Sunday, May 05, 2024

-->

‘फिक्सिङ’ले बर्बाद फुटबलर : गुजाराका लागि गाडी बेचे, घर बन्धकी

नेपाली फुटबलकै निम्ति कालो धब्बा बनेको आठ वर्षअघिको ‘म्याच फिक्सिङ’ प्रकरण कति घातक थियो भनेर त्यसमा मुछिएका खेलाडीहरूको बर्बादीले नै बोलिरहेको छ।

‘फिक्सिङ’ले बर्बाद फुटबलर  गुजाराका लागि गाडी बेचे घर बन्धकी
सागर थापा (बायाँ), क्रमश: सन्दीप राई, अन्जन केसी (दायाँ माथि) र रितेश थापा तथा विकाससिंह क्षेत्री (दायाँ तल)।

काठमाडौँ– नेपाली फुटबलमा सागर थापा यस्तो नाम थियो, जसलाई राष्ट्रिय टोलीका सदस्य मात्र भन्दा उनको परिचय अपुरो लाग्थ्यो। सागरले राष्ट्रिय टोलीको कप्तानी सम्हालेपछि नेपाली फुटबलको रवाफ नै बेग्लै भएको थियो। सफलता हात लागिरहेकै थियो, त्योभन्दा बढी नेपाली टोली जो कोही प्रतिद्वन्द्वीका नजरमा ‘खतरनाक’ बनिरहेको थियो। त्यसको संकेत सागरको व्यक्तिगत जीवनमा पनि देखिन्थ्यो।

उनले फुटबल ‘करिअर’मा चढ्दो उचाइसँगै खेलेरै राम्रो आम्दानी गरिरहेका थिए। ललितपुरको हात्तीवनमा अपार्टमेन्ट, व्यक्तिगत गाडी उनले फुटबल खेलेर पुरस्कारमै पाएका थिए। यसबाहेक थुप्रै नगद पुरस्कार पनि पाएका थिए। 

बल्लतल्ल अर्धव्यावसायिक भन्न मिल्ने बाटोमा बामे मात्र सरिरहेको नेपाली फुटबलबाट यति ठूलो सफलता सफलता हात पार्नु चानचुने कुरा थिएन। किनभने, सागरको यो सफलता फुटबलमा लागेका अरू खेलाडीका लागि खेलेरै जीवन धान्न सकिन्छ भन्ने सन्देश बन्नपुगेको थियो। त्यसले फुटबलमा आकर्षण बढाउँदै थियो। 

त्यसको प्रभाव घरेलु लिगमा नपर्ने कुरै भएन। घरेलु प्रतियोगितामा सागरको नेतृत्व र खेल कौशलले जस्तो मानक बनाइरहेको थियो, त्यसबाट राष्ट्रिय टोलीको मेरुदण्ड मानिने घरेलु प्रतियोगिता मजबुत बन्ने आशा जागेको थियो। सिनियर खेलाडीका रूपमा राष्ट्रिय टोली र घरेलु प्रतियोगिता सबैतिर सागरमाथिको भरोसा उच्च थियो। मैदानमा प्रदर्शन पनि सोहीअनुरूप थियो। २०६० असोजमा एएफसी एशियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका सागरको फुटबल यात्राले दशक पार गरेपछि बेग्लै उचाइ हासिल गरिरहेको थियो।

२०७२ असोज २८ गते। सागरको जीवनमा मात्र होइन, नेपाली फुटबलमै हुण्डरी बनेर आयो। तत्कालीन राष्ट्रिय टोलीका उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीसँगै सागर खेल मिलेमतो (म्याच फिक्सिङ)को आरोपमा पक्राउ परे। यो त्यही बिन्दु थियो जहाँबाट सागरले त्यतिञ्जेल हासिल गरेको उचाइ धराशायी बनेको थियो, जहाँबाट उनी उठ्नै सकेनन्। 

त्यसयता आठ वर्ष बितिसके। सागर गुमनाम छन्। गुमनाम मात्र छैनन्, उनको जीवनमा एकपछि अर्को आपत् आइलागेको छ। त्यो आपतसँग जुध्ने उपाय र आत्मबल दुवै खुम्चिएका छन्।

“कप्तान भएको कारणले पनि खेलेर राम्रो पैसा कमाइरहेको थिएँ। खेलेरै अपार्टमेन्ट पाएँ, त्यसपछि बेस्ट डिफेन्डरलगायत कति पुरस्कार पाइयो, पाइयो। विभिन्न ब्रान्डको एम्बेस्डर बनेको थिएँ,” सागरले भने, “त्यसबेला कोकाकोलाले पनि ब्रान्ड एम्बेस्डर बनाउने कुरा भएको थियो, तर फिक्सिङले मेरो सबथोक खोसियो।”

अहिले उनीसँग खेल्ने मैदान छैन। कसैले खेल्न पनि बोलाउँदैनन्। खासमा उनी खेल्नै पाउँदैनन्। फुटबलको सर्वोच्च निकाय फिफा र एशियाली फुटबल महासंघ (एएफसी) ले उनलाई फुटबल गतिविधिबाट आजीवन प्रतिबन्ध लगाएका छन्। जीवनमा फुटबल खेल्नबाहेक अर्थोक नजानेका सागरसँग यतिबेला फुटबल नै छैन। खेलेरै दुई तीन ठाउँमा जोडेको जग्गा र पुरस्कारमा पाएको कार उनले गुजाराका लागि बेचिसकेका छन्। 

कुनैबेला सफल खेलाडीको उदाहरण बनेका, खेलेरै आत्मनिर्भर बन्ने बाटोमा हिँडिरहेका सागर अहिले अरूको कमाइमा टिकिरहेका छन्। टिक्न गाह्रो भएर बसिरहेको अपार्टमेन्ट धितोमा राख्नुपरेको छ, घर चलाउन श्रीमतीको कमाइमा भर पर्नुपर्छ। “त्यतिखेर पैसाको समस्या थिएन। हरेक कुरा सस्तो लाग्थ्यो। गाडी चढेर हिँडिन्थ्यो। अहिले मेरो आयस्रोत छैन। सत्य भन्नुपर्दा श्रीमतीको कमाइले मात्र जीवन सहज भइरहेको छ,” सागर भन्छन्, “उनको पैतृक सम्पत्ति छ, पढाएर पनि आम्दानी गरिरहेकी छन्। उनैको कारण घर चलिरहेको छ।”

अहिले भने उनी अष्ट्रेलिया पुगेका छन्। रोजगारीको योजनासहित उनी त्यता गएका हुन्।

त्यो फिक्सिङ
नेपाली खेलकुदमा, त्यसमा पनि मूलतः फुटबलमा फिक्सिङको चर्चा धेरै पहिलेदेखि हुँदै आए पनि त्यसको फेहरिस्त पहिलोपटक यही घटनाले उजागर गरेको हो। तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले त्यसबेला राष्ट्रिय फुटबल टोलीका कप्तान रहेका सागरलाई २०६५ कात्तिक १ देखि २०७१ भदै २९ गतेसम्म खेलिएका विभिन्न आठ खेलमा फिक्सिङ गरेको आरोपमा २०७२ असोज २६ गते थापाथलीबाट पक्राउ गरेको थियो। उनीसँगै नेपाली टोलीका उपकप्तान सन्दीप, गोलरक्षक रितेश, पूर्वखेलाडी विकास र प्रशिक्षक अञ्जन पनि बालुवाटार र जावलाखेलबाट पक्राउ परेका थिए।  

यो फिक्सिङ प्रकरण उजागर हुनुअघिका घटनाक्रम हेरौँ।

‘साफ च्याम्पियनसिप २०१३’ को समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले भारतलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएपछि फाइनल प्रवेशका लागि अफगानिस्तानसँग भिडन्त सुनिश्चित गर्‍यो। तर अफगानिस्तानविरुद्धको सेमिफाइनलमा ११औँ मिनेटमै नेपाली गोलरक्षक किरण चेम्जोङले अपत्यारिलो तरिकाबाट गोल खाए। 

अपत्यारिलो दृष्य यतिमै सीमित भएन। खेलको ८६औँ मिनेटमा अफगानिस्तानका गोलरक्षकले बल समात्ने क्रममा विमल घर्तीमगरलाई पेनाल्टी बक्समा किक हानेर लडाएपछि नेपालले पेनाल्टी पायो। पेनाल्टी प्रहार गर्न रोहित चन्द आए। दुईपटक पेनाल्टी प्रहार गर्दा पनि उनले गोल गर्न सकेनन्। दथरथ रंगशालामा उपस्थित करिब २० हजार दर्शकले यसलाई खेलकै एक पाटोको रूपमा लिए।

तर एएफसीले भने यो खेललाई सम्भावित ‘फिक्सिङको राडार’भित्र राखेर सुक्ष्म रूपमा हेरिरहेको थियो। यो खेल मात्र होइन, एएफसीले नेपालले २०६५ कात्तिक १ गते मलेसियामा खेलेको ‘मर्डिका कप’ देखिकै फुटेजलाई सुक्ष्मरूपमा हेरिरहेको थियो। 

म्याच फिक्सिङ दुनियाँका चर्चित पात्र, ‘फिक्सर’ विल्सनराज फरमनले सन् २०१३ मा प्रकाशित आफ्नो बायोग्राफी ‘केलन किङ्स’को सातौँ च्याप्टरमा ‘द सिन्डिकेट’ शीर्षक राखेर मर्डिका कपबारे उल्लेख गरेका छन्। पुस्तकको पेज नम्बर २७२ मा उनले लेखेका छन्, “सियोरा लिओनसँग नेपालले ४–० गोल अन्तरले हार्नुपर्ने थियो। नेपाली खेलाडीहरू सहजै हार्न तयार पनि थिए। फिक्सरको कन्ट्याक्टमा आउनुअघि नै नेपाली खेलाडीहरू करप्ट थिए र मलेसियन एजेन्टमार्फत् मैले उनीहरूसँग कन्ट्याक्ट गरेको थिएँ।”

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार त्यहीबेला नै ‘फिक्सिङ हुँदै छ’ भन्ने सूचना एएफसीले एन्फालाई उपलब्ध गराएको थियो। तर तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले खेलाडीहरूलाई कारबाही गर्नु साटो ‘फिक्सिङ नगर्ने, देशको सेवा गर्ने’ कसम खुवाएर छाडिदिए। एन्फाले नै खेलाडीलाई कारबाही नगर्ने संकेत देखाएपछि फिक्सिङमा शून्य शहनशीलता अपनाउँदै आएको एएफसीे आफैँ अनुसन्धान गर्न कस्सियो। यसमा स्पोट्र्स राडार (एएफसीसँग सहकार्य गरिरहेको कम्पनी) र नेपाल प्रहरी पनि जोडियो।

“एएफसीको अनुसन्धान प्रतिवेदनले १६ देखि २३ वटा खेलमा फिक्सिङ भएको देखाएको थियो, यसमा ठूलै रकम बेटिङ भएको थियो। तर एन्फाले नै उन्मुक्ति दिएपछि प्रहरीले खेलाडी पक्राउ गर्नुपर्‍यो,” शेर्पा भन्छन्। 

पक्राउ परेका खेलाडीहरूले प्रहरीसामु ‘फिक्सिङ’ गरेको स्वीकार गरे।

तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाले खेल मिलेमतोसम्बन्धी कानून अभावलाई कारण देखाउँदै पक्राउ परेका खेलाडीविरुद्ध ‘राज्य विप्लव’को कसुरमा मुद्दा चलाउनुपर्ने राय सरकारी वकिललाई दिएको थियो। सोहीअनुसार उनीहरूलाई जन्मकैदको सजाय माग गरेर विशेष अदालतमा मुद्दा दायर गरियो। 

पक्राउ परेकाहरूले थुनछेक बहसका क्रममा भने इन्कारी बयान दिए। विशेष अदालतका न्यायाधीशहरू मोहनरमण भट्टराई, भुपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले त्यसपछि उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दियो।

इजलासले अडियो–भिडियो अध्ययन गरेर म्याच फिक्सिङ पुष्टि नभएको बताए पनि ‘अन्जन र रितेशले रकम बुझेको देखिएको’ उल्लेख गर्दै ‘प्रतिवादीहरूले कसुर गरेकै होइन भन्ने अवस्था देखिएन’ भनेको थियो। 

अदालतको आदेशमा उल्लेख छ, “प्रतिवादीहरूको बयानसमेतका मिसिलमा संलग्न कागजातबाट राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दाबीको राष्ट्र विप्लव भनेको के हो भन्ने विषयवस्तु र प्रस्तुत म्याच फिक्सिङ भन्ने विषयलाई सोही परिभाषाभित्र पर्ने भनी दाबी गरिएको विषयसमेतको परिप्रेक्ष तथा यसरी विदेशमा राष्ट्रको तर्फबाट खेल्न गएका खेलाडीहरूलाई अनौपचारिक रूपमा प्राप्त भएको रकमको संवेदनशीलता समेतलाई विचार गरेपछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी प्रतिवादीहरूले कसुर गरेकै होइन रहेछ भनिहाल्न मिल्ने अवस्था तत्काल नदेखिएकाले धरौटी माग गरिएको छ।” 

त्यस क्रममा अदालतले प्रशिक्षक केसी र गोलरक्षक रितेशसँग ५–५ लाख, सागरसँग १ लाख ५० हजार तथा सन्दीप राई र विकाससिंह क्षेत्रीसँग ५०–५० हजार धरौटी लिएर रिहा गरेको थियो। 

विशेषको निर्णयविरुद्ध सरकारी वकिल कार्यालय सर्वोच्च अदालत गयो। सर्वोच्चले २०७७ असार २ गते उनीहरूले ‘राज्यविरुद्ध विप्लव’ गरेको नठहर्ने भन्दै सफाइ दिने फैसला सुनायो। 

सर्वोच्चको फैसला आउँदासम्म धेरै ढिला भइसकेको थियो। उनीहरू पक्राउ परेलगत्तै एएफसी, स्पोट्र्स राडार (एएफसीसँग सहकार्य गरिरहेको कम्पनी) र यूएईएफए (युनियन अफ युरोपियन फुटबल एसोसिएन) को इन्टिग्रिटी कमिटीले एक वर्ष अनुसन्धान गरेपछि फुटबलमा आजीवन प्रतिबन्ध लगाउने निर्णय गरिसकेको थियो। 

के थियो, के भयो जीवन!
आजीवन प्रतिवन्ध लागेपछि सागरसहित पाँच जनाले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै एशियाली फुटबल महासंघ (एएफसी)को अपिल कमिटीमा पुनरावेदन गरे। तर उनीहरू दोषी रहेको भन्दै उनीहरूको अपिल २०७३ भदौ दोस्रो हप्ता अपिल कमिटीले खारेज गरिदियो। त्यसपछि उनीहरूका लागि ‘कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस’ जाने बाटो मात्र बाँकी रह्यो। 

अहिले काठमाडौँको सुकेधारामा बस्ने राष्ट्रिय टोलीका पूर्वडिफेन्डर विकाससिंह क्षेत्री अब कानूनी लडाइँको बाटो नै समाप्त भएको बताउँछन्। फुटबलमै केही गर्छु भनेर लागे पनि एउटा घटनाले (विकासले यसलाई आरोप दाबी गरे) जीवनमा आर्थिक चाप अचाक्ली बढेको, करिब २० हजार अमेरिकी डलर खर्च गरेर आफू मुद्धा लड्ने स्थितिमा नरहेको उनले सुनाए।

“त्यसबेला खेलाडीमाथि यस्तो आरोप लाग्दा एन्फाले त केही पहल गरिदेला भन्ने आशा थियो, तर त्यस्तो भएन। अहिले त एन्फाका पदाधिकारीहरू हामीलाई सम्झन पनि खोज्दैनन्। यही मुद्दाले गर्दा हामीले बाहिर काम गर्न पनि पाएनौँ। कमाएको अलिअलि पैसा सकियो, अब त्यत्रो पैसा तिरेर कसरी मुद्धा लड्ने?,” उनले भने। 

विराटनगरमा जन्मिए पनि सिन्धुपाल्चोकको लामेसाँघुमा बसेर फुटबल खेल्न थालेका विकास एन्फा एकेडेमीका दोस्रो ब्याचका उत्पादन हुन्। यू–१४, यू–१६, यू–१९ र यू–२३ बाट समेत खेलेका उनले २० वर्षको उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए। सन् २०६५ कार्तिक १ २००८ मा मलेसियामा भएको अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले त्यसपछि ६ वर्ष राष्ट्रिय टोलीको डिफेन्डर भएर खेले। 

त्यो अवधिमा २०६७ जेठ–असारमा दक्षिण अफ्रिका र त्यसको चार वर्षपछि ब्राजिलमा भएको फिफा विश्वकपको छनोटसहित ११ खेलमा उनले राष्ट्रिय टोलीबाट खेलेका थिए। २०६७ चैत ५ गते पोखरामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा एक गोलसमेत गरेका थिए। नेहरू कपलगायत अन्य प्रतियोगितामा राम्रो प्रदर्शन गरेका विकासले थ्रीस्टार र मनाङ मर्स्याङ्दीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए। 

फुटबल करिअरलाई एउटा मुकाममा पुर्‍याएर बुट र जर्सी बिसाउने सपना बुनेका विकास फिक्सिङ गरेको प्रमाणित भएपछि घरेलु फुटबलबाटै प्रतिबन्धित भए। “फुटबलबाट नाम र दाम सबै कमाएँ, आम्दानी राम्रो थियो। अब करिअरलाई एउटा उचाइमा पुर्याएर विश्राम लिन्छु भन्ने योजना बनाएको थिएँ। त्यहीबेला नसोचेको घटना भयो,” उनले भने, “अचेल मलाई कतै हिँड्न पनि मन लाग्दैन, कसैलाई भेट्दिनँ। त्यसपछि अस्ति महिला साफ हुँदा मात्र पहिलोपटक रंगशाला टेकेँ।” 

विकासको परिवार फुटबलले धानेको थियो। ‘फिक्सिङ’ प्रमाणित भएपछि उनलाई दुई–तीन हजार रूपैयाँ कमाउन पनि आपत भयो। परिवार पाल्न पलायन हुने सोच बनाए। तर अस्ट्रेलिया र अमेरिका जाने उनको प्रयास सफल भएन। अहिले पनि फिक्सिङको धब्बा भुल्न नसकेका उनी भिसा आए विदेश जाने सोचमै रहेको बताउँछन्। 

विकासभन्दा करिब पाँच वर्षअघि राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए, गोलरक्षक रितेश थापा। उनले डेब्यू गरेको २०६० असोज २२ गतेको एएपmसी एशियन कप छनोटअन्तर्गत् दक्षिण कोरियाविरुद्धको खेलमा नेपाल १६–० गोलअन्तरले पराजित भएको थियो। १२ वर्ष नेपालको पोष्ट सम्हाल्दा उनले जम्मा १२ खेल मात्र खेले। फिफा र एएफसीबाट फिक्सिङ गरेको प्रमाणित भएपछि उनले फुटबल करिअर मात्र बर्बाद पारेनन्, पाँच वर्षदेखि खाइरहेको जागिरसमेत गुमाए। 

फिक्सिङका कारण प्रतिबन्ध लाग्दा उनले नियमित फुटबल खेल्न छाडिसकेका थिए। त्यतिखेर उनी नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) थिए। खेलाडीकै पृष्ठभूमिमा प्रहरी बनेका उनले जागिरसमेत गुमेपछि कानूनी लडाईं लडे। सर्वोच्च अदालतबाट राज्यविरुद्धको कसुरमा सफाइ पाएपछि उनी पुनः काममा फर्किए। 

दुई वर्षअघि प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका रितेश अहिले फुटबलबारे सोच्न छाडेको बताउँछन्। “जे नहुनु थियो भइसक्यो, अब म जागिरमा छु, यहीबारे मात्र सोच्छु,” उनले भने। 

फिक्सिङका कारण आफूसँगै ‘ड्रेसिङ रूम’ शेयर गरेका अन्य खेलाडी फुटबलबाट पलायन भए पनि डिफेन्डर सन्दीप राई भने यसकै वरिपरि अल्झिएका छन्। सन् २००८ मा विकाससँगै अफगानिस्तानविरुद्ध डेब्यू गरेका सन्दीप छोटो समयमै राष्ट्रिय टोलीका भरपर्दा डिफेन्डर बनेका थिए। नेपाली टोलीबाट ३८ ‘क्याप’ जितेका उनले माल्दिभ्स र नर्दन मरियाना आइल्याण्डविरुद्ध तीन गोल गरेका थिए।

राष्ट्रिय टोलीमा परेको दुई वर्षपछि नै उनलाई ‘सेकेन्ड डिभिजन’को आई लिग (इन्डियन लिग) क्लब मोहम्मडन स्पोर्टिङले एक सिजनका लागि अनुबन्ध गरेको थियो। उनी पनि एन्फा एकाडेमीका उत्पादन हुन्। न्यूरोड टिम (एनआरटी)बाट २०६१ सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका सन्दीपले मनाङ मर्स्याङ्दी र थ्रीस्टारबाट समेत व्यावसायिक फुटबल खेले।  

राष्ट्रिय टोलीको ६ वर्षे यात्राका क्रममा मुस्किलले चार वर्ष खेलेका सन्दीपले सम्मानजनक बिदाइ लिने योजना बुन्दैगर्दा फिक्सिङ प्रकरण भयो। “एक विन्दुबाट शुरूआत गरेपछि अर्को विन्दुमा पुग्ने सपना सबैको हुन्छ। त्यो पूरा गर्न पाइनँ, त्यसमै खिन्न लाग्छ,” सन्दीपले भने। 

फिक्सिङले फुटबल करिअर समाप्त भएपछि केही समय उनी के गर्ने, के नगर्ने अन्योलमा परे। अहिले इटहरीको हलगाडामा ‘इम्पेरियल लाउन्ज’ चलाइरहेका सन्दीप कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य बनेका छन्। उनी कोशी प्रदेशमा हुने खेलकुद गतिविधिमा संलग्नतासँगै व्यवसायमार्फत् केही फुटबल प्रतियोगितामा समेत जोडिएका छन्। तर आफ्नो फुटबल करिअर र फिक्सिङ प्रकरणबारे उनलाई बोल्न मन लाग्दैन। 

“अब सफाइ पाइएला, जीवनमा लागेको दाग मेटिएला भनेर सोच्नै छाडिसकेँ, त्यसमा वास्ता पनि गर्दिनँ। अहिले ममाथि केही जिम्मेवारी छ, त्यही पूरा गर्न लागिरहेको छु। म मेरै काममा व्यस्त छु,” सन्दीप भन्छन्।

कुनै बेला फुटबलमा व्यावसायिकताको आवाज उठाउने उनी अहिले फुटबलको नाम लिँदासमेत दिक्दार लाग्ने बताउँछन्। “हामीले यत्रो वर्ष फुटबलमा बितायौँ, त्यहाँबाट दाग बोकेर निस्कियौँ। अब यसबारे कसैले नसोधोस् झैँ लाग्छ। मलाई त्यसबारे सम्झना गर्न पनि मन लाग्दैन,” उनले भने। 

एन्फा एकेडेमीको पहिलो ब्याचका ‘लेफ्ट ब्याक’ अन्जन केसी २०६० मा फ्रेन्ड्स क्लबबाट व्यावसायिक फुटबल करिअर शुरू गर्दै त्यसको दुई वर्षपछि राष्ट्रिय टोलीमा पुगेका थिए। २०६२ मंसिर २२ देखि पुस २ गतेसम्म पाकिस्तानको कराँचीमा सम्पन्न छैठौँ साफ च्याम्पियनसिप (दक्षिण एशियाली फुटबल महासंघ गोल्डकप) बाट राष्ट्रिय टोलीमा प्रवेश गरेका उनको ‘डेब्यू’ भने त्यसको दुई वर्षपछि, २०६४ असोज २१ गते फिफा विश्वकप छनोट अन्तर्गत ओमानविरुद्धको खेलमार्फत् भएको थियो। त्यसयता दुई वर्षमा उनले राष्ट्रिय टोलीबाट नौ खेल खेले।

२०६६ मंसिरमा बंगलादेशको ढाकामा सम्पन्न साफ च्याम्पियनसिपसम्म राष्ट्रिय टोलीमा स्थान बनाएका अन्जनले त्यसको एक वर्षपछि ब्रिटिश गोर्खा कपको फाइनलमा थ्रीस्टारका राजकुमार घिसिङलाई ट्याकल गर्दा बायाँ तिघ्रामा गहिरो चोट बोके। त्यसबेला मनाङ–मर्स्याङ्दी क्लबमा रहेका उनी तीन महिनापछि मात्र मैदान फर्किए। तर बुढासुब्बा गोल्डकपको फाइनलमा पुनः चोट बल्झिएपछि ६ महिना मैदानबाहिर बस्नुपर्‍यो। त्यसपछि थ्रीस्टार पुगेका अन्जन त्यहीँ खेल्दाखेल्दै प्रशिक्षक बनेका थिए। त्यहीक्रममा उनी ‘म्याच फिक्सिङ’मा मुछिएका थिए। 

अन्जन अहिले कहाँ छन्, फुटबल वृत्तका कसैलाई थाहा छैन। केही निकटस्थले उनी अहिले सिक्किमको एउटा जुस फ्याक्ट्रीमा काम गरिरहेको बताए। मुद्दामामिलाका क्रममा सँगै हिँडे पनि अहिले उनी कहाँ के गर्दैछन् भन्नेबारे आफूलाई थाहा नभएको सन्दीप बताउँछन्। “पहिला भारततिर थिए, अहिले मसँग पनि सम्पर्क नभएको धेरै भइसक्यो,” उनी भन्छन्।


सम्बन्धित सामग्री