Saturday, April 27, 2024

-->

न्यूजलेटर
२०७९ कात्तिक २४, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २४ बिहीबार

नो कारवाही फर नो नट अगेन: अभियानको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

राष्ट्रिय निर्वाचन आयोगको 'नो नट अगेन' अभियानलाई बन्द गराउने प्रयासलाई सर्वोच्च अदालतले अन्तरिम आदेशको तोक लगाइदिएको छ।

अदालतले सामाजिक नो नट अगेन नाम सामाजिक सञ्जालमा फैलिएको अभियानलाई कारबाही अघि नबढाउने आफ्नो अल्पकालीन अन्तरिम आदेशलाई बिहीबारको निर्णयमार्फत निरन्तरता दिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले कात्तिक २० मा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

निर्वाचन आयोगले हालसालै निर्वाचनका उम्मेदवारविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको, मानमर्दन गरेको भन्दै  नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो। यसका साथै आयोगले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी उक्त पेजमार्फत राजनीतिज्ञविरुद्ध जारी गरिएका  अभिव्यक्ति र सामग्रीको अनुगमन गरी विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न आग्रह गरेको थियो।

यसैक्रममा वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले निर्वाचन आयोगले नो नट अगेन अभियानविरुद्ध जारी गरेको आदेश र निर्देशनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

-----------
काठमाडौंका सुकुम्बासीको चिन्ता- हाम्रो मतले जितेर उठिबास लाउने हुन् कि!

"पुराना पार्टीलाई दियौँ केही गरेनन्, नयाँले पनि गर्छ वा गर्दैनन् थाहा छैन। यसै पनि कसैले केही गर्ने होइन, यसपटक नयाँ अनुहारलाई भोट दिऔँ भन्ने सल्लाह छ", बस्तीकी स्वयंसेविका सरस्वती दर्नाल आफ्नो समूहमा गरेको सल्लाह सुनाउँछिन्।

“हामीले कसलाई जिताएनौँ? माओवादी, एमाले, कांग्रेस सबैलाई। माओवादीले यो बस्तीको ६ ठाँउमा कालो ट्याङ्की राखिदिएपछि फर्किएर आएन”, उनी भन्छिन्, “अझ कांग्रेससँग त यही ठाउँमा लिखित कागजपत्र गरेर, औँठाछाप लगाएका थियौँ तर, अन्तिममा ती सबै कुरा कागजपत्रमै सीमित भए।”

क्षेत्र नं. १ मा पर्ने काठमाडौं महानगर वडा नं. ३१ जागृती टोलको सुकुम्बासी बस्तीमा १०९ घरटहरा छन्। पढ्नुहोस् चुनाव जितेर जानेले फेरि बस्ती उठाउने हुन् कि भन्ने यहाँका बासिन्दाको चिन्ताबारे प्रबिता श्रेष्ठ, किसन पाण्डेको स्टोरी: काठमाडौंका सुकुम्बासीको चिन्ता- हाम्रो मतले जितेर उठिबास लाउने हुन् कि!

-----------
राष्ट्रपति विद्या देवी भण्डारी डब्लूपीएल ट्रेलब्लेजर अवार्डबाट सम्मानित

विश्वव्यापी महिला नेताको समूह वुमेन पोलिटिकल लिडर्स (डब्लूपीएल)ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ट्रेलब्लेजर अवार्डबाट सम्मानित गरेको छ।

आइसल्यान्डको रेकयाभिकमा आयोजित यस ग्लोबल सम्मेलनमा भाग लिन उनी गत सोमबार आइसल्यान्ड प्रस्थान गरेकी थिइन्। उनले फोरमलाई सम्बोधन पनि गरिन् ।

यसैगरी, राष्ट्रपति भण्डारीको विभिन्न देशका महिला नेताहरूसँग शिष्टाचार भेटवार्ता भएको छ। आइसल्यान्डकी प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषदकी अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले भण्डारीसँग शिष्टाचार भेट गरेको र यस अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैंगिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको जानकारी प्राप्त भएको छ।

त्यसैगरी राष्ट्रपति भण्डारीको ‘वुमन पोलिटिकल लिडर्स’का संस्थापक तथा युरोपेली संसदका पूर्वउपाध्यक्ष सिल्भाना कोक–मेहरिन तथा विश्व महिला नेतृत्व परिषदका महासचिव लौरा लिजवुड र युएन वुमेनका कार्यकारी निर्देशक सीमा बाहोससँग पनि शिष्टाचार भेट भएको छ।

यसै दौरान सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेका आइसल्यान्डका महिलाहरूले पनि उनीसँग भेट गरे। राष्ट्रपति भण्डारी यही कात्तिक २६ गते शनिबार स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ।

-----------
डोटीमा बुधबारको भूकम्पपछि ३०० परकम्प

बुधबारको ६.६ म्यागनिट्युड भुकम्पपछि डोटी र आसपासको क्षेत्रमा लगातार परकम्प गइरहेका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेसम्म मात्रै ३०० परकम्प रेकर्ड गरिएका थिए।

आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरा केन्द्रविन्दु बनाउँदै ४.१ म्याग्निट्युडको परकम्प गएको थियो।

बुधबार बिहान २.१२ मा आएको शक्तिशाली भुईंचालोले घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए।

-----------
मनीषा कोइराला लिङ्देन राप्रपाको पक्षमा प्रचार गर्दै

अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन्।

कोइरालाले राप्रपाको पक्षमा प्रचार गर्ने खबर पुष्टि गर्दै आफ्नो ट्वीटर टाइमलाइनमा लेखेकी छिन्, "युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कंदै छु।"

"म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु। देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ," मनिषाले भनेकी छन्।

अर्कोतर्फ, राप्रपाका अध्यक्ष लिङ्देनले कोइरालाको निर्णयको स्वागत गर्दै उनी सम्मिलित हुने कार्यक्रमबारे ट्वीटरमा लेखेका थिए। "भोलि कात्तिक २५ गते चर्चित बलिउड अभिनेत्री मनीषा कोइरालाको साथमा हामी पोखरा, स्याङ्जा (वालिङ) र काठमाडौंको बसन्तपुरमा आयोजना हुने राप्रपाको चुनावी सभामा हुने छौँ। हामीलाई सुन्न चाहानु हुने सबैलाई चूले निम्तो गर्दछु।"

मनिषाका अनुसार प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

-----------
खेल: पाकिस्तान, इङ्ग्ल्यान्ठ टि-२० विश्वकपको फाइनलमा

बलियो प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।

शुरुआती जोडी एलेक्स हेइले र जस् बटलरले बिस्फोटक ब्याटिङको मदतले इङ्ग्ल्यान्डले १६९ रनको लक्ष्य बिनाकुनै विकेट क्षति १६ ओभरमा पूरा गरेको थियो। 

आजको रोचक सेमिफाइनल खेलमा एलेक्सले ४७ बलमा ८ छक्का र ४ चौकासहित ८६ रन बनाउँदा बटलरले ४९ बलमा ३ छक्का र ९ चौकासहित ८० रन बनाए।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो।

आजको खेलमा भारतीय ब्याट्सम्यान विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए, जससँगै उनी टी-ट्वेन्टी आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन्।

टि-ट्वेन्टी विश्वकप उपाधिका लागि इङ्ग्ल्यान्डले  पाकिस्तानसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनल म्याचमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

-----------
अर्थ: तेलमा खेल- भारतीय नीतिले नेपाली उद्योग संकटतर्फ

भारतीय बजारमा निर्भर रही एक दशकदेखि घरेलु बजारको मागभन्दा कयौँ गुणा बढी उत्पादन गर्दै आएका नेपाली तेल उद्योगहरूका लागि फेरि संकट आउन थालेको छ।

भारतले आफ्नो बजार मूल्य नियन्त्रणमा राख्न सार्क मुलुकबाहेकका देशबाट पनि खानेतेलको आयातमा लाग्ने सीमा शुल्क घटाएपछि नेपालबाट हुँदै आएको प्रशोधित तेल निर्यात घट्न थालेको छ। अब सार्कसहित सबै देशबाट भारत निर्यात हुने तेलले समान शुल्क तिर्नुपर्ने भएको छ। योसँगै निकै समयान्तरपछि तंग्रिएको नेपाली तेल उद्योग पुनः समस्यामा पर्ने देखिएको हो। रिपोर्ट विस्तृतमा: भारतीय नीतिले नेपाली उद्योग संकटतर्फ

-----------
उकालो स्थलगत रिपोर्ट: गाउँमा चुनावी रौनक कम, दलहरूप्रतिको वितृष्णा धेरै

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–८ की सुकमाया तामाङ यसअघिका निर्वाचनमा राजनीतिक दलका चुनावी कार्यक्रममा सहभागी हुन्थिन्। दलले आयोजना गर्ने घरदैलो तथा कोणसभामा पुगेर भाषण सुन्थिन्। तर, यसपटक उनलाई निर्वाचनको उत्साहले छुन सकेको छैन। “नेताले सधैँ चुनावमा विकास गर्छौं, रोजगारी दिन्छौँ भने, तर जितेर गएपछि फर्केर गाउँ आएनन्”, उनी भन्छिन् “नेताको कुरा सुन्दासुन्दा दिक्क लागेर चुनाव आएजस्तो लागेको छैन।”

निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा लुम्बिनीका दुई जिल्ला पश्चिम नवलपरासी र रूपन्देहीका धेरै बस्तीमा चुनावी चहलपहल छैन। दलहरूप्रति वितृष्णा हुँदा मतदाताले चुनावलाई 'उत्सव'को रूपमा लिन सकेका छैनन्। मुकेश पोखरेलको रिपोर्ट: गाउँमा चुनावी रौनक कम, दलहरूप्रतिको वितृष्णा धेरै


सम्बन्धित सामग्री