Thursday, April 25, 2024

-->

स्थलगत : गाउँमा चुनावी रौनक कम, दलहरूप्रतिको वितृष्णा धेरै

निर्वाचन आउन केही दिन मात्र बाँकी हुँदा लुम्बिनीका दुई जिल्ला पश्चिम नवलपरासी र रुपन्देहीका धेरै बस्तीमा चुनावी चहलपहल छैन। दलहरूप्रति वितृष्णा हुँदा मतदाताले चुनावलाई 'उत्सव'को रूपमा लिन सकेका छैनन्।

स्थलगत  गाउँमा चुनावी रौनक कम दलहरूप्रतिको वितृष्णा धेरै

नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको सुनवल नगरपालिका–८ की सुकमायाँ तामाङ यसअघिका निर्वाचनमा राजनीतिक दलका चुनावी कार्यक्रममा सहभागी हुन्थिन्। दलले आयोजना गर्ने घरदैलो तथा कोणसभामा पुगेर भाषण सुन्थिन्। तर, यसपटक उनलाई निर्वाचनको उत्साहले छुन सकेको छैन। “नेताले सधैँ चुनावमा विकास गर्छौं, रोजगारी दिन्छौँ भने, तर जितेर गएपछि फर्केर गाउँ आएनन्”, उनी भन्छिन् “नेताको कुरा सुन्दासुन्दा दिक्क लागेर चुनाव आएजस्तो लागेको छैन।” 

यस्तो धारणा व्यक्त गर्ने सुकमायाँ एक्ली पात्र होइनन्। नवलपरासीको रामग्राम नगरपालिका बञ्जरियाका गौरीशंकर बानियाँ तरकारी व्यापारी हुन्। गाउँको तरकारी खरिद गरी घरघर पुगेर बिक्री गर्छन्। यसअघिका निर्वाचनमा एक महिनाअघि देखि नै गाउँटोलमा प्रचारप्रसार, घरदैलो, कोणसभा कार्यक्रम देखेका उनी यसपटक त्यस्तो चहलपहल नभएको बताउँछन्। 

“मानिसहरूले चुनावको खासै चर्चा पनि गरेको देखिन्न, कसलाई जिताएर के भयो? सबै उस्तै हुन् भन्ने चर्चा गर्छन्”, बानियाँ भन्छन् “सबै नियमित काममा छन्। पहिलापहिला त मान्छे काम छोडेरै चुनावमा लाग्थे।”

सब्बिर खाँ

रुपन्देहीको रोहिणी गाउँपालिका छिपागढका सब्बिर खाँका अनुसार स्थानीय कृषिमा व्यस्त भएका कारण चुनावी माहोल नदेखिएका हुन्। दलहरूसँगको वितृष्णाले पार्टीको प्रचारमा जान मान्छेहरू उत्सुक नभएको उनको भनाइ छ। “मान्छे खेतबारीमा व्यस्त छन्। आखिर जसलाई जिताए पनि हुने केही होइन, काम त छोड्नु भएन भन्ने धारणा गाउँघरमा छ”, उनी भन्छन्। 

के हो वितृष्णाको कारण?
पछिल्ला पाँच वर्षमा स्थानीय, प्रदेश तथा संघीय सरकारका योजनामार्फत् विकास निर्माणका कामहरू हुँदै नभएका होइनन्। विगतका धुलाम्मे सडक अहिले कालोपत्रे भएका छन्। विभिन्न स्थानमा पुल तथा अन्य भौतिक संरचना निर्माण  भएका छन्। 

तर, जनताको दैनिक जीवनमा प्रभाव पार्ने वस्तु तथा सेवाहरू सहजरूपले उपलब्ध नहुँदा तथा महँगी बढ्दा जनतामा दलहरूप्रति नै नैराश्य छाएको छ। त्यसबाहेक सत्ताका लागि दलहरूले गरेको झिनाझम्टी र सत्ताका लागि गरेको गठबन्धन पनि जनतालाई मन परेको छैन।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ का रामकृष्ण श्रेष्ठ किसानहरूलाई आवश्यक परेको बेलामा खेतबारीमा हाल्ने रासायनिक मल र बीउ उपलब्ध नहुँदा कसलाई जिताएर के भयो भन्ने परेको बताउँछन्। “हाम्रो ठूलो अपेक्षा होइन। मल, बीउ चाहिएको बेला सहजरूपले  उपलब्ध होस। सरकारी कार्यालयमा सहजरूपले जनताले सेवा पाउन अनि महँगी जनतालाई नहोस्”, उनी भन्छन्, “जनताले खोजेको यही हो। ठूलो अपेक्षा जनतासँग छँदैछैन। तर, राजनीतिक दलले जनताको समस्यालाई देख्दै देखेनन्। चुनावका बेला गफ गर्ने, काम नगर्ने गरेर समस्या भएको हो।” 

पाँच वर्ष सरकार सञ्चालनका लागि जिताएर पठाए पनि बीचमै सरकार ढाल्ने र बनाउने खेलले पनि राजनीतिक दलहरूप्रति जनताको वितृष्णा बढेको देखिएको छ। राजनीतिक दलहरूले जनताको समस्याप्रति भन्दा पनि सरकार बनाउने विषयलाई प्राथमिकता दिने गरेको बुझाइ मतदातामा व्याप्त छ। “जनताको काम गर्लान्, यहीँ रोजगारी होला। हाम्रा छोरानातिलाई देशमै रोजगारी प्राप्त हुने वातावरण बन्ला भनेर पठायो, खाली सत्ताका लागि लड्छन्”, रामग्राम नगरपालिका–१८ का रामाशंकर नाउ भन्छन्।

रामाशंकर नाउ

समाजशास्त्रका पूर्व सहप्राध्यापक उमेश रिजाल राजनीतिक दलहरूले जनताको समस्यालाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेर काम गरेका कारण नागरिकमा वितृष्णा बढेको ठान्छन्। “जनताको समस्यामा ध्यान दिँदैनन् भने जसले जितेर गएपनि के फरक पर्दछ?” उनी प्रश्न गर्दछन्, “जनताको लागि केही होला र देश विकास होला भनेर जनता लडेका हुन्; व्यवस्था परिवर्तन भएको हो।” 

गठबन्धन संस्कृतिप्रति रुष्ट 
गाउँघरमा चुनावी माहोल नतात्नुको अर्को कारण हो, चुनाव जित्ने नाममा दलहरूका बीचमा भएको गठबन्धन। केही कार्यकर्ता सक्रिय भए पनि राजनीतिक दलका समर्थकहरू चुनावी प्रचारप्रसारमा सहभागी छैनन्। रुपन्देहीको छिपागढका कांग्रेस कार्यकर्ता खाँ माओवादी केन्द्रसँग भएको गठबन्धनबाट असन्तुष्ट छन्। त्यहीकारण आफू चुनावी कार्यक्रममा सहभागी नभएको बताउँछन्।

अघिल्ला निर्वाचनमा सक्रिय हुने उनी आफ्नो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार नभएपछि निष्क्रिय बसेका हुन्। “यो हाम्रो जित्ने क्षेत्र हो। तर, कांग्रेसको उम्मेदवार नै छैन। आफ्नो पार्टीको उम्मेदवार नभएपछि किन अरूको पछि लाग्ने”, उनी प्रश्न गर्दै भन्छन्, “यो गठबन्धन गर्ने काम नै गलत भयो। किन साना दललाई गठबन्धनमा मिसाउनुपर्‍यो।” हैसियत नै नभएका माओवादी र समाजवादी केन्द्रसँग गठबन्धन गरेर नेपाली कांग्रेसले गल्ती गरेको उनको बुझाइ छ। 

खाँको जस्तै धारणा नवलपरासीको सरावलका गोपाल श्रेष्ठको पनि छ। श्रेष्ठ कांग्रेसको क्रियाशील सदस्य हुन्। तर, कांग्रेसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित साना दलहरूसँग गठबन्धन गरेर बाटो बिराएको ठान्छन्। कांग्रेस कमजोर शक्ति नभएको तर नेताहरूले नै कांग्रेसलाई कमजोर बनाएको उनको भनाइ छ। कांग्रेसले १६५ सिटमध्ये एक्लै निर्वाचन लड्दा पनि ८० भन्दा बढी सिट जित्ने हिसाब निकालेका उनी गठबन्धन गरेर ८० सिटमा खुम्चाइएको बताउँछन्। “हामी जोविरुद्ध लड्यौँ र जसका कारण पीडित भएर बस्नुपर्‍यो, उसैसँग घाँटी जोडेर कांग्रेसले गल्ती गर्‍यो।” 

गुल्मीका वासुदेव भण्डारी अहिलेको कांग्रेस नेतृत्वले पार्टीको चुनाव चिह्न नै मेटाएको बताउँछन्। गुल्मी क्षेत्र नम्बर–२ का मतदाता रहेका उनी यो निर्वाचनमा भोट दिन नजाने सोचमा छन्। 

रुपन्देहीमा बसोबास गर्ने उनको मतदाता नामावली गुल्मीको क्षेत्र नम्बर २ मा छ। “अरू पार्टीका उम्मेदवारलाई जिताउन हामी किन जानुपर्‍यो, आफ्नो पार्टीको चुनाव चिह्न नभएपछि भोट हाल्न जान्न”, उनी भन्छन्। उनले मतदान गर्ने क्षेत्रमा संघमा नेकपा एकीकृत समाजवादी र प्रदेशमा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन्। 

सुरेन्द्र चमार

यस्तो असन्तुष्टि नेपाली कांग्रेस समर्थक कार्यकर्तामा मात्र होइन, एमाले कार्यकर्तामा पनि देखिन्छ। बर्दघाट नगरपालिका–१२ जहदाका  सुरेन्द्र चमार एमालेले जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदयस त्रिपाठीसँग तालमेल गरेकोमा असन्तुष्ट छन्। यस पटक त्रिपाठीलाई भोट नदिने उनी बताउँछन्। 

रुपन्देहीको क्षेत्र नं. ३ मा पर्ने भैरहवाका एमाले कार्यकर्ता पनि राप्रपासँग गरेको तालमेलमा खुशी छैनन्। यसको कारण भने अलि फरक छ। भैरहवा प्रदेशसभातर्फ रुपन्देही-३ (क) मा पर्छ। यहाँबाट जसपाका महेन्द्र यादव उम्मेदवार छन्। प्रतिनिधसभातर्फ राप्रपाका दीपक बोहोरा उम्मेदवार छन्। 

प्रतिनिधसभा र प्रदेशसभा दुवैतर्फ एमाले उम्मेदवार नहुँदा एमाले समर्थकले सूर्य चिह्नमा मतदान गर्न नपाउने भन्दै असन्तुष्टि पोखेका हुन्। आफ्नो नाम उल्लेख गर्न नचाहने एमाले रुपन्देही जिल्ला कमिटी सदस्य भन्छन् “प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पार्टीका उम्मेदवार नहुँदा कार्यकर्तामा नैरश्यता देखियो। गठबन्धनका बारेमा आगामी दिनमा सोच्नपर्ने भएको छ।”

फरक आउनसक्छ परिणाम
पुराना दलहरूप्रति मतदातामा देखिएको वितृष्णाले चुनावी नतिजा नै फरक आउनसक्ने देखिन्छ। जस्तो कि, नवलपरासीका कृष्णप्रसाद श्रेष्ठ नेपाली कांग्रेसका सक्रिय सदस्य भएर पनि उनले रूख चुनाव चिह्नमा भोट नहालेर फरक चिह्नमा भोट हाल्दैछन्। “म कांग्रेस हुँ तर यसपटक कांग्रेसलाई भोट दिन्न। माओवादीसँग गठबन्धन गरेपछि मन मर्‍यो”, उनी भन्छन्, “चुनावपछि सरकार बनाउन गठबन्धन गर्नु त ठीकै हो। तर, चुनावमै गठबन्धन बनाउनु ठिक भएन।” 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नरबहादुर पुन ज्याला मजदुरी गर्दछन्। विगतमा एमाले र कांग्रेसको चुनाव चिह्नमा मतदान गर्दै आएका उनले यसपटक भने फरक चुनाव चिह्नमा मतदान गर्ने निर्णय गरेका छन्। “एमाले-कांग्रेसलाई सबक सिकाउन पनि नयाँ पार्टीलाई भोट दिनुपर्दछ, धान लगाउने बेलामा मल बीउ छैन। बेच्ने बेलामा भाउ छैन। यिनलाई भोट दिएर के भयो”, उनी भन्छन्।

कतिपय मतदाताले असन्तुष्टिका कारण र कतिपयले गठबन्धनका कारण फरक चिह्नमा मतदान गर्दा परिणाम अनपेक्षित आउनसक्ने कतिपयको विश्लेषण छ।


सम्बन्धित सामग्री