ड्राइभर भाइ, मलाई पशुपतिमा छाडिदेऊ। म गौदान प्रायश्चित गरेर मात्रै घर जान्छु।”

अनि रुट त्यसैगरी बनेछ।

यो रहस्यमयी कुरा र नियात्रा त्यत्तिकै हराइजाला भन्ने थियो। तर होइन। साहित्यिक पत्रिका ‘गरिमा’मा आइसकेको रहेछ, २०६३ पुसमा। तर अलिक भिन्न रूपमा। प्राज्ञ ज्ञानमणि नेपालले आफ्नै भाकामा १२ पेजको चीन यात्रा लेखेका रहेछन्। जहाँ ज्ञानमणिले विशेषगरी प्राज्ञ पात्र विकललाई भने अलिक उडाएर ‘प्राज्ञटोलीका नेता मदनमणि पछि उपनेता हुन खोज्थे रमेश विकल र बुझाका–बुझा खाना खान्थे’ भन्दै लेखेका रहेछन्।

लगत्तै, २०६३ माघमै विकलको पाठक प्रतिक्रिया तयार भैसकेको रहेछ तर अलिक क्षुद्र प्रकारको। त्यो प्रतिक्रिया छापिएको भने रहेनछ। पछि विकल बितिकन २०६६ सालमा विकल स्मृति गन्थ्रमा त्यो प्रतिक्रिया छापियो जहाँ ज्ञानमणि प्रवृत्तिको विरुद्ध आगो ओकलिएको छ। विकलको प्रतिक्रिया छ, “र, जहाँसम्म मैले साथीहरूलाई उछिनपाछिन गर्दै बुझाका–बुझा हाल्थ्यो भन्ने उहाँकै कल्पना छ, मैले जीवनमा हतारहतार गरेर बुझाका–बुझा हालेर खाएको मलाई नै थाहा छैन। म खाना सुस्तरी चपाइचपाइ खाने गर्छु र मलाई खाने क्रममा पनि आधा, पौने घण्टा लाग्छ। किनभने म स्वास्थ्य विज्ञानको सामान्य नियमसँग राम्ररी परिचित छु। त्यसलाई यथाशक्य पालना पनि गर्छु। मेरा विद्धान मित्रले मेरो गलामा पहिर्‍याउन खोज्नुभएको अर्को अमूल्य पुष्पहार हो— ऊ (अर्थात् म र रमेश विकल) हर्दम टोली नेतासँग टाँस्सिएर बस्ने र आफूलाई उपनेताका रूपमा प्रस्तुत गर्न खोज्थ्यो तर साथीहरू र सम्बन्धित चिनियाँ अधिकारीहरू उसलाई होइन, मलाई उपनेता मान्थे।”

अहँ, चीन यात्रा यत्तिकैमा तुरिएको छैन। एक दिन होटलकै लबीमा लिफ्ट चढ्ने क्रममा लेखक देवकुमारी थापा लिफ्टको तल लडिछन्, छेवैमा रहेका ज्ञानमणिले ठेलेको जस्तो भान परेको रहेछ। पछि अरू प्राज्ञहरूले देवकुमारीलाई उठाएर साथै हिँडेका रहेछन्। तब लेखक होड र आशंकाबीच के चाहियो? विराटनगरबासी लेखक देवकुमारीले यात्राटोलीका साथी एवं ‘रचना’ पत्रिकाका सम्पादक रोचक घिमिरेलाई एउटा पत्र पठाएकी रहिछन् जहाँ प्राज्ञ ज्ञानमणिलाई ‘चुच्चे’ सम्बोधन गरिएको थियो। यो पत्र रचनामा छापियो पनि।

⁎⁎⁎
यसरी तिकडम र छेडखानीका कुरामा प्राज्ञ–विद्धानको जीवन पनि उस्तै हुँदो रहेछ, जस्तो सामान्यजनको। अर्को उदाहरण छ, प्राज्ञ बालकृष्ण पोखरेल र ज्ञानमणि नेपालबीचको। प्रथम राष्ट्रपति डा. रामवरण यादवको कार्यकालमा प्राज्ञ पोखरेललाई कुनै पदकबाट विभूषित गर्ने समाचार आएको थियो। लगत्तै पोखरेलले उक्त पदक लिन नसक्ने भन्दै असन्तुष्टि पोखेका थिए।

“यो गणतान्त्रिक पद्धतिकै अपमान हो, पोखरेलले उक्त सम्मान लिनुपर्छ” भन्दै मिडियालाई प्रतिक्रिया दिने हतारमा देखा परेका रहेछन् उनै ज्ञानमणि। प्राज्ञ ज्ञानमणिलाई पालोको पैँचो फर्काउने ताकमा बसेका बालकृष्ण फेरि एउटा लम्बेतान निबन्ध लेखेर जवाफी बनेका रहेछन्।

‘कुनै क्याँटेश्वरले दिएको टिकीट्याँस्ट्याँस् वा मानसम्मान मलाई चाहिएन’ शीर्षकमा निबन्ध लेख्दै रचना पत्रिका (कात्तिक–मंसीर २०७१) मा बालकृष्णले ज्ञानमणिलाई भन्नेका थिए। आफूले जसको पास्नीमा पाल्पा गएर भात ख्वाएको छ, त्यसलाई दिइने र आफू एकेडेमीमा छँदा चियापानी ओसार्नेलाई दिइने पदकभन्दा तलको ओहोदामा सम्मान नलिने दाबी बालकृष्णले गरेका रहेछन्। पछि बुझ्दै जाँदा त्यसरी पास्नीमा भात ख्वाएका भनिएका नायक राजेश हमाल रहेछन् र चियापानी ओसार्ने नाट्यकर्मी प्रचन्ड मल्ल।
⁎⁎
२९ वर्षको उमेरमा भोजपुरको नेपाल इतिहास विकास समितिबाट पहिलो कृति ‘पुराना कविता (वैयाकरणविरचित)’ प्रकाशित गरेयता ज्ञानमणिका दुई दर्जनभन्दा बढी कृतिहरू बजारमा आइसकेका छन्। गुरुकुलीय शिक्षा प्रणालीका चेला र साधक ज्ञानमणिले लेखेका धेरैजसो सामग्रीमा संस्कृत र केही क्लिष्ट व्याकरण मिसिने भएकाले बग्रेल्ती पाठक पाउने लेखकमा उनी थिएनन्। तर ज्ञानमणि नेपालको त्यो गहिरो अध्यन, ज्ञान र खोजबिनमा मोहित भएर तानिने जति असली पाठक छन्, ती आफैँमा पर्याप्त छन्।

एकतिहाइ सिकाइ र बुझाइ अर्थात् त्रिखण्डी शिक्षा (१०० मा ३३ ल्याएर उत्तीर्ण हुने) को विरुद्ध अभियान चलाउने गुरु नयराज पन्तका अशली शिष्य थिए ज्ञानमणि नेपाल, जो संस्कृत शिक्षाको जगमा माथि उठेका थिए। धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शंकरमान राजवंशी, ज्ञानमणि नेपाल, महेशराज पन्त, नयनाथ पौडेल जस्ता विद्यार्थीहरू थिए नयराज गुरुकुलमा। यो पद्धति र पढाइबारे ज्ञानमणि आफैले ‘मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४)’ कृतिमा उल्लेख गरेका छन्।

इतिहासमा रहेका गल्ती र कमजोरीलाई सुधार्न शुरू भएको संसोधन मण्डलका एक सशक्त अभियन्ता थिए ज्ञानमणि। २००४ सालमा भोजपुरबाट काठमाडौँ आएर नयराज पाठशालामा भर्ती भएका उनले मात्रै गुरुको भरोसा र विश्वासमा शिक्षा पूर्णताको हस्तलिखित प्रमाणपत्र पाएका थिए।

तर १०० मा ३३ अंक ल्याएर उत्तीर्ण हुने बजारले ज्ञानमणि र नयराज गुरुकुलका धेरैजसो विद्यार्थीलाई त्यति स्थान दिएन, दिन चाहेन। त्रिखण्डी शिक्षाको विरोधमा वकालत गर्ने गुरु नयराज सधैँ भनिरहेका हुन्थे, “हाम्रो देशमा इतिहासको पढाइ चलेको छ तर इतिहास बनाउने पढाइ चलेको छैन।”

यही सिकाइका कारण ज्ञानमणिहरू इतिहास बनाउने पढाइ र बुझाइमा लागिरहे। यही कारण ज्ञानमणिका ‘नेपाल निरुक्त’ हुन् वा ‘नेपाल निरूपण’, ‘नेपाल सुखिम सम्बन्ध’ होस् वा ‘नेपालको महाभारत’- सबै कृतिहरू इतिहासको नयाँ शिराबाट गरिएको उद्बोधन जस्ता सोधपत्रहरू छन्। ज्ञानमणिका ‘सुगौली सन्धीको प्रभाव र समीक्षा’ होस् अथवा ‘नेपालको माध्यमिक कालको इतिहास’- तथ्य र प्रमाणका आधारमा नयाँ दृष्टि दिने ऐतिहासिक सामग्री बनेका छन्।

भेटघाटका क्रममा पनि जहिल्यै गलत पढाइएको इतिहासका पानाहरूबारे चर्चा गर्न रुचाउँथे ज्ञानमणि। कुनै नयाँ सोधपरक वा नौलो खुराकमा केही लेखेको छ भने इतिहासमा रुची राख्ने अध्येतालाई फोन गरेरै अनुरोधमा भन्थे- यो नौलो सामग्री तयार छ, कत्तिको जँच्छ, सुन्न आउनुहोला।

सोध, अनुसन्धान र कामकाजका कुरामा पनि कुनै कुर्सी र पहुँचमा भएरहेमा मात्रै ‘सुनुवाइ’ हुने अन्यथा गरेको कामको पनि अर्थ नरहने भोगाइ उनी सुनाइरहेका हुन्थे। ज्ञानमणिले आफू प्रज्ञा प्रतिष्ठानमा सदस्य रहेका बेला इतिहास विधाअन्तर्गत इटालियन अन्वेषक लुच्यानो पेतेकको अनुमतिमा उनको पुस्तकको नेपाली अनुवाद तयार गरेका थिए- तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू। उनी आफैँले मुल लेखक पेतेकलाई पत्राचार गरेर अनुवाद अनुमति लिएको र सम्पूर्ण संयोजन जुटाएको भए पनि त्यो कृति प्रकाशन हुँदा त्यसमा उनको कहीँकतै नाम थिएन। त्यो कृति प्रकाशन हुने बेलामा उनी एकेडेमीबाट निवृत्त भैसकेका थिए। ‘यस्तो कृतघ्न छ नेपाली सोच र शैली’ भनिरहन्थे उनी। यस्तै, धर्मस्वामीको मूल कृतिबाट नेपालीमा प्रकाशित ‘भोट, भारत र नेपालको यात्रा वर्णन’को अनुवादक र सम्पादक ज्ञानमणि आफै थिए। तर त्यो कृति प्रकाशन हुँदा अनुवादकको नाम तारानन्द मिश्र थियो, ज्ञानमणि कतै थिएनन्।
⁎⁎
इतिहास, अनुसन्धान र खोजका अग्रज भनेर चिनिएका ज्ञानमणि स्वभावमा ‘एकलकाँटे’ पनि थिए, सोधको एउटा विषय पाएपछि त्यसलाई टुंगोमा पुर्‍याएरै छाड्ने स्वभावका। उनमा त्यो लत विद्यार्थीकालदेखि नै थियो। उनका गुरु नयराज पन्तले आफ्नो गुरुकुलीय शिक्षा उत्तीर्ण गरेकोमा सधन्यवाद शिक्षा पूर्णताको हाते प्रमाणपत्र पनि दिएका रहेछन्, २०१२ सालमा।

ज्ञानमणि नेपाललाई उनका गुरु नयराज पन्त आफैँले लेखेर दिएको शिक्षा पूर्णताको प्रमाणपत्र।


इतिहासको यो कालखण्डमा हक्की भएर दसीप्रमाणका आधारमा बोल्ने र लेख्ने थोरै साधकमध्ये एक थिए ज्ञानमणि नेपाल। यसो हुनुमा नयराज–पाठशाला र गुरुकुलीय पद्धतिको गतिलो प्रभाव थियो। हरेक पटक भेटमा प्रसंग पर्नासाथ ज्ञानमणिले सुनाउने मनुस्मृतिको मन्त्र एउटै थियो, “हरबखत आगाको ज्वाला दन्किरहेको छ, के आनन्द गर्छौ ? निष्पट्ट अन्धकारले ढाकिएका छौ, किन उज्यालो बत्ती खोज्दैनौ?”

त्यही आँट गरेरै ज्ञानमणिले वर्षौंदेखि इतिहासमा पढाइँदै आएका किताब र किताबभित्रका आदर्शमा पनि धावा बोल्ने काम गरे। जस्तो, अर्का इतिहासकार चित्तरञ्जन नेपालीले लेखेको ‘श्री ५ रणबहादुर शाह’, ‘जनरल भीमसेन थापा र तत्कालिन नेपाल’ जस्ता किताबभित्रको तथ्य–बयानलाई असत्य भनीदिए, त्यो इतिहास प्रष्टीकरणको कृति ‘नेपालको महाभारत’ साझा प्रकाशनबाट छापिएको छ। जसको निचोड आफैमा रोचक–घोचक छ :

  • चित्तरञ्जनले लेखेको ‘म मरे मुलुक डुब्न्या छैन तर, भीमसेन मर्‍यो भने मुलुक डुब्न्या छ’ वाक्य बिलकुल उल्टो छ।
  • ‘हामी बजीरमध्ये ठूलो बुद्धिमान बजीर भीमसेन थापा हुन्।’ यो वाक्य जंगबहादुरले भीमसेन थापाको प्रशंसामा भनेका हुन् भन्ने पनि झूटो हो।
  • पुस्तकमा चन्द्र शमशेरको हवाला दिएर लेखिएको ‘एउटा भीमसेन थापा नजन्मेको भए नेपाल उहिल्यै हिँडिसक्थ्यो’ भन्ने वाक्य पनि झूटो हो।
  • बरु चन्द्र शमशरेले भनेका थिए, ‘भीमसेन थापाले गरेको एउटा ठूलो चूक (सुगौली सन्धी) गरिदिएर सय वर्षपछि अहिलेसम्म त्यो सन्धी सच्याउन हामीलाई हम्मे परेको छ।’

हार्दिक श्रद्धासुमन आदरणीय ज्ञानमणि नेपाल।


सम्बन्धित सामग्री