Friday, April 26, 2024

-->

कि सबै, कि शून्य : पुरानो सत्ता गठबन्धन भत्किएपछि देखिएका तरंगहरू

नेपालमा वामपन्थी र राष्ट्रवादी शक्ति हाबी भएको अवस्थामा चीनलाई अमेरिका र भारतको प्रभाव कम गर्न र आफ्नो प्रभाव बढाउन सजिलो पर्नेछ भने भारत र अमेरिकाले पनि चीनको प्रभाव कम गर्न भरमग्दुर प्रयास गर्नेछन्।

कि सबै कि शून्य  पुरानो सत्ता गठबन्धन भत्किएपछि देखिएका तरंगहरू

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्दै गर्दा चर्चा गर्नुपर्ने विषयहरू धेरै छन्।

बहुमतको सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको समयको अन्तिम दिनमा पुष्पकमल दाहाल प्रचण्डले नाटकीय मोड लिएका छन्। यो राजनीतिक ‘यू टर्न’ले राजनीतिमा धेरै खालका तरंगहरू सिर्जना गरेको छ जसको राजनीतिमा लामो प्रभाव पर्ने देखिन्छ।

यसपटक जित्नेले सबै पाउने छन्, हार्नेले सबै गुमाउने छन्। 

१. किन कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मानेन?
पहिलो चर्चाको विषय नेपाली कांग्रेससँग जोडिएको छ। सत्ता गठबन्धनमा शक्ति बाँडफाँडको कुरो मिलेन भने प्रचण्ड बालकोट जान सक्छन् भन्ने कांग्रेसलाई राम्रै थाहा थियो। तर, त्यति हुँदाहुँदै पनि किन कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन मानेन त?

कांग्रेसका जानकार नेताहरूका अनुसार यसका तीनवटा प्रमुख कारणहरू देखिन्छन्। पहिलो, भारत र पश्चिमा देशहरूको दबाब। दोस्रो, डा. आरजु देउवाको जिद्दी। तेस्रो, प्रचण्डलाई गलाउन सकिन्छ भन्ने अति आत्मविश्वास।

भारत र पश्चिमा देशहरू कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन हुँदैन भनेर दबाब दिइराखेका थिए। यसको मुख्य कारण वामपन्थीहरूको विचारधारा चीनको नजिक छ र यसले कालान्तरमा भारत र अमेरिकाको स्वार्थविरुद्ध काम गर्छ भन्ने निष्कर्ष हो।

दोस्रो कारणका रूपमा आरजुको उदाउँदो महत्वकांक्षालाई लिन सकिन्छ। केही वर्ष यता आरजुको भूमिका पार्टीमा मात्र नभएर राज्य सञ्चालनमा पनि बढिरहेको थियो। शनिबार नै आरजुले गठबन्धनका महिला सांसदहरूलाई बोलाएर कुनै पनि हालतमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने कुरामा जोड दिएकी थिइन्।

तर, कांग्रेसको नेतृत्वमा पैदा भइरहेको अति आत्मविश्वास पनि महत्त्वपूर्ण कारण मान्न सकिन्छ। भूराजनीति र न्यायपालिकालाई आफ्नो अनुकूल बनाएर वामपन्थी गठबन्धन तोड्न सफलले आफ्नै नेतृत्वमा सहजै फेरि सरकार बनाउन सकिन्छ भन्ने गलत आकलन गरेको देखियो।

प्रचण्ड प्रधानमन्त्री हुन्छन् र सत्ताको साँचो केपी ओलीको हातमा हुन्छ भन्ने हेक्का नेताहरूलाई पहिला नै थियो। आइतबार बिहान यसको पटाक्षेप मात्र भएको हो।

२. प्रचण्डको सत्ता राजनीति
नेपाली राजनीतिको विश्लेषण गर्दा राजनीतिक दल र नेताहरूको स्वार्थ र चाहनाको मात्रै लेखाजोखा गरेर पुग्दैन। नेपाली राजनीतिका चार प्रमुख वाहक छन्: सत्तालिप्सा, आर्थिक लालच, भूराजनीति र वैचारिक पहिचान।

प्रचण्डको राजनीति सत्ताकै वरिपरि घुमिराखेको छ र नेपाली कांग्रेससँग कुरा नमिलेपछि उनी अचानक बालकोट पुगेका छन्। उनी बालकोट जानु कुनै नौलो कुरा होइन। 

राजनीतिमा सत्तालिप्सालाई सामान्य मान्न सकिन्छ, तर केही वर्ष यता प्रचण्डको प्रधानमन्त्री बन्ने चाहनाले राजनीतिलाई बारम्बार घुमाइरहेको छ। यसपालि प्रचण्डलाई कांग्रेसले सहमत विपरीत ‘निचोर्न खोजेको’ महसुस भएको हुनुपर्छ। कांग्रेसले अति निचोर्न खोजेका कारण नै प्रचण्ड पहिलाको तिक्तता बिर्सेर केपी ओलीसँग मिल्न गएका हुन् भन्ने भनाइ पनि छ।

प्रचण्डको एमाले, राप्रपा र रास्वपासँगको मिलाप पनि अनौठो होइन। यता नेपाली कांग्रेस र प्रचण्डबीच वार्ता हुँदै गर्दा, उता एमाले र माओवादीबीच पनि वार्ता भइरहेको थियो। माओवादी र एमालेको सम्पर्क सूत्रका रूपमा अन्य दुई नेतासँगै वर्षमान पुनले धेरै समय अघिदेखि पृष्ठभूमिमा काम गरिरहेका थिए।

३. वामपन्थी र राष्ट्रवादी गठबन्धन
नयाँ समीकरणले जन्माएको चर्चाको विषय हो, वामपन्थी र राष्ट्रवादीहरूबीच भएको गठबन्धन। १० वर्षयता नेपालमा राष्ट्रवादी शक्ति र वामपन्थी शक्तिहरू नजिकिँदै गएका छन्। त्यो मिलनको सूत्रधारका रूपमा केपी ओलीलाई लिन सकिन्छ। 

एमाले र माओवादीको प्रस्ट वामपन्थी र राष्ट्रवादी झुकाव छ भने राप्रपा र रास्वपाको राष्ट्रवादी झुकाव छ। त्यसैले यी शक्ति मिल्नुमा कुनै आश्चर्य मान्नुपर्दैन। 

अर्को प्रश्न, आगामी राष्ट्रपतिको भूमिका पनि हो। वर्तमान राष्ट्रपति विद्या भण्डारीको दुई कार्यकाल धेरै विषयलाई लिएर विवादित भयो। हरेक विवादमा लोकतन्त्रवादी शक्ति र वामपन्थी शक्तिबीचको टकराबमा उनले वामपन्थी शक्तिहरूको पक्षमा काम गरेकी थिइन्।

यसैकारण, अब बन्ने राष्ट्रपति कति तटस्थ र विवादरहित बन्न सक्लान् भन्ने प्रश्न मुख्य हो। नेपालमा बारम्बार वामपन्थी, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिहरूबीच राजनीतिक द्वन्द्व हुने गर्छ। यी द्वन्द्वका बीच राष्ट्रपतिको भूमिकाले नेपालको राजनीतिलाई लामो समयसम्म असर गर्छ।

४.  भूराजनीतिक परिदृश्य
नयाँ सरकार बनाउने खेलमा राजनीतिक दलहरू मात्र नभएर भूराजनीतिक खेलाडीहरू पनि उत्तिकै संलग्न छन्। त्यसैले यसपालि जे हुन्छ, त्यसले नेपालमा दीर्घकालीन असर पार्छ। अर्थात् यो दीर्घकालीन ध्रुवीकरण हुने सम्भावना छ।

चीन, भारत र अमेरिकाको रणनीतिक संघर्षको प्रभाव नेपाली राजनीतिमा देखिँदै आएको हो। केपी ओली र प्रचण्डको वामपन्थी गठबन्धनलाई फुटाएर नेपालको राजनीतिलाई पुनः भारत र अमेरिकाको प्रभाव क्षेत्रमा ल्याउन भएको प्रयास हामी सबैले देखेकै हो।

विदेशी शक्तिराष्ट्रहरू बीचको रणनीतिक संघर्ष बढिरहेको अवस्थामा नेपालमा पनि त्यसको प्रभाव बढ्दै जाने छ। केन्द्रबिन्दुमा चीनका राष्ट्रपति सी चिनफिङको भूमिका छ। चीनको इतिहासमा माओत्सेतुङपछि पहिलोपल्ट वामपन्थी विचारधारा यति हाबी भएको हो। 

सीको प्रभावले चीनको राजनीतिमा लेनिनवाद, अर्थतन्त्रमा मार्क्सवाद र विश्वसम्बन्धमा राष्ट्रवाद हाबी भएको छ। यसकारण चीनले नेपालमा आफ्नो प्रभाव जमाउन धैर्यका साथ रणनीति सञ्चालन गर्ने निश्चित छ।

नेपालमा वामपन्थी र राष्ट्रवादी शक्ति हाबी भएको अवस्थामा चीनलाई अमेरिका र भारतको प्रभाव कम गर्न र आफ्नो प्रभाव बढाउन सजिलो पर्नेछ। अर्कोतर्फ, भारत र अमेरिकाले पनि चीनको प्रभाव कम गर्न भरमग्दुर प्रयास गर्नेछन्। यसको अर्थ हो, नेपालले वैदेशिक हस्तक्षेपको सामना गर्न धेरै नै मिहिनेत गर्नुपर्नेछ।

५. केपी ओलीको धमाकेदार पुनरागमन, माधव नेपालको निरीहपन
जसले जे भने पनि यसपालि केपी ओलीले धमाकेदार पुनरागमन गरेकै हुन्। भारत, अमेरिका,  पश्चिमा राष्ट्र र सत्ता गठबन्धनको घेराबन्दीका बाबजुद उनी फेरि ‘किङमेकर’का रूपमा देखा परेका छन्।

यसपल्टको सबैभन्दा ठूलो हरुवाका रूपमा माधव नेपाल देखा परेका छन्। यो पछिल्लो घटनाक्रमका कारण उनको राजनीति निष्फल भएको हो कि जस्तो देखिन्छ। अब प्रचण्डले नै धोका दिएपछि नेपाललाई आफ्ना सांसद र पार्टी जोगाउन हम्मे पर्ने देखिन्छ।

अर्को हरुवा समूह शेरबहादुर देउवा नजिकका कोटरी हुन्। देउवाको नेतृत्वमा पार्टी र देशमा नै हालीमुहाली गरिरहेका व्यक्तिहरूको समूह यो घटनाक्रमबाट निकै प्रताडित भएको हुनुपर्छ। त्यसमध्ये एक, अर्बपति नेता विनोद चौधरी हुन्।

६. पहिलो तरंग नेपाली कांग्रेसभित्र, अब के हुन्छ आन्तरिक राजनीति?
अहिलेको राजनीतिमा जित्नेले सबै कुरा पाउने र हार्नेले सबै कुरा गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ। कांग्रेसको नेतृत्वले गठबन्धनका नाममा धेरै नेताहरूलाई चुनाव लड्नबाट रोक्यो। साथै, कांग्रेसको पार्टी संगठनमा पनि गठबन्धनको अभ्यासले ठूलो धक्का पुग्यो। कांग्रेसले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित प्रदेश सरकार र अन्य धेरै पद र नियुक्तिहरू गुमायो।

त्यसैले अब नेपाली कांग्रेसभित्र के होला भन्ने आम चासोको विषय बनेको छ। देउवाले पार्टीलाई जवाफ दिनुपर्छ भनेर पार्टीभित्रका धेरै असन्तुष्ट नेताहरू जुरमुराइरहेका छन्। तीमध्ये केही नेता अब छिट्टै विशेष महाधिवेशन बोलाउनुपर्ने र शेरबहादुर देउवालाई पार्टीको नेतृत्वबाट हटाउनुपर्ने कुरा उठाइरहेका छन्। अरू नेताहरू भने आरजुलाई दोष दिइरहेका छन्। “उनको हठले बर्बाद भयो”, उनीहरू भन्छन्। 

अब आउला त स्थायित्व?
आमजनताको चासोको विषय भनेको राजनीतिक स्थायित्व, सुशासन र आर्थिक विकास हो। के यो गठबन्धनले नेपालमा जनताले चाहेको जस्तो स्थायित्व, सुशासन र आर्थिक विकास दिनसक्ला?

नेपालमा व्याप्त भ्रष्ट्राचार, दण्डहीनता र विकृत राजनीतिक संस्कारले नेपालमा लोकतन्त्र असफल भएको हो कि भन्ने सन्देश दिएको छ। यो विकाशविहीन र दुरवस्थाका लागि आम मानिसहरूले नेपालको संघीयता र लोकतन्त्रलाई नै दोष दिने अवस्था सिर्जना भएको छ। 

त्यसैगरी, नेपालीहरूलाई विकाशको तीव्र चाहना छ। ठूलाठूला विकाशका लागि धेरै जनता र नेताहरूले लोकतन्त्र नै बाधक भएको भाष्य पनि सिर्जना गरिरहेका छन्। यस्तो अवस्थामा बनेको नयाँ सत्ता गठबन्धनले नेपालको मनोविज्ञान र लोकतन्त्रलाई कुन दिशातर्फ लैजाला भन्ने अर्को महत्त्वपूर्ण प्रश्न हो।

गहिरिएर हेर्दा भने अहिले बनेको नयाँ सत्ता गठबन्धनले दीर्घकालीन स्वरूप हासिल गर्न सक्छ। यो भविष्यको संकेत पनि हुन सक्छ। अर्थात्, बाटो बिराएनन् भने राष्ट्रवादी शक्ति र वामपन्थी शक्तिहरू नेपालमा अब धेरै वर्ष हाबी हुन सक्छन्। 

यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो सान्दर्भिकता र औचित्य पुष्टि गर्न प्रतिपक्षको भूमिका निर्वाह गरेर मात्र पुग्दैन, पार्टीमा धेरै सुधारको काम गर्नुपर्छ र जनतासँग नयाँ शिराबाट संवाद गर्न सक्नुपर्छ।


सम्बन्धित सामग्री