Sunday, April 28, 2024

-->

धरहराभन्दा अग्लो ‘दमक टावर’ : दृश्यमा झुपडी र खेत, न भाडा न व्यापार

दमकको मुख्य चोकबाट ६ किमि उत्तरपूर्वमा बनाइएको १८ तले भ्यु टावरबाट आसपासका झुपडी, खेत र खोलाको बगर मात्र देखिन्छ। ग्रामीण क्षेत्रमा बनाइएको यो भवन तत्काल व्यापारिक रूपमा प्रयोग गर्न पनि मुस्किल छ।

धरहराभन्दा अग्लो ‘दमक टावर’  दृश्यमा झुपडी र खेत न भाडा न व्यापार

झापा– पूर्वपश्चिम राजमार्गमा पर्ने दमकको मुख्य चोकबाट उत्तरपूवतर्फ झन्डै ६ किलोमिटर यात्रा गरेपछि पुगिन्छ दापागाछी। दमक नगरपालिका–३ मा पर्ने यो ठाउँमा सघन बजार छैन। तर यहाँ १८ तले ‘भ्यु टावर’ बनेपछि चहलपहल बढेको छ। यो टावरको उचाइ १०० मिटर (धरहराभन्दा १० मिटर अग्लो) छ।

२०७६ असारमा निर्माण शुरू भएको टावरको लागत झन्डै १ अर्ब ७० करोड रुपैयाँ छ। यसको उद्घाटन गर्न फागुन दोस्रो साता तत्कालीन शहरी विकासमन्त्री सीता गुरुङ दमक आउने कार्यक्रम तय थियो। तर टावर निर्माण नसकिएको, सञ्चालनको कार्यविधि नबनेको र यसबाट पाइने प्रतिफलबारे प्रारम्भिक योजना नबनाई ‘अर्को धरहरा’ बनाउन खोजिएको भन्दै विरोध भएपछि उद्घाटन स्थगित भयो।

यसको सञ्चालन र व्यवस्थापनको जिम्मा कसलाई दिने भन्ने शहरी विकास मन्त्रालयले अझै टुंगो लगाएको छैन। नेकपा एमालेका अध्यक्ष केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ सालमा यो भ्यु टावर बनाउने घोषणा गरेका थिए। उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७६ असार २७ गते शिलान्यास गरेका थिए। दमक उनको चुनावी क्षेत्र हो।

चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम जेभीले टावर निर्माणको ठेक्का पाएको छ। पाँच बिघा क्षेत्रफलमा फैलिएको टावर परिसरमा ‘बिजनेस कम्प्लेक्स’, बैंक, वित्तीय अड्डाहरू, मनोरञ्जन स्थल, रेस्टुरेन्ट, कृषि तथा औद्योगिक सामग्री बिक्री केन्द्र, सुविधायुक्त लिफ्ट र दृश्यावलोकन स्थलहरू राखिने योजना छ।

टावर ठडियो, सञ्चालनको टुंगो छैन
दापागाछीस्थित भ्यु टावरकै सामुन्ने टिनको टहरामा छ होटल झकास। झकासका सञ्चालक रमेश गौतम झन्डै दुई वर्षदेखि यो पेसामा छन्। उनले आफ्नो पुर्ख्यौली थलोमा हाँस, कुखुरा र परेवा पालेर होटलसमेत खोलेका हुन्। “यो भित्री गाउँमा भ्यु टावर बन्ने भएपछि मेराजस्ता खाजा खाने ठाउँ दुईचार वटा थपिए, रमितेको चहलपहल बढेको छ,” उनी भन्छन्, “सिमसारजस्तो यो ठाउँमा पाँच वर्ष अघिसम्म ५ लाख रुपैयाँ कट्ठा जमिन पाइन्थ्यो, अहिले ५ लाख धुर पाउन पनि मुस्किल छ।”


भ्यु टावर आसपास पक्की बाटो पुगेको छैन। खानेपानीको सुविधा छैन, स्थानीयले कल पेलेर पानी चलाउँछन्। ढल, नहर, सिँचाइको कागजी योजना मात्रै छ। टावर वरपर धानका कुन्यू र पराले माच अझै देखिन्छन्। दशैँ–तिहारमा लगाइएको पिङको लट्ठा र लिङ्गो अझै छ।

नजिकै दमक–२ पाङ्नी चोकका बासिन्दा वीरसिंह धिमाललाई भ्यु टावरले कसरी आम्दानी गर्ला भन्ने शंका छ। यसमा के राखिन्छ र कसरी चलाइन्छ भन्ने पनि निश्चित नभएको उनी बताउँछन्। “आम्दानीबिना सञ्चालन खर्च धान्न मुस्किल होला। एक त यो भित्री गाउँमा भइदियो, कसरी यसलाई दिगो रूपमा सञ्चालन गर्ने भन्ने प्रश्न उब्जिएको छ,” उनी भन्छन्।

परियोजनाका इन्जिनियर भूपेन्द्रकुमार यादवका अनुसार अहिले टावर निर्माण ‘फिनिसिङ’ चरणमा छ। भर्खरै नयाँ मन्त्रीमण्डल बनेको र शहरी विकास तथा भवन निर्माण विभागमा महाप्रबन्धक पद रिक्त रहेका कारण टावर उद्घाटन तथा स्थानीय तहलाई हस्तान्तरणको टुंगो नभइसकेको उनी बताउँछन्। “अस्ति चैत १४ गते तत्कालीन शहरी विकास मन्त्रीले उद्घाटन गर्ने भन्ने कुरा आयो। फेरि मन्त्रीजीकै सल्लाहमा टावरको माथि अलिक डिजाइन थपेर फोटो खिच्न मिल्ने ठाउँ बनाइयो,” उनले भने।

टावर सञ्चालन निकै खर्चिलो हुने देखिएको यादवको भनाइ छ। “टावरका लागि बेग्लै ट्रान्सफर्मर राखिएपछि बिजुलीको बिल मासिक न्यूनतम १ लाख रुपैयाँ आउने रहेछ। लिफ्ट सञ्चालनसहित महँगो खर्च उठ्छ नै, यसकारण अहिले परीक्षण बत्ती मात्रै राखिएको छ,” उनले भने।

राज्यको महँगो लगानी भइरहँदा यसको प्रतिफलमा संशय जनाउँदै गत वर्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले टावरको कार्यविधिमा प्रश्न गरेको थियो। “भ्यु टावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन भएको छैन,” महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा भनिएको छ, “माग तथा आवश्यकता पहिचानको आधारमा लगानीको प्रतिफल सुनिश्चित हुने गरी यस्ता आयोजना सञ्चालन गर्नुपर्छ।”

महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनको अंश।


तर दमक–१ का वडाध्यक्ष हरि न्यौपाने भ्यु टावरबारे राजनीतिक पूर्वाग्रह राखेर टीकाटिप्पणी हुने गरेको बताउँछन्। “जसरी यसलाई (भ्यु टावरलाई) ओली टावर भन्न थालिएको छ, पूर्वाग्रह त्यहाँसमेत देखिएको छ,” वडाध्यक्ष न्यौपाने भन्छन्, “दमक औद्योगिक पार्क र भ्यु पार्कजस्ता बृहत् योजना सञ्चालन गर्न दह्रो आँट र दृष्टि चाहिन्छ, त्यो पूर्वप्रधानमन्त्री केपी ओलीमा मात्रै छ।” उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।

घरजग्गा व्यवसायीको योजनामा भ्यु टावर!
दापागाछीको कृषिजन्य क्षेत्रमा भ्यु टावर बनाउन यहाँका २३ किसानले निःशुल्क जग्गा दिएका छन्। जग्गादाता एवं दमक भ्यु टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समितिका अध्यक्ष शान्तिराम गौतम विकास र समृद्धिको अपेक्षाले नै जग्गा दिइएको बताउँछन्। तर यहाँका स्थानीयबाहेक बाहिरका व्यक्तिले पनि जग्गा खरिद गरेर दान दिएका छन्।

गौतमका अनुसार टावरले ओगटेको पाँच बिघामध्ये दुई बिघा जग्गा पाँच जना घरजग्गा व्यवसायीले खरिद गरेर दिएका हुन्। “हो, हाउजिङ व्यवसायसम्बद्ध पाँच जनाले दुई बिघा जमिन दिएका हुन्, तर यसो भन्दैमा जग्गा दलाली वा व्यवसाय विस्तारका नाममा यस्तो भएको होइन,” गौतमले भने।

जग्गा दान दिनेको नामावली।


जग्गा दान दिने व्यवसायीमा पञ्चकन्या हाउजिङ प्रालि सञ्चालन गर्ने केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं छन्। उनीहरूले पाँच वर्षअघि मात्रै कृषि तथा व्यवसायका लागि जग्गा खरिद गरेका थिए। उनीहरूले खरिद गरेको जग्गाको ठूलो हिस्सा अझै बाँकी रहेको स्थानीय बताउँछन्। 

दमक मुख्य बजार क्षेत्रबाट धेरै टाढा नभए पनि दापागाछी अविकसित गाउँ भएकाले विकास–समृद्धिमा भ्यु टावरले योगदान दिन सक्ने हुँदा स्थानीयले पनि जग्गा दान दिएको गौतम बताउँछन्। “यो क्षेत्र आसपासको ६० बिघा जमिन व्यवस्थापन (लेन्ड पुलिङ) गरेर नयाँ शहर बसाल्ने र शिक्षा, स्वास्थ्यसहितका सेवासुविधामा सहजीकरण गर्ने योजना थियो। तर त्यो पूरा हुने छाँट देखिएन,” गौतम भन्छन्, “यो काममा नगरपालिकाले जिम्मेवारी लिनै चाहेको छैन।”


तत्काल टावर सञ्चालन कार्यविधि बनाएर सुरक्षाको प्रबन्ध भइदिए आकर्षण बढ्ने र व्यवसाय पनि शुरू हुने गौतमको आशा छ। “शुरूका ६ महिना टिकट काटेर भ्यु टावरबाट रमिता हेरेकै भरमा पनि आम्दानी होला, तर यो दीर्घकालीन उपाय होइन,” उनी भन्छन्, “दिगो आम्दानीको स्रोत बनाउने उपाय पहिल्याउन विषयविज्ञको समूह बनाउनुपर्‍यो, यो काममा राज्यले जिम्मेवारी लिनुपर्‍यो।” 

यो भ्यु टावर तत्कालीन प्रधानमन्त्री ओलीको ‘ड्रिम–प्रोजेक्ट’ थियो। उनले दमकमा दुई वटा ठूला परियोजना बनाउने योजना बनाएका थिए– भ्यु टावर र औद्योगिक पार्क। यसमध्ये औद्योगिक पार्क १२ सय बिघा क्षेत्रफलमा (योजनामा २२ सय बिघा भनिएको) बनाइने योजना थियो। तर पार्कको शिलास्तम्भ शिलान्यास र आंशिक स्थानीय परिवारलाई मुआब्जाबाहेक अरू काम अघि बढेको छैन। आठ वर्षअघि निर्णय भएको र चार वर्षअघि निर्माण थालिएको पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भएको छैन। 

औद्योगिक पार्क निर्माण स्थल।


भ्यु टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति अध्यक्ष गौतमका अनुसार दमकको दक्षिणी भेगमा निर्माणाधीन औद्योगिक पार्क (उद्योग)का कार्यालयहरू टावरमा राखिने योजना बनाइएको थियो। “शुरूआतमा औद्योगिक पार्कको पनि प्रक्रिया अघि बढिरहेका कारण ‘केही हुन्छ होला’ भन्ने लागेको थियो। तर सरकार परिवर्तनसँगै भ्यु टावर चलाउने कुरामा राज्यको कुनै पनि तहमा सकारात्मक धारणा छैन। यसलाई सिंगो राज्यको नभएर केपी ओलीको महत्त्वाकांक्षी योजना ठानियो,” उनी भन्छन्।

गौतम यो टावरमा अस्पताल सञ्चालन वा व्यापारिक घरानालाई भाडामा लिनु उचित हुने बताउँछन्। “यसलाई दृश्यावलोकन गर्ने केन्द्र मात्रै भनेर बसियो भने केही हुन सक्दैन, नामकरण गरिए पनि खासमा यो भ्यु–टावर नै होइन,” गौतम भन्छन्, “माथि रमिते डाँडोमा भ्यु–टावर सम्भव होला, यो दापागाछीमा केको भ्यु टावर? बरु बहुपक्षीय व्यापारिक केन्द्र (बिजनेस कम्प्लेक्स) हुन सक्छ।”

दमककी उपप्रमुख भन्छिन्– भ्यु टावर गरिबलाई हात्ती उपहारझैँ भयो


दमक नगरपालिका अहिले भ्यु टावर सञ्चालनको कार्यविधि बनाउने सुरसारमा छ। यसका लागि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं अध्ययन र छलफलमा जुटेकी छन्। तर नगरपालिकाले बनिसकेको दमक सभा भवनको हेरालु र प्राविधिक कर्मचारीको तलबभत्ता ख्वाउनै नसक्ने अवस्था छ। भ्यु टावर सञ्चालन खर्च सभा भवनको भन्दा धेरै महँगो हुन्छ। भ्यु टावर सञ्चालनबारे उपप्रमुख प्रसाईंसँग गरिएको कुराकानी उनकै शब्दमा:

दमकबजारबाट पैदल एक घण्टा दूरीमा रहेको भ्यु टावर रहेको क्षेत्र ग्रामीण भेग हो। अरू विदेशी मुलुकको उदाहरणअनुसार टावरबाट हेर्ने भनेको शहर हो, विकास र समृद्धिको रमिता हेर्ने हो। तर हाम्रो टावरको संरचना भने शहर र विकास हेर्ने भन्दा पनि एकलास भूगोलमा छ। यसलाई के–कसरी उपयोग गर्ने भन्ने मोडालिटी बनाउन सकिएकै छैन। नगरपालिकाले टावर सञ्चालनको कार्यविधिमा काम गर्न सकेको छैन।

यस्ता संरचना निर्माणअघि आवश्यकता, प्राथमिकता र उपयोगिताको आधार निर्क्योल गरेर मात्रै राज्यको ढुकुटी खर्च गर्नु पर्छ। टावर निर्माणमा अहिलेसम्म १ अर्ब ६७ करोड खर्च भइसकेको छ, फिनिसिङको थप खर्च आउनै बाँकी छ। टावर सञ्चालनको मोडालिटी बनाउने र स्थानीय तहलाई हस्तान्तरण गरिने कुरामै समस्या देखिन्छ। टावर आसपासको जमिन व्यवस्थापन (लेन्ड–पुलिङ) गरिने र सुविधासम्पन्न शहरी क्षेत्र विकास गरिने सम्भावना पनि तत्काल देखिँदैन। अहिले यो टावरमा गएर फोटो खिच्नु वा माथिबाट वरपरको सुकुमबासीदेखि शरणार्थी बस्तीसम्मको दृश्य हेर्नु, मावा, रतुवा, चाँजु खोलाको बगर नियाल्नुबाहेक अन्य दृश्यावलोकन गर्न सकिँदैन। बिजुली, पानी, मर्मत, सुरक्षासहितको सञ्चालन खर्चका हिसाबमा यो एउटा गरिब नागरिकले हात्ती पाल्न रहर गरेझैँ भएको छ। गरिबलाई हात्ती उपहार नै भएको छ। 

म स्वयं स्थानीय सरकारको प्रतिनिधि भएर बोल्नुपर्दा गाह्रो हुन्छ तर भ्यु टावर बन्नुअघिको यथार्थ योजना के थियो र यसमा स्वार्थ के कति जोडिएको थियो भन्ने लेखाजोखा हुनैपर्छ। वरपरको कच्ची बाटो छिचोल्दै खेतीपाती हुने लोभलाग्दो ग्रामीण बस्तीको बीचमा पुगेपछि बल्ल भ्यु–टावर भेटिन्छ। टावरबाट रमिता हेर्न मात्रै दमक बजारबाट अटोरिक्सामा औसतमा डेढ सय रुपैयाँ तिरेर जाने आन्तरिक वा बाहिरका पर्यटक केकति होलान् अनुमान गर्न पनि सकिएको छैन। खर्चका हिसाबमा स्थानीय सरकारले मात्रै टावर सञ्चालन गर्न सक्दैन। यो टावर पनि धरहरा, पोखरा वा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलजस्तै भन्ने त्रास बढेको छ।


सम्बन्धित सामग्री